तस्बिर : निर्मला/कान्तिपुर

 चैत्र २५ / धनगढी उपमहानगरपालिका १३ की छविला राना, फुर्सदको समयमा घरको आँगनीमा बसेर आफ्नो परम्परागत लुगा आफैं सिउँने गर्छिन् । उनी साँझ बिहान घरको काम सकेर अंगिया (चोली) र घघरिया (गुन्युँ) सिलाई गर्नु उनको दैनिकी नै भएकाे छ ।

कैलाली र कञ्चनपुरमा मात्र बसोबास गर्ने राना समुदायका महिला आफ्ना लागि लुगा आफैं सिउने गर्छन् । त्यही पनि एउटा सानो सियोको मद्दतले । ‘दैनिक ४ घण्टा समय दिन सकियो भने घघरिया ३ महिनामा तयार हुन्छ,’ घघरिया सिउँदै गरेकी छविलाले भनिन्, ‘जतिबेला घरबाट समय पाउँछु, घघरिया बनाउन बस्छु ।’

अंगिया र घघरिया राना समुदायका महिलाको परम्परागत पहिरन हो । हालका वर्षमा यो पहिरन लोप हुने अवस्थामा छ । पहिले हरेक महिलाले घरमै सिलाएको पहिरन लगाउँथे । हाल नयाँ पुस्ताले कुर्ता र पाइन्ट लगाउन थालेका छन् । जसका कारण घघरिया लगाउने महिला निकै कम मात्रामा देखिन्छन् । छविलाले भनिन्, ‘अहिले नयाँपुस्ताले लुगा सिउन त परै जाओस् लगाउन पनि छाडेका छन् ।’

छविलासँगै घघरिया बनाउन सिक्न बसेकी सोही ठाउँकी, २८ वर्षीया जानकी रानाले भनिन्, ‘अहिले नयाँ पुस्तासँग बसेर परम्परागत पहिरन सिउन समय नै हुँदैन ।’ बालबालिकाहरू कपडा सिउन दर्जीकोमा जान सजिलो मान्ने भएकाले घरमा बसेर लुगा सिउन छाडेको उनको भनाइ छ । ‘विवाहमा बेहुलाले बोक्ने झोला पनि घरमै तयार गर्छौं,’ उनले भनिन्, ‘उहिले सधैं घरमै सिलाएको लुगा लगाउने गरेको भए पनि अहिलेको पुस्तालाई बजारकै कपडा मनपर्ने गरेको छ ।’

जानकीका अनुसार विवाह, विशेष पर्व होली, तीजमा परम्परागत पहिरनको खोजी हुन थालेको छ । उनले भनिन्, ‘बीचमा लोप हुन थालेको पुरानो पहिरन अहिले फेसनका रूपमा लगाउन थालिएको छ ।’ धनगढी उपमहानगरपालिका १३ कै रामदुलारी रानाले भनिन्,‘सासूहरूले त्यही लुगा लगाए, हामीले पनि त्यही लगाएर आधा उमेर काट्यौं ।’ उनले अहिले छोराछोरी परम्परागत पहिरन सिउनभन्दा किताब पढ्नमा व्यस्त रहने गरेको अनुभव साट्दै भनिन्, ‘पहिले घघरिया, अंगियासमेत पूरा पहिरन सिउन एक महिना लाग्ने गर्थ्यो । अहिले घरको कामको भार बढी भएकाले एकजोर सिउन ४ महिनासम्म लाग्छ ।’

हेर्दै लोभलाग्दो राना समुदायको परम्परागत पहिरन बनाउने सीप न त नयाँ पुस्ताले ग्रहण गर्न खोज्यो, न पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकेका छन् । ‘छोरी आधुनिक सोच कि छ,’ स्थानीय अजुदधी रानाले भनिन्, ‘पढाइमै उसलाई फुर्सद हुँदैन । दिउँसो विद्यालय, साँझ गृहकार्य गर्नमै ठिक्क हुन्छे ।’ सिकाउन खोज्दा पनि छोरीले ध्यान नदिएको उनी बताउँछिन् ।
‘हामीले स्कुलको दैलो नै टेक्न पाएनौं, त्यसैले हामीले पुर्खाबाट सीप सिक्ने मौका पायौं,’ उनले आफ्नो अनुभव सुनाइन् ।

‘आफ्नो समयमा हामीले आफैंले सिएको लुगा लगायौं,’ ७० कटेकी छिद्दो रानाले भनिन् ‘फुर्सद भए पनि अहिलेको पुस्ता पुरानो संस्कृति सिक्न खोज्दैन ।’ उनले अगाडि थपिन्, ‘फुर्सदमा बसेर मोबाइल चलाउन मन पराउनेहरूलाई पुरानो सीप सिकाउन खोज्दा पनि सफल हुन सकिएन ।’

लुगा तयार पार्दा आवश्यक पर्ने कपडाका टुक्रा, बुट्टा भर्न चाहिने ऊन, ठाउँठाउँमा राख्न चाहिने ऐनाका स–साना टुक्रा किन्दा महँगो पर्ने गरेका कारण पनि अहिले परम्परागत लुगा घरमै तयार गर्नेको संख्या घटेको उनले बताइन् । ‘पहिरन बनाउँदा विभिन्न रङका कपडाको मिश्रण अनि त्यसलाई कलात्मक रूपमा सजाउनुपर्ने उनको भनाइ छ । अहिले पुरानो चलनका लुगा महँगो र बनाउन बढी समय लाग्ने भए पनि राना समुदायको पहिचानको पहिलो आधार यही पोसाक नै भएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको धनगढी उपमहानगरपालिका ७ का वडाध्यक्ष सीताराम रानाले बताए ।

‘नयाँ पुस्ताले आफ्नो पहिरनमा चाँसो नदिँदा राना थारूको पहिचान हराउन थालेको छ,’ सीतारामले भने, ‘यसका लागि सरकारका तर्फबाट पनि कार्यक्रम ल्याइनुपर्छ । अबको वडाको साधारणसभापश्चात वडास्तरबाट रानाको पहिरन बनाउने तालिम नै सञ्चालन गर्ने योजनामा छौं ।’

पढेलेखेका युवाहरूले पनि रानाको संस्कृति र पहिरन लोप हुँदै गएको कुरामा सचेत रहनुपर्ने उनको भनाइ छ । ‘युवापुस्ताले पनि बेलैमा आफ्नो पहिचान जोगाउनतर्फ लाग्न जरुरी छ,’ सीतारामले भने । राना जातिको पहिरन मात्र होइन, उनीहरूको गहना पनि अन्य समुदाय तथा जातिका भन्दा फरक हुन्छन् ।

गहना झनै आकर्षक
टाउको छोप्न उनिया, ब्लाउजका रूपमा अंगिया, र गुन्युँका रूपमा उनीहरू घघरिया लगाउँछन् । त्योसँगै चाला, कंचट लगाउँछन । खुट्टामा चाँदीको बिच्छु, काँसको गोलो बनाएर पैडा, पैडाको तल ढुन्नी लगाउँछन् । त्यसपछि तल पायल लगाउँछन् ।
मालाका रूपमा उनीहरू गरेला, चाँदीको हार, सुनको नग्वेसर, कानमा वीर, ऊनको डल्लो बनाएर फुलवा र गुट्का, हृसुलिया, चाँदीका सिक्काको माला, फतुईः कपडामा चाँदीको सिक्का सिएर घाँटीमा लगाउन बनाइएको माला लगाउने चलन रहेको छविला रानाले बताइन् । यस्तै हातका बालाका रूपमा चाँदीको गोलो घेरा जस्तो साम, खडुवा, पहुची, नाकमा मुदडी, हातको कुममा लगौरा ऊन र सिक्काको लगाउने गरेको उनले बताइन् ।

– निर्मला खडायत/कान्तुिपुरबाट

Comments

comments

SHARE