-विक्रम सुब्बा

काखमा आमाले
तँ ‘याकथुङबा’ होस् भनिन्

छिमेकी बाहुनहरूले, तिमी
‘लिम्बू-सुब्बा-जिम्मावाल’ हौ भने

स्कूलमा माष्टरले, तिमी
लिच्छवीसँग हारेको ‘किराती’ भने

मानव अधिकारवादीले
तिमी सिरिफ ‘मनाव’ भने

शाह वंशीय शासनदेखि नै सरकारले
तँ केवल रैती होस् भन्दै आए

कांग्रेसको सरकारले, तँ रैतीबाट
जनता भइस् भोट हाल् भन्यो

अहिलेको जुका सरकारले, तँ
तहतहमा चुसिने रगत होस् भनिरहेछ

आन्दोलनले भनिरहेछ, तैँले नागरिक हुन
अझै युध्द लड्नु र जित्नु पर्छ भनिरहेछ

डीएन ए चेकजाँच गरे, नतिजाले
कुन ह्याप्लो समुहको भन्ने होला ?

यहाँ हरेक जातिको पहिचानसँगै, देशकै
पहिचानको भाष्य पनि ध्वस्त गरियो

आज मेरी नातिनी सोधी –
बाजे, नेपालको पहिचान के हो ?
जवाफमा मुलुकको पहिचान, मेरो
आँखाबाट टुहुरो थोपा बनेर झर्‍यो
अरुको पहिचान मास्नेले, सिंगै
मुलुकको पहिचान मास्दो रहेछ ।

Comments

comments

SHARE