-सम्पूर्ण कुमार लामा

सिद्धार्थ गौतमले सत्वप्राणीहरूलाई दुःखको भवसागरबाट मुक्ति दिलाउन २९ वर्षको उमेरमा सबै प्रकारका दरबारिया सुख सयल परित्याग गरी हिंड्नुभयो । उहाँ कन्थक घोडा चढेर तीन राज्य पार गरी तीस योजना मार्ग तय गरिसकेपछि एउटा मनोहर नदीको किनारमा पुग्नुभयो । जसलाई अनोमा नदी भनिन्थ्यो । उनले आफूले लगाउनु भएको राजवस्त्र, आभूषण आदि सबै फुकालेर सारथि छन्नलाई जिम्मा दिएर कपिलवस्तु फर्कन अनुरोध गर्नुभयो । उनले आफ्नो बायाँ हातले कपाल समाती दाहिने हातले आफ्नै खड्गले आफ्नो कपाल काट्नुभयो । ‘यदि मैले बुद्धत्व प्राप्त गर्न सक्ने रहेछु भने यो काटेको कपाल आकाशमै अडिरहनेछ’ भनी आकाशतिर हुत्याई दिनुभयो । त्यो कपाल जम्मै आकाश माथि हुत्तिंदै गई अडिरह्यो । त्यस बखत शुक्रदेव आई त्यो कपाल सम्मानपूर्वक एउटा सुवर्णमय बट्टामा हाली देवलोकमा लगी “चूडामणि चैत्य” बनाई भक्तिपूर्वक पूजा सत्कार गरी राखे । यसरी सिद्धार्थ गौतम प्रव्रजित हुनुभयो ।

जुन समयमा सिद्धार्थ गौतमले प्रव्रज्या लिनुभयो देशैभरि ठूलो मानसिक उथल–पुथल मच्चियो । तत्कालीन समयमा ब्राम्हणी दर्शनको अतिरिक्त यस्तै ६२ वटा दार्शनिक मतहरू अरु पनि थिए । ब्राम्हणी दर्शन मूलतः चारवटा स्तम्भहरूमा आधारित थियो ।

क) पहिलो स्तम्भ :– वेद केवल पवित्र मात्र छैन, बरु अलौकिक छ र कहिले क्षय पनि हुँदैन । यसको एउटा पनि शब्दमाथि प्रश्न चिन्ह लाग्न सक्दैन ।

ख) दोस्रो स्तम्भ :– आत्माको मुक्ति जन्म र मरणको सम्बन्धबाट वा प्राणीको निरन्तरको जन्म मृत्युबाट मुक्ति वैदिक यज्ञ तथा धार्मिक कार्यको उचित ढंगबाट पूरा गरी ब्राम्हणलाई दान दिएर मात्र हुन सक्दछ ।

ग) तेस्रो स्तम्भ :– आदर्श समाजको नमूना अन्तर्गत पहिलो नियम समाजलाई चार भागमा विभाजन गरिएको थियो – १) ब्राम्हण २) क्षत्रीय ३) वैश्य र ४) शूद्र । यसमा ब्राम्हण सर्वोपरि, ब्राम्हणको तल क्षत्रीय र वैश्यभन्दा माथि, क्षत्रीय भन्दा मुनि वैश्य तर शूद्र भन्दा माथि सबैभन्दा मुनि शूद्र । दोस्रो नियममा थियो कि यी चार वर्गमा सामाजिक समानता हुन सक्दैन र यी सबैलाई क्रमिक असमानताको नियमबाट परस्पर बाँधी राख्नु पर्दछ । तेस्रो नियम अनुसार पेशा वा जीविकाको साधनसँगको सम्बन्धलाई जोडिएको छ । जस अनुसार ब्राम्हणको पेशा पढ्नु, पढाउनु र धार्मिक संस्कार गराउनु, क्षत्रीयको पेशा लड्नु, मर्नु वा मार्नु, वैश्यको पेशा व्यापार गर्नु र शूद्रको पेशा माथिको तीनै वर्गको सेवा गर्नु । यी चारै वर्गको विभाजन यस्तो थिएन कि एक वर्ग अर्को वर्गको पेशा गर्न सकोस् । हरेक वर्ग आफ्नो मात्र पेशा गर्न सक्दथ्यो । एक वर्गले अर्को वर्गको पेशालाई दखल दिन सक्दैनथ्यो ।

चातुर्वण्यको चौथो नियम शिक्षाको अधिकारसँग सम्बन्धित थियो । चातुर्वण्यको नमूना अनुसार पहिलो तीन वर्गहरू – ब्राम्हण, क्षत्रीय र वैश्य मात्र शिक्षाका अधिकारी थिए । शूद्रलाई शिक्षित हुन निषेध थियो । यस चौथो नियम अन्तर्गत केवल शूद्रलाई मात्र होइन, सबै स्त्रीलाई शिक्षित हुनबाट वञ्चित गरिएको थियो ।

यसको पाँचौं नियम पनि थियो जस अनुसार मानिसको जीवनलाई चार भागमा विभाजित गरिएको थियो । पहिलो अवस्थालाई ब्रम्हाचर्याश्रम, दोस्रो अवस्थालाई गृहस्थाश्रम भनिन्थ्यो । तेस्रो अवस्था वानप्रस्थाश्रम र चौथो सन्यासाश्रम कहलिन्थ्यो । प्रथम आश्रमको उद्देश्य अध्ययन र शिक्षा थियो । दोस्रो आश्रमको उद्देश्य वैवाहिक जीवन व्यतीत गर्नु थियो । तेस्रो आश्रमको उद्देश्य मानिसलाई वनवासी जीवनसँग परिचित गराउनु थियो र गृह त्याग विना पारिवारिक बन्धनबाट मुक्त हुनु थियो । चौथो आश्रमको उद्देश्य ईश्वरको खोजी र उनलाई भेट्ने प्रयास गर्नु थियो ।

यी आश्रमहरूबाट तीन उच्च वर्गको पुरुष मात्र लाभान्वित हुन सक्थे । शूद्र र स्त्रीको लागि पहिलो आश्रम वर्जित थियो । यसै गरी शूद्र र स्त्रीको लागि अन्तिम आश्रम पनि वर्जित थियो । “आदर्श समाज” को नमूना जसलाई चातुर्यवण्र्यको नाम दिइएको थियो । ब्राम्हणहरूले यस नियमलाई उच्च आदर्शवादमा परिणत गरेका थिए । उनीहरूले यस कुराको पूरा सावधानी राखेका थिए कि जसमा कुनै पनि कसर बाँकी नरहोस् ।

४) चौथो स्तम्भ :– ब्राम्हणी दर्शनको चौथो स्तम्भ कर्मको सिद्धान्त थियो । यो आत्माको जन्म मृत्युको सिद्धान्तको एक भाग थियो । ब्राम्हणी दर्शनको कर्म–वादको एक प्रश्नको उत्तर यस्तो थियो – “जन्मान्तर भएपछि नयाँ शरीरलाई लिएर आत्माले कहाँ नयाँ जन्म ग्रहण गर्छ ?” ब्राम्हणी दर्शनको उत्तर थियो – “यो उसको पूर्व जन्मको कर्ममा निर्भर रहन्छ ।” अर्को शब्दमा यसको यही अर्थ हुन्छ कि यो उसको कर्मको परिणाम हो ।

भगवान् बुद्धले ब्राम्हणी दर्शनको कडा विरोध गरेका थिए । उनको अनुसार कुनै पनि विषयको कुनै कुरा अन्तिम हुनै सक्दैन, आवश्यक्ता अनुसार समय–समयमा हरेक कुराको परीक्षण हुन सक्नु पर्दछ । बुद्धको लागि विचार स्वतन्त्रता सर्वाधिक महत्वको कुरा थियो । उनको अनुसार विचार – स्वतन्त्रता नै सत्यलाई प्राप्त गर्ने एक मात्र साधन हो । ती ६२ वटा दार्शनिक मतहरूमा कम से कम ६ वटा जति ध्यान दिन योग्य थिए जुन निम्न अनुसार थिए ।

१) अक्रिया वाद :– ती दार्शनिक परम्पराहरूमध्ये एक मुख्य व्यक्तिको नाम पूर्ण–काश्यप थियो । उनको मतलाई अक्रियावाद भनिन्थ्यो । उनको मत अनुसार कर्मको आत्माप्रति कुनै पनि प्रकारले प्रभाव पर्दैन । चाहे कोही कुनै काम गरोस् वा गराओस् । चाहे कसैले कसैको हत्या गरोस् वा गराओस् । चाहे कोही स्वयम् चोरी गरोस् वा डाँका डालोस्, चाहे कसैद्वारा चोरी गर्न लगाइयोस् वा डाँका डाल्न लगाइयोस् । चाहे कोही स्वयं व्यभिचार गरोस् वा चाहे कसैद्वारा गराइयोस् । चाहे कोही स्वयम झूटो बोलोस् वा चाहे कसैद्वारा झूटो बोल्न लगाइयोस् । ‘आत्मा’ प्रति कुनै पनि कुराको प्रभाव पर्दैन । कुनै कार्य जति नै जघन्य भए पनि आत्मालाई पापबाट लिप्त गर्न सकिंदैन । कुनै पनि कार्य जति नै राम्रो होस्, आत्मालाई पुण्यबाट युक्त गर्न सकिंदैन । ‘आत्मा’ प्रति कुनै ‘क्रिया’ नै हुँदैन । जब मान्छेको मृत्यु हुन्छ, उसको शरीरको सबै तत्व ती मूल तत्वसँग मिल्न जान्छ जसबाट उसको शरीर बनेको हुन्छ । मृत्युपछि केही पनि बच्दैन, न शरीर न आत्मा ।

२) नियतिवाद :– दोस्रो विचारधाराको नाम नियतिवाद थियो । यसको मुख्य उपदेशकको नाम मकखली गोसाल थियो । उसको मत एक प्रकारको ‘पूर्व निश्चयवाद’ थियो । उसको मत यो थियो कि न कोही केही गर्न सक्दछ न हुने कुरालाई कसैले रोक्न सक्दछ । घटनाहरू घटिरहन्छन् । स्वेच्छाले कसैले ती घटनाहरू घटाउन सक्दैनन् । न कसैले दुःखलाई दूर गर्न सक्दछ, न कसैले दुःखलाई घटाउन – बढाउन सक्दछ । यो संसारमा मान्छेमा जे जस्तो बित्नुपर्ने हो त्यो बितेरे छाड्छ ।

३) उच्छेद–वाद :– तेस्रो मतलाई ‘उच्छेद–वाद’ भनिन्थ्यो । यसको मुख्य उपदेशक अजित केसकम्बल थियो । उनको मत एक प्रकारको सम्पूर्ण–नाशवाद थियो । उनको शिक्षा यो थियो कि यज्ञ र होम बेकार छन् । कर्मको यस्तो कुनै फल हुँदैन जसलाई आत्माले भोग गर्न सकोस् वा भोग्न परोस् । न कहीं कुनै स्वर्ग छ न कुनै नरक । मान्छेको निर्माण दुःखको केही तत्वबाट भएको हुन्छ । ‘आत्मा’ उसबाट बच्न सक्दैन । संसारमा जति पनि कष्ट छन्, जति पनि दुःख छन्, आत्माको उनीहरूसँग कहीं कुनै तरीकाले आश्रय (आधार) हुँदैन । यी दुःख–कष्टहरू अनायास समाप्त भएर जान्छन् । आत्मालाई चौरासी लाख योनि (चौरासी लाख जीवन वा जन्म) धारण गर्नुपर्ने हुन्छ । तब आत्माको कष्ट र दुःखको अवसान हुन्छ, त्यो भन्दा पूर्व कुनै प्रकारले हुँदैन ।

४) अन्योन्य–वाद :– यस मतलाई ‘अन्योन्य–वाद’ भनिन्थ्यो । यस मतको मुख्य व्यक्तिको नाम पकुध कच्चायन थियो । उनको उपदेश थियो कि सातवटा तत्वहरूबाट प्राणीको निर्माण हुन्छ – पृथ्वी, जल, तेज, वायु, सुख, दुःख र आत्मा । प्रत्येक तत्व एक अर्कोसँग स्वतन्त्र हुन्छ । एकको अर्कोप्रति प्रभाव पर्दैन । त्यो आफैंमा सम्पूर्ण छ र त्यो सबै नित्य छन् । उनीहरूको कुनै पनि प्रकारले नाश हुनै सक्दैन । यदि कुनै मान्छेले कसैको शिर काटेता पनि यो कुनै मारेको होइन । यो त यति मात्र हो कि शस्त्र सात तत्वहरूमा प्रवेश गरेको हो ।

५) विक्षेप–वाद :– संजय बेलट्ठिपुत्रको आफ्नै व्यक्तिगत दार्शनिक मतलाई विक्षेप–वाद भनिन्थ्यो । यो अन्तिम दर्जाको सन्देह–वाद थियो । उनको तर्क थियो – ‘यदि कसैले मलाई स्वर्ग छ भनेर सोधे, यदि मलाई छ भन्ने लाग्यो भने म भन्छु कि हो स्वर्ग छ । यदि मलाई स्वर्ग छैन भन्ने लाग्यो भने म भन्छु कि स्वर्ग छैन । यदि कसैले मलाई सोधे कि मान्छे बनाउने गरिन्छ, के मान्छेले कुशल अकुशल कर्मको फल भोग्नुपर्छ, के मृत्युको अनन्तर आत्मा रहन्छ, म यी सबैको नकारात्मक उत्तर दिन्छु । किनकि म बुझ्दैन कि यो हुन्छ ….. ।’ संजय बेलट्ठिपुत्रको केही–केही यस्ता तर्कहरू चल्थे ।

६) चातुर्यसंवर–वाद ः– छैटौं दार्शनिक मत चातुर्यसंवर–वादको नामले चिनिन्थ्यो । यस मतको संस्थापक आचार्य महावीर थिए जसलाई ‘निगण्ठनाथ पुत्त’ भनिन्थ्यो । महावीरको शिक्षा यो थियो कि ‘आत्मा’ लाई आफ्नो पूर्व जन्मको कर्म तथा यस जन्मको कर्मको परिणामस्वरूप पुनर्जन्म ग्रहण गर्नुपर्ने हुन्छ । त्यसैले उनको भनाइ थियो कि तपश्चर्याद्वारा पुण्य कर्मको नाश गर्नुपर्दछ । अकुशल कर्म रोक्नको लागि महावीरले चातुर्याम धर्मको उपदेश दिए अर्थात् चारवटा नियम पालन गर्न सिकाए –
क) हिंसा नगर्नु । ख) चोरी नगर्नु । ग) झूटो नबोल्नु ।
घ) मोह, राग, द्वेष, हिंसा त्याग्नु र ब्रम्हचर्य व्रतको पालना गर्नु ।

आफ्नो समकालीनहरूको मतप्रति बुद्धको भाव

भगवान् बुद्धले यी नयाँ दार्शनिकहरूको मतलाई स्वीकार गर्नु भएन । बुद्धले उनीहरूको मतलाई अस्वीकार गर्नुका कारणहरू थिए । बुद्धको भनाइ थियो – यदि पूर्ण काश्यप या पकुध कच्चायनको सिद्धान्तलाई सत्य मान्ने हो भने मान्छेले कुनै पनि अकुशल (खराब) काम गर्न सक्छ, कसैलाई कुनै पनि हानि पु¥याउन सक्छ, विना कुनै पनि प्रकारको सामाजिक जिम्मेवारी स्वीकार गरी या विना कुनै पनि प्रकारको सामाजिक परिणामको विचार गरी एउटा मान्छेले अर्को मान्छेको हत्या पनि गर्न सक्छ । यदि मक्खली गोसालको सिद्धान्तलाई ठीक मान्ने हो भने मान्छे भाग्यको हातको खेलौना बन्न जान्छ । मान्छेले कुनै पनि तरीकाले आफ्नो बन्धनलाई काट्न सक्दैन । यदि अजित केसकम्बलको सिद्धान्तलाई ठीक मान्ने हो भने मान्छेको लागि खाने, पिउने र मोज गर्नुको अतिरिक्त केही गर्नको निम्ति शेष (बाँकी) केही रहँदैन । यदि संजय बेलट्ठिपुत्रको सिद्धान्त सही हो भने पानीमा त्यसै बहँदै गरेको जस्तै मानिसको जीवन उद्देश्य विहीन (निरुद्देश्य) हुन्छ । यदि निगण्ठनाथपुत्तको मत सही हो भने मानिसको जीवन काय–क्लेश तथा तपश्चर्याको अधीनमा हुनेछ, मान्छेको इच्छा–आकांक्षा र स्वाभाविक प्रवृत्तिहरूको सर्वथा निर्मूल हुनेछ ।

भगवान् बुद्धको दर्शन अनात्मावादको सिद्धान्तमा आधारित छ । भगवान बुद्धले भन्नु भएको थियो कि आत्मा हुँदैन, पुनर्जन्म हुन्छ । उनलाई लाग्थ्यो कि जब आत्मा नै हुँदैन भने पुनर्जन्म कसरी हुन सक्दछ ? यसमा कहीं कुनै विरोध छैन कि विना आत्माको पुनर्जन्म हुनसक्दछ । तर यहाँ आत्मा कहीं पनि छैन । बुद्धले आत्माको अस्तित्वलाई स्वीकार गर्नु भएको छैन । त्यसैले बुद्धको दर्शन वा सिद्धान्त अनात्मवादमा आधारित छ ।

अतः ती दार्शनिकहरूको कुनै एउटा पनि मत बुद्धलाई राम्रो लागेन । उनलाई यस्तो लाग्यो कि यी सबै यस्ता मानिसहरूको विचार थिए जो या त निराशावादी थिए, या असहाय थिए या कुनै पनि राम्रा–नराम्रा परिणामको तर्फबाट सर्वथा उदासीन थिए ।  त्यसकारण बुद्धले अन्यत्र नै कहींबाट प्रकाश पाउने अपेक्षा गर्नुभयो, निरन्तर ज्ञानको खोजीमा लागिपर्नुभयो ।

‘नोटः यस लेखको आशय कुनै पनि धर्म, सम्प्रदाय र सिद्धान्तहरूको आलोचना एवं विरोध गर्नु होइन, बरु तत्कालीन समयका विभिन्न दार्शनिक मतहरूप्रति भगवान बुद्धको भावलाई सर्वसाधारण समक्ष उजागर गर्ने एउटा सानो प्रयास मात्र हो ।’

-सन्दर्भ ग्रन्थः डा. भीमराव रामजी आंबेडकरको–भगवान बुद्ध और उनका धर्म ।

Comments

comments

SHARE