-एल. पी. भानु शर्मा

हामी आफ्नो जीवनको रक्षा गर्न या बचाउन यति धेरै प्रयास गर्छौं । हाम्रा हरेक प्रयास आँफै सुखी र सम्पन्न बन्न एवं नयाँ–नयाँ अनुभवहरू हाँसिल गर्न केन्द्रित हुन्छन् । सजिलो अवस्थामा मात्र हामी अरु कसैलाई प्रेम गर्दछौं जस्तो छ, कठिन परिस्थितिमा भने हरेक प्राणीले अरुलाई बिर्सिएर आफूलाई नै बचाईरहेको हुन्छ । यसरी सबैलाई आफ्नै जीवन प्यारो छ ।

एउटा मान्छे पूरा जिन्दगीभरी जीवन जिउँछ । जन्मदेखि मृत्युसम्म जीवन जिउने क्रम जारी रहन्छ । कोही मर्न नसकेर जिउँछ, कोही मर्न नचाहेर जिउँछ । कोही मर्न नजानेर जिउँछ, त कोही बाँच्न नजानी नजानी पनि जिउँछ ।

यहाँ मर्न कोही चाहन्न । मरेपछि स्वर्ग नै जान्छु भन्ने व्यक्ति पनि मर्न भने चाहन्न । जुनसुकै मूल्यमा हामी बाँच्न चाहन्छौं, चाहे शरीर जति नै गलिसकेको किन नहोस् । सारा विज्ञान मनुष्यको आयु बढाउन रातदिन संघर्ष गर्दैछ ।

यति लामो जीवन जिउँदा पनि जीवन के हो कसैलाइ थाहा हुँदैन । न बाँचुञ्जेल थाहा हुन्छ, न त मर्दा नै । पृथ्वीमा अहिले सवा सात अरब व्यक्तिले आफ्नो जीवन बाँचिरहेका छन्, अरबौंले यस अघि नै बाँचेर बिदा लिईसके । दिनको सरदर तीन हजार मान्छे जिउन नजानेर या नसकेर आत्महत्या पनि गर्छन् । न बाँच्नेले खोज्छ कि यो बाँचिरहेको जीवन के हो, न मर्नेले खोजेर मर्छ कि जीवन के होईन रहेछ । कस्तो अचम्मको अवस्था होला त यो !

हामीमध्ये केहि भाग्यमानीले मात्र जीवनको बारेमा चिन्तन गर्ने थोरै अवसर पाएका हुन्छौं । तर यो अवसरलाई पनि हामी अरु कसैले लेखेका पुस्तक, कसैको भावनाबाट जन्मिएका कविता र कुनै परिस्थितका लागि बनेका सिद्धान्तहरुमा आफ्नो जीवन खोज्नमा प्रयोग गर्न थाल्छौं ।

हामीले यति धेरै माया गर्ने यो जीवन चाहिं के हो त ? केलाई जीवन भनिन्छ ? कहाँ छ यसको श्रोत या उद्गमस्थल ? कहाँँबाट सुरु हुन्छ र कहाँ सकिन्छ जीवन ? साधारणतया हामीले बुझेजस्तै जन्मबाट सुरु भएर मृत्युमा पुगेर सकिने पो हो कि जीवन ? या यो कुनै अर्काे अनवरत चलिरहने महाजीवनको श्रृंखलाको एउटा कडी मात्र पो हो कि ?
बाँच्नका लागि सर–सामाग्री जम्मा गर्नमा अति नै व्यस्त रहेको हुनाले जीवनतिर फर्किएर हेर्ने फुर्सद समेत हुँदैन सायद हामीलाई । व्यस्त र त्रस्त जीवनबाट दुई घडी निकालेर आफ्नै जीवनको बारेमा घोत्लिनेसम्म पनि अवकास हुँदैन । बाँच्न धेरै व्यस्त रहने क्रममा किन बाँचेको हो भन्ने पनि बिर्सिएको हुन सक्छ ।

जतिसुकै उच्च कोटिका भए पनि बाहिरी ज्ञान र सिद्धान्तमा आफ्नो जीवन खोज्न सकिंदैन । साहित्यको अध्ययन अत्यन्तै राम्रो आदत हो, तर यसले स्वाध्यायलाई प्रतिस्थापन गर्न भने कहिल्यै पनि सक्दैन । धेरै पढे–लेखेका ज्ञानी, विद्वान, बुद्धिमानले समेत गर्ने भूल हो मृत अक्षरहरुमा जीवित जीवन खोज्नू । किनभने भाषाको सीमाना हुन्छ, जीवनको पूरै अभिव्यक्ति भाषाको माध्यमबाट हुन सम्भव छैन ।

म र मेरो जीवनको बिचमा मैले सिकेको ज्ञान नै पर्दा बनेर आएको हुन सक्छ । अज्ञानीले अज्ञानको कारणले जीवनलाई चुकिरहेको होला भने ज्ञानीले चाहिं ज्ञानको कारणले । अज्ञान पर्दा बनेर आए त पीडादायक हुने थियो, त्यसलाई चिनेर हटाउने होश पनी आउने थियो होला । तर आफ्नो ज्ञान नै सबैभन्दा ठूलो वाधा बन्न सक्छ भन्नेसम्म पनि हामी सोच्न सक्दैनौं । फलामको हतकडी भए फाल्न हतार हुन्थ्यो होला, सुनको हतकडी कसरी फाल्ने ? म बाँधिएको छैन बरु धनी भएको छू भन्ने भ्रम पालेर बाँच्न नै मजा आईरहेको होला ।

सम्भवतः शास्त्र र सिद्धान्तका बढेमानका ठेलीमा जीवन र यसको प्रयोजन खोज्ने व्यक्तिहरुले नै जीवनलाई यति धेरै जटिल बनाएका होलान् । अनपढ, सीधासाधा गाउँका आदिबासीहरुले जीवनलाई प्राकृतिक र सरल ढंगले जिउँछन् । तिनीहरुले जिउनुको जुन आनन्द लुटिरहेका होलान्, त्यो अवस्था विद्धानहरुबाट सर्वथा अपरिचित पनि हुन सक्छ । प्रकृतिसंगको आत्मिय सान्निध्य र नैसर्गिक दैनिकीबाट आर्जित आफ्नोपन एवं तृप्ति हामी अधिकांश विद्वान भनाउँदा शहरियाहरुले एकपटक पनि अनुभव गर्न पाएका हुँदैनौं ।

गहिरोसंग नियाल्ने हो भने समूचा ब्रह्माण्डमा व्याप्त जीवन तत्व एक छ । प्रत्येक प्राणी बाँच्न चाहन्छ । जीजिविसा एक छ । अनुकूल परिस्थितिले सबलाई खुशी बनाउँछ र विपरीत स्थितिले सबैलाई दुखी । सबै प्राणीहरु घटनाहरुबाट उस्तै प्रकारले संवेदित हुन्छन् । प्रेम, घृणा, क्रोध र अन्य संवेगहरु पनि उस्तै हुन्छन् । शरीरमा चोट पु¥याएमा कुनै पनि ठाउँको मानिस, समुद्रको माछा, आकाशको पन्छी र जंगलको जनावरलाई एकै प्रकारले दुख्छ । त्यसकारणले सबै प्राणीहरुको केन्द्रबिन्दु एउटै हुनु पर्छ । हामी सबैको एउटा साझा केन्द्र हुनुपर्छ, जहाँबाट हामीले जीवनतत्व, आन्तरिक संवेदना र अन्त्तस्प्रेरणा पाउँदछौं । त्यही एक तत्व नै सबैमा साझा धागोको रुपमा प्रवाहित बनेको छ । भेष–भूषा, चाल-चलन, छालाको रंग, संस्कार र संस्कृति अलग भए पनि हामी सबको हृदय एउटै छ । हामी भित्रको संवेदनाको केन्द्र एउटै छ ।

यही साझा तत्वलाई नै जीवन भनियो भने यसलाई अनुभव गर्ने प्रयोगात्मक विज्ञानलाई अध्यात्म भनियो । त्यो विज्ञानलाई प्रयोग गर्ने व्यक्तिहरुका साझा अभिव्यक्तिलाई धर्मशास्त्र भनियो । धर्मशास्त्रलाई अलग–अलग ठाउँमा अलग–अलग किसिमले बुझेर प्रयोग गर्दा बन्ने सामाजिक रीति–रिवाजलाई संस्कृति भनियो । बाहिरका संस्कृतिहरुमा विविधता हुनु स्वाभाविकै हो । र अध्यात्म एवं त्यसको मूल केन्द्रबिन्दु एक हुनु पनि त्यत्तिकै स्वाभाविकै हो ।

धर्मशास्त्र आफ्नो बुझाईको निजी अभिव्यक्ति हो भने अध्यात्म गहिरो भोगाई । सयौं धर्मशास्त्र र संस्कृतिहरु छन् यो पृथ्वीमा । धर्मको लडार्इं शास्त्रको र संस्कृतिको लडाई हो, अनुभव या भोगाईको लडाईंभने होईन । भोगाई भन्ने चिज सबैको एकै किसिमको हुन्छ –पिटे दुःख हुन्छ, माया गरे सुख हुन्छ । त्यस कारणले अध्यात्म एक छ । दर्जनौं धर्म संस्कृतिहरुका बिचमा रहेको साझा तत्व नै अध्यात्म हो । त्यही एक जीवनतत्व अनेक रुप र रंगमा अभिव्यक्ति भएको छ । सबैको अनुभव भने साझा नै हुन्छ । यति कुरा बुझेमा धर्म, सिद्धान्त र वादका लडाईंहरु सदाका लागि समाप्त हुने थिए ।

हामीले चाहेमा अहिले यसै घडी जीवन तत्वलाई आफूभित्र अनुभव गर्न सक्छाैं, स्पर्श गर्न सक्छौं । सम्भवतः हामीले शिक्षा, धन, मान र मर्यादाको माध्यमबाट पनि आफैभित्र अनवरत रुपमा धड्किरहेको यो जीवनलाई अनुभव गर्न नै खोजेका हौं । जीवनको आन्तरिक अनुभूति परम तृप्ति एवं मुक्तिदायक हुन्छ ।

स-साना विषयहरुभित्र खोजौं । हामी आँखा र कान जस्ता इन्द्रियहरुको माध्यमबाट बाहिरबाट सूचनाहरुलाई ग्रहण गरिरहेका हुन्छौं । यी इन्द्रियहरु भित्र बसेर सबै थाहा पाउने मूल तत्व चाहिं के हो त ? भौतिक आँखाबाट त दृश्यको संवेदना हामीमा प्रवेश गर्छ, भित्र देख्ने चाहिं कसले या केले हो त ? भित्र सुन्ने, सुँघ्ने र स्वाद लिने केले हो त ? त्यो आन्तरिक तत्वको स्पर्श नै जीवनको अनुभूति बन्न सक्छ ।

मनुष्यको सबैभन्दा ठूलो घटना प्रेमलाई हेरौं । यत्रो विशाल शक्ति हामीबाट प्रवाहित भईरहेको छ । के हो यो प्रेमको श्रोत ? कति गहिरो छ ? प्रेमको श्रोतमा डुब्नु नै जीवनको श्रोतमा डुब्नु बन्न सक्छ ।  के हामी जीवनलाई वाद, मान्यता र सिद्धान्तका रंगीन चस्मा बिना नै सीधा अनुभव गर्न तयार छौं त ?

Comments

comments

SHARE