चैत्र १९, काठमाडाैं । सिद्धार्थ गौतम बुद्भले ६ वर्षको कठोर तपस्यापछि बैशाख पूर्णिमाको प्रभातकालीन समयमा सम्यक सम्बुद्धत्व प्राप्त गरे । यसरी सम्यक सम्बुद्धत्व प्राप्त गरी राजकुमार सिद्धार्थ बोधगयाको बोधिवृक्षमुनि एक हप्तासम्म एकसुर एकमनले ध्यानमा लीन हुनु भयाे । त्यसपछि कहिले चारद्वीपको किनारा त कहिले नागराज वृक्षमुनि भने कहिले न्याग्रोध वृक्ष त कहिले नागवृक्ष वनमा निवास गर्नुहुँदै अनेक सर्वगतहरुलाई बोधिमा परिपाक गरे ।

तत्पश्चात राजकुमार सिद्धार्थले यसरी मनमनै कुरा खेलाउनु भयो कि – “मैले गम्भीर, शान्त, निर्मल, आभास्वर, असंस्कृत तथा अमृत समान धर्म प्राप्त गरेको छु । तसर्थ मैले पाएको ज्ञान यदि अरुलाई सुनाएता पनि उनीहरुले सजिलै बुझ्न सक्दैनन् ।” अतः चुपचाप वनमा निवास गर्नु नै वेश होला भनठानी बोधिज्ञान प्राप्त गरेको उनान्चास दिनसम्म चुपचाप मौनव्रतमा बसेका थिए । यस्तो गम्भीर अनि अमृत समान ज्ञान बोधिसत्व सिद्धार्थको मुखार विन्दबाट बाहिर नआउने हो भने, कसरी असंख्य सत्वप्राणीहरुको हित होला भनी अनगिन्ती देवता तथा बोधिसत्वहरुले सिद्धार्थ गौतमलाई धर्मोपदेशको निम्ति प्रार्थना गरिरहेका थिए ।

बारम्बार धर्मोपदेशका निम्ति अनुरोध गर्नु हुनेहरुमा विशेष गरी सहम्पत्ति ब्रम्हाले भगवान् बुद्ध आफूले प्राप्त गरेको अमृतमय धर्म अरुले पनि सुन्ने मौका पाएमा सबैले यसबाट अधिक लाभ लिन सकिने थियाे भनी सोच्नुहुँदै भगवान् बुद्धलाई धर्मोपदेशका निम्ति प्रार्थना गरे । यसरी ब्रम्हाले बारम्बार अनुरोध गर्नु भएपछि भगवान् बुद्धले प्रथमपल्ट धर्मचक्र परवर्तन गर्ने निधो गर्नुभयो । यसप्रकार बोधिसत्व सिद्धार्थले आफ्नो अनुरोधलाई स्वीकार गरेकाले सम्हपत्ति ब्रम्हा खुशी भएर  ब्रम्हलोकमा पुनः फर्केका थिए ।

यस्तो खुशीको खबर विस्तारै राजा शुद्धोदनको कानमा समेत पर्न गयो । तर पनि आफ्नो छोरो राजकुमार भएर पनि घर-घरमा भिक्षाटन गर्दै हिँडेको राजालाई त्यति चित्त बुझेको थिएन । तर, जब राजकुमार सिद्धार्थले गम्भीर, शान्त अनि अमृतमय ज्ञान प्राप्त गरिसकेको तथ्य थाहा भएपछि भने राजा शुद्धोदनमा पनि अन्य प्रजाहरुमा झैं खुशी हुनुभयाे ।

महारानी प्रजापति गौतमीले पनि जन्मेको सातै दिनदेखि आफ्नै छोरो समान पालन पोषण गरी बामे सर्ने अवस्थादेखि टुक–टुकु हिँड्दै कोमल गुलाफसरी ती हातले आफ्नो औठो पक्रेर ताते–ताते गर्दै बाग बगैंचामा हिडडुल गरेको मिठो सम्झना मानसपटलमा मडारिँदा प्रजापति गौतमीको आँखाबाट अनायास अविरल रुपमा खुशीका आँसु तप्कन्थे ।

एउटी नारीले आफ्नो सन्तानको सुख बाहेक अरु के नै सोच्न सकिन्छ ? आमाको न्यानो काख छोडेर अनकन्टार जंगलमा ६ वर्षको कठोर दुःखकष्ट कसरी खपे होलान् भन्ने अनेक कल्पनाका तरङ्गहरुले महारानी गौतमीलाई पनि त्यत्तिकै सताई रहेको बेला तीन त्रिलोकमा नै सबैभन्दा श्रेयस्कर अनि उत्तम ज्ञान पाएको खबरले गर्दा उदास–उदास कपिलवस्तुको दरबार एकपल्ट फेरि दुलही जस्तै सजिसजाउ परेको देखिन्थे ।

जताततै खुशीको माहोल छाएकोले मानौं शिसिरको उराठलाग्दो समयलाई छिचोल्दै वसन्त ऋतु खुसी र उमंगका साथव्याप्त भएको होस् । यस्तो खुशीको पावन अवसरमा राजा शुद्धोदनले खुशीको यस्तो माहोलमा एउटा ज्यादै भव्य स्तूपको स्थापना गर्नेबारे विधिवत रुपमा घोषणा गरेका थिए ।

यसरी राजा महाराजा बुद्धिजीवि र समाजका विशिष्ट व्यक्तित्वहरु मिलेर राजकुमार सिद्धार्थले बोधिज्ञान प्राप्त गरेको स्मरणमा देव तथा मनुष्यहरुद्वारा एउटा यस्तो भव्य तथागत स्तूपको निर्माण सम्पन्न गरेका थिए । यसलाइ बोधिस्तूप (झ्याङछ्युब छ्योर्तेन)को नामले चिन्दछन् । यसरी चाहे त्यो पद्मराशि स्तूप होस् या बोधिस्तूप जुनसुकै तथागत स्तूपको परिक्रमा (कोरा) गर्दा अनेक किसिमको पुर्वकृत पापहरु नाश हुने भएता पनि खास रुपमा शरीरद्वारा सञ्चित पाप शोधन हुन्छ भन्ने जन विश्वास रहि अाएकाे छ ।

यति मात्र हैन कुनै पनि (छ्योर्तेन) स्तूपको प्रदक्षिणा (कोरा) गर्नले सबै मनोभाव एवं मनोकांक्षा पूर्ण हुने र दुर्गतिका सारा ढोकाहरु बन्द हुनाका साथै सात स्वर्गीय गुणहरुले समेत युक्त हुन्छन् ।
सात प्रकारका गुणहरु तल उल्लेख गरे अनुरुप छन् :

१.असल कुलमा जन्मनु ।
२.आकर्षक रुप प्राप्त हुनु ।
३.सौभाग्यवान हुनु ।
४.सुख, शान्ति र ऐश्वर्य लाभ हुनु ।
५. प्रज्ञावान हुनु ।
६.दीर्घायु वा चिरन्जीवि हुनु ।
७.घातक रोगका भयबाट मुक्त हुनु ।

।। भवतु सर्वमङ्गलम् ।

सामजिक सञ्जालबाट साभार ।

Comments

comments

SHARE