-ग्याम्जाे तामाङ 
पाैष २५, तेमाल/ काभ्रेपलान्चाेक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ स्थित सिङन्हान गाङ (डाँडा)मा राष्ट्रिय स्तरको तामाङ संग्रहालय बनाउने भएकाे छ । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)को नेतृत्वमा मंगलबार गएको टोलीले उपयुक्त स्थानको छनौट गरेकाे हाे ।

संग्रहालय निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद बमध्वजले ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै प्रादेशिक सांसद रत्न ढकालले गुम्बा, भ्यूटावर र तामाङ संग्रहालयको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको बताएकाे छ ।

सम्भावनाकाे हिसाबले तीन ठाउँलाई उपयुक्त स्थानको रुपमा छनौट गरि (मंगलबार) स्थलगत निरिक्षण पछि सिङन्हान गाङ नै उपयुक्त हुने सांसद बमध्वजले बताए । तेमाल गाउँपालिका वडा नं. ५ याङबेल, वडा नं. ७ को सिङन्हान गाङ र वडा नं. ८ को म्हेछोपालाई छनौट गरेको थियो । स्थलगत निरिक्षणपछि सिङन्हान गाङलाई छनौट गरिएको हो ।

यस अघि तेमाल गाउँकार्यपालिकाको बैठकले पनि सिङन्हान गाङमा तामाङ संग्रहालय बनाउने निर्णय गरेको थियो ।

निर्वाचनको वाचा पूरा
निर्वाचनको क्रममा सांसद बमध्वजले तामाङ समुदायको बहुल्यता भएको तेमालमा राष्ट्रिय स्तरको तामाङ संग्रहालय बनाउने बाचा गरेका थिए । तेमालका जनतासंग गरेको बाचा पूरा गर्न लागेको सांसद बमध्वजले बताए । ‘मैले निर्वाचनमा भोट माग्ने बेला जनतासंग तेमालमा तामाङ संग्रहालय बनाउने बाचा गरेको थियाे ।’ सांसद बमध्वजले भने, ‘आज मैले विजय गरेपछि जनताका सामु वाचा गरेको कुरा पूरा गर्न लागेकाे छु ।’ निर्वाचनको क्रममा आफूले वाचा गरेको सबै कुरा क्रमिक रुपमा पूरा गर्दै जाने उनले तेमालका स्थानिय बासीलार्इ बताए ।

संग्रहालय राष्ट्रिय स्तरको बन्ने
सांसद बमध्वजले तेमालमा बन्न लागेको तामाङ संग्रहालय राष्ट्रिय स्तरको बनाउ लागेको बताए । नेपालमा खासै तामाङ संग्रहालय नभएकोले पनि यो संग्रहालय राष्ट्रिय स्तरको बनाउनुपर्ने उनको तर्क छ । ‘तामाङ समुदायको संग्रहालय रहेको कुरा सुनेन ।’ उनले भने, ‘राजधानीबाट नजीक रहेको काभ्रे जिल्लामा अब राष्ट्रिय स्तरको तामाङ संग्रहालय जसरी भएपनि  निर्माण हुन्छ ।’

सांसद बमध्वजको सोचमा तामाङ संग्रहालय
संग्रहालयमा तामाङ जातिको जन्मदेखि मृत्युसम्मको संस्कार, संस्कृति, भाषा, धर्म सबै रहने सांसद बमध्वजले बताए । ‘यो संग्रहालय भित्र हाम्रो जातिको जन्मदेखि मृत्युसम्मको सामग्रीहरु हुनेछ ।’ उनले भने, ‘यहाँ संस्कार, भाषा, लिपी, धर्म र पुस्तकालय समेत रहने छ ।’

उनका अनुसार तामाङहरु थतथलोका रुपमा रहेको रसुवा, धादिङ, नुवाकोट, मकवनपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, चितवन लगायतका जिल्लामा बसोबास गर्ने तामाङ समुदायको समेत झल्कने खालको सामग्री राख्ने बताए । आधारभूत रुपमा सबै ठाउँमा बसोबास गर्ने तामाङ समुदायमा एकरुपता भएपनि तामाङ समुदाय भित्र पनि भाषिक, धार्मिक र सांस्कृतिक हिसावले फरक फरक रहेको छ ।

‘ग्याई र ग्युइ’ हराए अब तेमालमा
तामाङ समुदायमा एउटा किम्बदन्ती छ कि ‘ग्याइ र ग्युइ’ अथवा भाषा र संस्कार हराए तेमाल जानू । सबै जिल्लालाई समेटेर संग्रहालय बन्ने भएपछि पुर्खाले भनेको किम्बदन्ती पनि पूरा हुने भएको छ । संग्रहालयमा ताम्सालिङ क्षेत्रकै तामाङ समुदाय र तेमालको मौलिक संस्कृति झल्कने सामग्री राखेपछि यो कुराको चरितार्थ हुनेभएको छ । स्थान छनाैटका लागि नेताहरु संग्रमजीत लामा, इन्द्रबहादुर तामाङ, डिएम लामा, जेनिस लामा लगायले सहभागी जनाएका थिए ।

Comments

comments

SHARE