मिथक

डम्फुको उत्पत्तिसँगै जोडिएर आउँछ, तामाङ म्हेमे (हजुरबुवा) पेङदोर्जेको कथा । उनलाई कसैकसैले प्योनदोर्जे/ब्योनदोर्जे/पेदोर्जे पनि भन्छन् । उहिल्यै–उहिल्यै उनी सिकार खेल्दै शैलुङ डाँडा पुगेको कहावत अहिले पनि तामाङ समुदायमा प्रचलित छ । सिकार खेल्ने क्रममा तङ्सर बोके (घोरल बोको)माथि तीर प्रहार गरेछन् । तीर लागेर घोरलको बच्चा मर्‍यो । त्यो दृश्य देखेपछि मम(म्हेमेकी श्रीमती) खुब रिसाएछिन् । श्रीमती दुःखी भएको देखेर पेङदोर्जे पनि दुःखी भए ।

पेङदोर्जेको दिमागमा अचानक जुक्ति फुर्‍यो । उनले मरेको घोरलको छाला उतारेर सुकाए । ह्रोल्मो (बाजा) बनाउन अम्बुसिङ (कोइराला)को हाँगा काटे । त्यसैलाई ताछेर घेरा बनाए । त्यसपछि पेङदोर्जे मधेसतिर झरे । त्यहीँबाट बाँस लिएर आए । त्यसको ३२ वटा फुर्बा (किला) बनाए ।

पेङदोर्जेले कोइराला काठको घेरामा घोरलको छाला तन्काए । ३२ वटा किला ठोके । त्यसपछि बजाए । आवाज आयो– ‘प्लाक धुई धुई…, ‘धिङ, धिङ ताक… ।’ हर्षविभोर हुँदै डम्फु बजाउँदै गीत गाउँदै नाच्न थालेछन् । त्यो आवाज डाँफेले सुन्यो । डाँफे पनि नाच्न थाल्यो । डाँफे नाचेको देखेपछि पेङदोर्जेले डाँफेको प्रतीक स्वरूप डम्पुको शिरमाथि डाँफे नै बनाए ।

डम्फु बजाउँदै, गीत गाउँदै र नाच्दै पेङदोर्जे श्रीमतीको नजिक गए । श्रीमती खुसी भइन् । त्यसपछि दुईजना मिलेर तामाङ इतिहासका गीत गाउन थाले । श्रीमतीको नाम के थियो भन्नेबारे तामाङ अध्येताबीच एकमत छैन । भाषाविद् अमृत योञ्जन–तामाङ पत्रिकामा पेङदोर्जेबारे लेखिएको लेख प्रकाशनको तयारीमा थिए । सम्पादनका क्रममा पेङदोर्जेकी श्रीमतीको नाम के हो भन्ने प्रश्न उठेछ । नाम पत्ता नलागेपछि उनीलगायतले ‘रुइसङ’ राखे । तर, उनको नाम के थियो भन्नेबारे अहिलेसम्म थाहा छैन ।

नेपालमा रहेका विभिन्न समुदायसँग आ–आफ्नै मिथक छन् । तीनै मिथकमध्ये यसपटक तामाङ जातिसँग सम्बन्धित डम्फुको मिथकलाई समेटेका छौँ । ‘झन् नयाँ’को आगामी अंकहरूमा पनि विभिन्न समुदायका मिथक समेट्ने हाम्रो प्रयास जारी रहनेछ ।

डम्फुको उत्पत्ति कुन ठाउँमा भयो भन्नेबारे विज्ञहरूमा एकमत छैन । नुवाकोटका वीरदोस थिङका अनुसार डम्पूु र टुङ्नाको निर्माण गढी ग्यल्मो भन्ने स्थानमा भएको हो । उनका अनुसार पेङदोर्जे कान्छा थिए र उनका एकजना दाइ पनि थिए । लेखक प्रताप बल–तामाङ डम्फुको निर्माण पहिलोपटक तेमाल (काभ्रे)मा भएको बताउँछन् ।

डम्फुको प्रयोग

लेखक रवीन्द्र ग्याबाका अनुसार डम्फुलाई नै डम्बा, डम्बुर, डम्फा र डम्फुर पनि भनिन्छ । यसको प्रयोग तम्बाले गर्छन् । सृष्टि र रीतिरिवाजको इतिहास गाउने व्यक्तिलाई तम्बा भनिन्छ । तम्बाहरूले डम्फु बजाउँदै इतिहास भन्छन् । फापरेब्हाई (पिरतीका गीत)मा पनि डम्फुको प्रयोग हुन्छ । त्यसैले ‘तम्बा’ र ‘डम्फुरे’मा झुक्किन्छन् । कतिले एकका निमित्त अर्को संज्ञा प्रयोग गर्छन् । त्यो ठीक होइन । तम्बा तामाङ समुदायको सांस्कृतिक धरोहर हो । तर, डम्फुरे संस्कृतिको एउटा अंग गीतांगे मात्रै हो । तम्बाले डम्फु जथाभावी बजाउँदैन । त्यसको विधि पुर्‍याएर मात्रै बजाउँछन् । डम्फु बजाइसकेपछि थन्क्याउने विधि पनि तम्बाहरूले अवलम्बन गर्छन् । तर, डम्फुरेले विधि अवलम्बन गर्दैनन् ।

तम्बाले सङ्सेरकेम (चोख्याउने) गीतदेखि चरदम/चरतम (विवाह संस्कारको एक चरण) मा डम्फुको प्रयोग गर्छन् । जन्मदेखि विवाहसम्म पनि डम्फुको प्रयोग गरिन्छ । नुवाकोटतिर घेवा (मृत्युकर्म)मा समेत डम्फुको प्रयोग हुने वीरदोस बताउँछन् ।

यो बाजालाई पहिला ह्रोल्मो भनिन्थ्यो । तर, पछि ‘डम्फु’ राखियो । मानिसको गोलो अनुहारलाई तामाङमा ‘डम्बा’ भन्दछन् । त्यही गोलो अनुहारजस्तै वृत्ताकार देखिएकै कारण ‘डम्बा’ हुँदै ‘डम्फू’ भएको केही अध्येताहरूको मत छ । बोन धर्म र बौद्ध धर्म मान्नेहरूको मतअनुसार वृत्तले घामलाई इंकित गर्छ । जुन चराचर जगत्को जननी (अमाधिनी) हो । बत्तीस किलाले घामको किरणलाई जनाउँछ । उनीहरू भन्छन्, ‘३२ किलाले ३२ शुभ लक्षण (गुण)लाई बुझाउँछ ।’ वीरदोसका अनुसार डम्फु बजाउँदै शैलुङमा पुग्दा ३२ वर्षको थिए रे पेङदोर्जे, त्यसैले ३२ किला राखेको हुनुपर्छ । डम्फुको एकातिर छालाले मोडेको हुन्छ । डम्फुको अर्कोतिर ह्वाङ्गै हुन्छ । जसले अर्थ शून्य/महाशून्यलाई इंकित गरिरहेको हुन्छ । जहाँ ‘अमाधिनी’को उत्पत्ति भएको थियो । त्यसैका टुक्राबाट ग्रह बन्ने क्रममा झम्बुलिङ (पृथ्वी) पनि बनेको थियो भनिन्छ ।

घामलाई अमाधिनी (आमा) मान्दछन् । भूमिलाई पिताले कब्जा गर्न थालेपछि पितृभूमि मान्दछन् । तल्लो भागमा चोयाको टुक्रा पनि राखिएको हुन्छ । जसलाई ‘टेपटेप’ भनिन्छ । त्यसले सिकारी युगमा प्रयोग गरिएको धनुष र तीरलाई संकेत गरिरहेको हुन सक्ने अनुमान गरिन्छ । आजसम्म पनि तामाङ राष्ट्रले डम्फुसम्बन्धी यिनै मिथलाई भुलेको छैन । पुस्तौँ–पुस्तादेखि यो मिथलाई हस्तान्तरण गर्दै आएको छ । डम्फुले तामाङको इतिहास भुल्न दिएको छैन ।

लेखक खाेजराज गाेले,खाेज तथा अनुसन्धान कर्त हुनुहुन्छ ।

Comments

comments

SHARE