-हेमन्त काफ्ले

मन त छँदै थियो परोपकारी त्यसैले पनि उनी धनको पछाडि कहिले हिँडेनन्। लाग्थ्यो-खान पुगोस् अनि दिन पुगोस्।

ताप्लेजुङको लाहुरे परिवारका सदस्य उनलाई नपुग्दो केही थिएन। ‘धनले त कसलाई पो पुग्छ र हजुर, मनले अघाउन सक्नुपर्छ,’ तीन दशकअघि नौलो भबिष्य र सम्भावनाको ढोका ढकढकाउँदै अस्ट्रेलिया छिरेका चन्द्र योन्जनले सेतोपाटीसँग भने।

‘धन नचाहिने पक्कै होइन। तर, आपविपतमा जुरूक्कै उठ्ने मन र आनन्दसँग निदाउँने तन अनि सबैको विश्वास जित्ने जग बनाउन सकिएन भने त्यसको महत्व खासै रहँदैन,’ अस्ट्रेलियाको मेलवर्नलाई कर्मथलो बनाएर अगाडि बढेको शैक्षिक ब्यवसायी योन्जन धनलाई यसरी परिभाषित गर्छन्।

सन् १९८९ मा अस्ट्रेलिया झरेका योन्जनले एक वर्ष सिड्नीमा बिताएपछि मेलवर्नलाई कर्मथलो बनाए। अस्ट्रेलियाको नेपाली समाजकै अगुवाका रूपमा परिचित योन्जनको परिचय यतिले मात्र पुग्दैन।

हाल नेपाल सरकारको लागि भिक्टोरियाका महावाणिज्यदूतसमेत रहेका योन्जन जहाँ जतासुकै जोसँग पनि सहज र सरल रुपमा पस्तूत हुने मृदुभाषी अभियन्ताका रूपमा पनि चिनिन्छन्।

उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘घमन्ड कुन चराको नाम हो उनलाई थाहा नै छैन।’

मिलियन र बिलियनको भारीले धनी हुँदैमा सबैथोक हुन्छ र पुग्छ भन्नु गलत भएको भन्दै उनले अगाडि भने, ‘मेरो पनि कलेज र अन्य ब्यवसाय छ। तर, पैसा सबै कुरा होइन। धन मात्र भएर पुग्दैन मन पनि त्यस्तै चाहिन्छ,’ भानुभक्तको घासी दरिद्री त बुद्धी कस्तो म भानुभक्त भैकन किन यस्तो भन्ने कविताको सारांश सुनाउँदै योन्जनले भने, तपाईँमा भित्रैदेखि परोपकारको भावना जागृत हुनुपर्छ अनि मात्र समाजसेवामा लाग्न सकिन्छ। धनले गरिएको समाज सेवाले केही बेर वाहावाही त कमाइएला तर यो धेरै लामो समय टिक्दैन।’

भिक्टोरियाको अस्ट्रेलियन राजनीति र नेपाली कुटनीति क्षेत्रमा पनि उनको पहिचान निकै प्रभावकारी मानिन्छ। उनले आयोजना गर्ने प्रायः सबै कार्यक्रममा भिक्टोरियाका राजनीतिक अनुहारको बाक्लो उपस्थिति रहने गर्छ। यसैले पनि उनको महावाणिज्यदूतावास कार्यालयले केही फरक र अलग पहिचान बनाएको छ।

मुलुक दुख्दा जुरूक्कै उठ्ने प्रवासी समाजको पहिचान भित्र योन्जनको कर्म प्रंशसनीय मानिन्छ। प्रचार गरेर तामझामका साथ सहयोगको पोको फुकाउने कुरामा उनी त्यती विश्वास गर्दैनन्। ‘समाजका लागि वा मुलुकका लागि गर्ने सहयोग हाम्रो कर्तब्य भित्र पर्छ यसमा यो गरेँ र त्यो गरेँ भनेर ढ्याङग्रो फुकाउनुको कुनै अर्थ छैन। यो त अरुले देख्ने कुरा हो जो जसले महसुस गर्छन् तीनले आफैं प्रचार गर्छन् हैन र?’, योन्जनले सामाजिक सहयोगको पाटोमा आफ्नो धारणा प्रष्ट पारे।

सफलताको बाटोमा श्रीमती लक्ष्मी योन्जनको सहयोगको सम्मान गर्ने योन्जन तीस वर्षको अस्ट्रेलिया भोगाइमा उनको सहयोग र साथ अतुलनीय रहेको बताउँछन्।

रोयल गोर्खा इन्टिच्यूट अफ टेक्नोलोजी कलेजको संस्थागत विकास पछि शैक्षिक ब्यवसायमा जमेका योन्जन अस्ट्रेलियाका प्रारम्भीक दिनको याद यसरी गर्छन्।

नेपालमा पढेको र बहराइनमा खारिएका योन्जन हस्पीट्यालीटी बिजनेस मार्फत परामानेन्ट रूपमा सिडनीमा बसाइसरेका थिए।

बिजनेश मेनेजमेन्टमा डिग्री गरेका योन्जनले अस्ट्रेलिया झरेपछि पहिलो वर्ष सिड्नीमा अनुभव संगाल्दै बिताए।
सिड्नीको छोटो बसाइपछि योन्जनले भिक्टोरियालाई कर्मथलोका रुपमा रोजे र त्यतै आफ्नो भबिष्य खोजे।

सन् १९९० मा सपरिवार मेलवर्न लागेका उनले उतै स्थापीत हुने बाटो खोज्न थाले। ‘ऊ बेला मेलवर्नमा मुस्किलले दश बीस जना नेपाली भेटिन्थे, भेटिए जती सबै चिनिन्थे।’

उनले नेपाली नै नभएका बेला नेपाली स्वादको ब्यापार गर्ने अर्थात रेस्टुरेन्ट खोल्ने सोच बनाए। ‘त्यती बेला बाउबाजेले संसारमा चिनाएको बहादुरी र गोर्खा सैनिकको नामलाई सबैले चिन्ने भएकाले नाम छान्यौं गोर्खाज नेप्लीज रेस्टुरेन्ट,’ उनले भने, ‘नेपालीहरू छात्रवृत्ति पाएर पढ्ने विद्यार्थीहरू मात्र हुनुहन्थ्यो, त्यतीबेला मेलवर्नमा।’

त्यती बेला मास्टर डिग्रीमा पढ्दै गरेको बिष्णु अधिकारी उनका साथी थिए। उनले मेलवर्नमा नेपाली रेस्टुरेन्टको सम्भावनाको विषयमा सोधपत्र लेखे। त्यो सोधपत्रले योन्जनको काममा ठूलो काम गर्‍यो।

सर्वेक्षणमा पनि नेपाली खाना मन पराउनेको भीड नै देखियो। ‘बिष्णुजीको सोधपत्रले हामीलाई कर्म गर्न उक्सायो अनि यसरी प्रारम्भ भयो हाम्रो पहिलो हस्पीट्यालीटी ब्यवशाय गोर्खाज। यो अस्ट्रेलियामा पहिलो नेपाली रेस्टुरेन्ट पनि थियो’, समाजसेवी योन्जनले मेलवर्नको प्रारम्भीक बसाइलाई यसरी खुलस्त पारे।

त्यसपछि गोर्खाजलाई फराकिलो पार्दै जाने क्रममा गोर्खाज ट्राभल थपियो। अनि रेस्टुरेन्ट मात्र ६ वटा भए मेलवर्नवरिपरी।

यसरी प्रारम्भ भएको चन्द्र योन्जनको ब्यवसायले सन् २००८ मा फड्को मार्‍यो। उनले रोयल गोर्खा इन्सिच्यूट अफ टेक्नोलोजी नामक कलेजको प्रारभ गरे र हाल यो मेलवर्नका दुई ठाउँ र तास्मानियासम्म फैलिएको छ।

जति बेला सयको संख्यामा नेपाली भेटिन्थे त्यती बेला अस्ट्रेलिया छिरेका योन्जन यतिखेर लाखौं नेपालीका बिच रमाउँदै गर्दा केहि भिन्नता पाएको अनुभव गर्छन्।

‘हिजो सानो समाज थियो, सबैले सबैलाई चिन्थे आदर सत्कार गर्थे, बाटोमा भेट्दा बोल्थे, अहिले केही फरक छ। तर, हाम्रो संस्कार र परम्परा अनि अरुलाई सम्मान गर्ने बानी भने घटेको छैन,’ उनले भने, ‘समाज ठूलो हुँदै जाँदा साना तिना समस्या पनि नआउने होइन त्यसलाई समाधानको बाटो खोज्नुपर्छ।’

नेपाली विद्यार्थीको समस्याले उनको ध्यान बढी तान्ने गर्छ। ‘विद्यार्थी भाइ बहिनीको समस्याले मेरो ध्यान बढि आकर्षित गर्छ, किनभने पढ्न भनेर सात समुन्द्रपारीबाट आएका साना बाबु नानीहरु केहिलेकाँही अन्जानमा पनि समस्याको भूमरीमा जेलिन्छन’, योन्जनले आफ्नो अनुभव सुनाए।

समाजिक क्षेत्रमा पनि योन्जनको बेग्लै पहिचान छ। मेलवर्नका पुराना बासिन्दासमेत भएकाले उनलाई नेपालीहरूले अरूभन्दा बढी माया र विश्वास गर्छन्।

मझौलो कद, सधै हँसिलो मुहार र नरम बोली योन्जनको अर्को पहिचान हो।

पछिल्लो समयमा मेलवर्नमा बन्न लागेको नेपाल हाउस निमार्णमा समेत एक करोड सहयोग गर्ने घोषणा गरेर योन्जनले धनले होइन मानिस मनले ठूलो हुनुपर्छ भनेर प्रमाणित गरिदिएका छन्। साच्चीकै धन भन्दा पनि मन ठूलो हुने मनकारी योन्जनलाई हाम्रो नमन।
@setopati

Comments

comments

SHARE