–हर्क गोले तामाङ
सिन्धुपाल्चोक/ नेपालका आदिवासी जनजाति तामाङ समुदाय मध्ये गोले बंश एक आदिम र ऐतिहासिक समुदाय हो । गोले बंशको ऐतिहासिकताका सम्बन्धमा बिभिन्न मतहरु पाएता पनि यो एक प्राचीन जाति हो भन्नेमा एक मत छ । प्राचीन कालमा गोले बंश एक प्रखर र शक्तिशाली झाँक्रीको रुपमा परिचित थिए । उनको मन्त्र बिद्या यतिसम्म शक्तिशाली थियो की उसले प्रकृतिलाई समेत आफ्नो मन्त्र बिद्याद्धारा नियन्त्रण र नियमन गर्दथे । उनको अगाडी भुत, प्रेत, नाग, नागिनीहरु समेत शरण पर्थे । गोले हरुलाई सबैभन्दा शक्तिशाली झाँक्री गुरुका रुपमा सबैले पुज्दथे ।

आदिमकालमा मानव समाजको झाँक्री बिद्यामा उनीहरुको एकछत्र शासन थियो । कथन अनुसार प्राचीन काठमाडांै उपत्यकामा पानीको तलाउ हुँदा स्वयम्भुडाँडामा भगवानको उत्पति भएको थियो । त्यहाँ भगवानको कृपाले अद्धितिय कमलको फूल फुलेको थियो । त्यो बिशाल तलाउ बिचको स्वयम्भुमा मन्त्र बिद्याद्धारा सबैभन्दा पहिला पुगी कमलको फूल चढाएर स्वयम्भुको दर्शन गर्ने पनि तिनै गोले झाँक्री थिए । त्यस पश्चात चीनबाट आउनु भएका महामन्जुश्रीले खड्ग प्रहार गरी चोभारको डाँडा काटेर तलाउको पानी बगाएर काठमाडांै उपत्यकामा मानव बस्ती बसालेका थिए । गोले झाँक्रीहरु यति शक्तिशाली थिए कि उनीहरु गोसाईकुण्डको नागराजालाई समेत हराउन सक्थे ।

एक दिन गोले झाँक्रीले नागराजालाई हराएर उनको मणि सहितको नागराजलाई आफ्नो माला बनाएर कुण्ड बाहिर निस्कदा झाँक्रीको तान्त्रिक बाचामा उनको श्रीमतीले साथ नदिएकोले हार्न पुगे । अजंगको नागको माला सहित कुण्ड बाहिर निस्कदा उनको श्रीमती डराएर बाचा तोडेर भागिन र गोले झाँक्री लाई फेरी नागराजाले कुण्डमा लगेर मारीदिएका थिए । नागराजालाई हराउदा पुरै दुधले भरिएको कुण्ड झाँक्रीलाई मार्दा रगतको कुण्ड बन्न पुग्यो । फलस्वरुप आजसम्म पनि गोसाईकुण्डमा गोले झाँक्रीहरु जाँदैनन र जानुहुँदैन भन्ने जनबिश्वास रही आएको छ । त्यस बेला गोले झाँक्रीले सो नागराजालाई हरण गरेर ल्याएको भए उनको मणी सहित सदाका लागि नागराजा संग जित हुन्थ्यो । यो बंशलाई नाग नागिनीको कुनै दोष लाग्ने थिएन । अहिले पनि गोले बंशलाई नाग तथा भुमेले दुख दिइरहने भएकोले नियमित पुजा आराधाना गरीराख्नु परेको जनविश्वास छ ।

तान्त्रिक शक्तिका बाबजुद गोलेहरुले स्थानीय राज्यसत्ता पनि संचालन गरे र उनीहरु राजखलकमा गणना भए । अहिले पनि गोलेहरुले आफ्नो कुल देवता (फोला) लाई ग्याल्वो भन्दछन् यो उनीहरुको पुर्खा राजा थिए भन्ने बलियो प्रमाण हो । गोले बंशको इतिहाँसलाई मुलत झाक्री (बोन्वो) हरुको सेराप (मौखिक प्रार्थना) मा लिपिबद्ध गरिएको छ । जुन कुरा पुस्तान्तरमा सर्दै आई अहिले मौखिक इतिहासको रुपमा रहेको छ । गोले बंशको खोजी गर्दै जाने क्रममा के भेटिन्छ भने यो बंशको पुर्खा मंगोलियन भूमीबाट नेपालमा आएको हो । गोलेहरु सिन्धुपाल्चोक जिल्लाको थाङपाललाई आफ्नो ऐतिहासिक किपट भूमी मान्दछन । यसै गरी नुवाकोटको लाज्याङलाई पनि किपट भुमी मान्दछन । थाङपाललाई उनीहरु थाङबु भन्दथे यसको अर्थ समथर खेत र उज्यालो ठाँउ भन्ने लाग्दछ । बास्तवमा थाङपाल गुन्सा हिमाली समथर भु–भागमा रहेको सुन्दर बस्ती हो । अहिले संसारभर फैलिएका गोलेहरु यही बस्तीहरुबाट विस्तार भएको मानिन्छ ।

मौखिक इतिहास अनुसार इशा पुर्व १६०० तिर लाज्युङ कार्पो गोलेले थाङपालमा पहिलो बसोबास गरेका थिए । उनका जेठा छोरा टुल्कु थाङपो कार्पोलाई तापा ल्होछार (टे ल्हो/बाँदर बर्ष) मा थाङपाल ग्याल्सा (राज्य) को पहिलो गोले राजा घोषणा गरेका थिए । गोले राज बंशवलीमा उल्लेख भए अनुसार थाङपालमा २१ पुस्ता गोले राजाहरुले राज्य संचालन गरेका थिए । समयको हिसावले हेर्दा यो इशा पुर्व १६०० देखी ७५ सम्म गरी करीब १५२५ बर्षको अवधी देखिन्छ । यस अनुसार थाङपाल ग्याल्साको अन्तिम गोले राजा टुल्कु छेकुदोर्जे गोले हुन् । उनले इशा पुर्व १६४ देखी ७५ (ता ल्हो÷बाघ बर्ष) सम्म राज्य संचालन गरेका थिए । उनका ५ भाईछोराहरु मध्ये जेठा छोराले थाङपालमा नै बसोबास गरे भने अन्य ४ भाईहरु पहिलो पल्ट थाङपालबाट अन्यत्र बसाई सरेको मौखिक इतिहास पाइन्छ । तिनैका सन्तानहरु हाल सिन्धुपाल्चोककै विभिन्न बस्तीहरुमा बाग्लो बसोबास गरीरहेका छन ।

सिन्धुपाल्चोकको सिपापोखरे, भोटसिपा, इर्खु, फुल्पिङकोट, फुल्पिङडाँडा, राम्चे, मानेश्वाँरा र हगाममा बाग्लो गोले बस्ती भेटिन्छ भने, छिटपुट रुपमा प्राय सबै ठाँउमा यो बंशको बसोबास रहेको पाइन्छ । त्यसै गरी नुवाकोट, धादिङ, काभ्रे, दोलखा, रामेछाप, मकावानपुरका साथ–साथै नेपालका विभिन्न जिल्लाहरु हुँदै भारत दार्जिलिङ, मिरिक, आसाम, सिलगुडि र हाल पश्चिमा मुलुकहरुमा समेत स्थायी रुपमा बसोबास गरिरहेको देखिन्छ ।

इशा पूर्व १२२८ तिर यस वंशका थाङ्पाल ग्याल्साका गोले राजाका सेनाहरुसंग अन्तिम किराती राजा गस्तीको सेनाहरुले थाङ्पाल जोङ नजिकको किल्लामा आक्रमण गरेको थिए । दुवै पक्षबीच लडाइँ भएको थियो । अन्तिममा गोले सेनाहरुले तिनलाई परास्त गरेरै छाडे । धेरै किराती सेनाको मृत्यु भए पछि उनीहरु काठमाडांै तर्फ फर्केका थिए । काठमाडौंमा ती किराती सेनाहरुले लो ग्याल्साका राजा निमी लो तामाङको (छोरी) राजकुमारीहरुलाई मामा घर आएको मौका छोपी अपहरण गरेका थिए । यसपछि लो ग्याल्साबाट तामाङ सेनाहरु काठमाडांै आएर किरात राजाको दरवार घेराबन्दीमा पारी अपहरित राजकुमारीहरु फिर्ता गरेका थिए । यस युद्ध पश्चात काडमाडांैबाट किरातहरु पुर्वी पाहाड तिर सरेका हुन भन्ने भनाईहरु पनि पाईन्छन् ।

बंशावलीको पहिचान र निर्धारण गर्ने काम हरेक हिसावले चुनौती पुर्ण रहेको छ । लिखित दस्तावेज र प्रमाणहरु नभएको सन्दर्भमा यो पुर्णत मौखिक इतिहासमा भर पर्नुपर्ने हुन्छ । यद्यपी गोले बंशमा प्रचलनमा रहेका चोहो, बोन्वो, ताम्बा, गान्बा परम्पराले यसलाई लिपिबद्ध गरीराखेको छ । यसको लिखित तथा बिद्युतिय अभिलेख गर्नु पर्ने जरुरी देखिन्छ ।

तामाङ बंशवलीमा म्हेम्हे कु, माम कु (९ बाजे, ९ बज्यै) को कहावत बहुत मार्मिक छ । यीनै ९ बाजे बज्यैको सन्तान नै अहिलेका तामाङहरु हुन् भन्ने विभिन्न किवंदन्तीहरुमा उल्लेख गरेको पाइन्छ । जसलाई स्वाँगे भाई (स्वहाँगा) र कुटुम्बेरी गरी बर्गिकरण गरिएको पाइन्छ र अहिले सम्म यीनै मान्यता बमोजिम बिहेबारी गर्दछन् । यसरी हेर्दा म्हेम्हे दोङ छेन्पो र माम ताकसाल्मोको सन्तानहरु मध्ये गोले बंश एक हो । यो समुह अन्तर्गत दोङ, तितुङ, बल, गोङवा, डिम्डुङ, गाङताङ, ग्याम्तेन, ङारतेन पर्दछन् । यसै गरी अन्य ८ म्हेम्हे र ८ माम सहितको सन्तानहरु नै हालका तामाङहरु हुन् ।

गोले बंशको एकता प्रबद्र्धन गर्न र आपासमा सहयोगको आदन प्रदान गरी संसारभरका गोलेहरुलाई एकै ठाउँमा ल्याउन २०६९ जेठ ४ गतेका दिन प्रज्ञा भवन, कमलादी, काठमाडांैमा सम्पन्न भएको प्रथम राष्ट्रिय गोले भेलाले “गोले (तामाङ) बंश उत्थान समाज” को स्थापना भई मिति २०७० कार्तिक १७ गतेका दिन जिल्ला प्रशासन कार्यालय काठमाडांैमा बिधीवत रुपमा दर्ता भएको छ । हालसम्म यो समाजले नेपालका विभिन्न जिल्लामा छरिएर रहेका गोले तथा छिमेकी मुलुक भारत र पश्चिमा मुलुकहरुमा रहेका गोलेहरुलाई समेत एकताबद्ध गर्ने प्रयास जारी रहेको छ । यसै क्रममा गोले बंशको आदिम किपटभुमी थाङपालमा गोले (तामाङ) बंश उत्थान समाजको ऐतिहासिक पाँचौ राष्ट्रिय भेला यहि २०७६ जेष्ठ ४ गतेका दिन सम्पन्न हुन गईरहेको छ ।

गोले बंशको ऐतिहासिकताको उजागार गर्न र संसार भर छरिएर रहेका सम्पुर्ण गोले बंशमा एकताको सन्देश दिन यो भेला कोशेढुँगा सावित हुनेछ । यत्ति मात्रै होईन आफ्ना कुल परम्पराका सन्दर्भमा हाल अभ्यासमा रहेका बिविध परम्परागत प्रणालीहरु एकापसमा आदनप्रदान गर्न र भविष्यमा गोले पहिचानको साझा मानकहरु बनाउन समेत यो भेलाले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्दछ । सबैभन्दा महत्वपुर्ण कुरा त संसारभर छरिएर रहेका र थाङपालको नाम सुनेका तर पुग्न नभ्यएका गोले दाज्युभाई दिदीबहिनीहरुको लागि पनि आफ्नो पितृ भुमीमा टेक्न पाउने, हेर्न पाउने ऐतिहासिक अवसरको रुपमा पनि यो भेला महत्वपुर्ण हुन्छ । तसर्थ सम्पुर्ण गोले बन्धुहरुलाई हाम्रो ऐतिहासिक र आदिम किपट भूमी थाङपाल सिन्धुपाल्चोकमा हार्दिक स्वागत छ । यहाँहरुको गरिमामय उपस्थितीको लागि सबिनय अनुरोध छ ।

(लेखक गोले (तामाङ) बंश उत्थान समाजको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ)

Comments

comments

SHARE