-वीर बल तामाङ
जगतकै सारा सत्व खुशी कै लागि अनबरत दौडिरहेको देख्छु । कोहि आँखाको परेलीमा डाम भएर बसेको आँसु पुछ्दै त कोहि सुकिसकेको आँखाको डिलमा तपतप आँसुको मुहान फुटाउँदै अनबरत निरन्तर-निरन्तर खुशीकै पछि-पछि दगुरिरहेको देख्छु ।

भगवान सरि हाम्री आमा र बाबा, आफ्नो प्राणप्रिय सन्तानको दुखी मुहारभित्र जब सग्लो र च्यातिएको मुखको छेउमा डिम्पल देख्नुहुन्छ नि, त्यसैबेला अघाउची खुशीलाई भेटनुहुन्छ । संसारमा फरक फरक हजारौ लाखौ , लामा र चौडा अनि सागुरा र फराकिला आफ्नै-आफ्नै बाटाहरु छन् र ती सबै बाटोहरुमा लाख सत्वहरु आफ्नै निजि सपनाको अग्लो ट्विइन टाउर सजाउन यत्रतत्र भागिरहेको भेटछु, मानौ त्यो आकाश छुने ट्विनटाउर भित्र खुशी लुकेर बसेको होला सायदै…….

भौतिकताको अन्ध मादकतामा चुर्लुम्म डुबेका अहिलेका लाख सत्वहरु, संसारका हरेक कुनाहरुमा बिद्रोही स्वबाभका साथ, मनका अन्तरकुनाहरुमा असिमित र अनैतिक इच्छाहरुलाई सलबलाउदै आफ्नै झैं दिदीबहिनिहरुको अस्मिता लुटनुमा पनि खुशी को चरम भोक लुकेको देख्छु ।

औँशिको रातमा पनि पुर्ण पुर्णिमालाई खोजिरहेका एक हुल सत्वहरु….. र पुर्णिमाको उज्यालो प्रकाशमा पनि औँशीको चुक अन्धकारलाई चाहिरहेका अर्को एक हुल सत्वहरु… आखिर दुबै हुल सत्वहरु खुशिकै खातिर ब्याकुल भएर छटपटिरहेको देख्छु । तर फरक यति हो कि, कोहि औँशिकै रातभएपनी, पुर्णिमाको उज्यालोमा खुशी लिन र दिन चाहान्छन् त कोहि पुर्ण पुर्णिमाको उज्यालो जुन भएपनी औँशिको चुक अन्धकार डुकेर अरुको खुशीलाई आफ्नो जिन्दगीको क्षणिक मजाकमा उडाउन दौडिरहेको देख्छु ।
अझ बिस्तारमा नै नढाटिकन भनु, भौतिकताको अग्लो बङ्गलाभित्र कतिले खुशीहरु लुटिरहेका होलान र बिबशतामा कतिले खुशिहरु गुमाईरहेका होलान् ।

कोहि एक पेट अघाउची पारेर पनि खुशीको रामराज्य चुमेको देखेको छु त कोहि १०० बर्ष पुग्ने थुपारेर पनि एक पल खुशिकै लागि जिन्दगिका सारा खुशीलाई ढुशी पारेको देखेको छु ।

के हो यो खुशी ? कस्तो हुन्छ हो खुशी ?

२ शब्दको खुशी पाउनकै लागि लाख मान्छेहरु हमेसा २ शब्दकै पैसा नामको चिजसङ्ग पौठेजोरी गरेर भागिरहेको देख्छु ।चार खुट्टे पैसा भन्ने जन्तुलाई २ खुट्टे मानव भलादमीले भेटनलाई कम्ता पसिना फाल्नुपर्छ, त्यो त हजुरहरु सबैलाई अबगत भएकै कुरा हाे । जब चारखुट्टे पैसालाई पाएपछी नि खुशी नभित्र्याउने थुप्रै महाभलादमीहरु यत्रतत्र हल्लिरहेकै देख्छु । सायदै, जगतकै चिप्लिने चिज अनि उडने चिज पैसा भएरै होला, खुशी सङ्ग धार्नी बिसौली मिल्न नसकेको पैसा आज छ भोलि छैन, भन्ने कथन पनि सबैको मथिङ्गलमा छापेरै बसेको भेटेको छु ।

खुशी, खुशी नै हो । यसको परिचय आफै-आफै सङ्ग पोकोपन्तुरो बनाएर राख्नु भएकै होला । यहाँ शब्दमा खुशीलाई सजाएर मैले बुझाउन खोजेपनी हजुरहरु खुशी हुन सक्नुहुन्न किनकी खुशी काहीँ पनि होइन । खुशी त हजुरको अन्तरहृदयमा जकडेर बसेको छ । तर त्यसलाई हजुरले कहिल्यै दर्शन गर्न चाहानुहुन्न र खोज्नु पनि हुन्न । सबैभन्दा बेखुशी त्यही हो । आजको आधुनिक समाजमा विशेष गरि हामी मान्छेहरु मेसिनरी खुशिको व्याख्या गर्दा गर्दा पनि अझै थाकेका छैनन् ।

आजकालका मानव नामका सत्वहरु पूजाको भयङ्कर थाली लिएर त्यही थाली भित्र नैबेध्य सजाएर घण्टौ लाइन बस्दा-बस्दा बल्ल पालो आको मौकैमा भगवानको अघाउची दर्शन गर्न पाउँदा पनि कहि खुशी भेटे जस्तो लागेन तर, पक्का हो । खुशी न नैबेध्यले सजाएको भयङ्कर थालिभित्र छ, न त मन्दिर गुम्बा या चर्चको भगवान रुपभित्र लुकेर बसेको हुन्छ । खुशी त हजुरको सूक्ष्म हृदयको हरेक सन्तुष्टि बिचारको अबयबहरुमा ज्वाज्यल्यमान भइ प्रकट हुने तर्खरमा छटपटिरहेको हुन्छ । तर हजुरले त्यो सन्तुष्टि मार्गको त्यो अबयबहरुलाई भौतिक लिप्साले क्षय गराईरहेको हुन्छ ।

खुशीलाई भेट्नुभको दिन, हजुरको जय सिबाय केही हुँदैन । खुशिलाई साट्नुभको दिन, हजुरको भलो सिबाय केही हुँदैन । खुशीलाई बचाईराख्नुभको दिन, हजुरको कल्याण सिबाय केही हुँदैन हजुरकै जय हेतु, हजुरकै भलो हेतु, हजुरकै कल्याण हेतु, खुशीलाई जब अङ्गिकार गर्नुहुन्छ नि त्यहिनेर हजुरको अथाहा शान्तीको दिन सुरु हुनेछ ।

फिस्सिक्क हाँसेको फोटो क्लिक्क गरेर फेसबूकमा झुण्डाउदैमा हजुर खुशी भको हो भन्ने प्रमाण झल्किन सक्दैन । खुशी एक्लै हुदा दर्शन हुन्छ, त्यही खुशी भिडभाडमा मुस्कानको रुपमा बदलिएर भाइब्रेसन भइ फैलिरहेको हुन्छ । जसले लाख सत्वहरुको सूक्ष्म कल्याण भइरहेको हुन्छ । खुशी हृदयबाट प्रतीत हुन्छ अनि मुहारमा झल्किन्छ र शरिरको प्रत्येक अङ्गहरुमा अनुशासित भै दर्शन हुन्छ । वास्तविक खुशी, हाँसोको फोहोरा नै भएर आउनुपर्छ भन्ने छैन ! वास्तविक खुशी , स्थिर, शान्त, अडिग , र असिम करुणाले मिसिएको हुन्छ । यो खुशी नै सयौं सत्वहरुको मुल्यवान औषधी हो । सबैले यसको सेवन गरौं । भबतु सर्ब मङ्गलम ।।

Comments

comments

SHARE