धुलिखेल–जुझारु नेतृत्व सहितको रोशी गाउँपालिकाले रोशीको दृष्टी पर्यटन र कृषि” भन्ने मूल नाराका साथ आर्थिक वर्ष ०७६/०७७ को आफ्ना नीति तथा कार्यक्रम अघि सारेको छ । उदाहरणीय कामहरु गर्दै जनताको मन जित्दै आएको यस गाउाँपालिकाले फलदायी लाग्ने पुराना कार्यक्रमलाई निरन्तरता र आवश्यकताको आधारमा अन्य नयाँ कार्यक्रम समेत समेटेर आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको रोशी क्षेत्र र दक्षिण पहाडी क्षेत्र,यि भौगोलिक अवस्था र जनचाहना अनुरुप प्रचलित नीति कानुनअनुसार पाँचौं गाउँसभामार्फत नीति र कार्यक्रम सार्वजनिक गरेको हो । गाउँसभामा (असार १०) मंगलबार सुरु भएको नीति तथा कार्यक्रम माथिको छलफल योजना र बजेट विनियोजन सहित (असार १५) आइतबार सकिएको थियो ।

गाउँपालिकाका अध्यक्ष दलबहादुर (डिबि) मोक्तानले ‘सुशिक्षित नागरिक, स्वच्छ वातावरण, समृद्ध रोशी, भ्रष्टाचार मुक्त समाज’ भन्ने सोचका साथ आफ्ना लक्ष्य र उदेश्य तय गर्दै गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम यस्तो छ :

सभाका आदरणीय सदस्य ज्यूहरु तथा अतिथी महानुभावहरु,
अहिले हामी संविधानको सर्वस्वीकार्यता बढाउँदै कार्यान्वयनको चरणमा छौँ । यो काम जटिल र चुनौतिपूर्ण भएतापनि नयाँ नेपाल निर्माणको ऐतिहासिक अवसरको रुपमा लिएर अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।

संविधान प्रदत्त हक अधिकार सहित गठित यस गाउँपालिकाको अध्यक्षको हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष ०७६।०७७को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न उभिएको छु ।

यस गौरवपूर्ण अवसरमा सर्वप्रथम नेपाली नागरिकहरुको स्वतन्त्रता तथा अमनचैन प्राप्तिका लागि विभिन्न कालखण्डमा आफ्नो प्राण आहुति गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

साथै घाइते र वेपत्ता नागरिकप्रति सम्मान प्रकट गर्दछु । राजनैतिक सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु ।

हामी निर्वा्चित भएर यस गाउँपालिकाको विकास र समृद्धिमा लागेको दुई वर्ष वितिसकेको छ । यो दुई वर्षको भोगाईको क्रममा विकास र समृद्धिको लागि हामीसँग प्रसस्त अवसरहरु भएपनि विविध समस्या तथा चुनौतिहरुपनि त्यतिकै रहेको हामीले अनुभव गरेका छौं । हामीसँग उपलब्ध सीमित साधन र श्रोतका बावजुद पनि यस क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो सम्पूर्ण रोशी परिवार चिन्तित थियो, छ र हुने नै छ ।

गणतन्त्र, संघीयतासँगै बढेका जनताका आकांक्षा, चाहना र भावनालाई सम्वोधन गर्ने दृढ संकल्पका साथ आ.व. ०७६/०७७ को बार्षिक नीति तथा कार्यक्रम यस सम्मानित सभा मार्फत समग्र रोशी गाउँपालिकाका नागरिकहरु समक्ष राख्न पाउँदा म आफूलाई गौरवान्वित ठानेको छु ।

यस अवसरमा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण गाउँपालिकाबासीहरु, निर्वा्चित जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, राजनैतिक दलका साथीहरु, नागरिक समाजका अभियन्ताहरु, ओहोरात्र खटिने कर्मचारीहरु, शिक्षक, पत्रकार, समाजसेवीहरुप्रति आभार व्यक्त गर्दछु ।

नेपालको मध्यक्षेत्रमा अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको यस रोशी गाउँपालिका प्राकृतिक श्रोत, कृषि र पर्यटनमा पर्याप्त सम्भावना बोकेको गाउँपालिका हो । राजधानी प्रवेशद्धारको रुपमा रहेको वि.पि. लोकमार्गसँगै बग्ने धार्मिक महत्वको रोशी खोला संरक्षणको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न सक्ने सम्भावनापनि उत्तिकै रहेको छ ।

बेसी देखि पहाड सम्मको सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस क्षेत्रमा कृषि र पर्यटनलाई नमुनाको रुपमा विकास गरी समग्र गाउँको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना रहेको हुँदा समग्र गाउँपालिकाको आर्थिक विकास योजना बनाई आगामी दिनमा अगाडि बढाइनेछ ।

गाउँसभाका सदस्य तथा अतिथि महानुभावहरु,
अब, म यस गाउँपालिकाको आगामी आ.व. २०७६/२०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व यस गाउँपालिकाको दीर्घकालिन सोच, लक्ष्य र उद्देश्यको बारेमा संक्षिप्त विवरण प्रस्तुत गर्दछु ।

सोच
सुशिक्षित नागरिक, स्वच्छ वातावरण, समृद्ध रोशी, भ्रष्टाचार मुक्त समाज ।
लक्ष्य
रोशी गाउँपालिकाका प्रत्येक नागरिकको जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउने ।
उदेश्य
रोशी गाउँपालिकाका सबै नागरिकको घरदैलोमा विकासका पूर्वाधारको सहज पहुँच पुर्याउने । आधुनिक र व्यावसायिक कृषि प्रणाली तथा उद्योग तथा पर्या पर्यटन मार्फत उद्यमशिलता र रोजगारीको अवसर सिर्जना गरी जनताको आयस्तरमा वृद्धि गर्ने ।

शिक्षामा सबै बालबालिकाको समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने ।
रोशी गाउँपालिकामा जोखिममा रहेका वर्ग र सामाजिक विभेद र उत्पिडनमा परेका नागरिकहरुकोदूर्व्यवहार, भेदभाव र हिंसाको अन्त्यसँगै समतामूलक विकास मार्फत सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण निर्माण गर्ने ।

गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानी र सरसफाईमा नागरिकको सहज पहुँच पुर्याउने ।

वन तथा भू संरक्षण एवं फोहोरमैलाको उचित व्यवस्थापन गरी रोशी जलाधारको संरक्षण गर्दै प्रकोप जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापनमा उत्थानशिल र स्वच्छ वातावरणयुक्त समुदाय निर्माण गर्ने ।

गाउँपालिकाद्धारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता, जवाफदेहीता र नागरिकमा सन्तुष्टी कायम गर्ने ।
स्थानीय श्रोत साधनहरुको परीचालन गरि स्थानीय स्तरमा रोजगारी सृजना गर्ने ।

नीतिहरु :
पूर्वाधार विकास तर्फ(सडक , सिंचाई, उर्जा, संचार)
स्थानीय सडकहरुको निर्माण तथा उपयोग गर्दा वातावरणीय सन्तुलनलाई ध्यान दिई खास गरी पानीको मुहान, खोला खोल्सी, वनको संरक्षणलाई प्राथमिकता दिइनेछ । डोजर जस्ता ठूला मेसिनहरुको जथाभावी प्रयोगलाई नियन्त्रण र निरुत्साहित गरिनेछ ।

नयाँ बनाईएका सडकहरुको किनारामा बोटबिरुवा नरोपी योजनाको फरफारक नगर्ने निति अबलम्बन गरिनेछ ।

खेतीयोग्य जमिनमा सिंचाईको सम्भाव्यता अध्ययन गरी खोला तथा थोपा सिंचाई विस्तार योजना मार्फत उत्पादन वृद्धिमा जोड दिइनेछ ।

दुई वर्षभित्र रोशी गउाँपालिकाको सबै घरमा विजुली पुर्याउने लक्ष्य लिई सामुदायिक विद्युतिकरणमा गाउँपालिकाले साझेदारी गर्ने र त्यसको लागि ९० प्रतिशत विद्युत प्राधिकरण ५ प्रतिशत उपभोक्ता र ५ प्रतिशत गाउँपालिका मार्फत बजेट व्यवस्थापन गर्ने नीति लिइनेछ ।

गाउँपालिकाभित्रका प्रत्येक नागरिकलाई सूचनाको हक दिलाउन रेडियो र साप्ताहिक पत्रिका मार्फत सूचना प्रवाह गरिने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

पूर्निर्नमाण अन्तर्गतको नीजि आवास निर्माणमा राष्ट्रिय पूनर्नीर्माण प्राधिकरण सँग प्रभावकारी समन्वय गर्ने र गाउँपालिकाले निर्माण गरेको कार्य्विधि अनुरुपनक्सा पास गरेर मात्र भवन निर्माण कार्य गरिनेछ ।

पूर्वाधार अन्तर्गतका सबै निर्माण कार्य उत्पादनमुखी, वातावरण मैत्री, अपांगतामैत्री, बालमैत्री,जेष्ठ नागरिकमैत्री र प्रकोप प्रतिरोधी बनाईने छ ।

गाउँपालिकाका सबै वस्तीहरु सडक सञ्जालबाट जोडिनको लागि बजेट विनियोजनमा प्राथमिकता दिइनेछ र वडाका केन्द्रहरु जोड्ने सडकको स्तरोन्नती गरिनेछ ।

स्थानीय सडक गुरुयोजना बनाई पर्यटकीय, ऐतिहासिक र हरित लगायत सडकहरुमा वर्गीकरण गर्ने र सोही अनुरुप प्राथमिकता क्रम अनुसार मात्र वजेट विनियोजन गर्ने नीति लिईनेछ ।

भुकम्प पछिको पुनःनिर्माणमा स्थानीय समुदायको अग्रसरतालाइ प्रोत्साहन गरी स्थानीय सामग्रीको प्रयोगलाई बढावा दिइनेछ ।
आर्थिक विकास (कृषि, उद्योग, वाणिज्य, पर्यटन, सहकारी, वित्तिय)

“रोशीको दृष्टी पर्यटन र कृषि” भन्ने मूल नारालाई सापेक्ष तुल्याउन कृषि उत्पादनमा वृद्धिको लागि विभिन्न कार्यक्रम तथा पर्यटकिय क्षेत्रको रुपमा रहेका विभिन्न धरोहरहरुको संरक्षण गर्ने नीति लिईनेछ ।

प्राकृतिक स्रोत व्यवस्थापन तथा आर्थिक विकासका अभियानमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गरिनेछ ।
कृषक र उद्यमीहरुका लागि प्रत्येक वडामा लगानीका लागि सुलभ ऋणको व्यवस्था मार्फत उद्यमशीलता वृद्धिमा जोड दिइनेछ ।

पशुमा लाग्ने रोगको पहिचान तथा उपचारको लागि रोग निदान तथा डिस्पेन्सरी कार्यक्रम सञ्चालन गरिनेछ ।
व्यावसायिक शिक्षा अन्तर्गगत कृषि विषय पठनपाठन हुने विद्यालयसँग साझेदारी र समन्वय गरी कृषि उत्पादन र कृषकहरुको क्षमता विकासमा सहयोग पुरयाइनेछ ।

हिउँदे तथा वर्षे फलफुल खेतीलाई प्रोत्साहन दिँदै विभिन्न कृषि उपज उत्पादनको पकेट क्षेत्र घोषणा गरी उत्पादन वृद्धिमा सहयोग पुर्याईनेछ ।
स्थानीय तहमा उपलब्ध खानी तथा खनिज पदार्थको तथ्याङ्क संकलन, अभिलेख र व्यवस्थापन कार्य गरिनेछ ।

खानी तथा खनिज पदार्थको संरक्षण र उपयोग सम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ ।

वि.पि. राजमार्ग आसपासमा आन्तरिक पर्यटन प्रवर्धनको लागि विशेष क्षेत्र डम्फू पार्क निर्माण गरिनेछ ।
खेतीयोग्य जग्गामा बालीनाली र खेती अयोग्य तथा कमसल जग्गामा पशुपालन सञ्चालन गर्ने, खेर गएको भीर पाखामा चिउरी , तेजपात र अन्य बहुवर्षीय घाँस र डालेघाँस लगाउन कृषकहरुलाई प्रेरित गरिनेछ ।

दातृ संस्था, गैरसरकारी संस्था, प्रदेश र केन्द्र सरकारसँग समन्वय र सहकार्यमा आर्थिक विकास सँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिनेछ ।
पर्यटन प्रवर्धनको लागि घ्याङडाँडा देखि ताराखसे लेक सम्मको पर्यटकीय पदमार्ग सञ्चालनको लागि पूर्वाधार निर्माणमा जोड दिइनेछ ।
महाभारत लेक उच्च पहाडी क्षेत्रमा उच्च मूल्यका फलफुल वाली , किवि, कागजीबदाम, अलैची, ओखर जस्ता वालिहरुलाई पकेटको रुपमा विस्तार गरिनेछ ।

कृषि फर्म, कृषि सहकारीसँग ब्यबसायिक कृषि तथा पशूपालन उत्पादनको लागी साझेदारी कार्यक्रम अगाडी बढाईने छ ।
तरकारी पकेट क्षेत्रमा यस अघि बनाईएका ब्यबसायिक तरकारी डेमो फर्महरुमा युवाहरुलाई समेटी रोजगारीमा आबद्ध गरिने छ ।

ब्यबसायिक पशुपालन( बाख्रा, भैसी, गाई) गर्ने कृषकको दर्ता भएका फर्म भएका फर्महरुको निम्ति जसको उसैलाई संरक्षण तथा साझेदारी कार्यक्रमको ब्यबस्था गरी रोजगारीको सृजना गरिनेछ ।

गैर कृषिजन्य क्रियाकलापमा भूमिको प्रयोगलाई निरुत्साहित गरी कृषि प्रणालीलाई व्यवस्थित गर्न भू–उपयोग योजना निर्माण गरिनेछ ।

“कृषिमा उद्यमशीलता – आजको आवश्यकता” भन्ने नाराका साथ कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणका लागि कृषक तथा उद्यमीहरुको क्षमता अभिवृद्धि गरिनेछ र साना तथा घरेलु उद्योगहरु सञ्चालनको लागि सहजिकरण गरिनेछ ।

कृषि–जैविक विविधताको महत्व भएका बाली तथा वस्तुहरुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम संचालन गरिनेछ ।
कृषि तथा पशुपालन व्यवसायको जोखिम न्यूनीकरणका लागि बाली तथा पशु विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

कृषक पाठशाला, नयाँ प्रविधिको प्रयोग, कृषक अध्ययन अनुभव भ्रमण जस्ता सिर्जनात्मक काम गरिनेछ । पशुपालनलाई आय आर्जनको आधारको रुपमा स्थापित गरिनेछ । जसका लागि नश्ल सुधार, कृतिम गर्भधारण, चरण क्षेत्र विकासमा जोड दिइनेछ ।

वैदेशिक रोजगारमा संलग्न व्यक्तिहरुको रेमिट्यान्सको निश्चित रकम अनिवार्य रुपमा गाउँपालिकाद्धारा खडा गरिने विप्रेशण कोषमा जम्मा गरिनेछ र उक्त रकमको निश्चित प्रतिशत व्याज उपलब्ध गरी सो रकम युवा उद्यमको क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ । यसको लागि बैँकसँग साझेदारी र समन्वय गरिनेछ ।

कम्तिमा एउटा सामुदायिक पर्यटन सूचना र सेवा केन्द्र स्थापना गरिनेछ । यस केन्द्रबाट पर्यटकीय सेवा र सूचनाका अतिरिक्त स्थानीय हस्तकलाको प्रर्दशन तथा बिक्री कार्य संचालन गरिनेछ ।
रोशीखोलाको विभिन्न स्थानमा ड्याम निर्माण गरी रोशी खोलाको शुद्धिकरण गर्दै आय आर्जन र पर्यटकीय गन्तव्य निर्माणको आधार तयार गरीनेछ ।

वनजंगलमा पाइने जडिवुटि उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाको लागि लगानीकर्तालाई आमन्त्रण गरिनेछ ।
एक वडा एक नमुना सहकारी कार्यक्रम अबलम्बन गरिनेछ ।

सामाजिकविकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, संस्कृति, समावेसीकरण)
मानव विकासको सूचकाङ्कमा सुधार गर्न आगामी २ वर्ष्भित्र पूर्ण साक्षर रोशी गाउँपालिका घोषणा गरिनेछ । रोशी गाउँपालिकाको विद्यालय शिक्षालाई व्यवस्थापन तथा नियमन गर्न शिक्षा नीति¸ ऐन तथा नियमावली तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

गाउँपालिकाभित्रको विद्यामान शिक्षक दरबन्दीलाई विद्यालय तथा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गरिनेछ । विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक वडामा एकरएक वटा नमूना विद्यालय सञ्चालन गरिनेछ । गाउँपालिकाभित्रको वालविकास केन्द्रहरुलाई आवश्यकता र औचित्यका आधारमा पुनर्वितरण गरिनेछ ।

गाउँपालिकाभित्रको बालबालिकालाई अनिवार्य तथा निस्शुल्क आधारभूत शिक्षाको पहुँच पुर्याउन भर्ना अभियान कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । गाउँपालिकाभित्रका विद्यालयहरुलाई नक्साङ्कन गरी पहुँच, समन्यायर भौगोलिक अवस्थाको आधारमा विद्यालयहरुको स्थापना र समायोजन गरिनेछ ।

विद्यालय शिक्षाको गुणस्तर बृद्धि गर्न आधारभूत तथा माध्यमिक तहस्तरीय विविध अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ । विद्यालयतहमा सञ्चालन हुने परीक्षालाई मर्या्दित, व्यवस्थित गरी गुणस्तर सुधारको अभिन्न अङ्गको रुपमा विकास गरिनेछ ।

विद्यालय शिक्षामा प्रविधिगत खाडल (Digital Gap) न्यूनीकरण तथा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी पठन पाठनको व्यवस्था गर्न शिक्षकहरुलाई आइसिटी सम्बन्धी तालिम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ ।

विद्यार्थीको कक्षागत, तहगत र विषयगत सिकाइ उपलब्धीको आधारमा शिक्षकलाई पुरस्कार तथा दण्डको व्यवस्था गरी शिक्षण पेशालाई सम्मानित, मर्या्दित तथा अनुशासित बनाइ शिक्षकहरुमा प्रतिस्पर्धात्मक भावनाको विकास गरिनेछ ।

विद्यालय शिक्षामा पारदर्शिता, सुशासन, जवाफदेहिता, उत्तरदायित्व प्रवर्द्धन गर्न विद्यालय अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।

संघीय सरकार र प्रदेश सरकारको सहयोग, समन्वयर साझेदारीमा विद्यालयहरुको भौतिक पूर्वाधार भूकम्प तथा विपद् प्रतिरोधी, बालमैत्री, लैंगिकमैत्री तथा अपाङ्गतामैत्री बनाइनेछ ।

बालबालिकाको सहभागिता तथा नेतृत्व क्षमता विकास गर्न विद्यालयहरुमा बालक्लव तथा इको क्लव गठन गर्न प्रोत्साहित गरिनेछ ।

विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न वैकल्पिक शिक्षा तथा निरन्तर शिक्षाको व्यवस्था मिलाइनेछ ।

१५ देखि ६० वर्ष उमेर समुहका निरक्षर मानिसहरुलाई साक्षर बनाउन सामुदायिक सिकाइ केन्द्र, विद्यालयहरु र विभिन्न संघसंस्थाको सहयोग, समन्वय र साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालय शिक्षामा समन्याय प्रवर्द्धन गर्न अनाथ, टुहुरा, अतिसीमान्तकृत, लोपोन्मुख, अतिविपन्न र दलित बालबालिकालाई विशेष छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

संस्थागत विद्यालयहरुमाबालमैत्री वातावरण सुनिश्चित गर्न नियमनको दायरामा ल्याइनेछ ।

गाउँपालिकाभित्र संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरु, विभिन्न संघसंस्थाहरुको समन्वय, सहयोग र साझेदारीमा नमुना आवासीय विद्यालय सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइनेछ ।

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय सरकार र प्रधानाध्यपकवीच, प्रधानाध्यापक र शिक्षकहरुवीच आवधिक कार्यसम्पादन करार गरिनेछ ।
विभिन्न संघसंस्थाहरुको समन्वय र सहकार्यमा विद्यालयहरुलाई विपद् व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

अनुमति प्राप्त गरी सञ्चालनमा रहेका आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई विद्यार्थी संख्याका आधारमा शिक्षण अनुदान (Per Capita Funding- PCF ) को व्यवस्था गरिनेछ ।

शिक्षा क्षेत्रमा कार्यरत मानवस्रोतको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुधारका लागि नमूना विद्यालयहरुको अध्ययन अवलोकन भ्रमण गर्ने व्यवस्था मिलाइनेछ ।

संघीय सरकार, प्रदेश सरकार र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय साझेदारीमा प्राथमिक तहका कक्षाहरुमा सूचना तथा प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन र शिक्षक तालिमको प्रबन्ध गरी पठनपाठनको व्यवस्था मिलाइनेछ ।

बालविकास कक्षाहरुमा बालबालिकाको चाहना, उमेर, क्षमता, सिकाइस्तरका आधारमा सिक्ने र सिकाउने व्यवस्थाका लागि प्रारम्भिक साक्षरता र गणित कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

गाउँपालिकाभित्रका युवाहरुमा खेलकुदको माध्यमबाट अनुशासन, गतिशिलता, शारीरिक तथा मानसिक विकास गर्न अन्तर वडास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रत्येक वडामा माध्यमिक तहसम्म निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराइनेछ । बालबालिकाहरुले मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चितताको लागि मातृभाषाको शिक्षामा जोड दिँदै अंग्रेजी माध्यमबाट पठनपाठनको समेत व्यवस्था मिलाई त्रैभाषिक शिक्षा नीति अवलम्बन गरिनेछ ।

उत्कृष्ट विद्यार्थी छनोट गरी छात्र तथा छात्रावृत्तिको व्यवस्था गरिनुका साथै शैक्षिक बेरोजगार युवालाई लक्षित गरी लोकसेवा आयोग तयारी कक्षासञ्चालन गरिनेछ ।

यस गाउँपालिका अन्तर्गतगतका विद्यालय उमेरका सबै बालबालिकाहरु विद्यालयमा भर्ना भई नियमित उपस्थित गराउन र सिकाइ स्तर वृद्धि गर्न जोड दिइनेछ र प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरुलाई प्रोत्साहित गरिनेछ ।

खेलकुद क्षेत्रको संस्थागत विकासका लागि गाउँपालिका स्तरीय खेलकुद विकास समिति गठन गर्न पहल गरिनेछ ।

गाउँपालिकामा खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकास्तरीय खेलकुद मैदानरकभर्ड हल निर्माण गर्न पहल गरिनेछ ।

विद्यालय तहका विद्यार्थीहरुमा विकास, अनुशासन र गतिशिलता प्रवर्द्धन गर्न अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।

“एक गाउँ एक अधिकृत तथा एक गाउँ एक इन्जिनियर” उत्पादन गर्न प्रोत्साहित गरिनेछ ।
एक वडा एक विद्यालय एक फुलबारी बगैचा निर्माण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
बर्षको कम्तिमा १ पटक Health camp र योग शिविर संचालन गरिनेछ ।

रोशी गाउँपालिकाको लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरि कार्यान्वयनमा ल्याईनेछ ।
वस्तिस्तर देखि गाउँपालिका तह सम्मको योजना निर्माण प्रकृयामा महिला,बालबालिका,जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, लोपोन्मुख आदिवासी जनजातिको सहभागिता सुनिस्चितता गरिनेछ ।

“जसको सवाल उसैको संलग्नता र नेतृत्व ” भन्ने नाराको साथमा बाल क्लव, महिला समूह, एकल महिला सञ्जाल, जेष्ठ नागरिक क्लव, दलित समूह, अपांगता भएका व्यक्तिहरुको संस्थाको सशक्तिकरण र सवलीकरणमा जोड दिइनेछ ।
बालबालिकाको प्रयोग मार्फत उत्पादित वस्तु तथा सेवाको उपभोगलाई निरुत्साहित गरिनेछ ।

परिचय पत्र वितरण र सामाजिक सुरक्षा भत्ता वितरणमा अपांगता भएको व्यक्ति तथा सामाजिक सुरक्षा पाउन योग्य तथा नपाएको व्यक्तिहरुलाई घरदैलोमा पुगेर सेवा उपलब्ध गराइनेछ ।
जेष्ठ नागरिक बुबा आमाको संरक्षण नगर्ने छोराछोरी प्रति गाउँपालिकाले कडाइका साथ निगरानी राख्नेछ र गाउँपालिकाद्धारा प्रदान गरिने सेवामा कडाइ गरिनेछ र राम्रो गर्नेहरु मध्ये प्रत्येक वडाका १ जनालाई श्रवणकुमार पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

दलितको मुद्धालाई पहिचानको भन्दा अधिकारको मुद्धा बनाइ परम्परागत सीप तथा प्रविधिलाई व्यावसायिकरण गर्न जोड दिइनेछ ।

“रोशीका महिला विकासमा पहिला” भन्ने नारालाई मुर्त रुप दिन प्रत्यक वडामा कम्तीमा १ उपभोक्ता समिति महिलाको मात्र बनाउने निति अबलम्बन गरिनेछ ।
सामुदायिक स्वास्थ्य तथा सरसफाई प्रवर्धनको लागि महिला स्वास्थ्य स्वयंसेविका र महिला समूहहरु परिचालन गरिनेछ।
स्वास्थ्य सम्बन्धी नीति नीर्माण, सेवा प्रवाह र जनचेतनाको लागि नीजि तथा गैरसरकारी क्षेत्रसँग समन्वय र साझेदारी गरिनेछ।
खानेपानी तथा सरसफाई सम्बन्धि गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।

मातृ तथा शिशु मृत्यूदर घटाउनको लागि “सुत्केरी आमा पोषिलो खाना“ कार्यक्रमका अतिरिक्त बालबचाउ कार्यक्रम संचालन गरिनेछ ।
गाउँपालिकामा प्रसुती सेवा सहितको कम्तिमा १५ शैयाको अस्पताल निर्माणको पहल गरिनेछ ।

यस अस्पताललाई अन्य ठूला अस्पतालको सेवासँग आबद्ध गरिनेछ । गाउँपालिका भित्रका जेष्ठ नागरिकहरुको गाउँगाउँमा पुगेर स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार व्यवस्थाको लागि सहजता प्रदान गरिनेछ ।

सवै वडाका स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि गर्ने र प्रसुती सेवा उपलब्ध गराउन प्राथमिकता दिइनेछ ।

नेपाल सरकारद्धारा सञ्चालित प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमासुनिश्चित गर्ने कार्यक्रम सञ्चालनमा सहजीकरण गरिनेछ ।
आयुर्वेद सेवालाई वैकल्पिक चिकित्साको रुपमा अघि बढाइनेछ ।

युवाहरुको सीप र दक्षतामा वृद्धि गरी रोजगारीको अवसरहरु सृजना गर्न एक बहु प्राविधिक शिक्षालय स्थापनाको लागि केन्द्र तथा प्रदेश सरकारलाई अनुरोध गरिनेछ ।

बस्ती स्तरमा लोप हुन लागेका साँस्कृतिक मेलाहरुको संरक्षण गर्दै आर्थिक उपार्जनको लागि पर्यटन प्रवद्र्धन सँग जोडिनेछ । धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षणमा जोड दिइनेछ । लोपोन्मुख हायु जाती, पहरी जाती उत्थानको कार्यक्रम सञ्चालन गरिनेछ ।

दलित समुदायको परम्परागत सीपलाई आधुनिकिरण गर्दै व्यावसायीकरणमा जोड दिइनेछ र महिला तथा बालबालिकाको विरुद्धमा हुने हिंसा र दुव्र्यवहार अन्त्य र सबै नागरिकको सम्मानको लागि लैंगिक तथा सामाजिक समावेशीकरण नीति बनाई लागू गरिनेछ ।

वनवातावरण तथा विपद व्यवस्थापन( वन तथा भूसंरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला)
वन वातावरण तथा जलाधार संरक्षण नीति एवं विपद व्यवस्थापन तथा जलवायू उत्थानशिल योजनाको निर्माण गरी कार्यान्वयन गरिनेछ ।

वन वातावरण र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थागत क्षमता बढाउने, जनशक्ति व्यवस्थापन, स्थानीय सहभागिता प्रवर्धन गरिनेछ ।

वस्ती अयोग्य स्थानमा बसोबास गर्ने घर परिवारको सुरक्षा र खेती योग्य जमिन संरक्षणको लागि भू संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

राजमार्ग आसपासको बजार क्षेत्रको फोहोर व्यवस्थापनको लागि विशेष कार्यक्रम सञ्चालनको साथमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइनेछ ।
विपद् व्यवस्थापनकोष वृद्धि गरी प्राकृतिक प्रकोपमा परेका परिवारको संरक्षणमा जोड दिइनेछ ।

विभिन्न सञ्चारको माध्यम मार्फत प्रकोप जोखिम न्यूनिकरण सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
नयाँ बन्ने सबै घर तथा संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाइने व्यवस्था गरिनेछ र पुर्न्निर्माण अन्र्तगत आवास निर्माण कार्यक्रमलाई सहजिकरण गरिनेछ ।

गाउँपालिकाद्धारा निर्मित विपद व्यवस्थापन तथा प्रतिकार्य योजनाको आधारमा विपदको पूर्व तयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनुका साथै गाउँपालिकामा आपतकालीन उद्धार तथा राहत कोष र सामग्रीको व्यवस्था गरिनेछ ।

सार्वजनिक जग्गा तथा वन क्षेत्रमा वृक्षरोपण कार्यक्रमलाई प्राथमिकता दिँदै वन क्षेत्रलाई आर्थिक स्रोतको एउटा प्रमुख आधार बनाइनेछ ।
जलवायु परिवर्तन र यसबाट पर्ने असरबारे आम नागरिकहरुलाई सचेत गराउनुका साथै औपचारिक शिक्षामा समेत यी विषय समावेश गरिनेछ ।

उत्पादनमूलक क्षेत्रमा भू संरक्षण तथा जल उत्पन्न प्रकोप नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

“जनताको खुसी सुन्दर र सफा रोशी ” भन्ने नाराका साथ रोशी सफाई अभियान सञ्चालन गरिनेछ ।

रोशी खोलालाई प्रदुषण हुनबाट जोगाउन आवश्यक नियम कानुन बनाएर कार्यान्वयन गर्नुका साथै रोशी खोला र वि.पि. राजमार्ग आसपासमा उद्यान तथा पार्कहरु निर्माणमा प्राथमिकता दिइनेछ ।

संस्थागत विकास तथा सेवा प्रवाह
सेवा प्रबाहमा प्रवक्ता एवं सुचना अधिकारीको कार्य्विवरण तयार गरी प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ।

वडा कार्यालयहरुमा कम्तिमा एक दिन गाउँपालिका अध्यक्ष बसी गुनासो सुन्ने प्रबन्ध गरिनेछ ।

गाउँपालिका र वडा कार्यालयहरुमा नियमित सार्वजनिक सुनुवाईको व्यबस्था गरिनेछ।

रोशी गाउँपालिकाको सुशासन कार्य्बिधि तयार गरि लागू गरिनेछ ।

समग्र क्षेत्रको सुचना लाई अद्यावधिक र ब्यबस्थित गरिनेछ ।

गाउँपालिकाको कार्यालयमा अस्थाईरकरारमा कार्यरत कर्मचारीहरुको लागि कर्मचारी कल्याणकारी कोष तथा जीवन बिमा गर्ने निति अबलम्बन गरिनेछ ।

रोशी गा. पा का बजार क्षेत्रका कम्तिमा ३ ठाउँमा सि.सि क्यामेरा जडान गरिनेछ ।

जनप्रतिनिधि तथा कर्मचारीहरुको आचार संहिता निर्माण गरि कार्यान्वयन गरिनेछ ।

व्यक्तिगत घटना, जन्म, मृत्यू, विवाह जस्ता महत्वपूर्ण तथ्याङ्कलाई अनलाइन प्रणालीबाट प्रादेशिक तथा केन्द्रीय निकायमा नियमित रुपमा पठाउने व्यवस्था गरिनेछ ।

रोशी गाउँपालिकाको दक्षता, जवाफदेहिता, पारदर्शिता, प्रभावकारीता र भ्रष्टाचारमुक्त शासन सुनिश्चित गर्न विभिन्न रेडियो, पत्रिका, अनलाईन र मोवाइल एप्स मार्फत सूचना प्रवाह गरिनेछ ।

गाउँपालिका भित्र संचालनमा रहेका हरेक उद्योगहरुमा काम गर्ने श्रमीकहरुको जीवन बिमा सम्बन्धित उद्योगले नै गर्नुपर्ने ब्यबस्थालाई कडाईकासाथ कार्यान्वयन गरिनेछ ।

खुला सरकारको अवधारणालाई मूर्त रुप दिन संकलित राजस्वको विस्तृत सूचना हरेक ६/६ महिनामा सार्वजनिक गरिनेछ ।

नागरिक रिपोर्ट कार्ड, सार्वजनिक परिक्षण जस्ता संयन्त्रको प्रयोग गरी जवाफदेही बनाईनेछ ।

कार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारीलाई पुरष्कृत गरिनेछ ।

जेष्ठ नागरिक, अपांगता भएको व्यक्ति, एकल महिला, दलित, लोपोन्मुख आदिवासी जनजातिलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता स

मयमा सहज रुपमा प्रदान गर्नको लागि पारदर्शी र जवाफदेही वितरण प्रणाली अपनाइनेछ ।

सबै सार्वजनिक पूर्वाधारहरु अपाङ्गमैत्रीप्रविधि राखी निर्माण गर्नुपर्ने मापदण्ड जारी गरी कार्यान्वयन तथा अनुगमन गरिनेछ ।

दलित, सिमान्तकृत, लोपोन्मुख, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्रा्ष्ट्रिय प्रचलन अनुरूप सामाजिक सुरक्षाको प्रत्याभूति गरिनेछ ।

अपाङ्गताको प्रकृति हेरी उपयुक्त सीपमूलक तालिम प्रदान गरी रोजगारीका अवसरहरूमा पहुँच विस्तार गरिनेछ तथा उक्त वर्गको स्वरोजगारका अवसरहरूको सृजना गर्दै उद्यमशीलताको विकास गरिनेछ ।

उद्यमीहरुलाई दोहोरो करको मार नपार्ने मात्र होइन, करको भार पनि न्यूनतम हुने गरी नीतिहरु ल्याइनेछ ।

करका प्रशासनिक प्रक्रियालाई सरलीकृत गरिनेछ ।

उठ्नुपर्ने सम्पत्ति कर, व्यवसाय कर, विज्ञापन कर, घर बहाल कर, मनोरञ्जन कर, शुल्क र जरिवानाहरु एवं मालपोत जस्ता स्थानीय आम्दानीका व्यापक स्रोतहरुको सूक्ष्म अभिलेख राख्ने काम पारदर्शी र जवाफदेहीपूर्ण बनाउन आधुनिक सूचना प्रविधिको पूर्ण उपयोग गरिनेछ ।

कर छली र चुहावट विरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गरिनेछ ।

आदरणिय महानुभावहरु,
यो निति तथा कार्यक्रमले मात्र गति प्राप्त गर्न सक्दैन यसमा तपाई हामी सबैको अथक परिश्रम, लगनशिलता र समर्पण भावको जरुरी हुन्छ । हरेक विषय र ब्यक्तिका बिच विभिन्न बुझाईका अन्तरहरु हुन सक्छन् यद्धपी ती सबै क्षेत्रका विषय र ब्यक्तिको अन्तिम द्धेय राष्ट्रको समुन्नती बन्न सके आपसी द्वन्दहरु स्वतहः समाप्त हुनेछन् ।

विखण्डनले विनाश मात्र निम्त्याउँछ भन्ने सर्वसत्यलाई स्वीकार्दै निशर्त र निश्वार्थ भावले रोशीको सम्बृद्धिमा लागिरहन सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, आम नागरीक, कर्मचारी तथा सरोकारवालाहरु सबैमा अनुरोध गर्दै यहि दिशामा आफु पनि लागिरहने प्रण गर्न चाहन्छु ।
धन्यवाद ।

Comments

comments

SHARE