संजिव वाइबा तामाङ

तामाङ चलचित्रको इतिहासलाई केलाउने हो भने, सबैभन्दा पहिले “सेमरी छोरङान” । तत्कालिन अभिनेता (नायक ) जय नन्द लामाको पहिलो निर्देशन र मानध्वज लामाको लगानीमा बनेका थिए । उक्त तामाङ कथानक चलचित्र सेमरी छोरङान २०५२ सालमा निर्माण र प्रदर्शन भएदेखि आजको अवस्थासम्म आईपुग्दाको करिब २४ बर्षको तथ्याङ्क हेर्दा संख्यात्मक रुपमा करिब १५० भन्दा बढी चलचित्र निर्माण भएकाे देखिन्छ ।

यसरी सरसर्ती हेर्ने हो भने, अरु जनजातीको तुलनामा र नेपाली चलचित्रपछि तामाङ चलचित्रको बिकास तिब्र रुपमा अघि बढिरहेको कुरालाई नकार्न सकिन्न । तामाङ चलचित्रको विकास यसरी दिनानुदिन बढ्दै जानुको मुख्य कारण भने यस क्षेत्रमा लगानी कर्ताहरुको आकर्षण बढ्नु हाे । साथै तामाङ चलचित्रप्रति नव तामाङ कलाकारहरुको रुचि भैई तिब्र रुपमा प्रबेश हुनु पनि हाे ।

अझ भन्नैपर्दा तामाङ चलचित्रलाई अगाडि बढाउने र पूर्ण ब्यबसायिक बनाउदै तामाङ समूदाय भित्र रहेको बिकृति ,बिसंगतिलाई मनोरञ्जनात्मक र कलात्मक अभिनय मार्फत निमिट्यान्न पार्ने र चलचित्रको माध्यमबाट समूदायमा जागरण ल्याउने अठोटका साथ चलचित्रकर्मीहरु एकजुट भएर संस्थागत रुपमै यस क्षेत्रमा लगनशील र मेहेनतका साथ लागिरहेको छ । चलचित्र निर्माण बढ्नुमा यो पनि अर्को एउटा महत्वपूर्ण कारण हो ।

चलचित्र २०५२ सालबाटै शुरुवात भएको भएपनि हालसम्मको अवस्था झण्डै उस्तै छ भन्दा कत्ति पनि फरक नपर्ला ।किनकि त्यत्ति बेला पनि फिल्म बनिसकेपछि प्रदर्शन गर्नका लागि च्यारिटी नै गर्नुपर्थ्यो । अहिले २४ बर्ष पछिको अवस्था पनि उस्तै रहेको छ । प्रदर्शन र ब्यवसायको हिसाबले हेर्दा पनि पहिले र अहिलेको अवस्थामा खासै भिन्नता छैन । तर, प्राबिधिक रुपमा भने प्रबिधिको छलाङसंगै शुरुको अवस्थामा भन्दा धेरै नै बिकास भएको देखिन्छ । अभिनयको हिसाबले हेर्ने हो भने पनि त्यो बेलाको भन्दा अहिले धेरै नै बिकास भएको पाईन्छ ।

त्यो बेला पनि फिल्म बनिसकेपछि प्रदर्शन गर्नका लागि हलहरु नपाईने ,हलधनीहरुले हल नदिने र हल दिने नै भएपनि अफ समयमा मात्रै दिने घर-घर, डेरा-डेरा अनि कारखानाहरुमै गएर टिकट बेच्दै प्रदर्शन गर्नुपर्ने अवस्था थियो । अहिले भने सामाजिक सञ्जालहरुको तिब्र बिकास र प्रयोगसंगै दर्शकहरु माझ प्रचार प्रसार गर्न भने धेरै नै सहज अनि सरल भएको छ । यसरी सरल नै हुँदा पनि तामाङ फिल्मले पर्याप्त दर्शक पाउन भने सकेको छैन । यति हुँदा पनि यसको बारेमा तामाङ चलचित्रकर्मीहरु अझै गम्भीर हुन नसकेको हो कि भन्ने तर्कहरु पनि नचलेका होईनन् । लगानीको हिसाबले भन्ने हो भने एउटा फिल्म बन्न कम्तीमा पाॅच लाख (५,०००००) देखि पन्ध्र लाख (१५,०००००) सम्म खर्च गरेकाे देिखन्छ । यसरी हेर्दा अहिलेसम्म सबै फिल्मको न्युनतम् लगानी नै झण्डै ८, १० करोड पुगेकाे अनुमान गर्न सकिन्छ । तर, के कति आम्दानी गर्यो त्यो भने यकिन गर्न सकेको छैन । यसरी लगानी नै उठ्न नसक्ने हो भने तामाङ चलचित्र आगमी दिनहरुमा बनाउन समेत मुस्किल हुने अवस्था देखिन्छ ।

मेरो व्यक्तिगत बुझाईमा चाहिँ तामाङ फिल्महरुले पर्याप्त दर्शक नपाउनु , च्यारिटीमै मात्र निर्भर रहनुपर्नेको कारण नै चलचित्र कर्मीहरुले तामाङ समूदायको सेन्टीमेन्स नबुझी आफ्नै हिसाबको कथाबस्तु बनाई फिल्म निर्माण गर्नु हाे । एकै समयमा फिल्महरु प्रदर्शन हुनु र फिल्म निर्माण गर्दा संस्थागत भावानामा चल्न नसक्नु पनि यसको मुख्या कारण हाे ? मेरो भनाईको मतलब फिल्म बनाउँनु, प्रदर्शन गर्नुभन्दा पहिले के कस्तो कथाबस्तुमा फिल्म बनाउन लागेको हो भन्ने बिषयमा कम्तीमा पनि फिल्मसँग सम्बन्धित सबै बिषयका बारेमा एउटा विज्ञ र अनुभवीहरूसंग छलफल गरेर अगाडि बढन् नसक्नु पनि हाे । यसरी कथाकाे विषयमा छलफल अनि समूह बनाएर समुहकाे छलफल अनुसार चलचित्र निर्माणमा लागेकाे भए  सुधार आउथ्यो कि ? अर्को कुरा फिल्म बनाईसकेपछि चलचित्र संघ मार्फत च्यारिटी वा अरु हिसाबले प्रदर्शन गर्न समय तालिका मिलाएर पालैपालो प्रदर्शन गरियो भने पनि दर्शक बढ्ने संभाबना देखिन्छ । अहिले एउटा समस्या यो पनि रहेको देखिन्छ । आ-आफ्नो तरिकाले फिल्म बनायो हल बुकिङ गर्यो च्यारिटी शो गर्यो र आफुसंग सम्बन्धित मानिसहरुलाई टिकट काट्न लगायो अनि शो गर्यो ।

यसरी गर्दा त जसको बडी लिङ्क छ , आफन्त,साथीभाई छ , अलि अगाडिदेखी फिल्म शो गर्दै आईरहेको छ उसकोमा मात्रै दर्शक बढी हुने अनि नयाॅ र कम पहुॅच भएकाहरुको फिल्म शो गर्दा दर्शक कम हुने समस्या रहेको छ । यसलाई केन्द्रिकृत गरी तालिकाबद्ध हिसाबले सिङ्गो संस्था अनि सम्बन्धित सबै कलाकार लागेर प्रचार प्रसार र त्यही अनुसारको प्रचारप्रसार गर्यो भने अवस्य पनि सुधार आउॅछ भन्ने मेरो बिश्वास छ ।

फिल्ममा दर्शक नहुनुको अर्को प्रमुख कारण भनेको चलचित्र कर्मीहरु बीचको एकता नहुनु पनि हाे । कलाकारबीचमा नै एकले अर्कोलाई नगन्नु,  गुणस्तरमा प्रतिस्पर्धा नभई कसले कति बनायो, कति फिल्म खेल्यो,कसको फिल्म शो हुँदा कति दर्शक पायो भन्ने घमण्ड देखाउँनु पनि एक हाे । अर्को कारण नाम चलेका र दर्शकको रुची अनुसारको कलाकार छनौट नभई प्राय फिल्ममा नयाॅ कलाकार अनुबन्ध गर्नु त्यो पनि जसले लगानी गर्यो उही मुख्य पात्र हुनु पनि हाे । अझ अभिनयकाे विषयमा ज्ञान नभएरै प्रबेश गर्नुले पनि दर्शकको मन जित्न नसकेको हो कि ?

यसैगरी फिल्म बस्तुगत र यथार्थपरक नभई बढी काल्पनिक र मनगढन्ते ढंगले कथा बस्तु बनाईनु , कथामा भन्दा बढी फाईट सिनहरुलाई मुख्य आकर्षण ठान्नु , फाईट सिनहरु पनि ईन्डियन फिल्मबाट प्रभाबित हुनु , सामाजिक र समसामायिक बिषयलाई शुष्म ढंगले अध्धययन गरी त्यही अनुसारको बिषयबस्तु बनाई प्रस्तुत गर्न नसक्नु , फिल्मको गीतहरुमा पनि दर्शकहरुको रोजाई अनुसारको गायक/गायिकाको छनौट गर्न नसक्नु समग्रमा यस क्षेत्रका कमीकमजोरीहरु हुन् ।  यी र यस्ता समस्याहरु हुँदा -हुँदै पनि राम्रा फिल्महरु नबनेका होईनन् तर पनि दर्शकको मनलाई आकर्षण गर्न सकिरहेको देखिँदैन । फिल्म जति राम्रो भएपनि दर्शकलाई हल सम्म ल्याउन पुर्ण रुपमा सकेका छैनन् अझ भन्नै पर्दा लगानी सम्म पनि उठ्न /उठाउन सफल हुन सकेका छैनन् ।

एउटा फिल्म बनाएपछि त्यही टिमले अर्को बनाउन सक्ने अवस्था सारै जटिल छ । धेरै राम्रा कलाकारहरु आफनो गुजराको लागि बिस्थापित हुनुपर्ने बाध्यात्मक परिस्थिति बनेका छन् । यस कारण मुख्य कलाकारहरु सम्म पनि स्थापित भई ब्यबसायिक कलाकार बन्न सकेका छैनन् । तसर्थ उल्लेखित स-साना समस्याहरु सबैलाई महशुस भएकै बिषयहरु हुन् आगमी दिनहरुमा यस्तै यस्तै स-साना र महत्वपूर्ण बिषयहरुमा तामाङ चलचित्र कर्मीहरुसंगै सम्बन्धित कलाकारहरु, बुद्धिजिबीहरु साथमा तामाङ चलचित्र संघले गम्भीर रुपले समीक्षा गर्दै अगाडि बढ्न सकेन भने याे भन्दा पनि ठुलठूला समस्या देखापर्दैन भन्न सकिन्न । यसैले यसमा अहिलेसम्म देखेकाे कमी कमजोरीहरुलाई एकताबद्ध ढंगले समाधान गर्दै तमाङहरुको संस्कार संस्कृति, रहनसहन, भू-स्थिति, राजनैतिक,सामाजिक,ब्यवहारिक र आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै त्यसै अनुरुपको कथा बस्तु निर्माण गरी अघि बढ्ने सक्याे भने तामाङ चलचित्रले फट्काे मार्न सकिन्छ ।

अन्तमा म तामाङ फिल्मसंग सम्बन्धित व्यक्ति होईन र यस सम्बन्धि विज्ञ पनि होईन । तर मैले देखेका बुझेका र मनमा लागेका बिषयहरु जानेजत्ति प्रस्तुत गर्ने सानो कोशिस मात्र गरेको छु । यसमा तामाङ चलचित्रकर्मीहरूकाे ध्यान केन्द्रीत हाेस् । साथै यस्ताे बिषय छलफल अध्ययन गरी अझैं राम्राे चलचित्रहरू निर्माण गरेर दर्शकहरूकाे मन जित्न सफल हाेस् हार्द्धिक शुभकामना ।

-यस लेखका लेखक संजिव वाइबा, तामाङ कलाकार संघका अध्यक्ष हुन् । 

Comments

comments

SHARE