-भिक्षु बोधिज्ञान

धम्मपद बुद्धधर्मको सार संक्षेप हो । भगवान बुद्धको महापरिनिर्वाण (ई.पूर्व ५४३) भएको केही समय पछि मगधको राजधानी राजगृहको सप्तपर्णी नामको गुफामा बसेको बौद्ध संगीति (भेला) मा ५०० भिक्षुहरुले बुद्धले दिनुभएको उपदेश संकलन गरिएको थियो । यो संकलनलाई नै त्रिपिटक नाम दिइयो । पिटक भन्नाले टोकरी भन्ने बुझिन्छ । त्रिपिटक भनेको १. सुत्त पिटक, २. विनय पिटक र ३. अभिधम्म पिटक हो ।

धम्मपद सुत्तपिटक अन्तर्गतको १५ ग्रन्थ मध्येको दोस्रो भाग हो । धम्मपद २६ वटा वर्ग र ४२३ वटा गाथाहरुमा वर्गीकरण गरिएको छ । यस महान् ग्रन्थमा भगवान बुद्धले बुद्धत्व प्राप्तिको दिनदेखि परिनिर्वाण प्राप्त नगरुञ्जेल विभिन्न समयमा विभिन्न ठाउँमा र विभिन्न व्यक्तिसँग वार्तालापको बेला दिइएका उपदेश संकलित छ । यी गाथाहरुमा मानव जीवनका लागि अत्यावश्यक ज्ञान जस्तै दुःख कसरी हटाउने, सुख कसरी पाउने, शील, समाधि र प्रज्ञा, निर्वाण आदि बारे सरल, सुन्दर र मार्मिक ढंगले प्रस्तुत गरिएको छ । त्यही कारणले धम्मपद ग्रन्थले बौद्ध साहित्यमा धेरै महत्वपूर्ण स्थान ओगटेको छ र यो ग्रन्थ सबभन्दा लोकप्रिय छ । मेरो विचारमा धम्मपदमा दिइएका शिक्षाहरु बौद्धहरुको लागि मात्र होइन, सम्पूर्ण मानव जातिको लागि पनि त्यत्तिकै लाभदायक छ ।

मूल धम्मपद पालि भाषामा छ । तर कालान्तरमा यसलाई संस्कृत, प्राकृत, चिनीयाँ, अंग्रेजी, फ्रेञ्च, डच, रुसी, हिन्दी, तिब्बती, मंगोलियन आदि विभिन्न देशमा विभिन्न भाषाहरुमा विद्वानहरूले अनुवाद गरे ।

यसले धम्मपदको विश्वभरमै लोकप्रियता जनाउँछ । वास्तवमा आजको दुःख, त्रास, लडाईं, झगडा, तनावले ग्रसित संसारमा धम्मपदको उपदेशको आवश्यकता छ । यसको प्रचारले सुख, शान्ति र मानव कल्याणको लागि टेवा दिन्छ र फलस्वरुप यसले सम्पूर्ण मानव जातिको कल्याण हुन्छ । धम्मपदको मेरो अध्ययन र मननले उपरोक्त विचार व्यक्त गर्न मलाई सहयोग गरेको छ ।

बौद्ध साहित्य र दर्शनमा त्रिपिटक अर्थात् त्रिपिटकको महत्व छ । किनभने यसलाई नै सम्पूर्ण पालि साहित्यको आधार मानिन्छ । बौद्धहरुको प्रमुख र आधार ग्रन्थ मानिएकोले पनि यसलाई प्रामाणिक ग्रन्थावलीको रुपमा लिइन्छन् । मुसलमानहरूको आधिकारिक धार्मिक ग्रन्थ कुरान, ईशाइहरुको बाइबल र हिन्दूहरुको वेद, उपनिषद र गीतालाई जस्तै बौद्धहरुको सर्वाधिक प्रामाणिक ग्रन्थ धम्मपद हो ।

सम्पूर्ण बुद्धवचन तीन पिटकमा पाइन्छन् । त्रिपिटक ग्रन्थ यसप्रकार छन् :
१ सुत्त पिटक
२. विनय पिटक
३. अभिधम्म पिटक
१. सुत्तपिटकमा
५ ग्रन्थहरु पर्दछन् :
१. दीघनिकाय २. मज्झिम निकाय ३. संयुक्त निकाय ४. अंगुत्तर निकाय ५. खुद्दक निकाय
खुद्दक निकाय अन्तर्गत १५ ग्रन्थहरु पर्दछन् :
१. खुद्दक पाठ २. धम्मपद ३. उदान ४. इतिवुत्तक ५. सुत्तनिपात ६. विमानवत्थु ७. पेतवत्थु ८. थेरगाथा ९. थेरीगाथा १०. जातक ११. निद्देस १२. पटिसम्भिदामग्ग १३. अपदान १४. बुद्धवंस १५. चरियापिटक
२. विनय पिटक अन्तर्गत निम्न ग्रन्थहरू पर्दछन् :
१. पाराजिका २. पाचित्तिय ३. महावग्ग ४. चुल्लवग्ग ५. परिवार
३. अभिधम्म पिटक अन्तर्गत निम्न ग्रन्थहरु पर्दछन् : १. धम्मसंगणी २. विभङ्ग ३. धातुकथा ४. पुग्गलपञ्ञति ५. कथावत्थु ६. यमक ७. पट्ठान
अर्थ न बर्थका हजारौं कुरा सुन्नुभन्दा धर्मपदले युक्त एउटै कुरा सुन्नु बेश छ । अर्थ न बर्थका हजारौं कुरा पढ्नु भन्दा धर्मपदले युक्त एउटै कुरा पढ्नु बेश छ, जुन कुरा सुन्नाले र पढ्नाले मनमा शान्ति मिल्दछ । (धम्मपद १०१, १०२) । अप्पमादो अमतपदं पमादो मच्चुनो पदं भन्ने धम्मपदको अप्पमाद वग्गमा भएको गाथा एउटा ७ वर्षे श्रामणेर निग्रोधबाट सुनेर सम्राट अशोकले ठूलो व्याकुल अवस्थाबाट पार भई सुख शान्तिको अनुभूति गरेका थिए र पछि गएर सम्राट अशोकले बुद्धशासन तथा मानव कल्याणको लागि ठूलो देन दिए ।

अकुशल कर्मले नराम्रो प्रतिफल र कुशल कर्मले राम्रो प्रतिफल नै दिन्छ भन्ने विभिन्न उपमाहरु दिनुभई सुकर्म र अकर्म बारे धम्मपदमा शिक्षा दिइएको छ । आपूmलाई आपैmले मात्र ठूलो उपकार गर्न सक्छ, त्यस्तो उपकार बुबा आमा तथा नाता कुटुम्ब, साथी भाइबन्धुहरुले पनि गर्न सक्दैन । आपूmलाई उपकार गर्नका लागि आपूm नै सतर्क र जागृत हुनुपर्छ भन्ने शिक्षा प्राप्त हुने धम्मपदका गाथाहरु अध्ययन मनन गर्दा मनमा अपार प्रीतिको अनुभव हुन्छ ।

यसै सन्दर्भमा बौद्ध दर्शनमा गहन महत्व भएको त्रिपिटक ग्रन्थबारे प्रकाश गर्न विभिन्न लेख, पुस्तकहरु अध्ययन गरी धेरै पुस्तक लेखिसक्नुभएका लेखक हरिश्चन्द्रलाल सिंहले पश्चिमी लेखकहरुले धम्मपद पुस्तक बारेमा लेखिएका र व्यक्त गरिएका भावहरुबाट प्रभावित भएर उहाँले पनि धम्मपद पालिको साथै अंग्रेजी र नेपाली भाषामा अनुवाद समेत राखेर पुस्तक सम्पादन गर्नुभएको छ । उहाँको प्रयास प्रशंसनीय लाग्यो ।

धम्मपद ग्रन्थ धेरै लोकप्रिय भएको कारणले संसारका विभिन्न भाषामा अनुवाद भइसकेको छ । नेपालमा पनि सर्वप्रथम नेपाल भाषामा डाक्टर इन्द्रमान बैद्यबाट अनुदित धम्मपद सन् १९३१ मा प्रकाशित भएको थियो । त्यसपछि सन् १९५२ मा भिक्षु अमृतानन्दले गर्नुभएको नेपाली अनुवाद नै उल्लेखनीय भएको छ । नेपाली भाषामा भिक्षु अमृतानन्दद्वारा अनुवादको अतिरिक्त तामाङ्ग, गुरुङ्ग र थारु भाषामा पनि धम्मपदको अनुवाद भइसकेको छ । यसको महत्व बुझी भविष्यमा पनि अरु अनुवाद कार्यको आशा गर्न सकिन्छ । अस्तु

Comments

comments

SHARE