-नाम्सादिम संवाददाता
लेखक तथा क. सन्तवीर लामा (पाख्रीन)को १२१ औं जन्मदिवसको अवसरमा तम्बा कइतेन माथि परिचर्चा गरेका छन् । राजधानीको अनामनगरमा भएको कार्यक्रममा डा. मुक्तसिंह तामाङ, लेखक तथा विश्लेषक टि. ग्यल्छेन लामाले उल्लेखित पुस्तकका बारेमा परिचर्चा गरेका थिए ।

तम्बा कइतेनमाथि डा. मुक्तसिंह तामाङले महत्त्वपूर्ण कुरा उल्लेख गर्नुको साथै तामाङ समुदायको इतिहास यसैमा रहेको बताए । यसैगरी टि. ग्यल्छेन लामाले क्षेत्री ब्राह्मणका वेद भनेजस्तै तामाङका वेदको रूपमा लिन सकिने भएकोले यसलाई व्यवहारमा उतारेर अगाडि बढ्नुपर्ने बताए ।

बहुभाषिक रेडियो नेटवर्कका बुद्धि विश्वकर्माले जसरी मुनामदन बिक्रि भएको छ; त्यही हाराहारीमा तम्बा कइतेन बिक्रि भएको हुनाले कति महत्त्वपूर्ण रहेछ भन्ने त्यहीबाट बुझ्न सकिने बताउँदै पाख्रीनको जन्मदिवसको अवसरमा पाँच लाखको कोष खडा गरेर तामाङ समुदायमा काम गरिरहेका तीन जना स्रष्टा, सर्जकहरूलाई हरेक वर्ष पुरस्कारसहित सम्मान गर्नुपर्ने बताए । यस अनुरूप शनिबार आयोजना भएकै कार्यक्रममा पाँच लाखको कोष खडा गर्न सबैजनाले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार एवं सामाजिक अभियन्ता ङिमा पाख्रीनले नेपालमा यसरी काम गरिरहेका सङ्घ संस्था र मिडियाका लागि आफू पर्दापछाडि बसेर सहयोग गर्ने बताए । पाख्रीनको जन्मदिनको अवसरमा यसरी दश वटा मिडियाले एकै ठाउँमा कार्यक्रम गरेको देख्दा आफू धेरै खुशी भएको पनि पाख्रीनले बताए । साथै पाँच लाखको कोष निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट र अमेरिकामा रहेका अन्य व्यक्तिहरूलाई पनि समावेश गराउँदै आफूले सक्तो सहयोग गर्ने बताए ।

यसैगरी राजधानीको चुच्चेपाटी चाबहिलमा पनि सन्तवीर लामाको जन्मदिवसको अवसरमा विभिन्न सातवटा संस्थाका संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरेको छ । तामाङ स्रष्टा समाजको १०२ औं नियमित मासिक साहित्यवाचनसँगै पाख्रीनको जन्मदिवस एकै दिन परेको हुनाले रचनावाचनसँगै पाख्रीनको विषयमा चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा लेखक पाख्रीनका साइलो सुपुत्र जुद्धवीर लामा (८५ वर्षिय)को समुपस्थिति रहेको थियो । उनले बुवा आँटिलो भएकै कारण रामेछापमा जन्मिएतापनि बाह्र वर्षकै उमेरमा हिँडेर दार्जिलिङ पुगेर जागीर शुरू गरेको बताए । त्यतिबेला तामाङहरूलाई क्षेत्री बाहुनले भोटे भनेर हेप्ने, अगाडि बढ्न नदिने जस्ता कार्यहरू गरिरहेका थिए । त्यस्तो बेलामा पनि आफ्नो लक्ष्यमा पुग्ने सहास गर्दै अगाडि बढेको हुनाले आज यो स्थितिसम्म आइपुगेको बताए । लामाले, युवापुस्तालाई शैक्षिक र आर्थिक रूपमा अगाडि बढाउन सकेमा तामाङले गर्न सकिन्छ भन्ने उदाहरण कुलमान घिसिङले देखाएको दाबी गरे । त्यसैले युवाहरूलाई अगाडि बढाउन लागि परेमा आफूले सकेको सहयोगका लागि तयार रहेको बताए । अधिकार मागेर होइन खोसेर लिनुपर्ने जोड दिँदै यी दुइटा कुरामा अगाडि बढ्न सके हाम्रो जति पनि अगाडि ल्याउनुपर्ने इतिहासका कुराहरूलाई ल्याउन सकिने बताए ।

कार्यक्रममा बाबु घिसिङ (महासचिवन- नेपाल तामाङ घेदुङ), लामा टि. ग्यल्छेन, इन्द्रराम मोक्तान र धावावाङ्गेल मोक्तान लगायतले पनि आ-आफ्ना भनाई राखेका थिए । नियमित मासिक साहित्यवाचनतर्फ र्इश्वर थोकर, धर्मचन्द्र योञ्जन लगायतले रचना राखेका थिए । कार्यक्रममा तम्बा सङ्घका तर्फबाट सङसेरकेम ह्वाइ प्रस्तुत गरिएको थियो ।

आयोजक संस्थाहरूमा बहुभाषिक रेडियो नेटवर्क, तामाङ रेडियो, तामाङअनलाइन, नाम्सादिम डट कम, सैलुङअनलाइन, तामाङ डाजाङ, साराखबर, गोल्चे सञ्चार, तेमालअनलाइन, रेडियो हिमालय, तामाङ भ्वाइस, तामाङ स्रष्टा समाज, नाङ्साल क्लब-नेपाल, नाम्सादिम छोरङान नेपाल, तम्बा सङ्घ नेपाल, तामाङ सेमलेङ न्हान भक्तपुर र ने.ता.घे. भाषा तथा साहित्य विभाग लगायतका सङ्घ संस्थाहरूले दुर्इ ठाउँमा संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए ।

Comments

comments

SHARE