-राजेन्द्र किराँती

आदर्श राज्यका परिकल्पनाकार प्लेटोले शरीर र मस्तिष्कलाई सकेसम्म सुन्दर र पूर्ण बनाउने प्रक्रिया नै शिक्षा हो भनेर व्याख्या गरेका थिए । त्यस्तै हर्बर्ट स्पेन्सरले शिक्षालाई पूर्ण जीवनको तयारी भनेको थिए ।

यता रुसोले बच्चालाई पूर्ण बनाउने कला नै शिक्षा भनेका थिए । यसैगरी जनवादी क्रान्तिका प्रणेता माओले शिक्षा भनेको समाजका खराबीहरू हटाउने राजनीतिक प्रक्रियागत आन्दोलनको उद्देश्यबाट निर्देशित हुनुको साथै व्यावहारिक हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले उत्पादनको निम्ति गरिने समग्र सङ्घर्षबाट प्राप्त गरिने शिक्षा वस्तुवादी र व्यावहारिक हुने वैज्ञानिक तथ्य पत्तो लगाउनुभयो । यसबाट के प्रष्ट हुन्छ भने शिक्षा भनेको मूलतः सामन्यबाट उन्नत ज्ञान प्राप्तीको सिलसिला हो । यस अतिरिक्त यो व्यक्तिबाट समग्र समाजलाई पूर्णता दिने प्रक्रिया हो । मानव समाजलाई अझ अर्थपूर्ण, न्यायपूर्ण र समानतातर्फ परिलक्षित अभियान नै शिक्षा हो । मान्छेले शिकारी युगमा प्रकृतिसँग सङ्घर्ष गर्नेक्रमबाट नै अनुभवजन्य शिक्षा लिँदै आएको देखिन्छ । प्राकृतिक प्रतिकूलता, अनुकूलता र जीवन व्यवहारसँग अभिन्नरूपमा जोडिएका आवश्यकताका गर्भबाट नयाँ नयाँ ज्ञान सिक्नु पर्ने बाध्यता थियो । यही अनुभवजन्य ज्ञान ग्रहण गर्ने प्रक्रिया नै तात्कालीन शिक्षा प्राप्तीको माध्यम थियो । एवम् रीतले करिब दस हजार वर्ष पहिलेबाट पशुपालन र खेती प्रणाली प्रारम्भ भयो ।

यो निरन्तर समाज विकासको ऐतिहासिक द्वन्द्वात्मक प्रक्रियाकै उपज थियो । यस्तो उत्पादन पद्धति विकाससँगै विभिन्न क्षेत्रमा खोज अनुसन्धानले व्यापक गति लिन थाल्यो । यही सिलसिला अन्तर्गत करिब ६ हजार वर्ष अगाडि लेखनको आविष्कार गरियो । योसँगै शिक्षा पद्धतिमा पनि व्यापक खोजी हुनथाल्यो । समाजमा वर्गअन्तरविरोध बढेसँगै शिक्षा पनि वर्गीय हुनगयो । शासकहरूले आफ्नो वर्गस्वार्थ रक्षामा यसको भरमार दुरूपयोग र अपव्याख्या गर्नथाले ।

वस्तुतः पौराणिक कालमा आजको जस्तो सङ्गठित र योजनाबद्ध शिक्षा पद्धति थिएन । धर्मगुरुहरूको धार्मिक प्रवचन र भजनहरू नै शिक्षाको मूल स्रोत थियो । यता नेपालमा पनि प्रारम्भमा गुरुकुल शिक्षा थियो । यसमा गुरुकै निवासमा गएर निःशुल्क शिक्षा लिने गरिन्थ्यो । गुरुले तोकेको समयावधि समाप्तीसँगै अध्ययन सकिन्थ्यो । पढाइको समाप्तीसँगै गुरुलाई केही गुरुदक्षिणा दिएर चेलाहरू ज्ञान सीप लिएर घर फर्कन्थे । तर यता सामन्तवाद हुँदै पुँजीवादी राजनीतिक पद्धति विकाससँगै शिक्षालाई शासकहरूले आफ्नो वर्गस्वार्थको अनुकूलतामा परिभाषित गर्न थाले । शासकवर्गीय हितमा मात्र शिक्षालाई परिचालन गरियो । परिणामतः शिक्षामा सबै जनताको पहुँच कायम हुनसकेन । यसकारण आजसम्म पनि अफ्रिका र एसियामा झण्डै ५० प्रतिशत छात्राहरू स्कुल जानबाट वञ्चित रहेको छ । यता अफ्रिकामा अझैसम्म पनि ५० प्रतिशतभन्दा ज्यादा महिलाहरू असाक्षर छन् । यसले शिक्षामा सीमित सभ्रान्त वर्गीय पहुँच र गैरन्यायिक चरित्र रहेको प्रष्ट हुन्छ ।

मूलतः आधुनिक शिक्षाको विकाससँगै विश्वमा पुँजीवादी र समाजवादी दुई शिक्षा नीति सतहमा देखाप¥यो । कथित प्रजातन्त्रवादी मुलुकहरूले सबैलाई समान शिक्षाको अमूक नारामार्फत विभेदपूर्ण शिक्षा नीति अपनाए । तर व्यवहारतः धनी–गरिब सबैले समान रूपमा शिक्षा लिने कुरा कल्पनै गर्न सकिन्न । अझ पछिल्लो समय शिक्षालाई निजीकरणमार्फत नाफा नोक्सानको व्यापार गर्ने माध्यम बनाएसँगै यसले सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको स्वार्थ र हितको प्रतिनिधित्व गर्ने सम्भावना छैन ।

यो पद्धतिले जनताले शैक्षिक ज्ञान लिने नैसर्गिक अधिकारलाई कुण्ठित गरेको छ । गुणस्तरीय शिक्षा पैसा, पद र पावरसँग सौदाबाजी भइरहेको छ । सामुदायिक विद्यालयहरू रक्षात्मक देखिन्छन् भने निजी विद्यालयहरू हावी बन्दैछ । यसले एउटै खास समाजमा दुई खालको जनशक्ति उत्पादान गरिरहेको छ । यस्तो विभेदपूर्ण प्रणालीबाट समानता र सामाजिक न्यायमा आधारित समाजवादी शासन व्यवस्था असम्भव हुन्छ । यसकारण वैज्ञानिक र न्यायिक शिक्षा पद्धति बारे बहस जरुरी देखिन्छ ।

यतिखेर आम प्रश्न के छ भने समाजवादी शिक्षा पद्धति चाँही कस्तो हुन्छ ? पुँजीवादी र समाजवादी शिक्षा प्रणालीमा के कस्ता भिन्नताहरू छन् ? प्रथमतः, समाजवादी शिक्षा प्रणाली समाज विकासको ऐतिहासिक प्रक्रिया अनुरूप अङ्गीकार गरिन्छ । यसको समग्र उद्देश्य उन्नत र न्यायपूर्ण समाज रूपान्तरणमा केन्द्रित हुन्छ । यसमा पुँजीवादमा जस्तो द्वैधशिक्षा नीति हुँदैन ।

धनी र गरिब भएकै कारण पढ्ने ठाउँ, विषय र तरिका फरक हुँदैन । यसमा नीतिगत मात्र होइन व्यवहारतः सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान अवसर र पहुँच कायम गरिन्छ । यो योजनाबद्ध तथा रणनीतिक उद्देश्यतर्फ परिलक्षित हुन्छ । आम नागरिकहरूलाई समाजवादी मूल्यद्वारा प्रशिक्षित गरिन्छ । समाजवादी सोच, चिन्तन, चेत, मनोविज्ञान र संस्कृतिद्वारा निर्देशित गरिन्छ । कुनै पनि नागरिकले पढ्ने अवसर नपाउनुको वस्तुवादी कारणहरूको राजकीयरूपमै खोजी गरिन्छ । यसको समाधनको उपायहरूमा गम्भीर छलफल हुन्छ । पुँजीवादमा पनि सबैलाई पढ्ने समान अवसर रहेको नीतिगत र ऐनगत व्यवस्था त गरिएको हुन्छ । तर महँगो हुनाले सबैले गुणस्तरीय शिक्षा लिन सक्दैन । यसमा राज्य बेखबर बस्छ ।

दोस्रो, समाजवादी शिक्षा प्रणालीमा राज्यको लगानी, नियन्त्रण, निर्देशन, परिचालन र नियमन हुन्छ । शिक्षामा पूर्णरूपमा राजकीय दायित्व सुनिश्चित गरिन्छ । राज्यले शिक्षा आर्जन गर्ने जनताका अधिकारको असली पहरेदारको भूमिका खेल्छ । यसमा नाफा र कमाउमुखी लगानीहरूलाई निस्तेज गरिन्छ । राज्यको कमान्ड अन्तर्गत उत्पादनमुखी र वैज्ञानिक एउटै शिक्षा प्रणाली हुन्छ । सामाजिक र सामूहिक हितबाहेकका लगानीहरूलाई निरुत्साहित गरिन्छ । शिक्षा क्षेत्रलाई निहित स्वार्थ, व्यापार र व्यवसायको रूपमा नभएर राष्ट्रिय आवश्यक्ता अन्तर्गत नागरिकहरूको समान सामाजिक अधिकारका रूपमा लागू गरिन्छ । स्वास्थ्य, रोजगारी, आवास, खाद्य सभ्प्रभुता जस्तै शिक्षालाई पनि मौलिक अधिकारका रूपमा अङ्गीकार गरिन्छ । वस्तुतः समाजवादमा हरेक नागरिकहरूले आफ्ना मौलिक अधिकारको समान, सम्मान र न्यायपूर्ण ढङ्गले उपभोग गर्न पाउँछ । समाजवादको सबैभन्दा वैज्ञानिक, न्यायिक, विवेकशील र मानवीय उन्नत पक्ष यही हो ।

तेस्रो, समाजवादी शिक्षामा पुँजीवादमा जस्तो पैसा, पहुँच, प्रभाव र पावरको आधारमा शिक्षा पाउने नैसर्गिक अधिकारलाई सीमित गरिँदैन । यसमा राष्ट्रको रणनीतिक उद्देश्य र ऐतिहासिक प्रक्रियागत आवश्यकतालाई सहयोगी हुने वा राष्ट्रको आवश्यकताका आधारमा पाठ्यक्रम निर्धारण गरिन्छ ।

समाज रूपान्तरणको प्रक्रियामा आधारित प्रगतिशील शिक्षा नीति अङ्गीकार गरिन्छ । अर्थात, समाजवादी मूल्य र मान्यतालाई स्थापित गर्दै साम्यवाद जस्तो उन्नत र सभ्य सामाजिक सत्ताका लागि आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित हुन्छ । भन्नुको मतलब समाजवादी शिक्षामा पुँजीवादमा जस्तो नाफा, एकाधिकार, व्यापार र व्यवसायमुखी असमान र गैरन्यायिक शैक्षिक अवधारणा सोच्नै सकिन्न । यदि त्यसो भए त्यो वस्तुतः समाजवादी शिक्षा नीतिभित्र पर्दैन ।

व्यक्तिगत हित र स्वार्थको ठाउँमा आधारभूतरूपमै सामूहिक र सामाजिक स्वार्थको माक्र्सवादी स्कुलिङको आमरूपमा अभ्यास गरिन्छ । जनवाद, समाजवाद, उच्चतम समाजवाद हुँदै साम्यवादमा जाने रणनीतिक उद्देश्यमा समग्र शिक्षा पद्धति निर्दिष्ट गरिन्छ । कुनै पनि खालको हेलाहोचो, विभेद र उत्पीडनको कल्पनै गर्न सकिन्न । यो समानता र न्यायमा आधारित हुन्छ ।

चौथो, यसमा पुँजीवादमा जस्तो पैसा, पद, पावर र प्रभावको भरमा विद्यार्थीलाई जुनकुनै पनि विषय पढ्न बाध्य गरिँदैन । यसमा उनीहरूको रुचि, क्षमता र राष्ट्रिय आवश्यकताको प्राथमिक सवालहरू संयोजन गरिन्छ । बाल मनोविज्ञान, जन्मजात क्षमता, सीप र कलाको आधारमा खास बालकको खास मनोविज्ञान अनुरूप विषय छनौट गरिन्छ । यसको निर्धारण बाल विशेषज्ञहरूले गर्छ । सानै उमेरबाट उनीहरूको गहिरो अध्ययन गरी समाजवाद निर्माणको प्राथमिक पक्षहरूलाई सहयोगी हुनेढङ्गले विषयवस्तुहरू छनौट गरिन्छ ।

वास्तवमा समाजवादी शासन पद्धतिमा सामूहिक, सामाजिक तथा राजकीय स्वार्थका लागि हरेक नागरिकबाट अधिकतम श्रम, ज्ञान, सीप र विशेषज्ञता लिने गरिन्छ । पुँजीवादमा पनि श्रम वा काममा लोभ गरिन्छ तर यो नितान्त व्यक्तिगत निहित स्वार्थ र सभ्रान्तवर्गीय हितमा हुने गर्छ । तर समाजवादी श्रमको अधिकतम उपयोग निश्चित रूपमा समग्र मानव समाजको हित र स्वार्थमा आधारित हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति व्यावहारिक देखिन्छ ।

त्यसैले पुँजीवादी गैरन्यायिक र असमान शैक्षिक पद्धतिको व्यावहारिक तथा वैज्ञानिक विकल्प समाजवादी शिक्षा प्रणाली हो । पुँजीवादी शिक्षा नीति विभेदपूर्ण मात्र हुँदैन, नाफामूलक व्यवसाय र व्यापारमा आधारित हुन्छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकास अनि विश्वमा आएको लोकतान्त्रिक जागरण आन्दोलनको बाबजुत पनि शिक्षामा समान अवसर स्थापित भएको छैन । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गले शिक्षामा समान पहुँच कायम गर्न सकेका छैनन् ।

आज पनि अफ्रिकामा झण्डै डेढ करोड छात्राहरू विद्यालय जान सकेका छैनन् । झण्डै दुई तिहाई महिलाहरू असाक्षर छन् । त्यस्तै अफ्रिकामा एक करोड बीस लाख र एसियामा झण्डै डेढ करोड विद्यार्थीहरू प्राथमिक तह पूरा नगरी विद्यालय छाड्न बाध्य छन् । व्यावसायिकीकरण र व्यापारीकरणकै कारण शिक्षा महँगो भएको छ । सबैले गुणस्तर शिक्षा लिने वस्तुगत अवस्था छैन । तर समाजवादमा पैसा र पावर नभएकै कारण डाक्टर, इन्जिनियर र पाइलट पढ्न नपाउने भन्ने हुँदैन ।

तसर्थ, निजी नाफामुखी शिक्षालाई समाजवादी शिक्षा पद्धतिले विस्थापन गर्न जरुरी छ । सामाजिक र सामूहिक मनोविज्ञान र संस्कृतिको विकाससँगै समाजवादी शैक्षिक संस्कृति स्थापित गर्नुपर्छ । शिक्षामा राज्यले पूर्ण दायित्व लिनुपर्छ । रुचि र क्षमतालाई आधार बनाउनुपर्छ । विशेष गरेर समाज विकासको ऐतिहासिक प्रक्रियालाई आवश्यक पर्ने जनशक्ति निर्माणमा आधारित हुनुर्छ । अर्थात राज्यको आवश्यकतासँग शिक्षा नीति एकाकार हुनुपर्छ ।

निहित स्वार्थ र निजित्वमा आधारित नाफा र व्यापारमुखी शैक्षिक प्रणालीलाई निरुत्साहित गर्नुपर्छ । व्यक्तिगत स्वार्थ र योजनामा विदेश गएर पढ्ने संस्कृतिलाई निस्तेज गर्नुपर्छ । राज्यको राष्ट्रिय स्वार्थ र योजनामा मात्र युवा विद्यार्थीलाई विदेश पठाउनुपर्छ । सहर केन्द्रित शैक्षिक स्रोतसाधन र जनशक्तिलाई दूर्गम गाउँबस्तीमा पुर्याउनु पर्छ । यद्यपि यो समाजवादी शिक्षा प्रणालीमा मात्र सम्भव हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति नै न्यायिक पद्धति हो ।

Comments

comments

SHARE