तस्विरः इन्द्र थापा मगर/दिनेश घिमिरे ।

-नाम्सादिम संवाददाता

काभ्रे– काभ्रेकाे भकुण्डेमा सहमतिअनुसार व्यवसायीले इट्टाभट्टा नभत्काएपछि नगरपालिकाले नै डाेजर लगाएर भत्काएका छन् । गत हिउँदमा नमाेबुद्ध नगरपालिका र व्यवसायीबीच भएको सहमतिअनुसार २०७६ असार मसान्तभित्र भकुण्डे उपत्यकामा सञ्चालनमा रहेको ८ वटा भट्टाहरु हट्नुपर्ने सहमति भएकाे थियाे ।

चिम्नी हटाउन दिएको १ महिनाको समय सकिदा पनि व्यवसायीले अटेर गरेकोले नगरपालिका आफैंले डोजर लगाउन बाध्य भएको नगर प्रमुख टिपी शर्माले जनाएकाे छ ।

भत्काउने क्रममा आईतबार भकुण्डेमा रहेकाे भैरवकुण्ड,शिवशक्ति,बिन्दावासिनी,श्री शंकर लगायतका भट्टाका चिम्नी हटाउने काम भएको शर्माले जानकारी दिए ।

वातावरण प्रदुषणका साथै प्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा असर परेको,कृषि उब्जनीमा समस्या आएको,विभिन्न सामाजिक विकृति फैलिएको,नगरको सुन्दरतामा ह्रास आएको जस्ता निश्कर्षका साथ नगरपालिकाले इट्टा उद्योगको बिकल्प खोजेको शर्माकाे भनाई रहेकाे छ ।

भट्टा बिस्थापित गरेपछि स्थानियको जीवनस्तर माथि उठ्ने खालका योजनाहरु अघि सार्ने तयारीमा नगरपालिका रहेको जनाएकाे छ ।

Comments

comments

SHARE