संजीब वाईबा अध्यक्ष :- नेपाल तामाङ कलाकार संघ नेपाल ।

गीत संगीत क्षेत्रमा श्राेता दर्शकहरूकाे साथ अनि माया सदैब पाईरहोस् । गीत संगीत क्षेत्रमा लागिरहेका सम्पूर्ण स्रष्टाहरुको यही अपेक्षा र अनुरोध छ । साथै हामी सदैब सेलो गीत संगीतको बिकास, संरक्षण र प्रबर्द्धनमा लागिरहने प्रतिबद्धता पनि ब्यक्त गर्दछौं ।

अहिले सेलो गीत संगीत दिन प्रतिदिन थपिंदै-थपिंदै तिब्र गतिमा अघि बढिरहेको देखिन्छ । सेलो गीत संगीतको क्रेज देश बिदेशमा मात्रै नभएर देश तथा बिदेशमा समेत बढिरहेको छ । अवश्य पनि यो हाम्रो समुदाय र संस्कृतिको बिकासमा एउटा अमूल्य उपलब्धि नै हाे भन्न सकिन्छ । यसलाई अझ बिश्वब्यापी बनाउनु अझै पनि हामी यस क्षेत्रमा लाग्नेहरुको अहम् भूमिका खेल्नुपर्ने छ ।

सेलो गीत संगीत यसरी परिणात्मक रुपमा बिकास भइ रहँदा गुणात्मक रुपमा चाहीँ यसको बिकास कसरी भैरहेको छ त भन्ने बारेमा बिश्लेशन गर्नु पर्ने अवस्था पनि हाम्रो सामु पहाड झैं उभिएको छ । त्यस कारण म यसको बारेमा थोरै चीरफार गर्ने कोशिस गरेको छु ।

यसका लागि सबैभन्दा पहिले इतिहासमा प्रबेश गर्नु नै उत्तम हुन्छ हाेला । मेरो बुझाईमा २०३५/३६ साल देखिको होला ।हाम्रो तामाङ सेलो गीतहरु बिधुतीय माध्यम मार्फत स्रोताको रुपमा सुन्न पाएको त्यो पनि रेडियो नेपालको फुलबारी कार्यक्रम अन्तर्गत भाषा भाषीको कार्यक्रम हुंदा देखि हाे ।

जुनबेला लाल बहादुर वाईबा, माया लामा लगायतका अग्रजहरुबाट शुरु भएको हाेला । त्यसरी शुरुवात भएको हाम्रो मौलिकपन बोकेको गीत संगीत चन्द्र कुमार मोक्तानले २०४२ सालमा एउटा एल्बमको रुपमा बिकास गर्दै त्यस पछिका दिनहरुमा चन्द्र कुमार दोङ तामाङ, प्रेम लोप्चन तामाङ, रोज मोक्तान तामाङ, ईन्दिरा गोले तामाङ, जमुना योञ्जन, तुलसा वाईबा, ईन्दिरा योञ्जन, रामबाबु योञ्जन,संजीब वाईबा हुँदै यस परिस्थितीमा आईपुगेको हाे । अझै प्रगतिशील लाईन बाट मान बहादुर दोङ, चन्द्र वाईबा लगायतका टिमको पनि उत्तिकै योगदान रहेको कुरालाई कहिले पनि भुल्न सकिँदैन ।

यहाँ मैले इतिहासलाई त्यति धेरै चर्चा गर्न चाहिन किनकी त्यो बेलाको परिस्थिति र सन्दर्भ अहिलेको भन्दा आकाश जमीनको फरक थियो ।यस्तैमा संघर्षपूर्ण त्याग र उहाॅहरुको लगन, मेहेनतले आजको परिस्थिति सम्म अाउन सफल भएकाे हाे भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यसकारण म अहिलेको प्रसङ्गलाई अलि जोड दिन चाहान्छु किनकी यो अहिलेको आवश्कता हो । हामीले अहिले यसको बारेमा बोलेन, लेखेन भने पछि झन थप जटिलताहरु आउनेछ । जुनबेला त्यो नियण्त्रण बाहिर पनि जान सक्नेछ ।

मैले शुरुमै उल्लेख गरेँ । सेलो गीत संगीतको बारेमा । अब म यस संग सम्बन्धित गायक/गायिका, संगीतकार र रचनाकारहरुका बारेमा केही सन्दर्भ उजागर गर्न चाहान्छु । अहिले तामाङ सेलो गीत संगीतमा झण्डै २०० भन्दा बढी गायक/ गायिकाहरु होलान् त्यस मध्येमा पनि जम्मा१०/१५ जना प्रोफेशनल गायक गायिकाहरु होलान् ५/७ जना प्रोफेशनल संगीतकारहरु होलान् र २,४ जना प्रोफेशनल रचनाकारहरु होलान् (जो पारिश्रमिक लिएरै काम गर्नेहरु), यी बाहेक बाँकी सबै रहरबाजीमै प्रबेश गरेकाहरु छन् । जसमा पनि १/२ रचना ,१/२ संगीत र १/२ मा स्वर समावेश भएका कलाकारहरु होलान् ।

संगीत पढेर आउनेहरु
संगीत पढेर,सिकेर र बुझेर आएकाहरु गायक/गायिकाहरू त थोरै मात्रमा रहेका छन् । त्यसैले जति गीतहरु बजारमा निस्के पनि मुस्किलले बर्षमा २,४ वटा गीतहरु दर्शक/ स्रोताको मन जित्न सफल भएका छन् । बर्षमा कम्तीमा ५० भन्दा बढी गीतहरु सार्बजनिक गर्ने गर्छन् । अझ राम्रो संगीतकार ,गीतकार वा गायक त बर्षमा मुस्किलले १,२ जना नयाँ निस्किन्छन् ।

यसरी सरसर्ती अध्ययन गर्दा हाम्रो गीत संगीतले जति फड्को मारेपनि गुणस्तरिय हिसाबले अझै पनि फड्को मार्न सकिरहेकाे छैन । यसको मुख्य कारण भनेकै सम्बन्धित क्षेत्रमा दक्ष नभई यस क्षेत्रमा हाम्फाल्नु हो भन्दा फरक नपर्ला ।
यसको अर्को कारण भनेको जे जस्तो गीत, संगीत वा शब्द आए पनि हाम्रा गीत संगीत प्रेमी दर्शक स्रोता, समुदायले सहजै स्वीकार्नुका साथै समीक्षा गर्ने बानि नभएर पनि हो ।

यदि गीत संगीत र शब्दहरुलाई गहिरो संग सुनेर, बुझेर त्यस भित्रका कमि कम्जोरीहरुलाई सम्बन्धित पक्षसम्म पुर्याएर सच्याउन वा जिम्मेवार बन्नका लागि समीक्षात्मक कार्यक्रमहरू भएकाे भए याे अवस्थासम्म पक्कै पनि आउने थिएन । सम्बन्धित ब्यक्तिहरु पनि सचेत र संबेदनशील हुने थियो । आउँने दिनहरुमा हाम्रो गीत संगीतहरु गुणस्तरिय बन्दै जाने थियो । तर, अहिलेकै जस्तो जे गरे पनि गीत हुने, संगीत हुने, शब्द हुने, गायक हुने हो भने अब हाम्रो संगीत बिकृतिको फैलिने छ । फैलिसकेकाे छ भन्दा पनि फरक नपर्ला । यस्तै भयाे भने अब आउने नयाँ पुस्ताले हाम्रो संगीतका बारेमा बुझ्न गाह्राे हुनेछ । साथै हाम्रो साँस्कृतिक पहिचानकाे पाटाे पनि लोप हुँदै जानेछ ।

लगानीकै हिसाबले हेर्ने हो भने पनि बर्षमा कम्तीमा ५० ओटा मात्रै गीतमा २५ हजारका दरले १२,५०,००० (बारा लाख पचास हजार) रुपैँया लगानी हुने गर्दछ । ६० हजारको दरले मात्रै भिडियोमा लगानी गर्याे भने पनि ३०,००००० (तीस लाख) हुन्छ । अरू प्रचार प्रसारकाे त कुरै नगराैं । अब यसरी बर्षमै यति लगानी गर्दा पनि हाम्रो गीत संगीत क्षेत्रमा लाग्ने अग्रजहरू गम्भीर भएर साेचेन भने अगामी दिनहरुमा झनै बिकृतिहरु थपिँदै जाँदैन भन्न सकिन्न । यसले तामाङ समुदायकाे हाम्रो सेलो गीत संगीतको मौलिकता हराउँदै जानेछ ।

आधुनिक बाजाहरुको कारणले अहिले नै हाम्रो मौलिकता हराउँदै गएको छ । प्रबिधिको उच्च बिकाससंगै मानिसहरुमा मेहिनत, लगाव र साधना घट्दै गइरहेको छ । यस्तो परिस्थितिमा अब सेलो गीत संगीत संग सम्बन्धित सबैले आधुनिक गीत संगीत मार्फत आफुलाई बजार बिकाउनेतिर मात्रै सोच्ने हैन कि आफ्नो मौलिक गीत संगीतमा पनि उत्तिकै ध्यान दिनुपर्ने जरुरी छ ।

शब्द लेखनमा त्यही अनुसारको अध्ययन गर्दै सिक्दै सरल र मौलिकता सहितको शब्द लेख्नु जरुरी छ । संगीतमा पनि पढेर, सिकेर अनि बुझेर त्यसै अनुसारको सृजना गर्नुपर्ने जरुरी छ । गायनमा पनि राम्रो साधना गरेर मात्रै लाग्नुपर्ने जरुरी छ। साथै समय-समयमा बजारमा निस्केकाे गीतसंगीतकाे समीक्षा गर्नुपर्ने जरूरी देखिन्छ ।

यति भएपछि मात्रै हामीले पस्केको गीत संगीतले बिश्व जुनसुकै कुनामा हाम्राे गीत संगीत फैलिने छन् । सबैकाे मन जित्दै गए अनुसारको मौलिकता पनि बुझ्दै जानेछन् । होईन भने कसैले तिम्रो मौलिकता के हो भनेर प्रश्न गर्यो भने नाजवाफ हुनुपर्नेछ देखिन्छ । शब्द तामाङ भएर के गर्नु संगीत पाश्चात्य (बलिउड,हलिउड) तिर मोडिनेछ र हाम्रो मौलिक सेलो गीत संगीतको बारेमा इतिहासमा पढ्न बाहेक प्रत्यक्ष महशुस गर्न पाईने छैन ।
लेखक वाइबा लामाे समयदेखि गीत संगीत क्षेत्रमा काम गरिरहनु भएकाे छ।
-तेमाल अनलाइबाट

Comments

comments

SHARE