नाम्सादिम
काँसझैँ फुलेको ति कपाल । चाउरिएका गाला । अनि प्रायः गुन्यु, चोली र घले पोसाकमा । सुस्त–सुस्त अघि लम्किने पाइला । वजनदार बोली । बोल्दा बीच–बीचमा घुस्ने अंग्रेजी शब्द । सुन्दा कता—कता के–के नमिले जस्तो लाग्ने । उनलाई नसुन्ने हो भने ७० पुग्नै आँटेका अन्य महिलाजस्तै यी पनि सामान्य महिला हुन् ।

मगर समुदाय त्यसमा पनि रोल्पाली । सुरु–सुरुमा लाग्न सक्छ— यिनले बोल्ने कुरा पनि प्रायले बुढेसकालमा दिन कटाउन सुनाउने गन्थन मात्रै हुन् । धैर्यवान् भएर सुन्ने हो भने थाहा हुन्छ— बमकुमारी बुढा मगर रोल्पा मात्र नभई पुरानो राप्ती अञ्चलका लागि यस्तो नाम हो, जुन नाममा इतिहास समेटिएको छ । उनमा रोल्पाको मगर समुदायमा जन्मिएर पढ्नका लागि गरिएको संघर्ष लुकेको छ । पञ्चायत र त्यो समयसँग जोडिएका राजनीतिक उथलपुथल र हाल राजनीति भन्दा अलिक पर प्राज्ञिक अभियानसँग बम कुमारीको यात्रा जोडिएको छ । बम कुमारीको जीवनका केही अविस्मरणीय क्षण छन्, जो उनी बिर्र्सिन सक्दिनन् ।

एसएलसी गर्ने पहिलो महिला
०७ सालमा रोल्पामा जन्मिएकी बमकुमारी बुढा मगरको आधारभूत परिचयले मात्र उनको सिंगो परिचय खुलाउन सक्दैन । ०७ सालमा देशमा भर्खर प्रजातन्त्रको बिरुवा रोपिएको थियो । शब्दमा शासन फेरिएको थियो । प्रजातन्त्र प्राप्तिपछि पनि लामो समयसम्म व्यवस्था उस्तै थियो । सामान्य पुरुषले पनि विद्यालयसम्म पुगेर पढ्न असम्भव रहेको त्यो समय मगर समुदाय त्यसमा पनि महिलाले पढ्नु सजिलो थिएन, निकै कम सम्भव थियो ।

काठमाडौंमा धौ–धौ पाइला चालिरहेको प्रजातन्त्र रोल्पाजस्तो विकट गाउँमा आइपुग्न झन् कठिन थियो । रोल्पा आए पनि मगर समुदाय र त्यसमा पनि महिलाका लागि झनै पर थियो । तर, बम कुमारीले रोल्पामा सम्भव नभएपछि ०३० सालमा दाङको पद्मोदय पब्लिक बहुउद्देश्यीय माध्यामिक विद्यालयबाट एसएलसी पास गरिन् । उनी रोल्पाबाटै एसएलसी गर्ने पहिलो महिला बनिन् । आजको समयका लागि एसएलसी पास गर्ने कुरा सामान्य हुन सक्छ । तर, त्यो समयका लागि यो खबर निकै घतलाग्दो थियो । एसएलसी पास ! महिलाले, त्यो पनि मगर समुदायको ! ‘पारिवारिक दबाब, सामाजिक बन्धन, सांस्कृतिक अवहेलना, लैंगिक विभेदका बाबजुद एउटी रोल्पाली मगरकी छोरीले एसएलसी पास गर्नु चानचुने थिएन,’ उनले भनिन् । उनले एसएलसी पास गरेसँगै रोल्पाली अन्य महिलाका लागि पनि विद्यालयसम्मको दूरी छोटो हुँदै गयो ।

शिक्षिकादेखि रापंससम्म
एसएलसी पास गरेपछि परिवारको आग्रहमा बमकुमारी रोल्पा फर्किन् । २ वर्षजति रोल्पाको तालाबाङ, लिवाङ, बुढागाउँलगायत स्थानमा शिक्षिकाको रूपमा अध्यापन गराइन् । लिवाङमा अहिलेका सभामुख कृष्णबहादुर महरा सँगसँगै उनले अध्यापन गरिन् । वैचारिक रूपमा बमकुमारी पञ्चायतको समर्थक थिइन् । महरा कम्युनिष्ट थिए ।

ल‘पञ्चायत त्यो समय उग्र थियो । कम्युनिष्ट पनि तातिएका थिए । वैचारिक भिन्नता भए पनि त्यति ठूलो विवाद भएको मलाई याद छैन,’ भनिन्, पञ्चायत कम्युनिस्टलाई देखिसहन्न थियो । तर, महराजीसँग मेरो त्यति ठूलो विवाद कहिल्यै भएन ।’ विचारलाई निषेध गर्ने मनोविज्ञान आफूहरू दुवैमा नभएको उनी सम्झिन्छिन् । ‘म अाफैँ विचारलाई दमनभन्दा पनि कदर गर्नुपर्छ भन्नेमा थिएँ ।’

०३४ सालमा बमकुमारी आइएड् अध्ययनका लागि नेपालगन्ज झरिन् । केही वर्ष पढिन् । त्यही समयमा उनलाई राष्ट्रिय पञ्चायतको सदस्य हुने मौका मिल्यो । रोल्पाको मगर समुदायकी चेली, त्यसमाथि अध्ययन गरेकी महिला । पञ्चायत र उनी आफैँलाई ठूलो अवसर थियो । बमकुमारीले स्विकारिन् । करिब चार वर्ष राष्ट्रिय पञ्चायत सदस्यको जिम्मेवारी बमकुमारीले सम्हालिन् ।
त्यसवेला गर्नुपर्ने धेरै काम थिए । तर, गर्न सकिने अवस्था कम थियो । ‘पञ्चायतले दिने ३ लाखले मैले के के गर्नु ? स—साना काम अरू पनि तमाम थिए,’ उनले सम्झिन्, ‘मलाई याद आउने भनेको रेउघामा मेरो पहलमा खोलिएको १५ शय्याको अस्पताल हो ।’ उनले आमसमुदायलाई भौतिक वस्तुको पछि नलाग्न सुझाब दिइन् । ‘सही र गलत छुट्याएर निर्णय गर्न सिकाएँ । त्यो समय रोल्पामा आवश्यकता नै सचेतनाको थियो । त्यसवेला चेतना फैलाउने काम गरेँ,’ उनले भनिन् ।

राजकीय भत्ता बहिष्कार
०४३ सालमा राष्ट्रिय पञ्चायतका लागि निर्वाचनको घोषणा भयो । बमकुमारी रोल्पाबाट उम्मेदवार हुने भइन् । एक महिलाले यति चाँडो फराकिलो प्रगति गर्दै गएको साँघुरो सोचाइ बोकेको समाजका लागि अपाच्य थियो । पञ्चायतका वरिष्ठ नेताका लागि पनि यो स्विकार्न धौ–धौ हुने कुरा थियो । अनेक चलखेल हुँदै थिए । बमकुमारी चुनावी अभियानमा व्यस्त थिइन् । उनलाई चुनाव जित्नु थियो । ०४३ वैशाख १८ गते राति घरछेउमा ठूलो आवाज आयो । बम पड्क्यो । उनी बमबाट तर्सिनन्, तर आफ्नैबाट तर्सिनुपर्ने अवस्था आइलाग्यो।

वैशाख १९ गते बिहान सान्त्वना दिन आउलान् भनेको प्रशासनले उल्टै विध्वंशकारी ऐनअन्तर्गतको मुद्दा बोकेर आयो । उनीमाथि ‘हार्ने स्थितिमा निर्वाचन भाँड्नका लागि बम पड्काएको’ झुटो मुद्दा चलाइयो । मुद्दा र बमकुमारीको चुनावी अभियान सँगै चलिरह्यो । वैशाख २९ गते मतदान भयो । वैैशाख ३० गते पृथ्वीबहादुर सिंहको एकल इजलासले यथेष्ट प्रमाण नपुगेको भन्दै उनलाई सफाइ दियो । जेठ १ देखि चार दिनसम्म मतगणना चल्यो । तर, निर्वाचनको परिणाम उनको पक्षमा सुनाइएन । उनको अझै दाबी छ, ‘मैले त्यो निर्वाचन हारेकै होइन । १७ हजार २ सय १ मत मेरो थियो । १७ हजार १ सय २५ अर्को उम्मेदवारको मत थियो ।’ उनको आरोप छ, अर्कैलाई विजयी घोषणा गरियो ।

त्यो हार–तिजको आज कुनै अर्थ नहोला । तर, बमकुमारी अहिले पनि आफूले हारेको स्विकार्दिनन् । ०४५ सालमा मरिचमान सिंह प्रधानमन्त्री हुँदा पूर्वरापस सदस्यका लागि राज्यले भत्ताको घोषणा गरे पनि उनले स्विकारिनन् । ‘मैले भत्ता अस्वीकार गर्ने निर्णय गरेँ,’ उनी त्यसवेलाको निर्णय सम्झिन्छिन्, ‘पहिलो कुरा मैले निर्वाचन हारेकै थिइनँ । निर्वाचन नहारेकोले म पूर्वरापस थिइनँ र पूर्व नभएपछि भत्ता लिने कुरा भएन । राज्यलाई अनावश्यक आर्थिक भार थोपर्न पनि मनले मानेन ।’

बिहे गरिनन्, बहस गरिन्
बमकुमारीले रोल्पाका विकट डाँडामा विकास पु-याउन संघर्ष गरिन् । आफैँ पनि पढ्नका लागि संघर्ष गरिन् । समाजलाई फराकिलो बनाउन संघर्ष गरिन् । पञ्चायतकी नेतृ भइन्, तर पञ्चायतसँग जहिल्यै आन्तरिक संघर्ष गरिन् । यो क्रममा उनले निजी जीवनको महत्वपूर्ण कर्म छुटाइन्, बिहे गरिनन् । बिहे किन गरिनन् ? उनी सामान्य जवाफ दिन्छिन्, ‘बिहे गर्ने फुर्सद भएन भनौँ भने पत्याउने कुरा होइन, खासमा पुरुषसँग मेरो लगावभन्दा बढी प्रतिस्पर्धा भयो । समकक्षी पुरुषभन्दा अब्बल कसरी हुने भन्नेमा नै ध्यान गयो ।’ हक्की स्वभावले पनि हुनसक्छ, जो–कोही पुरुषले उनीसँग बिहेका लागि प्रस्ताव नै गरेनन् । तर, बिहे नगरेर कुनै ठूलै कुरा छुटेजस्तो महसुस भने उनलाई भएन । आफ्नो स्वभावबारे उनी सम्झिन्छिन्, ‘दाङमा पढ्ने क्रममा म बोल्न लाग्दा केटाहरूले ‘बम पड्किन लाग्यो ’ भनेर जिस्क्याए ।’ केही समय त उनी सहेर बसिन् । उपाय नलागेपछि ज्योत्स्ना पत्रिकामा कविता लेखिन् :
त्यो मूर्ति दुनियाँको पैसा खर्च गर्ने
म हैन त्यो आँधी वृक्षको हाँगा भाँचिदिने
म हैन त्यो ‘बम’ वीर पुरुषको नाश गराइदिने
अठार मगरातको अभियान
देशले कोल्टो फेर्यो। बमकुमारीले पनि बाटो फेरिन् । राजनीति छोडिन् । उनी सामुदायिक उत्थान कार्यमा जुटिन् । हाल उनी अठार मगरात मगर प्रतिष्ठानकी अध्यक्षको जिम्मेवारीमा छिन् । मगरमा पनि दुईथरीका समुदाय छन् । बाह्र मगरात पाल्पाको रिडीपूर्वका र १८ मगरात रिडीपश्चिमका । भाषिक संरक्षणसँगै सामुदायिक उत्थान उनको मूल उद्देश्य हो ।

भाषाको महत्वबारे बमकुमारी लामो व्याख्या गर्न सक्छिन । भाषाको महत्वबारे उनको बुझाइ छ– माओवादी जनयुद्धलाई माथि उठाउन मगर समुदाय मात्र नभएर मगर भाषाको ठूलो योगदान रह्यो । युद्धको समयमा गोप्य कोडका रूपमा माओवादीले मगर भाषालाई नै प्रयोग गरे । ‘माओवादी राज्यले नबुझ्ने भाषा प्रयोग गर्थे । त्यो नबुझिने भाषा मगर भाषा थियो,’ उनले भनिन्, ‘मगर भाषाले माओवादीलाई युद्धको समयमा सुरक्षित हुन सघाएको थियो ।’

०४४ सालमा बम कुमारीले स्नातक पास गरिन् । त्यस समयमा रोल्पाबाट स्नातक गर्ने उनी पहिलो पहिला थिइन् । तर, यसलाई पुष्टि गर्ने आधिकारिक तथ्यांक उनीसँग छैन । हाल ६८ टेकेकी बमकुमारीले स्नातकोत्तर गरेकी छिन् ।
मगर मातृभाषाको औपचारिक पठनपाठनका लागि १ देखि ५ कक्षासम्मको र अनौपचारिक १ कक्षासम्मका लागि पाठयपुस्तक उनैले तयार पारेकी हुन् । रोल्पालाई मुलुकमा आएको परिवर्तनको नमुना मान्नुपर्ने उनी ठान्छिन् । ‘रोल्पा धेरै फेरियो भन्छन् । हो, भौतिक पूर्वाधारको विकास भयो । तर, अभौतिक सम्पत्तिको ठूलो क्षति भयो,’ उनले भनिन्, ‘आदर्श हरायो । सोचाइ झनै भासियो । खास कुरो रोल्पालीले ढिँडो बिर्सिए । सिधान्युज

Comments

comments

SHARE