५६ वर्ष हुन हुन लाग्यो, चाबहिलमा पाइएको लिच्छविकालको एउटा विशिष्ट शिलालेख पहिलोपटक छापिएको । हरेक शनिबार अभिलेखको खोजीका लागि संशोधन–मण्डलका हामीहरूले गर्ने गरेको यात्राका क्रममा यो शिलालेख भेटिएको थियो । तीन–तीन महिनामा संशोधन–मण्डलले छाप्ने गरेको ‘अभिलेख–संग्रह’को नवौँ भाग (१८ पृ.)मा वि.सं. २०२० वैशाखसंक्रान्तिमा यस शिलालेखको पाठ छापियो । ‘अभिलेख–संग्रह’को यस भागका सम्पादकमा ४६ वर्ष नाघिसकेका रामजी तेवारी (वि.सं. १९७३–२०४०) र भर्खर १७ वर्ष पुगेका नयनाथ पौडेल (वि.सं. २००२ मा जन्म) लगायत ४४ वर्ष पुग्न पुग्न आँटेका देवीप्रसाद भण्डारी (वि.सं. १९७६–२०५६), ४२ वर्ष पुग्न आँटेका भोलानाथ पौडेल (वि.सं. १९७८–२०६६), ३८ वर्ष भर्खरै पुगेका शंकरमान राजवंशी (वि.सं. १९८१–२०५६), ३१ वर्ष भर्खरै कटेका धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१), २३ वर्ष नपुगेका गौतमवज्र वज्राचार्य (वि.सं. १९९७ मा जन्म) र १९ वर्ष नपुगेका महेशराज पन्त (वि.सं. २००१ मा जन्म) गरी आठजना थिए । ३ वर्षसम्म लगातार चलेको ‘अभिलेख–संग्रह’को नीतिअनुसार, यो शिलालेख छाप्दा यसको उल्था र व्याख्या नगरी सामान्य परिचय दिई मूलपाठ मात्र छपाइएको थियो । यस शिलालेखमा साल नदेखिई ‘माघवर्षे काले’ लेखेर त्यसपछि महिना, पक्ष र तिथि दिइएकाले ‘यहाँ संवत्को अंक देखिँदैन, तर ‘माघवर्ष काल’ भन्ने उल्लेख भएको हुनाले गणनाद्वारा यसको आसन्न समय पत्ता लाउन सकिन्छ । यहाँको लिपि मानदेवको ताकाको छ’ भनी त्यहाँ लेखिएको थियो ।

चाबहिलको यस शिलालेखको पाठ ‘अभिलेख–संग्रह’मा छापिएको २१ महिना हुँदा ‘गोरखापत्र’मा छापिएको पुरातत्व सम्बन्धी एउटा खबरतर्फ आपत्ति जनाएर संशोधन–मण्डलले उत्तिखेर जस्तो पुरातत्व विभागका निर्देशकलाई सम्बोधन गर्दै चिठी पठायो । ‘गत पौष २६ गते शनिबारको गोरखापत्रमा पुरातत्व विभागसम्बन्धी समाचारमा ‘चाबहिल स्तूपदेखि पश्चिम बुद्धमूर्तिको अगाडिको ढुंगामा एउटा अप्रकाशित लिच्छविअभिलेखको पत्ता लगाइएको कुरा पनि ज्ञात भएको छ’ भनी छापिएको छ । गो.प.मा दिइएको उक्त हुलियासँग ट्वाक्क मिल्ने चाबहिलको लिच्छविकालको अभिलेख हाम्रो ‘अभिलेख–संग्रह’ ९ भागको १८ पृष्ठमा छापिइसकेको छ । यसकारण सो अभिलेख पत्ता लागेको तथा पाठ पढेको श्रेयको हकदार संशोधन–मण्डल छ भन्ने कुरा स्पष्ट छ ।

बाहिर प्रकाशित रूपमा यसको विरोध गर्नुभन्दा पहिले यहाँसँग यस विषयमा सोधपुछ गर्नु बढिया देखिएकाले यो पत्र लेख्दै छौँ । पुरातत्व विभागले उक्त अभिलेख कसरी कुन आधारमा अप्रकाशित भनी प्रचार गराएको हो, यसको स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीलाई आशा छ । अन्यथा ‘सावधान–पत्र’द्वारा यसको विरोध गर्न हामी विवश हुनेछौँ’ भनी वि.सं. २०२१ पुस २८ गते शनिबारको त्यस चिठीमा लेखिएको थियो । यो घटना हुनुभन्दा झन्डै ८ वर्षअघि पनि पुरातत्व विभागबाट यस्तै काम भएकाले (‘पुरातत्व–विभागको नयाँ खोज’, ‘गोरखापत्र’, २०१३।११।२५।६) त्यसको प्रतिवाद गर्न नयराज पन्त (वि.सं. १९७०–२०५९) का ३ जना प्रशिष्यका नाउँ हाली एउटा पर्चा छपाइएको थियो (मोहननाथ पाण्डे, गौतमवज्र वज्राचार्य र महेशराज पन्त, ‘पुरातत्व विभाग सावधान भई काम गरोस्’ २०१३।११।२६।७) । त्यही घटना दोहोरिएकाले प्रतिवादको पहिलो कदमका रूपमा संशोधन–मण्डलबाट त्यो चिठी लेखिएको थियो ।

संशोधन–मण्डलबाट जुन दिन यो चिठी गयो, त्यही दिन ‘पठाउनुभएको पत्रांक २०० मिति २०२१।९।२८ को पत्र प्राप्त भयो । पौष २६ गते शनिबारको गोरखापत्रमा प्रकाशित समाचारबारे लेख्नुभएको कुरा विदित भयो । उल्लिखित अभिलेख संशोधन–मण्डलको ९ भागको १८ पृष्ठमा भएको कुरासँग हामी सहमत छौँ र खेदपूर्वक ‘अप्रकाशित’ भन्ने शब्दलाई फिर्ता लिँदै संशोधन–मण्डलले समयमा नै सूचित गरेकोमा हार्दिक धन्यवाद दिन्छौँ । यस्तै गरी भविष्यमा पनि सहयोगको आदानप्रदान हुँदै रहनेछ भन्ने विश्वास छ’ भन्ने चिठी पुरातत्व विभागका फिल्ड टेक्निसियन तारानन्द मिश्रको नाउँबाट आयो ।

यसपछि साढे ८ वर्ष बित्यो । वि.सं. २०३० मा धनवज्र वज्राचार्यको महत्तम कृति ‘लिच्छविकालका अभिलेख’ (नेपाल र एसियाली अध्ययन संस्थान, काठमाडौं) मा १ सय ९० वटा अभिलेख छापिँदा चाबहिलको यस शिलालेखलाई सबभन्दा अगाडि राखियो (१ संख्या) । त्यहाँ राजाको नाउँ फुटेको, खालि महिना, पक्ष र तिथि मात्र बाँकी रहेको र ‘माघवर्ष काल’ भन्ने अनौठो वर्षांकनपद्धति भएकाले धनवज्र वज्राचार्यले तीनथरी तर्क गरी यसलाई पाइएसम्मका अभिलेखमध्ये सबभन्दा पुरानो भनी ठह-याए—
१) ‘अहिलेसम्म पाइएका लिच्छविकालका अभिलेखमा संवत्सहितको पहिलो अभिलेख मानदेवको चाँगुको स्तम्भलेख हो । त्यसको लिपि र यसको लिपिको तुलना गरी हेर्दा यो अभिलेख चाँगुको स्तम्भलेखभन्दा अलि पुरानो देखिएको छ ।’ (३ पृ.)

२) ‘प्रचलित वंशावलीमा राजा वृषदेवको पालामा चाबहिलको चैत्य बनेको हो भन्ने वर्णन परेको छ । यस अभिलेखमा ‘सङ्खिद्य सुचिरङ्कालम्भवनम्भवविच्छिदः = धेरै कालसम्म कष्ट गरीकन चैत्य बनाइएको छ’ भन्ने उल्लेख भएको छ । यताबाट निकै ठूलो चैत्य बनाइएको थियो भन्न संकेत पाइन्छ । यस अभिलेखमा उल्लिखित चैत्य चाबहिलको प्रसिद्ध चैत्य नै हो भन्ने कुरा प्रसंग विचार गर्दा थाहा पाइन्छ ।’ (उही)

३) ‘यसमा उल्लिखित माघवर्षे काले आषाढशुदिव १०’ यस वचनको आधारमा गणना गरी हेर्न सके यसको समय–निर्णय हुने सम्भावना छ । ‘माघवर्ष काल’ आदि लेख्ने चलन मानदेवयता देखिएको छैन । यसबाट पनि यो अभिलेख मानदेवभन्दा केही अघिको हो भन्ने संकेत पाइन्छ ।’ (उही)

आफूले लेखेको ‘लिच्छविकालका अभिलेख’ आफ्ना गुरु नयराज पन्तलाई वि.सं. २०३० गुरुपूर्णिमाको दिन धनवज्र वज्राचार्यले दिएपछि त्यस पुस्तकका ठाउँठाउँमा पानाका किनारा उनका टिप्पणीले रँगिए । चाबहिलको यस शिलालेखको ‘माघवर्ष काल’को विषयमा ‘बृहत्संहिताको बृहस्पतिचाराध्यायमा २०, २१, १ श्लोक पठनीय छन्’ भनी उनले लेखेको टिप्पणीबाट यो संवत् बार्हस्पत्य मानअनुसारको हो भन्ने उनको विचार देखिन्छ ।

वि.सं. २०३० मै हरिराम जोशी (वि.सं. १९९२ मा जन्म) को ‘नेपालको प्राचीन अभिलेख’ (नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौं) छापियो । त्यहाँ मानदेवको पालाका जम्मै शिलालेख दिइसकेपछि अनुपरमको हाँडीगाउँको शिलास्तम्भलेख र मानदेवका नाति वसन्तदेवको (शक)संवत् ४२८ को शिलालेखको बीचमा यो शिलालेख राखिएको छ (२२ संख्या) ।

शकसंवत् ४२५ को पलाञ्चोकको शिलालेखमा लिच्छवि राजा मानदेवको प्रशस्तिमा ‘भट्टारकमहाराज’ शब्दको प्रयोग भएको र त्यसभन्दा अगाडिका संवत् वा राजाको नाम भएका कुनै पनि अभिलेखमा त्यो प्रशस्ति नआएको हुनाले राजाको नाउँ फुटिसकेको भए पनि चाबहिलको यस शिलालेखमा भने त्यो प्रशस्ति हुँदा यसलाई मानदेवभन्दा अघिको हो भनी मान्न गाह्रै पर्छ, किनभने मानदेवका बाबुबाजेको समयमै त्यो प्रशस्ति चल्तीमा आइसकेको भए मानदेवको अन्तिम समयतिरको अभिलेखमा मात्र सो प्रशस्ति नआई उनको शासनको प्रारम्भदेखिकै अभिलेखमा उनकोे नामको अगाडि त्यसको प्रयोग हुनपर्ने हो, उल्टो, माथि चर्चित शकसंवत् ४२५ को अभिलेखपछिका धेरैजसो अभिलेखमा त्यस प्रशस्तिको प्रयोग भएको पाइन्छ, यसकारण चाबहिलको यो अभिलेख मानदेवको अन्तिम समयतिरको हो भनी सजिलैसँग भन्न सकिन्छ भन्ने तर्क हरिराम जोशीले गरेका छन् । यस शिलालेखमा आएको माघवर्षको उल्लेख यसभन्दा अघिका नेपालका र भारतका कुनै पनि अभिलेखमा नआएको कुरा पनि उनले उठाएका छन् (उही, ६७–६८ पृ.) ।

फ्लिटको २४ संख्याको अभिलेखमा बार्हस्पत्य संवत्सर मात्र छ, गुप्तसंवत् छैन भन्ने हेक्का पनि नराखी सबैमा बार्हस्पत्य संवत्सर र गुप्तसंवत् छ भनी डिल्लीरमणले लेखेको मिल्दैन ।

लिच्छविकालका अभिलेखमध्ये सबैभन्दा पुरानो कुन हो भनी विचार गर्ने प्रसंगमा शंकरमान राजवंशीले चाबहिलको यस शिलालेखमा आएको ‘माघवर्ष काल’को विषयमा आफ्नो विचार ज्यौतिषशास्त्रको ढंगले वि.सं. २०३४ मा प्रकट गरे (‘आजसम्म प्राप्त नेपालका लिच्छवि अभिलेखमा सर्वप्रथम कुन ?’, ‘प्राचीन नेपाल’ ३०–३९ संख्या, २०३१–२०३४, नेपाली खण्ड, ११३–११६ पृ.) । सोह्रौँ शताब्दीका गणेश दैवज्ञको ‘ग्रहलाघव’, त्यहीताकाका मकरन्द भन्ने ज्योतिषीले आफ्नै नाउँमा रचेको ग्रन्थ र सत्रौँ शताब्दीका विश्वनाथको ‘मकरन्दसारणी’को आधारमा यो वर्षांकनपद्धति बृहस्पतिको उदयको गणनाबाट गरिएको गुरुवर्ष हो भनी उनले त्यहाँ लेखे ।

यसै सिलसिलामा नेपालका पञ्चांगमा वर्षफलप्रकरणमा गुरुवर्ष लेख्ने चलन अद्यापि चलेकै छ भनी वि.सं. १९६५ को पात्रोमा पौषवर्ष, वि.सं. १९६६ को पात्रोमा फाल्गुनवर्ष, वि.सं. २०१२ को र २०२४ को पात्रामा माघवर्ष लेखिएको उदाहरण उनले दिए । यो देख्दा आफ्नो ‘भारतीय प्राचीन लिपिमाला’ (२ संस्करण, अजमेर, १९७५) मा बाह्रवर्षे बार्हस्पत्य संवत्सर (१८७ पृ.)को प्रसंगमा वि.सं. १९७४ को पात्रोमा ‘वर्षनाम आश्विन’ र वि.सं. १९७५ को पञ्चांगमा ‘वर्षनाम कार्तिक’ लेखिएको कुराको चर्चा गरी यी वर्षनाम बाह्रवर्षे बार्हस्पत्य संवत्सरकै हुन् भनी गौरीशंकर हीराचन्द ओझा (वि.सं. १९२०–२००४) ले लेखेको कुराको सम्झना हुन्छ । चाबहिलको शिलालेखको समय आफ्नो ढंगले गणना गरेर वि.सं. ५५३ को हो भनी शंकरमानले ठह-याए र यस शिलालेखको लिपि वसन्तदेवको समयको शिलालेखका लिपिसँग मिल्न आउँछ भनी उनले आफ्नो मत व्यक्त गरे । अनि, आजसम्म पाइएका लिच्छविकालका अभिलेखमा चाँगुको मानदेवको स्तम्भाभिलेखभन्दा पुरानो अर्को अभिलेख देखिन आएको छैन भनी उनले निष्कर्षमा लेखे ।

वि.सं. २०४० मा छापिएको आफ्नो ‘इन्स्क्रिप्शन्ज् अझ एन्शेन्ट् नेपाल्’ को १ ठेली (अभिनव पब्लिकेशन्ज, नयाँदिल्ली, ई.सं. १९८३)मा डिल्लीरमण रेग्मी (वि.सं. १९७०–२०५८)ले यो शिलालेख छपाउँदा मानदेवको पालाको (शक)संवत् ४१३ को शिलालेखभन्दा पछि र (शक)संवत् ४१९ को शिलालेखभन्दा अगाडि राखे (१२ संख्या) । यस शिलालेखमा आएको ‘माघवर्ष काल’को व्याख्या त्यही पुस्तकको ३ ठेलीमा उनले गरेका छन् (३१–३४ पृ.) ।

गुप्तसंवत् र बाह्रवर्षे बार्हस्पत्यसंवत्सर दुवैमा मिति दिइएका, परिव्राजकवंशका महाराज हस्तीका र उनका उत्तराधिकारीको अभिलेख यस प्रसंगमा डिल्लीरमणले सम्झन पुगेका छन् (उही, ३१–३२ पृ.) । महाराज हस्तीका गुप्तसंवत् १५६ महावैशाखसंवत्सर कार्तिकशुक्लतृतीया (२१ संख्या),गुप्तसंवत् १६३ महाश्वयुजसंवत्सर चैत्रशुक्लद्वितीया (२२ संख्या), गुप्तसंवत् १९१ महाचैत्रसंवत्सर माघकृष्णतृतीया (२३ संख्या), उनकै पालाको महामाघसंवत्सर कार्तिक महिनाको १९ दिन (२४ संख्या)का ताम्रपत्र र उनका छोरा महाराज संक्षोभको गुप्तसंवत् २०९ महाश्वयुजसंवत्सर चैत्रशुक्लत्रयोदशीको शिलास्तम्भलेख (२५ संख्या) वि.सं. १९४५ मा जोन फेथ्फुल फ्लिट (वि.सं. १९०४–१९७३) ले आफ्नो ‘इन्स्क्रिप्शन्ज् अझ दि अर्लि गुप्त किङ्ज् यान्ड् देर् सव्mसेश्अर्ज्’ (सुपर्इन्टेन्डेन्ट अफ गभ्अर्न्मेन्ट प्रिन्ट्इङ, कलकत्ता, ई.सं. १८८८) मा छपाउँदा ती अभिलेखको कालमानको गणना र बाह्रवर्षे बार्हस्पत्य संवत्सरको विषयमा शंकर बालकृष्ण दीक्षित (वि.सं. १९१०–१९५५) को ‘द ट्वेल्भ्–यर् साइक्ल् अझ जुपिटर्’ भन्ने लेख त्यही पुस्तकको ‘इन्ट्रडक्सन्’ मा तेस्रो परिशिष्टका रूपमा गाभेका छन् (१६१–१७६ पृ.) । तिनै दीक्षितद्वारा गणना गराएर र आफैँले पनि विवेचना गरी महिनाको नाउँबाट चलेको यो संवत् बाह्रवर्षे बार्हस्पत्य कालचक्र हो भनी फ्लिटले त्यहीँ सिद्ध गरेका छन् (उही, ‘इन्ट्रडक्शन्’, १०१–१२४ पृ.) । दीक्षित र फ्लिटका ती लेख कहीँ कहीँ केही वाक्य फेरेर ‘दि इन्डिअन् यान्टिक्वेरि’ को १७ ठेली (ई.सं. १८८८) मा पनि छापिएका छन् ।

बार्हस्पत्य संवत्सरको चर्चा गर्दा यस्ता अभिलेख ७ वटा छन् र तिनमा ६ वटा हस्तीको र एउटा संक्षोभको हुन् भनी डिल्लीरमणले लेखेका छन् । त्यस्ता अभिलेखको फेहरिस्त दिँदा फ्लिटको गुप्त–अभिलेखसम्बन्धी संग्रहमा नपरेका ३ वटा थप अभिलेख अर्थात् गुप्तसंवत् १७० महाज्येष्ठसंवत्सर फाल्गुनशुक्लपञ्चमीको, हस्तीको नवग्राम भन्ने ठाउँको गुप्तसंवत् १९८ महाश्वयुजसंवत्सरको (यसमा महिना, पक्ष र तिथि फुटिसकेका छन्) र बेतुल भन्ने ठाउँको गुप्तसंवत् १९९ महामार्गसंवत्सर कार्तिक १० दिनको चर्चा उनले गरेका छन् (‘इन्स्क्रिप्शन्ज् अझ एन्सेन्ट् नेपाल्’ ३ ठेली, ३१–३२ पृ.), यी अभिलेख कहाँ छापिएका हुन् भन्ने कुरा भने उनले खुलाएका छैनन् । खोज्दै जाँदा तेस्रो अभिलेखको विषयमा थाहा भए पनि अघिल्ला २ अभिलेखको भने अत्तोपत्तो पाउन सकिएन ।

फ्लिटको २४ संख्याको अभिलेखमा बार्हस्पत्य संवत्सर मात्र छ, गुप्तसंवत् छैन भन्ने हेक्का पनि नराखी सबैमा बार्हस्पत्य संवत्सर र गुप्तसंवत् छ भनी डिल्लीरमणले लेखेको मिल्दैन । फ्लिटको पुस्तकबाट सार्दा उनले २५ संख्याको अभिलेखमा ‘कात्र्तिकमासशुक्लपक्षतृतीयायाम्’ हुँदाहुँदै भ्रमवश ‘द थडर्् अप्m लूनर् ब्राइट् फोटर््नाइट् अप्m द मन्थ् अप्m वैशाख’ अर्थात् ‘वैशाख महिनाको शुक्लपक्षको तृतीया’ र बेतुलको ताम्रपत्रको तिथि ‘चैत्रमासशुक्लपक्षत्रयोदश्याम्’ हुँदाहुँदै ताम्रपत्रको तिथिमिति ‘चैत्र शुक्ल ३’ भ्रमवश लेखेको कुरा यहाँनिर भन्नुपर्छ । ‘द हिस्टर्इक्ल् क्वार्टर्लि’ भन्ने पत्रिकामा ई.सं. १९६३ मा छापिएको, परमेश्वरीलाल गुप्त (वि.सं. १९७१–२०५८)को लेखबाट बार्हस्पत्य संवत्सरका तिथिमितिको गणना कहीँ कहीँ नमिलेकोे थाहा पाइने कुरा पनि उनले यहाँ लेखेका छन् (उही, ३३ पृ.) । परमेश्वरीलाल गुप्तको त्यो लेख मैले नभेट्टाएकाले यस विषयमा अहिले बढी बोल्न म सक्दिनँ ।

‘बृहत्संहिता’मा र उत्पलले लेखेको त्यसको टीकामा बाह्रवर्षे बार्हस्पत्य संवत्सरको चर्चा गरेको कुरा डिल्लीरमणले लामो गरी लेखेका छन् । चाबहिलको यस शिलालेखको मितिको विषयमा शंकरमानले लेखेको कुराको चर्चा गर्दा यस शिलालेखमा आएकोजस्तो बाह्रवर्षे बार्हस्पत्यकालचक्र भारतका अभिलेखमा र ‘बृहत्संहिता’मा पनि भएको कुरा शंकरमानलाई थाहा रहेनछ भनी उनले लेखेका छन् (उही,३२–३३ पृ.) ।

चाबहिलको यस शिलालेखको मिति बार्हस्पत्यमानअनुसारको हो भनी शंकरमानले नलेखेसम्म धनवज्रलाई यस पद्धतिको विषयमा कुनै ज्ञान थिएन भनी डिल्लीरमणले लेखेका कुरा (उही ३३ पृ.) मा केही टिप्पणी गर्नुपर्छ । वि.सं. २०२० मा धनवज्रसमेत सम्पादक भई प्रकाशित ‘अभिलेख–संग्रह’मा चाबहिलको यो शिलालेख छाप्दा ‘यहाँ संवत्को अंक देखिँदैन, तर ‘माघवर्ष काल’ भन्ने उल्लेख भएको हुनाले गणनाद्वारा यसको आसन्न समय पत्ता लाउन सकिन्छ’ भनी लेखेकोबाट र त्यही कुरा उनको ‘लिच्छविकालका अभिलेख’मा पनि दोहो-याइएकाले पनि उनलाई बार्हस्पत्य संवत्सरको विषयमा थाहै नभएको होइन भन्ने स्पष्ट हुन्छ । खालि, आफूमा ज्यौतिषशास्त्रको प्रामाणिक ज्ञान नहुँदा बार्हस्पत्य संवत्सरको विषयमा नलेखी उनी पन्छेको मात्र हो जस्तो मलाई लाग्छ ।

चाबहिलको यस शिलालेखलाई वृषदेवको पालाको मान्ने हो भने, परिव्राजकवंशले शासन गरेको देशमा भन्दा पहिले बार्हस्पत्यमानको संवत्सरपद्धति नेपालमा चलेको थियो भनी मान्नुपर्छ । नेपालमा यो वर्षमान चलेपछि परिव्राजकवंशले त्यसको अनुसरण ग-यो भनी कल्पनासम्म पनि गर्न सकिन्न । यहाँ यस्तो वर्षमानको उदाहरण यो एउटा मात्र पाइएकाले यसको यहाँ प्रयोग परिव्राजकवंशको प्रभावमा मात्र गरिएको हो । चल्न भने सकेन, यसैले यसलाई म प्राचीनतम अभिलेख भनी मान्न सक्दिनँ, लिपिको आधारमा भन्ने हो भने यसलाई मानदेवदेखि वसन्तदेवको पालाभित्र राख्न सकिन्छ, त्यसैले मैले यस अभिलेखलाई १२ संख्यामा राखेको हुँ भनी डिल्लीरमणले लेखेका छन् (उही, ३३–३४ पृ.) ।

ठाकुरप्रसाद वर्मा (वि.सं. १९९० मा जन्म) ले वि.सं. २०५१ मा लिच्छविकालका अभिलेखको संग्रह छपाउँदा चाबहिलको यस शिलालेखलाई हरिराम जोशीले गरेकोजस्तै तर्क गरी पलाञ्चोकको मानदेवको पालाको अभिलेखमा जस्तै यहाँ पनि ‘भट्टारकमहाराज’ भन्ने पदवी आएकाले यसलाई मानदेवकै पालाको भनी ठह-याएका छन् (ठाकुरप्रसाद वर्मा र ए. के. सिंह, ‘अ कर्पस् अफ द लिच्छवि इन्स्क्रिप्शन्ज् अफ नेपाल्’, रामानन्दविद्याभवन, नयाँदिल्ली, ई.सं. १९९४ मा ठाकुरप्रसाद वर्माको ‘इन्ट्रडक्सन्’, १५ पृ.) । यस पुस्तकमा मानदेवको पालाका जम्मै अभिलेख दिइसकेपछि चाबहिलको यो शिलालेख (२० संख्या) राखिएको छ र त्यसपछि पशुपतिको छत्रचण्डेश्वरको तिथिमिति नष्ट भइसकेको शिलालेख राखी अनि वसन्तदेवको पहिलो अभिलेख अर्थात् (शक)संवत् ४२८ को राखिएको छ ।

अखिल भारतवर्षका अभिलेखसम्बन्धी विषय समेटी नेपालबाहिरबाट छापिने कृतिमा नेपालका अभिलेखको चर्चा हुँदै हुँदैन भने पनि हुन्छ । तर, त्यसको अपवादमा वि.सं. २०५५ मा प्रकाशित रिचर्ड सालोमेनको ‘इन्डिअन् इपिग्रफि’ (अक्सफोर्ड यूनिभर्सिटि प्रेस, न्यू योर्क/अक्स्फोर्ड, ई.सं. १९९८) उभ्याउन सकिन्छ । त्यस पुस्तकमा बाह्रवर्षे बार्हस्पत्य कालचक्रको विषयमा लेख्दा ‘उत्तर, दक्षिण र पूर्व भारतसमेत विभिन्न प्रदेशका संस्कृत अभिलेखमा बाह्रवर्षे बार्हस्पत्य कालचक्रको आकलझुकल उल्लेख पाइन्छ’ (१९७ पृ.बाट उल्था) भनी मूलमा लेखी ‘नेपालबाट पनि एउटा शंकास्पद उदाहरण पाइएको छ, डिल्लीरमण रेग्मी, ‘इन्स्क्रिप्शन्ज् अफ एन्सेन्ट् नेपाल्’ ३ ठेली, ३१–३२ पृ. (चाबहिलको अभिलेख) हेर्नू’ (उहीबाट उल्था) भनी त्यसको टिप्पणीमा लेखिएको छ ।

वि.सं. २०५६ मा पशुपति र पशुपतिवरपरका अभिलेख प्रकाशन गर्ने क्रममा गोविन्द टन्डन (वि.सं. २०१२ मा जन्म) ले चाबहिलको यो शिलालेख पशुपतिको पटांगिनीको (शक)संवत् ३८१ को शिलालेखभन्दा अगाडि राखेकाले धनवज्रको मतको अनुसरण उनले गरेको स्पष्ट हुन्छ (‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ २ भाग, झरेन्द्रशम्शेर ज.ब.रा र मञ्जु राणा, काठमाडौं, २०५६, १ पृ.) ।

चाबहिलको यस शिलालेखमा वर्णात्मक पद्धतिअनुसार ‘माघ’ लेखी संवत्को अंक हालिएको हो भनी काशीनाथ तमोट (वि.सं. २००१ मा जन्म) ले वि.सं. २०६० मा लेखेको कुरा (‘दि अर्लिएस्ट् लिच्छवि इन्स्क्रिप्शन् फ्रम् चाबहिल्’, ई.सं. २००४ मार्च २९ तारिखमा धधध।लभउबmिबलमब।िअयm।लउ मा पोस्ट गरिएको) को सम्झना पनि यस प्रसंगमा गर्नुपर्छ । खुलाएर भन्दा, म्+आ+घ+अ मिली ‘माघ’ शब्द बनेकाले ‘म्’ पच्चीसौँ व्यञ्जन र ‘घ्’ चौथो व्यञ्जन भएकाले ‘म्’ भनेको २५ र ‘घ्’ भनेको ४ हुन्छ, वर्णांकअनुसार ‘अ’ ले १०० र ‘आ’ ले २०० बुझाउने हुँदा २५+४+१००+२००=३२९ हुने हुनाले यो शिलालेख (शक)संवत् ३२९ को हो भन्ने अनौठो निष्कर्ष उनले निकालेका छन् ।

काशीनाथको यो निष्कर्ष नमान्दा नमान्दै पनि वि.सं. २०२० देखि २०६० सम्मको ४० वर्षको अन्तरालमा यस शिलालेखको तिथि ‘१०’ अर्थात् ‘दशमी’ पढिँदै आएकोमा उनले त्यहाँ तिथिको अंक ‘१२’ भएकोतर्फ औँल्याएकाले तिथि ‘द्वादशी’ ठहरिन गयो । खुलाएर भन्दा, शून्यको प्रयोग गरी अंक लेख्ने पद्धति नचलेको त्यस जमानामा ‘१०’ को अंक मात्र पढी त्यसपछिको ‘२’ को अंक स्पष्ट देखिँदा देखिँदै पनि छोडिएको थियो ।

चाबहिलको यस शिलालेखको विषयमा गहिरो विचार गर्ने काम वि.सं. २०६५ मा दिवाकर आचार्य (वि.सं. २०२६ मा जन्म)बाट लिच्छविकालका पुराना उत्कीर्ण लेखबाट बौद्धधर्मसम्बन्धी सूचना संग्रह गर्ने प्रसंगमा भयो (‘एभ्इडेन्स् फर् महायान बुड्इज्म् यान्ड् सुखावती कल्ट् इन् इन्डिअ इन् द मिड्ल् पीर्इअड् : अर्लि फिफ्थ् टु लेट् सिस्क्थ् सेन्चुइ नेपालीज् इन्स्क्रिप्शन्ज्’, ‘जर्नल् दि इन्टर्न्याश्अन्अल् असोशिएशन् अझ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली, १–२ अंक, ई.सं. २००८, २६–३५ पृ.) ।

चाबहिलको यो शिलालेख वृषदेवको पालाको हो भन्ने धनवज्रको तर्क नमान्दा नमान्दै पनि यो शिलालेख कति पुरानो हो भन्ने विषयमा धनवज्रभन्दा त्यति पर दिवाकर जान सकेका छैनन् (उही, २८–२९ पृ.) । यस शिलालेखमा तिथिमिति दिइसकेपछि ‘अस्यान्दिवसपूव्र्वायाम्’ भन्ने जुन पद आएका छन्, ती पद मानदेवको पालाभन्दा पछिका अभिलेखमा नआएकाले यो अभिलेख मानदेवको पालाको वा यसभन्दा अगाडिको हुनुपर्छ (उही, २८ पृ.) भन्ने उनको एउटा तर्क छ ।

धनवज्रको ‘लिच्छविकालका अभिलेख’ छापिएको १६ वर्ष नाघिसकेपछि मात्र प्रकाशमा आएको, (शक)संवत् ३८१ को खण्डित शिलालेख (श्यामसुन्दर राजवंशी, ‘पशुपतिनाथ प्रांगणमा प्राप्त अप्रकाशित लिच्छवि शिलालेख’, ‘प्राचीन नेपाल’ ११५ संख्या, नेपाली खण्ड १–२ पृ.) लाई दिवाकरले मानदेवको पहिलो अभिलेख मानेका छन् । त्यस शिलालेखमा बार्हस्पत्य संवत्सरको चर्चा नआएकाले त्यस मितिभन्दा अगाडि कहाँ कहाँ माघवर्ष परेका छन् भनी वेंकटेश वालवृष्ण केतकर (वि.सं. १९१०–१९८७)ले तयार गरेको सारणी (‘इन्डिअन् यान्ड् फर्इन् क्रोन्अल्अजि’, ब्रिट्इश इन्डिअ प्रेस, बम्बई, ई.सं. १९२३) अनुसार गणना गर्दै जाँदा शकसंवत् ३७१, ३५९, ३४७ र ३३५ मा परेको देखिएकाले चाबहिलको यो शिलालेख यी ४ संवतमध्ये कुनै एकको हुनुपर्छ भन्ने उनको तर्क छ (‘जर्नल् अझ दि इन्टर्न्याश्अन्अल् असोशिएशन् अझ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली, १–२ अंक, २९ पृ.) ।

यस शिलालेखमा ‘भट्टारकमहाराजश्री’ मात्र बाँकी रही राजाको नाउँ नष्ट भइसकेकाले ती राजा को हुन् भन्ने निर्णय गर्न दिवाकरले गरेको प्रयासको चर्चा पनि यहाँनिर गर्नुपर्छ । मानदेवका बराजु वृषदेवको आसन्न समय ई.सं. ४१० (वि.सं. ४६७) मानेर शकसंवत् ४२५ को अभिलेखमा ‘भट्टारकमहाराजश्रीमानदेवस्य साग्रं वर्षशतमाज्ञापयतः सम्राड्गृहपतेस्पत्न्या विजयस्वामिन्या प्रतिष्ठापिता देवी भगवती विजयेश्वरी’ आएजस्तै चाबहिलको यस शिलालेखमा पनि यस्तै कुरा आउनुपर्छ भन्ने ठानी ‘वृषदेवस्य साग्रं वर्षशतं समाज्ञापयतः चारुमत्या स्थापितो भगवान् महामुनिः’ भनी खण्डित अंश भर्न उनी पुग्छन् (उही, ३१–३२ पृ.) । यसो गर्दा खालि राजाको नाउँ मात्र नदिई चारुमतीले बनाएको भनी प्रसिद्ध चाबहिलमा पाइएको यो शिलालेख पनि चारुमतीकै हो भन्ने उनको विचार देखिन्छ ।

दिवाकरको यस लेखबाट चाबहिलको शिलालेखको पाठ एक ठाउँमा सच्चिएको कुरा पनि यस प्रसंगमा भन्नुपर्छ । ‘अभिलेख–संग्रह’ देखि जहाँ–जहाँ यस शिलालेखको पाठ छापिएको छ, त्यहाँ–त्यहाँ ‘जातकाकीण्र्णत्राना’ (३ पंक्ति) भएकोमा मूल शिलालेखमा चाहिँ ‘जातकाकीण्र्णङ्नाना’ भएकोतर्फ उनले औँल्याएको ठीक छ (उही, ३० पृ.) ।
लिच्छविकालको नेपालमा बौद्धधर्मको अवस्थामा प्रकाश पार्ने यस शिलालेखमा चलनचल्तीमा भएका संवत्भन्दा फरक संवत्को प्रयोग भएको हुनाले र राजाको नाउँ पनि फुटिसकेकाले थरीथरीका विद्वान्ले यसको कालनिर्णयका लागि थरीथरीको ढंगले प्रयास गरे पनि त्यो खालि विद्याविलास मात्र हुन गयो भन्ने यतिसम्मका कुराबाट स्पष्ट हुनुपर्छ ।
-लेखक डा. महेशराज पन्त
-झन् नयाँबाट साभार

Comments

comments

SHARE