पाैष १३, काठमाडाैं । भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा १९ देशका प्रतिनिधिहरूका सहभागिता रहेको जानकारी गराएका थिए । कसरी १९ देश भन्ने प्रश्नले ठुङ्नेक्रम शायद टुङ्गिने छैन । हनीमुन मनाउन पुगेका देखि डेटिङस्पटमा रूपान्तरण गरेका भन्ने आरोपवृष्टि पनि सुनाए ।

पत्रकारहरू आफ्नो भूमिकामा सफल नै रहे; यद्यपि पत्रकारिता विधाको साथै तामाङ समाजको एक अङ्गकै रूपमा स्थापित पत्रकारहरू पत्रकार मात्रै थिएनन् । उनीहरू पनि तामाङ समाजको अङ्ग नै हुन् भन्नेमा कुनै शङ्का छैन । त्यतिसम्म हुँदा-हुँदै पनि बन्दसत्रमा सहभागिता जनाउन पाएनन् । यो भविष्यमा पूरा गर्नुपर्ने वा सम्बोधन गर्नुपर्ने पाठ भएको छ ।
सबैभन्दा ठूलो त ज्ञानको कुरा नै थियो । त्यतातिर सबैजना अल्लारे तथा लहडे मात्रै भएको गम्भीर आरोप लगाउन बाध्य भएको छु । ”खोला तरेपछि लौरो बिर्सने वा जसको जौ खायो; उसैको जुँगा उखेल्यो” भन्ने कथन छर्लङ्ग भएकै थियो । प्राविधिक रूपमा केही समस्या स्वाभाविक मान्नुको विकल्प हुने कुरै भएन ।

विश्व नै पहिचानमय भएको छ । यतिखेर ”हामी को हौं र को होइनौं -” भन्ने प्रश्नले धेरैलाई रिङ्ग्याएका देखिन्छन् । यत्तिले मात्रै पहिचान स्थापित हुनेमा शङ्का हुँदोरहेछ । त्यसैले ”तिनीहरू को हुन् र होइनन्” भन्ने बारेमा पनि अध्ययन, अनुसन्धान नै गर्नुपर्ने जस्तो देखियो अथवा जानेका, बुझेका साथै सुनेकाले अन्यलाई बुझाउनुपर्ने भएछ ।

सम्मेलनमा सहभागीका दशाले पनि यस्तै सङ्केत गरिरहेकै थियो । दुःख गर्ने, अध्ययन, अनुसन्धान गर्ने साथै जिज्ञासु स्वभावले युक्त मानिस नहुँदारहेछन् । होहोरेमा वा लहैलहैमा दौडने नै संसारे रहेछन्; जसले गम्भीर समस्याहरू जन्माउँछन् मात्रै ! समाधान खोज्दैन वा खोज्न सक्तैन वा समाधान के भन्ने ज्ञान राख्दैन । त्यस्तैगरी आफ्नो धर्म पनि चिन्दैनन् । धर्म भनेको दायित्व तथा कर्तव्य पनि हो तर यस्तो कुरा बुझ्न सक्नेको महाखडेरी नै थियो । सम्मेलनमा पुगेका कतिपय प्रतिनिधिहरू भने आफ्नो धर्म बिर्सेर दार्जिलिङ घुम्न वा होटलमा मीठा खान अनि नरम बिछ्यौनाका लागि रोइलो गरिरहेका जस्ता देखिन्थे ।

यसप्रकार संसारे भन्नेहरू जहिले पनि समस्यामा फसिरहेका हुन्छन् । कतिले तथ्य थाहा पाउँछन् । प्रायःजसोले त अलमलमै जीवन सक्काउँछन् । त्यही तथ्यलाई बुझेपछि- बुद्धले पनि ”अज्ञानता” भनेको थियो होला । भन्छन्; तत्कालिक साधुसन्त तथा धर्मगुरुहरूले बुद्धलाई धेरै प्रश्न गरेका थिए । तिनमा १६ प्रश्नका उत्तर भने बुद्धले पनि दिएका थिएनन् । उत्तर नदिनु नै उत्तर थियो पनि भन्छन् । जसको उत्तर थिएन वा उत्तर दिएर अन्तिम निष्कर्षमा पुग्ने सकिने अवस्था थिएन । त्यस्ता प्रश्नलाई ”अव्यकृत” प्रश्न भनेका थिए ।

मिरिक सम्मेलनमा पनि अव्यकृत प्रश्नका प्रशस्त उदाहरणहरू उदाङ्गै थिए । यद्यपि, कसैले तिनका छेउ र भेउ नै पाएनन् । पाएकाहरूका निमित्त भने सम्मेलनका आयोजकदेखि सहभागीहरू समेत अव्यकृत प्रश्नका रोगी थिए । मानौं एक प्रकारको सिजोफ्रेनियाले ग्रस्त थिए । विश्व परिवेश, देशीय (नेपाली, भारत, भुटान र बर्मा लगायत) साथै समुदायइतर परिवेशहरू एकातिर थिए । सम्मेलनको आयोजक तथा सहमागी (अ/भौतिक रूपमा सामेल)हरू भने अर्कै संसारमा रमिरहेका वा हराइरहेका देखिन्थे ।

यसको मुख्य कारण चाहिँ, ”पहिचान”कै थियो । पहिचानको लागि एकजूट हुँदै थिए । फेरिपनि, पहिचानकै समस्या थियो । तथ्यतः तामाङ पहिचानको कुरो थियो तर ”हामी को हौं अनि को होइनौं ? तिनीहरू को हुन् र को होइनन् ?” भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने थियो तर कसैले पनि त्यतातिर ध्यान दिइरहेका थिएनन् । जसका कारण पहिचानको मुद्दा आफैँ पहिचानविहीन हुँदै थियो । पहिचानको मुद्दाकै पहिचान भइरहेको थिएन । पहिचानकै पहिचान भइरहेको थिएन ।

समस्याविहीन बन्दसत्रको परिकल्पना अस्वाभाविक थियो । समस्याहरूले नयाँ ज्ञान सिकाएको हुनुपर्छ । सिकाउँदा पनि सिक्न नसक्नु चाहिँ साह्रै डरलाग्दो हुन्छ । मिरिक सम्मेलनको बन्दसत्रमा थरीथरीका प्रतिनिधिहरू थिए । कोही कसैलाई जिताउन पुगेका जस्ता ! कोही कसैको जरोकिलो उखेल्न कुदेका जस्ता ! कोही मस्तराम जस्ता ! कोही बलिका निमित्त तयारी अवस्थामा पर्साउँदै गरेका अमूक प्राणी जस्ता ! कोही नयाँ ज्ञानको भोकले व्यग्र जस्ता ! कोही अलमलमा, कोही ढलमलमा अनि कोही गनगनमा व्यस्त थिए । विदेशका प्रतिनिधिहरू आफ्नै अभि/मान पस्कनैमा व्यस्त देखिन्थे । त्यसैले समूहगत छलफलपछि, पूरै बन्दसत्रभरि बेग्लै बसे । स्वदेशमा हराइरहेका चाउरेहरूसँग पनि बस्न हुन्छ र भन्ने मनोदशा चुहाइरहे ।

हो; ज्ञान नै सर्वस्व हो । ज्ञान बिनाको जीवन पशुको जस्तो हुन्छ । सम्मेलनका आयोजकदेखि सहभागीहरू ज्ञानको कुरामा रामजाने वा रामभरोसा मात्रै देखिए । आफैँ आफैँमा अन्यौलग्रस्त जस्ता ! ज्ञान के हो भन्ने नै अत्तोपत्तो नपाएका जस्ता ! यसै भन्दा- पशुसरहको भनेर अभिहित गर्‍यो भन्ने लाग्नु स्वाभाविक हुन्छ । यो बिन्दूनेर यत्ति भन्छु- अभिहित गर्न खोजेको होइन । मात्रै सचेत हुनुपर्छ भन्ने सन्देश बाँड्न खोजेको हुँ । यद्यपि, कसैको चित्त दुख्छ भने, ”तिमीलाई रुवाउने मेरो धोको होइन” भन्ने गीत सुनाउँछु ।

सम्मेलनमा प्रतिवेदन/मस्यौदा/कार्यपत्रलाई पुस्तिकाको रूपमा बाँडेका थिए । जसलाई हेर्ने हो भने राम्रो काम गर्छु भन्नेका लागि प्रशस्त सम्भावनाका गरा/पाटाहरू थिए । खनजोत र मलजल गर्दै खेती लगाउन चाहनेका लागि उर्वरभूमि उदाङ्गै थियो । दुःखको कुरा चाहिँ ती सबै सम्भावनाहरू बिग्रिएका वा बिगारिएका कारण बनेका थिए । कोही ज्ञान बाँडिरहेका थिए । ती ज्ञानलाई लिने, मनन् गर्ने र व्यवहारमा उतार्ने क्रममा कोही पनि थिएनन् । यही नै पहिचानको पहिचान नहुनुको मुख्य कारण थियो ।

अग्रज लेखक, अभियन्ता साथै नेता परशुराम तामाङ, राष्ट्र र राज्य (देश) चिनाउँदै थिए । तामाङलाई ‘राष्ट्र’ (पृ. १२) भन्दै थिए । नेपाललाई देश भन्दै थिए तर अन्य कसैसँग पनि उनका कुरा सुन्ने र मनमा गुन्ने समय नै थिएन । शायद त्यही भएर हुनुपर्छ; अन्ततः उनी (परशुराम तामाङ) आफैँ पनि अल्मलिएका थिए । तामाङलाई राष्ट्र अनि नेपाललाई देश भनेर भनिरहेका परशुराम तामाङ आफैँ संस्थापक रहेको संस्थाको नाम चाहिँ ‘अन्तर्राष्ट्रिय तामाङ परिषद्’ थियो । लौ; त्यतिखेरको परिवेश अर्कै थियो । त्यसर्थमा, अन्यथा मान्नु हुँदैन । अहिले त परिस्थिति अर्कै बनिसकेको छ । यस्तो अवस्था उनले सहभागी प्रतिनिधिलाई नसकेतापनि आयोजकलाई त बुझाउन सक्नुपर्दथ्यो । त्यसर्थमा, उनी पनि चुकेको भन्न अनकनाउनु पर्दैन ।

”ढुङ्गामा पानी हालेँ, भिज्यो तर रुझेन । तामाङसामू कुरा राखेँ, सुने तर बुझेनन् ।” केही वर्षघि यस्तै भावसहितको अभिव्यक्ति निकै चर्चामा थियो; जुन अभिव्यक्ति परशुराम तामाङले दिएका थिए । मिरिक सम्मेलनले यो अभिव्यक्ति सही भएको प्रमाणित गर्‍यो । परशुराम तामाङले ढुङ्गामा पानी हालेका रहेछन् । त्यसैले ढुङ्गामा लेउ मात्रै लाग्यो । त्यही लेउमा चिप्लन पुगे उनी ! पानी त खेतबारीका गरा/पाटामा लगाउनुपर्ने थियो । शायद उनले गरा/पाटा देखेका ती जमीन यथार्थमा ढुङ्गामात्रै थिए । त्यही समस्या खील पल्ट्यो । खोला तरेपछि लौरो बिर्सने अनि जसको जौ खायो उसैको जुँगा उखेल्नेको संसारमा यो स्वभाविक बन्यो ।

अजितमान तामाङको अध्ययन, ज्ञान र पीडा पसिना बनेर यस्तरी बगे कि, उनी आफैँ हारगुहार माग्नसक्ने अवस्था थिएनन् । हरेक अभिव्यक्तिहरू रुवाई जस्ता सुनिइरहेका थिए । यस्तै दूर्भाग्यहरू देखिए । शायद, भाइ फुटे गवाँर लुटे भनेको पनि यही नै थियो । कोही भन्लान्, एक्लो प्रतिष्पर्धीको रूपमा दौडन खोज्दाको परिणाम थियो । कोही भन्लान्, जियोग्राफिक मिस्टेक थियो । यत्ति भन्छु, यो तथ्यलाई तामाङ राष्ट्रले बुझ्नुपर्छ । गल्तीको सजाय दिनुपर्छ । झार उखेल्ने नाममा बाली उखेल्नु हुन्न । पुर्‍याएका सही योगदानको कदर हुनैपर्छ । खोला तरेपछि लौरो बिर्सनु उचित होइन । स्मरणीय तथ्य यो पनि हो कि- खोला तारी दिएँ भन्दैमा तारिएका सबै मेरा प्रजा वा नोकर हुन् भन्नु पनि हुँदैन ।

माथि उल्लेख गर्दै थिएँ, राष्ट्र र राज्य (देश)को प्रशङ्ग ! तामाङ राष्ट्र हो । ऊ आफ्नो पहिचान प्राप्तिको आन्दोलनमा रहेको छ । अचम्म के हो भने आफैँ राष्ट्र हो तर अन्य (राज्यसत्ता)ले पहिचान देओस् भन्ने चाहना राख्छ । ढुकुरलाई मान्छेले ढुकुर भन्नु वा नभन्नुको कुनै तुक हुँदैन । यसरी भन्ने हो भने तामाङ आफैँ राष्ट्र भएकोले कथित राज्यसत्ताले राष्ट्र भनेर लालमोहर लगाइरहनुको कुनै तुक हुँदैन । त्यसैले स्वतः राष्ट्र ! स्वतः स्वायत्त, सतत्, सार्वभौम साथै समृद्ध रहेको तथ्य बुझ्न नसक्ता यस्तो भएको हो ।

परशुराम तामाङले तामाङलाई राष्ट्र भनेर सही कुरा लेखेका हुन् । तर बुझ्नसक्ने तामाङ सहभागी देखिएनन् । सहभागीका के कुरा आयोजकहरूले नै बुझ्न सकेनन् । अन्ततः नम्बरी सुन पनि कान्छी सुनमा दर्ज भयो । यो दूर्भाग्यपूर्ण कुरा हो । हाम्रो (एस.सि.आ.सि.)को दाबी पनि तामाङ जाति मात्रै नभएर राष्ट्र हो । यो सभ्यता पनि हो । आदिवासी पनि हो । हामी भन्छौं, तामाङ प्रथमराष्ट्र हो । नेपाल राष्ट्र होइन । यो त देश (राज्य) हो । नेपाली राष्ट्रियता होइन । तामाङ राष्ट्र भएकोले तामाङ (तामाङत्त्व) नै राष्ट्रियता हो । नेपाल देशमा तामाङ, गुरुङ, मगर, रार्इ, लिम्बु र थारु लगायतका राष्ट्रहरू छन् । ती राष्ट्रहरूले राष्ट्रियताको आधारमा ताम्सालिङ, तुमवान, मगरात तथा थारुहटलाई यहाँ स्थापित गरेका छन् । राज्यसत्ताले लगाइरहेका अङ्कुश हटाइदिनुपर्छ । अन्यथा राज्यसत्ता सजायको भागीदार रहन्छ ।

यसप्रकार तामाङ राष्ट्र भन्छौं । तामाङ राष्ट्र भएकोले तामाङको परिषद् हुन सक्छ तर अन्तर्राष्ट्रिय चाहिँ हुँदैन । नेपालको हकमा अन्तर्राष्ट्रिय भन्नाले तामाङ, मगर, गुरुङ र थारु बीचको भन्ने अर्थ दिन्छ तर मिरिक सम्मेलनमा भने परशुराम तामाङ आफैँ, तामाङ राष्ट्र र नेपाल चाहिँ देश भन्दै थिए तर संस्थाको नामले चाहिँ तामाङ एउटा जाति मात्रै र नेपाल नै राष्ट्र भएको तर्कको पक्षमा उभिएको थियो । तामाङ राष्ट्र भनेर दाबी गर्नेहरुलाई कुरीकुरी गर्दै थियो ।

राष्ट्र, राष्ट्रियता, देश, जन/जाति र आदिवासी लगायतका शब्दको तथ्यबोध गरेका केही व्यक्तिहरूले जरोकिलो अभियान चलाउँदै आएका छन् । उनीहरू तामाङ लगायतका राष्ट्रहरूलाई जन/जाति मात्रैमा सीमित गर्न खोज्दैछन् । नेपाल नामक देशलाई नै राष्ट्रको रूपमा स्थापित गर्दै राष्ट्रियताको मन्त्र फलाकेर पहिचानको मुद्दाको जरोकिलो उखेल्ने दाउ खोज्दैछन् । यस्तो परिस्थितिमा तामाङ राष्ट्र आफैँ नै विपक्षी अभियानलाई प्रत्यक्ष फाइदा पुर्‍याउने काम गर्दै गरेको सम्मेलनमा पनि देखियो ।

फिरिङ्गेहरू आए । हाम्रा पुर्खाहरू मारे । हाम्रा भूमि खोसे । हाम्रा चेलीबेटीलाई बलात्कार गरे । हामीलाई सधैँका लागि दास बनाए । तिनीहरूले हाम्रा मुटुकै बीचमा किलो ठोकेर राखेका छन् । त्यो किलो उखेल्नुपर्ने ठाउँमा तिनीहरूलाई नै उक्साउनका निमित्त ”हैँसे होस्टे” भनिरहेकाछन् । जसको प्रमाण ‘तामाङ अन्तर्राष्ट्रिय परिपद्’ नाम राखेर पस्किरहेको भन्ने देखियो । त्यसैले अविलम्ब नाम परिवर्तन गर्न जरुरी देखियो । संयोगवश समूह नं. चारमा परेका एस.सि.आर.सि.बाट सहभागी प्रतिनिधिहरूले विषय उठान गर्‍यो । समूहका सबैजना एकमत भएपछि नाम परिर्वतन गरेर ‘विश्व तामाङ परिषद्’ राख्न सुझाव पनि दियो ।

परिषद्को विधानले पनि तामाङलाई जाति र नेपाल देशलाई चाहिँ राष्ट्रको रूपमा प्रस्तुत् गरेको छ । यो सरासर गलत भएकोले तामाङ चाहिँ राष्ट्र र नेपाल चाहिँ देश (राज्य) भन्ने स्पष्ट भएर अगाडि बढ्न सुझाव दिएको छ । चोहोको नेतृत्वमा नाङ्खोर/छोक्पा (संयन्त्र) (पृ.७१) गठन गर्ने भनेको छ । यहाँ नाङ्खोर भन्दाखेरि शब्दको सही उच्चारण नभएको देखियो । तामाङमा न’ङकोर हुन्छ; जसले अर्मपर्मको प्रथालाई जनाउँछ । यहाँ भन्न खोजेको चाहिँ न्हङ्खोर हो । त्यसैले न्हङ्खोर लेखिनुपर्ने र त्यहाँ मुइमूको कुरा छुटेकोले थप्नुपर्ने देखिएको छ । चोहो परम्परालाई स्थापित गराउन सक्ने हो भने गाइकाण्ड लगायतका कयौं समस्याहरू स्वतः समाधान हुनेछन् । तामाङको पहिचान हुनेछ ।

मिरिकमा सम्पन्न सम्मेलन अन्तरदेशीय थियो । त्यसैले पनि त्यो अन्तर्राष्ट्रिय थिएन । अन्तरदेशीय भन्दा राम्रो सुनिँदैन । देश (राज्य)ले त हामी तामाङको भूमि (केसा, ठुङ्सा र बप्सा)लाई फुटाएको छ । हामीबाट खोसेको छ । त्यसैले अन्तरदेशीयको सट्टा ‘विश्व तामाङ परिषद्’ भन्नु सबैभन्दा उचित देखिन्छ । तामाङ राष्ट्र साथै आदिवासीवाद (इण्डिजिनिजम्)को पक्षमा एस.सि.आर.सि.ले स्थापना कालदेखि औपचारिक रूपमै बहस गर्दै आएको छ । संस्था स्थापनाअघि २०७० देखि नै तामाङलाई राष्ट्रको रूपमा उभ्याउँदै आएका छौं । त्यसैले पनि ‘अन्तर्राष्ट्रिय तामाङ परिषद्’को सट्टा ‘विश्व तामाङ परिषद्’ हुनुपर्ने माग गर्दछौं । यदि यो विषयलाई सम्बोधन गर्न नसक्ने हो भने परिषद्ले आफ्नो स्टे्रन्थ लिन सक्ने छैन । नैतिक रूपमा ताम्सालिङ माग्न सक्ने छैन । यो तथ्य बुझ्न नसकेसम्म तामाङले चाहेको दिन आउने पनि छैन । साझा मुद्दा बन्दैन र एकताको बाटो पनि खुल्दैन ।

परिषद् गठनको क्रममा बाह्य प्रचलनको अन्धो अनुसरण गर्न खोजेको देखिएको छ । काठमाडौंमा भएका कार्यक्रमहरूमा समेत एस.सि.आर.सि.ले ”तामाङ संस्था गठन प्रक्रिया”को पक्षमा वकालत गर्दै आएको हो । यसैले विधानमा शाब्दिक रूपमा समेत व्यापक सुधार गर्न आवश्यक देखिएको छ । संस्कार संस्कृति निर्देशिकालाई हेर्ने हो भने, संस्कार र संस्कृतिको अर्थ र परिभाषा नै थाहा नभएको जस्तो देखिएको छ । संस्कारको पक्षहरू समाविष्ट गरिएका छन् । पूर्णताः दिन आवश्यक छ तर संस्कृति र चाडपर्वका कुरा समाविष्ट छैनन् । संस्कृति र चाडपर्व बिनाको निर्देशिकाले तामाङलाई जनजातिको रूपमा पनि राख्न नसकेको जस्तो लाग्न सक्छ ।

तामाङ चौथो विश्व प्रथम राष्ट्र भएकोले संस्कृति र वर्षभरिमा के कस्ता कति पर्वहरू मनाउँछन् ? त्यसको कारण के हो ? पर्यावरणीय अनुकूलन प्रक्रियामा तिनका भूमिका लगायतका कुरा निर्देशिकामा समाविष्ट हुनुपर्दछ । कथित आधुनिक राज्यसत्ता स्थापना अघि तामाङको आफ्नै सम्पूर्ण व्यवस्था कायम थियो । त्यस्ता विषयका लागि सम्बन्धित, बोम्बो, तम्बा, लामा, चोहो र ह्युल्बासँग व्यापक अन्तरक्रिया गर्न सक्नु पर्दछ । त्यसमा समाज/मानवशास्त्रीहरूका सहयोग लिनुपर्ने हुन्छ ।
माथि उल्लेखित समस्याहरूलाई परिषद्ले सम्बोधन गर्न जरुरी छ । निर्देशिका तथा विधानमा रहेका शुद्धाशुद्धिमा व्यापक सुधार आवश्यक देखिएको छ । निर्देशिका पुस्तिकाको आवरणमै लेखनी समस्या देखिएका छन् । परिषद्को लोगोमा अन्तर्राष्ट्रिय लेखिएको छ भने त्यसमुनि चाहिँ अन्तर्राष्ट्रीय लेखिएको छ । यसप्रकार ह्रस्व दीर्घ मिलेको छैन । परिषद् शब्द कतै परिषद् त कतै परिषद रहेको छ अर्थात्, ‘द’ को खुट्टा काटेको र नकाटेको कुन भन्ने अस्पष्ट बनाएको छ । प्रस्तावनाहरूमा तामाङलार्इ राष्ट्रको रूपमा दाबी गरिरएका छैनन्; जसले मुद्दालार्इ कमजोर बनाएको छ ।
प्रकाशकको पक्षमा : शीर्षक सहित एस. टी. लामाले ”…अबौध र असामायिक रीतिको साथ छोडन सक्तैनन् भने त्यो पनि केवल रुढीवादी पाल्नु मात्रै हुनेछ” भनेको छ । उनी आफैँले ”हाम्रो पुर्खाहरू जीवन्त भइरहनेछ भने भावी पिँडीलाई जातीय शैलीमा आफूलाई उभ्याउनु ठूलो मद्दत मिल्ने छ” भनेको छ । यसप्रकार परिषद्को टिम आफैँ अस्पष्ट रहेका भन्ने प्रमाणित गरेको छ । सोही निर्देशिकामा हेर्ने जाँदा- संस्थापक अध्यक्ष परशुराम तामाङले चाहिँ ”बौध्दधर्म, बोम्बोबाद र ताम्बाबादको अपूर्व समिश्रण हाम्रो तामाङ संस्कृतिका मूल आधार हो” भनेका छन् । यही दाबीलाई एम. एस. बमजनले पनि उल्लेख गरेका छन् ।

निर्देशिकामा ”तामाङ जाति लामावाद, ताम्बा र गान्बावाद” जस्ता शब्दहरू परेका छन् । जसले बौद्धिक खडेरीको उदाङ्गो उदाहरण प्रस्तुत् गरेको छ । विधानले तामाङको परिभाषा लगाएको छ तर ”परम्परादेखि हिन्दू वर्णव्यवस्थाको संरचनाभित्र नपर्ने विश्वका कुनै पनि ठाउँमा बसी तामाङ जातिको परम्परा, रीतिथिति, संस्कार-संकृति पालना गरी तामाङ वंशज भई/आफूलाई तामाङ हुँ भनी स्वीकार गने जातिलाई जनाउँछ” भनेको छ । यहीनेर एस.सि.आर.सि.ले हिन्दू वर्णव्यवस्थाको साथै मुस्लिम तथा क्रिश्चियन पनि होइनन् भनेर थप्नु पर्दछ । तामाङ भनेको वास्तवमै ”प्राकृतिक मानव समूह” हो भन्नेमा स्पष्ट हुन अत्यावश्यक रहेको छ ।

यसप्रकार हामी को हौं (तामाङको धर्म, संस्कार, संस्कृति साथै चाडबाड के कस्ता रहने) भन्ने कुरामा अग्रजहरू नै अन्यौल देखिएका छन् । उदाहरण दिन्छु, तपाईँ छोरो कि छोरीमान्छे भन्ने थाहा भएन भने कुन पोशाक लगाउने ? तामाङको धर्म कुन भन्ने नै अन्यौल रह्यो भने संस्कार, संस्कृति र चाडबाडका हालत के होला ? यस्ता प्रशस्त समस्याहरू छन्; जसको समयमै समाधान गर्न नसक्ने हो भने भोलिका पुस्ताले हामीलाई अग्रज अभियन्ताको सट्टा अपराधीको रूपमा व्यवहार गर्नेछन् । यही तथ्यलाई ध्यानमा राखेर पाइला चाल्नका लागि हामी अनुरोध गर्दछौं । यसक्रममा आवश्यक सम्पूर्ण सहयोग वा साथ दिनका लागि तयार छौं ।

अन्त्यमा, यसपटक पुनः एकपटक केही होनाहार व्यक्तिहरू पनि समाविष्ट भएकाले आश गर्ने ठाउँ बनेको छ । निर्विरोध रूपमा चुनिएका परिषद्लाई हार्दिक वधाई ज्ञापन गर्दछौं । सम्पूर्ण तामाङ राष्ट्रले विश्वस्तरमा आफूलाई स्थापित गर्न गराउन कुनै पनि कसर बाँकी राख्नु हुन्न । त्यसैले परिषद्ले सबैका लागि मान्य हुने गरी एक ‘थिङ्क ट्याङ्क’को निर्माण गर्नु पर्दछ । उक्त थिङ्क ट्याङ्कले तामाङ राष्ट्र र उसको विश्वदृष्टिकोणलाई विश्व बौद्धिक जगत्मा स्थापित गराउनेछ भन्ने निवेदनका साथ बिदा हुन्छु । थुजेछे !!!
-खाेजराज गाेले

Comments

comments

SHARE