विकृति

-कृष्ण कुमार लामा
पृष्ठभूमि
वि.स. २०४६ मा प्रजातन्त्रको पूर्नस्थापना पश्चात जातीय मुद्दाले उचाई पायो । त्यो उचाइमा माओवादी सशस्त्र द्वन्द्वले ज्यान भर्ने काम मात्र भएन त्यसैको आडमा सशस्त्र द्वन्द्वले ठूलो छलाङ्ग मार्दै अन्ततः द्वन्द्वको विश्राम पनि भयो । गणतन्त्रको घोषणा, दुइपटकको संविधानसभा र नयाँ संविधानको घोषणा भइसकेको अवस्था छ । यस्तो अवस्थामा विशेषगरी आफूलाई आदिवासी जनजाति भन्न रुचाउनेहरुले के गुमायो ? के पायो ? त्यो विश्लेषणको अर्काे पाटो छ । प्रस्तुत आलेखमा भने तामाङ जाति भित्र रहेको जातीय विचलन र त्यसले निम्त्याउदै गरेको सामाजिक पक्षलाई अघि सार्ने कोशीस गरेको छ ।

विषय प्रवेश

इतिहासको कालखण्डमा तामाङ जातिलाई राज्यले संगठीत रुपमै चरम विभेद गरेको सत्य हो । त्यसैको उत्पीडनको आवाजको रुपमा पछिल्ला जातीय गतिविधिहरु सतहमा देखिएका हुन् । २०४६ देखि २०७२ को संविधान जारी हुँदासम्म जनजाति त्यसमा पनि तामाङ जातिले राज्यबाट के के पायो ? के के कुराहरु लिन सक्यो ? त्यसलाई क्रमबद्ध गर्ने कार्य त्यति सजिलो छैन् । त्यसमा पनि सबैभन्दा ठूलो उपलब्धीको जातीय सचेतनालाई लिन सकिन्छ । म तामाङबाट हामी तामाङको अवस्थामा पुग्न सकेको छ । सामूहिक साँस्कृतिक जागरणको एक चरण पार गरिसकेको अवस्था छ । अबको दिनमा राजनीतिक सचेतनाको स्तरको अभिवद्धि गर्नु जरुरी छ ।

राजनीतिक रुपमा जबसम्म शशक्त तवरले तामाङका मागहरु तामाङहरुले अघि ल्याउदै नेतृत्व तहमा पुग्न सक्दैन तबसम्म किस्तावन्दीको भरमा बाँचिरहनु पर्नेछ । यसका लागि तामाङ समुदायमा अनवरत सघर्षशील गरिरहेका अभियन्ताहरुको कमी छैन । चाहे त्यो संस्थागत होस् या व्यक्तिगत । एउटा समूह यसरी अघि बढिरहेका छन् । तर अर्काेतिर आफ्नै वंशज/पुस्ताप्रति हिनतावोध भावना पाल्दै तामाङको सट्टा निकट जातीय उपमा अङिग्कार गर्ने प्रचलन बढ्दो देखिन्छ । बिशेषगरी सिन्धुपाल्चोक र रामेछाप जिल्लाका केही स्थानहरुमा पछिल्लो समय यसको अभ्यास प्रशस्त देख्न सकिन्छ । उदेक लाग्दो कुरा त के छ भने अन्य भेगका तामाङहरु जागीरको सिलसिलामा आफ्नो वंशजको अभिशापको टिकोलाई मेटाउन जात परिवर्तन गरी पुरानै जात थर तामाङ लिनको लागि सम्बन्धित निकायमा धाइरहेका छन् । अर्काेतिर धमाधम विगतमा तामाङ लेखिएका र सबै प्रमाण वंशज र पूर्खाले तामाङ हुदाँहुदै पनि अन्य जातको उपमा गुथ्न अघि सरेका देखिन्छन् ।

यसलाई कसरी परिभाषित गर्ने ? यस्तो हुनको दोष कसलाई दिने या कसले लिने ? यसले गम्भीर प्रश्नहरु अघि ल्याएका छन् । यसको उत्तर त्यति सजिलो पनि छैन् । एउटा साझा उत्तर भने हामीसँग छ । जे भइरहेका छन् यी साँच्चिकै सिङ्गो जातिको हितको लागि छैन् । यसलाई बेलैमा सम्बोधन गर्दै सच्याउन नसकिए यसले ल्याउन सक्ने जातीय विचलन र त्यसको प्रत्यक्ष असर पुरा तामाङ समुदायमा पर्ने निश्चीत छ । समाजशास्त्र र मानवशास्त्रको पक्षबाट यसलाई विश्लेषण गर्दा समाजमा कुनै जातिले या समुहले आफनो जातीय एवम् अन्य हैसियतको उपस्थीतिमा आफूलाई हिनतावबोधको महशुस गरिरहदा त्यसको सुरक्षित अवतरण र समाजमा समान हैसियतमा सामाजिकरण हुन खोज्दा यस्ता विचलन आउनु अस्वभाविक भने होइन । तर यसो गर्दा त्यो परिवर्तित समुह एवम् जातिले आफनो पूर्खा जुन जीनको रुपमा रहेको हुन्छ त्यसलाई आफूसँगै लिएपनि जातीय परिहचान अर्थात Caste Identity लाई सदाको लागि गुमाउन पुग्छ । जुन समय अन्तरालमा त्यसलाई पछ्याउदा वंशको ठूलो खाडल देखा पर्छ । चाहेर पनि कुनै कालखण्डपछि आफनो वंशलाई भेटन सक्तैन् । यस अर्थमा उसले जात परिवर्तन सँगै आफनो पूर्खालाई पनि सँगसँगै गुमाएको हुन्छ । यो प्रक्रिया सामान्यतया तलबाट माथि रहेका तर्फ अघि बढदछ । जस्तै कुनैपनि व्राम्हण दलित बन्न खोज्दैन । बरु दलित ब्राम्हणको जातथरतर्फ आकर्षित रहन्छ ।अर्काे पक्षबाट विश्लेषण गर्ने हो मनोवैज्ञानिक पक्षमा समाजीकरण प्रक्रिया घुलित भइसके पनि व्यक्ति अनुसारको कमजोर मनोवैज्ञानिक पक्षहरु हावी भइदिदा समाजमा कथित घटना र दूर्घटनाका कारण यस्तो अवस्थाको सिर्जना हुन्छ । जसलाई समाजका सामाजिक प्रक्रियाका विभिन्न बाहय र आन्तरिक तत्वहरुले प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । तामाङ जातिको सन्दर्भमा विगत देखि अहिलेसम्म तामाङ जाति जुन राजनैतिक, सामाजिक, आर्थिक र साँस्कृतिक हैसियतमा बाँचेका छन् । त्यसप्रति एक प्रकारको नकारात्मक बुझाइ जसले समाजमा उसले बाहिष्करण, तिरस्कार सहनु पर्छ । त्यसको भयलाई रोक्न वा पछिल्लो पुस्ताले पनि त्यसबाट मुक्ति पाउनका खातिर जात परिवर्तन गर्न अग्रसर रहेको देखिन्छ । तर उसलाई थाहा हुँदैन जात परिवर्तन गर्दैमा उसले अन्य अङगिकार गरेको जात भित्र सहजै सामाजिकरण हुन्छ र सम्मान पाउँछ । त्यो भित्र उसको सघर्षको साथसाथै केही पुस्तामा सामाजिकरण भएसँगै उसले आफनो पूर्खा वंशजलाई गुमाइसकेको हुन्छ । यसै सन्दर्भमा एउटा उदाहरण अघि राख्दा सामायिक हुन्छ । समाजमा चर्काे विभेदको कारण कतिपया हुनेखाने दलित समुदायले जात परिवर्तन गरे । तर राजनीतिक परिवर्तनसँगै दलितलाई दिएको आरक्षणको सुविधाको लागि एकाएक पुरानै जात थर कायम गरे । यहाँ अवसरको लागि अवसरवादी सोच र सामाजिक तिरस्कार विभेदजन्य व्यवहारको खिलाफमा यस्ता प्रक्रियाहरु अघि बढेको देखिन्छ । यदि यही पक्षले लामो कालखण्ड पार गरेको भए परिवर्तित दलित समुदायले आफनो पुरानो पुर्खाको थर पाउन मुश्कील मात्र होइन असम्भव प्रयाः हुन्छ । तामाङ समुदायको हकमा भने यो भन्दा भिन्न प्रकारको जात परिवर्तनको लहड देखिएको छ । जसलाई सामाजिक हैसियत सामाजिक आत्मासम्मान जस्ता कुराहरुले प्रभाव पारेको देखिन्छ ।

निष्कर्ष

समाजमा सामाजिक हैसियत परिवर्तन भएसँगै थुप्रै तामाङहरु आफूलाई तामाङ जातिबाट चिनिन चाहन्न । जसमा उनीहरुको मनोवैज्ञानिक पक्ष बढी जिम्बेवार देखिन्छ । जस्तै तामाङबाट ह्याल्मो लेख्ने, तामाङबाट शेर्पा लेख्ने तर्फ बढी उन्मुख देखिन्छ । यसको अर्थ यो पनि होइन तामाङहरुको भन्दा माथि उल्लेखित जातिको सामाजिक हैसियत बलियो छ । यद्यपि यस्ता कुराहरु माथि उल्लेखित पक्षहरुबाट प्रभावित छन् । यस अर्थमा अल्पकालिन सन्दर्भमा त्यसबाट केही सामाजिक हैसियतमा आफूलाई अघि सार्न खोजिए पनि कालन्तरमा त्यसको स्वरुपले आफ्नै वंशजको लागि घातक हुनसक्छ । अर्काेतर्फ आफनो वंशज, पूर्खा र जातीप्रति हिनतावोध महशुस गर्नु कुनैपनि पक्षबाट त्यो मानवीय गुण हुनसक्तैन । यो त फगत पराजित मानसिकताको उपजहरु हुन् । यस्ता व्यक्तिविशेष या समूहबाट सिङ्गो समाज सचेत रहनु पर्छ । अन्यथा यस्ता जमातले समाज र सामाजिक संरचनालाई नै दिग्भ्रमित बनाउँछ । जसले आफनो जाति, वंश र पूर्खाको विरासतलाई आफूहुदैँ अन्य आफनो भावि पुस्तामा सम्मानजनक तवरले हस्तान्तरण गर्न सक्तैन त्यस्ता व्यक्तिहरु कुल, वंश, जति र समाज आदिबाट पनि दण्डनीय देखिन्छन् । यस अर्थ यस्ता व्यक्तिहरुबाट समृद्धि र सम्पन्न समाजको परिकल्पना गर्न सकिन्न ।

Comments

comments

SHARE