समीक्षा

-कृष्णकुमार लामा
बौद्धमहास्तूपको जीर्णाेद्धार कार्य सुसपन्न भएको स्मृतिमा त्यही बौद्धमहास्तूपको पुनर्निर्माण सहित विविध पक्षलाई अध्ययन गर्दै चिन्तामणि बौद्धमहास्तूप : एक अध्ययन नामक पुस्तक प्रकाशनमा आएको छ । प्रस्तुत पुस्तकलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिले प्रकाशन गरेको हो भने, पुस्तकमा लेखन तथा सम्पादन सम्पूर्ण कुमार लामा र विनोद कार्कीले गरेका हुन् ।
प्रस्तुत पुस्तकमा बौद्धमहास्तूपको विविध पक्षहरुलाई पाँच वटा अध्यायमा राखेर वर्णन गरिएको छ । जस अनुसार पहिलो अध्याय सम्पदा र बौद्धस्तूप शीर्षकको मुख्य खण्ड अन्तर्गत स्तूप बौद्ध स्तुपको परिचय र बौद्ध स्तुपको धार्मिक पक्षलाई अघि सारिएको छ ।

नेपाली वास्तुकलाको क्षेत्रमा स्तुपको महत्व विशेष रहेको छ । संस्कृत भाषामा स्तूपको अर्थ सञ्चित गर्नु, एकत्रित गर्नु, उठाउनु स्मृति चिन्ह वा चिता भन्ने बुझिन्छ । स्तूपको सम्बन्ध केबल बौद्ध धर्मसँग मात्र सम्बन्धित छैन । विशिष्ट, चक्रवर्ती व्यक्तिको स्मृतिमा पनि स्तूप बनाउने गरिन्थ्यो भन्ने प्रसङगलाई पुस्तकमा राख्दै यही पुरानो परम्परालाई बौद्ध धर्मले अनुसरण गरे अनुसार स्तूप निर्माणको क्रम अघि बढेको कुरालाई पुस्तकले प्रक्षेपण गरेको छ । पुस्तकले स्तूपका भेदहरुलाई पनि उल्लेख गरेका छन् । यसैगरी बौद्धस्तूपको धार्मिक पक्षको सचित्र व्याख्यालाई पनि अघि सारिएको छ ।

अध्याय दुई अन्तर्गत मूल शीर्षक बौद्धस्तूपको ऐतिहासिक पक्षभित्र बौद्धस्तूपको ऐतिहासिक इतिहास, बौद्धस्तूपलाई विविध नामहरुबाट पुजिने र त्यसभित्रका सारगर्भित विषयहरु र स्तूपको जीर्णाेद्धारको पक्षलाई शिलशिलाबद्ध गरिएको छ । अध्याय तीनमा वि.स. २०७२ सालको भूकम्पले गरेको क्षति र त्यसैको आधारमा स्तूपको जीर्णाेद्धार कार्यलाई अघि बढाउन बौद्धनाथ क्षेत्र विकास समितिले जनस्तरमा गरेको सक्रियतालाई अभिलेखिकरण गरिएको छ ।

अध्याय चार र पाँचमा स्तूपको जीर्णाेद्धार अवधिमा भए गरेका विविध धार्मिक विधि-विधान, प्रयोग हुने सामग्रीहरु, तिनीहरुको व्यवस्थापन, जनशक्ति, जीर्णाेद्धार क्रममा प्राप्त भएका पुरातात्विक सामग्रीहरुको अभिलेखिकरण त्यस्तै त्यस्ता सामग्रीहरुको स्तूपमा पुनस्र्थापना, धार्मिक महत्वका सामग्रीहरुको नवस्थापना, स्तूप जीर्णाेद्धार क्रममा निस्किएका जीर्ण सामग्रीको व्यवस्थापन जस्ता विविध पक्षहरुको फेहरिस्तलाई समेटिएको छ । यसका साथै स्तूपको जीर्णाेद्धार सम्पन्न पश्चात प्राणप्रतिष्ठा सहित स्तूपको अनावरण समारोहलाई समेत पुस्तकले मिहिन तबरले तस्वीर सहित वर्णन गरिएको छ । अन्तमा पुस्तक भित्र स्तूपको जीर्णाेद्धारको क्रममा भएको आय–व्ययको विवरणलाई समेत स्पष्ट पारिएको छ ।

२०७२ सालको विंध्वसकारी भूकम्पले थुप्रै भौतिक सम्पदाहरुलाई नराम्रारी क्षति पु¥यायो । यस्को क्षतिसँगै सम्पदाहरुसँग गाँसिएका कतिपया अर्मूत सम्पदाहरु प्रभावित बनेका छन् । यद्यपि सरकारी तहबाट त्यस्ता सम्पदाहरुको पुनर्निर्माणको लागि खासै ठोस योजनाहरु कार्यान्वयनमा आइसकेको देखिँदैन् । यो अत्यन्तै उदेक लाग्दो पक्ष हो । यस्तो अवस्थामा बौद्धनाथ क्षेत्र विकास समितिको सक्रियतामा बौद्धमहास्तूपको पुनर्निर्माण कार्य सम्पन्न हुनु वास्तवमै महत्वपूर्ण उपलब्धी मान्नु पर्छ । यसका लागि समितिका पदाधिकारीहरु सच्चा प्रंशसाका हकदार छन् ।

अझ यस्तो महत्वपूर्ण कार्य सम्पन्न गर्दाका विविध गतिविधिहरुलाई अभिलेखिकरण गर्नु त्यस बाहेक स्तूपसँग गाँसिएका धार्मिक, ऐतिहासिक पक्षहरुलाई समेत उजगार गरेर पुस्तकको स्वरुपमा प्रकाशनमा ल्याउनु आफैमा सराहानीय कार्य मान्नु पर्छ । यसले महास्तूपको जीर्णाेद्धार कार्यको दस्तावेजलाई आउने कालखण्डको लागि सुरक्षित गरेको छ । अर्काे कुरा इच्छा शक्ति र दृढसंकल्प लिएर अघि बढ्यो भने जतिसुकै गाह्राे भनिने कार्य पनि फत्ते गर्न सकिन्छ भन्ने एउटा नजीरलाई स्थापना गर्न सफल भएको छ । स्थानीयताको सहयोग र दयालु दाताहहरुसँग हातेमालो गर्दै सरकारी तहको विना कुनै आर्थिक सहयोगबाट पनि यति ठूलो महत्वपूर्ण कार्य सम्पन्न भएको सायद पहिलोपटक हुनुपर्छ ।

यसले अन्य सम्पदाहरु पनि यही मोडेलमा पुनर्निर्माण हुन उर्जा प्रदान गरेको छ । त्यसैगरी संसारलाई हामी स्वयम् उठ्न सक्छौं । उठ्ने प्रक्रियामा छौ भन्ने गतिलो सन्देश प्रवाह गर्न सक्षम भएको छ । यस्तो कार्यलाई सबैतह र तप्काबाट सरहाना गर्नैपर्छ । यस अर्थमा प्रस्तुत पुस्तकलाई महास्तूपको पुनर्निर्माण कार्यको सम्पन्न र सफलतालाई नजीकबाट बुझ्ने औजारको रुपमा पनि लिन सकिन्छ । यति हुँदा-हुँदै पनि प्रस्तुत पुस्तक एक अध्ययनको रुपमा भनेर आएपनि अध्ययनको वैज्ञानिक ढाँचालाई समाउन सकिएको देखिदैन । यसमा समाबेश भएका कण्टेण्डहरुलाई अझ परिशिष्कृत गर्न सकिने ठाउँहरु प्रशस्त हुँदा-हुँदै पनि त्यस्तो गर्न सकिएको छैन् । त्यसो हुँदा जानकारीहरु, तथ्यहरु अपुरो र अधुरो रहन गएको देखिन्छ । तथ्यहरुलाई विशेष रुपमा तस्वीरबाट वर्णन गर्ने कोशीसमा रहँदा यो समस्या आएको हो । यद्यपि विषय अनुरुप रहेका तस्वीरहरुले मूल विषयलाई जष्टिफाई अर्थात् पुष्टि गर्न सफल भएको छ । यो पक्षबाट प्रस्तुत अध्ययनलाई महत्वपूर्ण मान्न सकिन्छ । अर्काे कुरा बौद्धमहास्तूपको पुनर्निर्माण अवधि र तत्पश्चात पनि समितिबाट थुप्रै प्रकाशनहरु भएको देखिन्छ ।

यसलाई सकरात्मक मान्न सकिन्छ । तरपनि बौद्धमहास्तूप जीर्णाेद्धार सम्पन्नका लागि दान दिनुहुने श्रद्धालु दानपतिहरुको सहयोग सहितको दान विवरण कहीकतै कुनै प्रकाशनमा उल्लेख भएको देखिदैन् । उल्लेख भएका केही विवरणहरु ठूला दानपतिहरुका मात्र छन् । वास्तविक दानको अर्थमा दान धेरै र थोरै भन्ने हुँदैन् । समितिबाट प्रकाशन भएका प्रकाशनमा सबै दानपतिहरुको नामलाई उल्लेख गरिएको भए अझ जनस्तरको सहयोगबाट सम्पन्न भएको भन्ने गतिलो प्रमाण हुने थियो । यसले अन्य सम्पदा पुनर्निर्माणको लागि प्रेरित गर्ने अभिलेख बन्न सकिन्थ्यो । यो कुरामा समिति अन्तर्गतका प्रकाशन समिति चुकेको देखिन्छ । त्यति मात्र होइन् धार्मिक पक्षबाट पनि साना दानपतिहरुलाई गरिएको एउटा सम्मान हुन सक्थ्यो । दान पुण्य सञ्चयको महत्वपूर्ण उपयाकौशल रहेको हुँदा दानपतिहरुको पुण्य अनुमोदन हुने थियो । यसतर्फ समितिले अगामि प्रकाशनमा सोच्नु पर्ने देखिन्छ ।

अन्तमा विविध खाले व्यवधानका बाबजुत पनि भूकम्पले क्षति पु¥याएको समस्त बौद्धहरुको धरोहर, नेपाली वास्तुकलाको अद्धितीय नमूना र विश्व साँस्कृतिक पर्यटकको महत्वपूर्ण गन्तव्य स्थल बौद्धमहास्तूप पूनः पुरानै स्वरुपमा पुनस्र्थापित हुनु सम्पूर्ण मानव समुदायकै लागि गौरवको विषय बनेको छ । यस्तो विषयलाई समयमै अभिलेखीकरण गरेर यस्को ऐतिहासिक दस्तावेजलाई सुरक्षित गरिएकोले प्रस्तुत पुस्तक सङ्ग्रहणीय बनेको छ ।

Comments

comments

SHARE