-डा युवराज लिम्बू

संचार प्रविधिको बिकासले संसार सहज भैरहेको अवस्थामा एकातिर दैनिक असंख्य समाचारहरु र लेख रचनाहरु प्रवाह भैरहेको हुन्छ, भने अर्कोतिर समाचारहरु र लेखरचनाहरुको झुकाव र उद्देश्य साथै यसलाई कसरि उपयोग गर्ने भन्ने छुट्टै अध्ययनको बिषय बन्न सक्छ l बास्तवमा संचार जगत पक्कै पनि राज्य संयन्त्र र राज्य शक्तिको प्रभावबाट अलग रहन सक्तैन l बर्चश्वशालि संस्कृती, धर्म र समुदायको प्रभाव संचार माध्यममा प्रस्टैसँग देख्न सकिन्छ l उदाहरणका लागि; नेपालमा जब विविध जाती, भाषा, संस्कृती र सभ्यतालाई स्वीकार्दै विभिन्न चाड पर्वहरुमा राष्ट्रिय बिदा घोषणा गरिन्छ तब यस देशमा बिदाका संख्याहरू धेरै हुन लाग्दछ अनि यो अबैज्ञानिक पनि हुन् थाल्दछ तर जब यहाँ एक जाती, एक भाषा, एक संस्कृती र एक धर्मको चाडपर्वलाई मात्र राष्ट्रिय चाडपर्व मान्ने र अन्य चाडपर्वहरुलाई स्थानीय वा सम्बन्धित समुदायको मात्र भन्दा संचार जगतमा कुनै विवाद र विश्लेषण हुँदैन l संचार माध्यमको विश्लेषण गर्ने यो लेखको आशय नभए पनि वर्तमान नेपालको राष्ट्रिय मुलधार मानिने संचार माध्यमहरुमा नेपालको बहुल पहिचानले स्थान नपाउने यथार्थता र एक जना विद्वानको भनाई “जसले संचार नियन्त्रण गर्छ उसले दिमाग नियन्त्रण गर्छ” लाई उल्लेख गर्नु यहाँ सान्धर्भिक नै हुन्छ l

तथापी जाती, भाषा, संस्कृती, धर्म र सभ्यताले बिबिधतायुक्त नेपालमा वर्तमान एक जाती, एक भाषा र एक संस्कृतिको बर्चस्वता कायम रहेको अवस्थामा पनि बिबिध जाती, भाषा, संस्कृती, धर्म र सभ्यताहरू बारे अध्ययन, लेखन र प्रकाशन नभएको चाहीँ होइन l औपचारिक रुपमै बिबिध जाती, भाषा, संस्कृती र धर्म बारे लेखिएका पुस्तकहरु बिमोचन गर्ने कार्यक्रमहरु नियमित जस्तो भइरहेकै छन् l बिबिध जाती, संस्कृती र सभ्यता झल्कने भेषभुषाहरुको प्रदर्शन पनि निरन्तर छ l बिबिध लोक संस्कृती र रितिरिवाज झल्कने कार्यक्रमहरु पनि नियमित जस्तो भइरहेकै छन् अनि यो देशको भाषिक र संस्कृतिक बहुलताबारे गोष्टि र सेमिनारहरु पनि हुने गरेकै छन् l विभिन्न राजनैतिक पार्टीका नेताहरुद्वारा समय र परिस्थिति अनुसार विभिन्न कार्यक्रमहरुमा यस देशको जाती, भाषा र संस्कृतिको बहुलता बारे जानकार रहेको भाषणहरु हुने गरेकै छ l यस देशको आदिवासी, जनजातीहरुको भाषा, संस्कृती, सभ्यता, संस्कार, रितिरिवाज, धर्म र इतिहासबारे आदिवासी, जनजाती विद्वानहरु बाटै अध्ययन गर्ने र लेख्ने काम पनि निरन्तर नै छ l यधपी खस, आर्य भाषा, संस्कृति र रितिरिवाज एकल पहिचानको वर्चश्वता बिना विकल्प वर्चश्वशाली भूमिकामा रहेको कुरा पनि सर्व बिदित्तै छ l

सबै अल्पसंख्यक जाती, भाषा र संस्कृती रहेको मुलुकमा ठूलो संख्यामा रहेको आदिवाशी, जनजातीहरुको भाषा, संस्कृती र रितिरिवाज अझै पनि राष्ट्रिय मूलधारमा आउन सकेको छैन जबकी आदिवासी, जनजाती बौद्धिक जगतबाट नै आफ्नो भाषा, संस्कृती, रितिरिवाज, सभ्यता र इतिहासबारे अध्ययन, अनुसन्धान र लेखन भने भइरहेकै छ l यहाँ इटालियन दार्शनिक Antonio Gramsci को Traditional intellectuals र Organic intellectuals को अवधारणालाई जोड्न सान्धर्भिक हुन्छ l Gramsci को अवधारणा अनुसार Traditional intellectuals यथास्थितिबादमा रहन्छन, यद्धपि उनीहरु आफुलाई स्वतन्त्र बौद्धिक ठान्दछन्, तर उनीहरुको अध्ययन, अनुसन्धान र लेख रचनाहरुले केवल बस्तु स्थिति र घटनाक्रमको बर्णन मात्र गर्दछ र यस्ले यथास्थितिबाद वा असमान Social hegemony लाई नै पक्षपोषण गरिरहेको हुन्छ l अर्कोतिर Organic intellectuals भने बडी व्यवहारबादी हुन्छन l असमान Social hegemony को अध्ययन र विश्लेषण गर्न सक्तछन्, उनीहरुले बिश्वबिध्यालयबाट प्रमाणपत्र प्राप्त गरेकै हुनुपर्छ भन्ने छैन तथापी Organic intellectuals बढि परिस्थिति र असमान यथास्थितिको कारणहरु विश्लेषण गर्न सक्षम हुन्छन र समाजलाई नयाँ संरचना र परिवर्तनतर्फ उन्मुख पार्न आफ्नो बौद्धिकता प्रयोग गर्दछन् l

इतिहासको गतिसँगै वर्तमान संघीय गणतन्त्र नेपाल सम्म आइपुग्दा नेपालमा थुप्रै राजनीतिक घटनाक्रमहरु भइसकेका छन् l धेरै साशन प्रणालीहरु अवलम्बन भइसकेका छन्, सरकारहरु धेरै फेरिएका छन् अनि शैक्षिक क्षेत्रमा विद्यालय र बिश्वबिद्यालयहरु थुप्रै खुलिसकेका छन् l अनि समग्र रुपले ठुलो संख्यामा रहेका आदिवासी, जनजातीहरुको इतिहास, भाषा, संस्कृती र रितिरिवाज बारे पनि अध्ययन र अनुसन्धान भएका छन् l आदिवासी, जनजाती बौद्धिक वर्गबाटै पनि प्रशस्त अध्ययन, अनुसन्धान, लेखन र प्रकाशनहरु भएका छन् l तर आदिवासी, जनजातीको भाषा, संस्कृती र रीतिरिवाजको प्रतिबिम्ब किन राष्ट्रको मूलधारमा छैन ? अझै पनि मेरो भाषा पढाईदेउ भनेर राज्य संयन्त्रसँग हारगुहार गर्नु पर्ने ? अझै पनि मेरो परम्परागत चाड पर्वहरुमा बिदा दिइयोस भनेर सरकारसँग वार्ता गर्नु पर्ने ? अझै पनि मेरो रितिरिवाज, संस्कृती र परम्परा जोगाई पाउँ भनेर बिन्ति गर्नु पर्ने ? नेपालको आदिवाशी, जनजातीहरुको इतिहास, भाषा, संस्कृती, परम्परागत ज्ञान शीप र रीतिरिवाजको अध्ययन, अनुसन्धान र लेखनले समग्र राष्ट्रको पहिचानमा कहाँनेर निर्णायक भूमिका निर्वाह गर्न सकेको छ र समग्र राज्य संयन्त्रमा कहाँ छ यसको प्रतिबिम्ब ?

वर्तमान समग्र परिस्थितिले सिकाएको पाठ के हो भने यहाँ आदिवासी, जनजातीका भाषा, संस्कृती र रीतिरिवाजले राष्ट्रिय मूलधारमा प्रतिस्पर्धा गर्न नसक्नुका कारणहरु बारे पर्याप्त बौद्धिक विश्लेषण भएको छैन l समग्र रुपमा राज्य संयन्त्रका सम्पूर्ण निकायहरुमा आदिवाशी, जनजातीहरुको निर्णयकारी भूमिका रहन नसकेको बारे कुनै बौद्धिक विश्लेषण भएको छैन l आदिवासी, जनजातीहरुले अझै पनि Yes-man को परिधिलाई नाग्न नसक्नुका कारण बारे कुनै पनि बौद्धिक लेख रचनामा बैज्ञानिक विश्लेषण सहित स्पष्ट पार्न खोजिएको छैन l Gramsci कै अवधारणा अनुसार केवल Traditional intellectuals को भूमिकामा मात्र आदिवासी, जनजातीहरुले आफ्नो जाती, भाषा, संस्कृती, रितिरिवाज र इतिहास बारे अध्ययन र लेखन गरि रहने हो भने यसले समग्र समुदायको राजनैतिक, सामाजिक र आर्थिक पहिचान र हैसियतमा केहि फरक पार्न सक्तैन भन्ने कुरा इतिहास र समयक्रमले देखाई सकेको छ l

सर्वसम्मत रुपमा स्वीकारिएको अनेकतामा एकता भएको बहुल जाती, भाषा, संस्कृती र शभ्यता भएको नेपाल राष्ट्र पाश्चात्य विद्वानहरुको शब्दलाई प्रयोग गर्ने हो भने एक Salad bowl हो l तथापी सम्पूर्ण राज्य संयन्त्रमा एक जाती, एक भाषा र एक संस्कृतिको मात्र वर्चश्वशाली उपस्थितिका कारण बहुसंख्यक आदिवाशी, जनजाती, थारु, मधेशी र शिल्पी/दलित आदि विभेद र बहिश्करणमा परेका छन् l बिशेष गरेर यहाँका आदिवाशी, जनजाती बुद्धिजीवीहरुले Traditional intellectuals को भूमिका मात्र नभई विभेद र बहिष्करण अन्त्य गर्न Organic intellectuals को भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ l आदिवासी, जनजातीको सम्पन्न भाषा, संस्कृती र शभ्यता राज्यको मूलधारमा आउन नसकेको कारणहरु बारे अब बैज्ञानिक अध्ययन र विश्लेषण गर्नु जरुरि छ l आदिवासी, जनजातीहरु ठुलै संख्यामा देशको राष्ट्रिय राजनीतिमा सहभागी छन्, बौद्धिक समुहको संख्या पनि राम्रै छ, व्यापार व्यवशाय र कर्मचारी तन्त्रमा राम्रै उपस्थिति छ तथापी समग्र रुपमा हेर्दा आदिवासी, जनजातीहरु Subordinate को भूमिकामा मात्र सिमित रहनु परेको कारणहरु बारे अब बैज्ञानिक र व्यवहारिक अध्ययन र विश्लेषण हुनु आवश्यक छ l तसर्थ अब, सबै जाती, भाषा, संस्कृती र समुदायले अपनत्व र सह अस्तित्व अनुभूति गर्न सक्ने अग्रगामी र संवृद्ध संघीय गणतन्त्र नेपाल निर्माणको लागि Organic intellectuals को बौद्धिकता जरुरि भईसकेको छ l

Comments

comments

SHARE