-हिरामान बल तामाङ

                        श्रद्धाञ्जली म्हेमे ह्रिन्जेनदोर्जे

म सानै छँदा
म्हेमेले सुनाउनु हुन्थ्यो
ह्रिन्जेनदोर्जेलाई
निर्ममतापूर्वक हत्या
गरेको इतिहास !

त्यति बेला
मलाई लाग्थ्यो
म्हेमेले सुनाउनु भएको
ती सबै सबै
कथा होलान् ।

तर आज बुझ्दैछु
ती त कथा हैन
मौखिक इतिहास रहेछन् ।

हो
आज भर्खरै बुझ्दैछु
तेमालको अन्तिम
अनि
शक्तिशाली राजा
ह्रिन्जेन म्हेमेलाई
जालझेल गरेर
मीत लाउने बहानामा
सुनकोशीको बगरमा
हत्या गरेका रहेछन् ।

म्हेमेले ती इतिहास
सुनाउँदै गर्दा
मेरो आँखाबाट आँशुको भेल
बगेकै थियो ।

तर
त्यसको मूल कुरा बुझेको थिइनँ ।
किनकि म सानै थिएँ !

त्यसैले त
के कथा, के किम्बदन्ती
र के इतिहास मैले छुट्याउन सकिनँ
र त
मैले कथा नै सम्झेँछु ।
आज बुझ्ने भएको छु
र बुझाउन सक्ने पनि !
म्हेमे ह्रिन्जेनदोर्जेसँग
पटक-पटक लर्डाई लडे
पृथ्वी नारायणको सेनाले ।

तर,
म्हेमे ह्रिन्जेनसामू
तिनीहरु टिक्न सकेनन्
हो हाम्रो म्हेमेले हराएर पठाएकै हो ।

जे उपाय लगाउँदा पनि
सक्तै नसकेपछि
धार्मिक, सांस्कृतिक, ऐतिहासिक
ठाउँको रुपमा प्रख्यात्
तेमालका राजा
ह्रिन्जेनदोर्जेलाई मार्नका लागि
पृथ्वी नारायणले
विभिन्न योजना बनाएकै हुन् ।

ती
सबै योजना असफल पनि भएकै हुन् ।

अन्तिममा-
मीत लाउने प्रस्ताव राखे छन् ।
कुनै पनि हतियार ल्याउदिनँ
तपाईँ पनि नल्याउनुस् भनेर
चिठ्ठी पठाएछन् ।

सोझो ह्रिन्जेनदोर्जे पनि
बिना हतियार
सुनकोशीको बगरमा
पुग्नु भएकै थियो ।

जब
ह्रिन्जेनदोर्जे
बगरमा पुग्नुभएको थियो
तब
पृथ्वी नारायणका सेनाहरुले
अगाडि नै गएर
बालुवाभित्र लुकाएर राखेको हतियार निकालेर
छप्काउन थालेछन् ।

ह्रिन्जेनदोर्जेले
हतियार नलगेको
हुनाले सक्दो बुद्धि प्रयोग गरे
नसकेपछि भाग्न खोजेछन् ।

विडम्बना भाग्दा-भाग्दै
तरवारले प्रहार गरेछन्
हातको औंला मात्र भेट्टाएछन्
अहिले पनि
ह्रिन्जेनकाे औंला मात्र खसेको
ठाउँको नाम
अमलटारी रहेको छ ।

ह्रिन्जेनको सबै अङ्ग
काटेर फाल्ने क्रममा
टाउको काटेर सुनकोशीमा फालेछन् ।

ह्रिन्जेनदोर्जेलाई मार्‍यो भन्ने खबर
दरबारमा पुगेपछि
सेनासहित राजाको
दुर्इ रानीहरु पनि
दौढेर बगरमा पुगेछन् ।

रानीले ह्रिन्जेनको
टाउको सुनकोशीको
दहबीचमा तैरिरहेको
देखेपछि
सहनै नसकेर
दहमा हाम फालिछन्
रानी त्यही दहमा
डुबेर मरिछन्
हाल
उक्त दहलाई रानीदहको नामले चिनिन्छ ।

हो, अशोजको महिना थियो
तामाङहरुको म्हेनाङ/म्हेनिङको बेला थियो ।
अब
हिन्दू राज्यसत्ताको विजयादशमीको विरुद्ध
अनि
म्हेमे ह्रिन्जेनदोर्जेको श्रद्धाञ्जलीका निमित्त
आऊ एउटा नयाँ प्रण गरौं ।
हाम्रो म्हेमेलाई हृदयदेखि नै श्रद्धाञ्जी अर्पण गरौं ।

अशोज ३१, २०७५
महाङ्काल, पानीट्याङकी

Comments

comments

SHARE