कविता
माइला लामा

मूलबाटो मात्रै हिन्नेहरुका विरुद्ध
हार्मोनियममा गोरेटाहरुका गीत बजाउँदै
उभिएको छु ठीक यही दोबाटोमा ।

तिमी भेटिन्नौ यहाँ
यहाँबाटै तिमी छुटेका थियौ
यहाँबाटै तिमी आफू ‘मूलबाटो हुँ’ भनेर गएका थियौ ।

परपरसम्म देख्नलाई मेरा आँखा छैनन्
परपरका कुरा मेरा कानले सुन्दैनन्
‘ट्रिगर’ दबाउनका लागि मसित औलाहरु छैनन्
साथी,
(कामरेड भन्न मनले मान्दै मानेन योवेला)
मात्रै हिजोको साथी सम्झिएँ
म यही दोबाटोमा
हार्मोनियममा गोरेटाहरुका गीत बजाउँदै छु
यहाँबाटै तिमी आफू ‘मूलबाटो हुँ’ भनेर गएका थियौ ।
तिम्रै सत्ताको विरुद्धमा गीत गाउन वाध्य छु यतिवेला
मलाई मार्न बन्दुक छ तिमीसित
मलाई थुन्न जेल छ तिमीसित
सबभन्दा ठूलो कुरा त
मलाई फसाउन झेल छ तिमीसित

साथी,
विचारचाहिँ पूरै त्यागिसकयौ
अनि कसरी मार्न सक्छौं मलाई ?
कता पर्छ तिम्रो मूलबाटो ?
तिमी आफैंलाई थाहा छैन ।

हो, तिमी भेटिन्नौ यहाँ
यहाँबाटै तिमी छुटेका थियौ
यहाँबाटै तिमी आफू ‘मूलबाटो हुँ’ भनेर गएका थियौ
मूलबाटो मात्रै हिन्नेहरुका विरुद्ध
हार्मोनियममा गोरेटाहरुका गीत गाउँदै
उभिएको छु यही दोबाटोमा
म अर्थत् माइला लामा ।

राजन मुकारुङको
भर्खरै बजारमा आएको पुस्तक हाटा जाने अघिल्लो रातबाट साभार । उनको पुस्तक शुक्रबार राजधानिको मण्डला थिएटरमा बिमोचन गरेका थिए ।

Comments

comments

SHARE