सानु छंदा–
सालिमोको घांससित मैले मीत लाएको
त्यहीँ पारीको पाखो हो
जुन अहिले अल्जाइमर लागेझैं
स्मृतिशुन्य टोलाइरहेछ
त्यो मौवाको रुखले
गाउँथ्यो कुनै समय फापर व्हाई
छमछम् नाच्थे काँडा भएका चुत्रोका हाँगाहरु पनि
र, डम्फू बजाएझैँ गर्थे गोगन पातहरु
शित जस्ता सपनाहरु खस्थे तप्प तप्प शिरुघांसबाट
र, बन्थ्यो उमंगको कुवा
पिउंथ्यौं धित मरुञ्जेल
उमेरको तिर्खा

अचानक एकदिन,
आधुनिक महाभारतको
एक अज्ञात काण्ड
मैझारो भयो यहीँनेर
र, बग्यो निर्दोष रगत– बाबियो पोथ्रा–पोथ्रामा
कुरुक्षेत्रको त्यो पछिल्लो ब्युहमा
बेकसुर नाँगिइन् मेरी पुर्व प्रेमिका– कुमारी स्याङबा
त्यही दिनदेखि,
उडी जान थाले यहांबाट– विरही जुरेलीहरू
मायालु घाम डढेको रातो क्षितिज भन्दा पनि पर/निकै पर
र, अन्तिम पटक उनीहरूले सेलोमा कोरस हालेका थिए
रेगिस्तानको कुनै विरानो छतहरूबाट
अचेल उनीहरू–
फर्किंदैछन् छन् धमाधम
काठको बाकस बनेर

ऊ…हेर्नुस्,
त्याँ पारीको हिगीछेउ
फरफराइरहेको लुङदरमा,
खुईलिँदै गइरहेको छ क्रमशः
कसैका हातको प्रेमिल स्पर्श
भुइँ ऐंसेलुका मसिना पातहरू पनि
रुझीरहेका छन् स्मृतिको वेस्वादिलो बलेसीमा
र, मास्तिर ठिंग उभिरहेको सिक्रो बकाइनोले
झार्दैछ सम्झनाको असीम आँसु

हो, सानु छँदा–
मैले प्रित गाँसेको
त्यहीँ पारीको पाखो हो
जहाँ अझै कसैको अधमरो छायाँ
चल्मलाइरहेको देख्छु म
विरहको बतास बगिरहने
पुर्व प्रेमिकाको उही चिहानछेउ ।
–फूलमान वल

Comments

comments

SHARE