– खोजराज गोले
म्हेनङ भनेको महिनाको नाम हो । म्हेमेदङ/म्हेमेतङ (फरप)बाट महिनाको नाम नै म्हेनङ रहेको हो । दशैँ भनेको दश दिनसम्म मनाइने हिन्दू पर्व हो । संस्कृत भाषाको दशमीबाटै दशैँ भएको देखिन्छ । तथापि मीन श्रीसमगरले ‘मगर जातिका संस्कार र चाडबाड’ शीर्षक राखेर लेख्नुभएको छ, ”मुख्य अन्नाली भित्र्याउने काम तथा लेक-बेँसीको घुम्तेबसाइँ सर्ने काम थालनीको अर्थमा वा सन्दर्भमा ‘डस्याक्के’ (थालनी/प्रारम्भ) शब्द प्रयोग हुनेक्रममा डस्याक्केबाटै दसैँ शब्दको व्युत्पत्ति भएको मानिन्छ (सम्पादकद्वय- यामबहादुर पुन र झकेन्द्र घर्तीमगर : मगर जाति ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०७१) पृ. १३८ र १४३/१४४) ।”

यसै मतलाई थप समर्थन हुनेगरी सोही पुस्तकको पृष्ठ ६२ मा टुकबहादुर थापामगर ज्यूले ‘मगरातको राजनीतिक इतिहास : विगत र वर्तमान’ शीर्षक राखेर लेख्ने क्रममा वालचन्द्र शर्माको नेपालको ऐतिहासिक रूपरेखा (२०३३)लाई उदृत गर्दै ‘खड्कामगर’ उपशीर्षक अन्तर्गत लेख्नुभएको छ; ”गोरखाको लिगलिगमा घले थरका मगरका राजाले राज्य गर्थे । यिनीहरूमा बर्सेनि आफ्नो राजा छान्ने एक अनौठो प्रथा प्रचलित थियो । प्रत्येक विजयादशमीको दिन राज्यका मानिस जम्मा भएर त्यस ठाउँबाट दगुरी जो सर्वप्रथम भई लिगलिगकोट पुग्थ्यो त्यही व्यक्ति त्यस वर्ष राजा हुन्थ्यो । यस्तै एक अवसरमा तामासा हेर्न भनी हतियार नलिई जम्मा भएका लिगलिगेउपर द्रव्य शाहको फौजले अनायास आक्रमण गरी लिगलिग राज्य कब्जा गरे ।”
अब तपाईँ आफैँ सोच्नोस् दशैँ मगरभाषाको ‘डस्याक्के’बाट आएको मगर चाड हो वा हिन्दू चाडको मात्रै ? स्मरणीय तथ्य यो पनि रहेको छ कि, लिगलिगकोटलाई शाहहरूले कब्जा गर्नु पूर्व नै ‘डस्याक्के’को दशमीमा राजा छान्ने चलन थियो । यसबाट स्पष्ट हुन्छ कि हिन्दूको प्रवेश अघिदेखि नै मगरले ‘डस्याक्के’ मान्दै आएका थिए । पछि हिन्दू शाहवंशीय राज्यसत्ताले मगरको ‘डस्याक्के’माथि हाम्रो पनि दशैँ भनेर खप्ट्याउन आएको भन्ने स्पष्ट हुन्छ । (स्मरणको लागि- सोही क्रममा दुवै जना लेखकहरूले तिहार र बलिहाङ राजा र तिहारको बारेमा प्रष्टसँग उल्लेख गरेका छन् ।)

दशैँमा हिन्दूहरूले राँगा र बोका लगायतका पशुपङ्क्षीहरूका बलि दिएर मनाउँदै आएका पाइन्छन् । उनीहरूका बलिप्रथाका पक्ष र विपक्षमा थरीथरी मतका साथ प्रशस्त लेखहरू लेखिएका पाइन्छन् । हिन्दूहरू भन्छन्, आफूमा भएका पशुत्त्वादिलाई बलि दिने हो । या त पशुहरूका बलि दिएर दैवीशक्तिलाई खुशी पार्ने हो । राक्षसको प्रतीकका रूपमा पशुपङ्क्षीका बलि दिने हो । देवीले राक्षसको रगत पिएकी थिइन् । देवीका शक्ति बढाउन साथै अन्त्यमा रीस शान्त पार्न रगत चढाउने हो । तथापि तामाङ समाजमा बलिप्रथाको मत हिन्दूको भन्दा धेरै फरक रहेको देखिन्छ । तामाङमा बलिप्रथाको बारेमा अहिले एकोहोरो रटान चलिरहेको देखिन्छ । यसो गर, उसो गर, बलिको विरोध गर मात्रै देखिन्छ । यसको अर्थ बलिको पक्षमा उभिएको होइन । यहाँ मैले पाएको बलिप्रतिको तामाङ विश्वदृष्टिकोण र धारणा मात्रै राख्ने प्रयास गर्छु ।

तामाङमा बोन र बौद्ध मतावलम्बीहरू रहेका छन् । त्यसो त हिन्दू र ख्रिश्चियन पनि छन् । हिन्दू मान्यता अनुसार जन्मतः (जन्मजात) मात्रै हिन्दू हुनसक्छ । अन्यथा कुनै पनि हालतमा हिन्दू हुनै सक्तैन । त्यर्सथ कोही तामाङले हिन्दू हुँ भन्नुको कुनै तुक रहँदैन । फेरि पनि २०६८ को जनगणना अनुसार दुर्इ लाखभन्दा बढी तामाङले हिन्दूधर्म लेखाएको तथ्याङ्कमा उल्लेख गरिएको देखिन्छ । ख्रिश्चियनिटीमा बलिप्रथा देखिएको छैन । बलि दिने भन्दा सैतानआत्माको कुरा आउने गर्दछ । त्यसैले त्यहाँ कसैलार्इ बलि दिने भन्ने खासै देखिँदैन । उनीका अनुसार पशुपङ्क्षीहरू त परमेश्वरले मनुष्यका खाद्यबस्तुका रूपमा सिर्जना गरेका हुन् । त्यसैले मारेर खाँदा कुनै पनि पाप हुँदैन । तामाङ समुदायमा अहिले जन्मजात लामा (बौद्ध धर्मावलम्बी) भन्ने गरिएको छ । स्मरणीय तथ्य यो हो कि- बौद्ध भनेको कदापि जन्मजात हुँदैन । बौद्धमा जातिपातीको कुरै आउँदैन । यदि कोही बौद्ध हुने हो भने उसले टप्चे गराउनु पर्छ । सोही अवसरमा बुद्ध, धर्म र सङ्घमा प्रवेश गर्ने र सपथ खाने संस्कार पूरा गर्नै पर्छ; अन्थया कसैले बौद्ध हुँ भन्नुको कुनै तुक रहँदैन । त्यस्तैगरी तामाङ समाजमा बोनको कुरा पनि रहेको छ । कोही भन्छन्, बोन नै हाम्रो असली पहिचान हो । कोही तर्क गर्छन्, बोनको अवशेष मात्रै पाइन्छन् । कोही भन्छन्, बोनमा कालो र सेतो हुन्छन् । तिनीहरू खराब हुन्छन् । दलाई लामाले सेतो भनिएको बोनलाई भने बौद्धकै पछिल्लो सम्प्रदायको रूपमा मान्यता दिइसकेको देखिन्छ ।

तामाङ बोनहरू भन्छन्, बोन नै तामाङको असली स्वरूप हो । फो ल वा ह्रुर्इगी फो लको कुरा पनि बोनले नै गर्ने हो । तम्बा र बोनमा विशेष सम्बन्ध पाइन्छ । समाज तथा मानवशास्त्रीहरू भन्छन्, तामाङमा ‘ह्रुर्इ र ठा(ग)’ को कुरा आउँछ । त्यही नै तामाङको असली पहिचान हो । त्यसैको आधारमा तामाङ थर, सहथर र कुटुम्ब थरको व्यवस्था कायम गरिएको छ । यो व्यवस्था अन्य समुदायमा देखिएको छैन । तिब्बतमा थर रहेको बताइन्छन्; तर तिनीहरूमा ठूला वा उच्च वर्गका मात्रै थर हुने र थरको आधारमा सहथर र कुटुम्ब भन्ने स्पष्ट व्यवस्था नदेखिएको डा. मुक्तसिंह थोकरज्यूले एक भेटघाटको क्रममा बताउनुभएको थियो ।

यसप्रकार तामाङ समाजले चर्चामा राखेको बोनले भने बलिप्रथा कायम राखेको पाइन्छ । उनीहरूका मत अनुसार सर्वप्रथम मानिसले शिकारी युगको पार गरेका थिए । शिकार खेल्दाखेरि नै तिनलाई ‘किरल्पा’ (किराल्पागोम्बो) नाम दिइएको थियो । त्यसैको प्रतीकात्मक रूपमा ‘क्रिपा’ संस्कृति अहिले पनि प्रचलन रहेको छ । यसप्रकार ‘किरात’ शब्दको माउ शब्द नै किरल्पा हो भनेर दावी गर्न सकिन्छ । तामाङ बोन शेरप अनुसार किरल्पा/किर्पाले पहिलो पटक जङ्गलमा ‘जिब्रोङ’ नामक पङ्क्षी मारेका थिए । त्यसको हत्या गरेपछि के गर्ने भन्ने भन्दाखेरि ‘ल छङ्बै रेञ्जेन’ले ‘स्यबुर्इबुबुर्इ’ चढाउने कुरा गरेका थिए । त्यो भनेको बौद्धले गर्ने फोवा हो । बौद्धले फोवा त सिक्यो तर मुक्तिमार्ग हुँदै सुखावती भुवनमा पठाउने मान्यता बनायो । तर बोनको ‘स्यबुर्इबुबुर्इ’ पिन्बाको अर्थ भने प्रकृतिमा चढाउने भन्ने थियो । त्यसको स्पष्ट अर्थ भनेको आमाको गर्भमा लगेर राख्ने भन्ने हुन्छ; अर्थात् बोन मान्यताले जैविक विविधताको पक्षमा आफूलार्इ उभ्याएको पाइन्छ ।

त्यसो त बोनले वनस्पतिलाई रोपेर अनि संरक्षणको नीति अनुसार जोगाउन भन्छ । पशुपङ्क्षीको हत्या रहर नभई बाध्य भएको बताउँछन् । एउटा मिर्ग वा खरायो नै मारेपछि त्यस दिन अर्को शिकार गर्न नपाइने नियम बनाएको छ । ढुकुर नै मारे पनि स्यबुर्इबुबुर्इ दिन्छन् । शिकारी कुकुर वा गोरु मरेपछि बोन अनुसार नै सद्गत गर्छ । गोरु जोत्दाखेरि पनि मारिने कीराफट्याङ्ग्रादिका चित्त शान्ति तथा मुक्तिका लागि ‘लङतप्प’ गीत गाउँछ । मासु खान मिल्नेलाई पुनःजन्मको लागि प्रार्थना गर्छ । कीराफट्याङ्ग्रालाई राम्रो जुनी प्राप्त होस् भनेर प्रार्थना गर्छ । मानिस मर्दाखेरि भने मुक्ति प्राप्तको कुरा गर्छ । मृतकका चित्तलाई संरक्षक झ्योहोझ्योमोको रूपमा रहन अनुरोध गर्छ । त्यसैले मृतक पुर्खालार्इ वर्षैभरि अनेक चाडका नाममा सम्झिरहन्छ । बौद्ध मतले थर्पेलिङमा जाने वा अडि्कने कुरा गर्छ । थर्पेलिङमा थर्सिगरे पनि पुनः कुनै दिन फर्कर आउने कुरा गर्छ तर बोनका अनुसार मृतकको चित्त भड्किएमा सिण्डी बन्छ । मानिसलाई पिर्छ । तिनलाई बोनले तार्न सकेमा त्यसको चित्त पनि समाप्त हुन्छ । त्यसपछि मृतकले जीवन रहँदा प्राप्त गरेको ज्ञान मात्रै संरक्षकको रूपमा रहन्छ । कोही कोहीका ज्ञान भने आफ्नै वंशको प्रिय तथा उचित पात्रमा अवतरित हुन्छ । बौद्धले जस्तो पुनः जन्म लिएर आउने कुरामा खासै विश्वास गर्दैन । बरु कसैका शरीरमा उत्रनेसम्म हुन्छ ।

यतिखेर प्रसङ्ग रहेको छ- बलिप्रथाको ! बोन मत अनुसार कुनै पनि प्राणीको हत्या मासुका लागि गरिन्छन् । मासुकै लागि मारिएका प्राणीको चित्त भड्किन्छ । त्यसैले मासुका लागि हत्या गर्दा बर्ज्या लाग्छ । त्यसैले शिकारको क्रममा वा बलि चढाएपछि मारिएका पशुपङ्क्षीका चित्तलाई भने आमाको गर्भमा लगेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसरी आमाको गर्भमा प्रत्यारोपित गरिदिएपछि पुनःजन्मको प्रक्रियामा प्रवेश गर्छ । त्यसैले मासु अब साग समान हुन्छ र खान मिल्छ । त्यसैले मासु खानकै लागि आवश्यकतानुसार मात्रै बलि चढाउँछन् । छ भन्दैमा एकको सट्टा दुर्इटा वा तीनटा चढाउँदैनन् । घरमा कोही पाउन आएको बेला पनि कुखुरै काटेर खुवाउने भएमा पनि त्यत्तिकै काट्न पाइँदैन । त्यसैले घरभन्दा अलि परको ढुङ्गोमा लगेर पानी हाल्छन्/धुन्छन्/पखाल्छन् । अलिकति अवीर हाल्छन् । धजा (कपासको टुक्रा वा कपडाको टुक्रा) चढाउँछन् । कुखुरा काट्नछन् तर पूरै घाँटी नछिनाएर पनि काट्छन् । त्यसैले बोन मत अनुसार पसलमा बेच्न राखिएको मासु खानयोग्य हुँदैन । त्यसैले यदि पसलबाट किनेर ल्याएको मासु हो भने घरमा हुल्ने बेलामा पानी छर्कनु पर्छ । पानी मात्रै छर्कँदा पनि लागेर वा टाँसिएर आएका चित्तहरू वा नकारात्मक शक्तिहरू भाग्छन् । मारिएका प्राणीको चित्त पनि तृप्त भई आमाको गर्भतिर लाग्छन् । बोन मत अनुसार पसले आफैँले खानको लागि भनेर मासु काटेका हुँदैनन् । ग्राहकका लागि काटेका हुन्छन् । आफू पनि ग्राहक बनेर गएपछि त्यसको हत्याको बात आफैँलाई पनि लाग्ने हुन्छ । त्यसैले कम्तिमा पनि घरमा छिराउँदाखेरि पानी छर्कनु पर्छ । स्यबुर्इबुबुर्इको प्रतीक स्वरूप पाकेपछि चुह्लोमा चढाएर मात्रै खानुपर्ने हुन्छ ।

तामाङमा बलिको यो प्रसङ्ग यस्तै रहेको पाइन्छ । हिन्दूमा भने मैसासुरको प्रतीकका रूपमा राँगा काट्छन् । यसको अर्थ नरबलिको प्रयोग रहेको स्पष्ट हुन्छ । साधनाको क्रममा बलिलाई जायज मानेको हुन्छ; तर बोन मान्यतानुसार मानव बलि वर्जित हुन्छ । मानिसको रगत पर्‍यो भने त्यस माटोमा अन्नबाली हुँदैन । उत्पादनशीलतामा ह्रास आउँछ । त्यसैले सकेसम्म मानिसको रगत भूमिमा पर्न दिँदैनन् । बोनले साधना भन्दापनि पूजा/स्मरणको क्रममा बलि दिन्छन् । मानिसको सट्टा वा पाल्तु पशुपङ्क्षीको सट्टामा एउटालाई मिलाएर दिन्छन् । सबैको सट्टा एउटा मात्रै पशुपङ्क्षी दिएर टार्छन् । स्मरणीय वा भुल्नै नहुने तथ्य यो हो कि- पूजाको नाममा हामीले तिम्रो हत्या गर्‍यौं तर तिम्रो आत्मा नभडि्कनु । सिधै आमाको गर्भमा गएर बस्नु भन्ने संस्कार पूरा गर्दछन् । त्यो भनेकै स्यबुर्इबुबुर्इ दिनु हो । बलि दिनुको अर्थ काटेर मार्ने अनि रगत चढाएपछि भयो भन्ने हुँदैन । बौद्धमा भने तन्त्रसाधनाको क्रममा पञ्चमकारको कुरा गरेका पाइन्छन् । तिनमा मासु र माछाको कुरा आउने गर्दछ । गुरु पद्मसंभवले पनि साधनाको क्रममा लासको छाला र मासु प्रयोग गरेको भन्ने गरिन्छन् ।

यसप्रकार बलिको बारेमा पुनःभाष्य (पुनःपरिभाषित) गर्न आवश्यक छ । म्हेनङको क्रममा खेप्पास्हुङको कुरा उठाउने बित्तिकै केही साथीहरूले बलि दिएको भन्दै घोर विरोध गरेका पाइन्छन् । वास्तवमा हामीले बलिको पक्ष वा विपक्षमा केही पनि भनेका छैनौं । सामाजिक अध्ययनको क्रममा भेटिएका तथ्य मात्रै राखेका हौं । म्हेनङको कुरा उठाउँदा बौद्धको कुरालाई कतै पनि छुटाएका छैनौं । यो वा त्यो पक्षमा लाग भनेका छैनौं । कुखुरा बलि नदिए तामाङ नै हुँदैन भनेका छैनौं । खेप्पास्हुङको अर्थ कुखुरा काट्नुको विकल्प छैन भने कहिल्यै कतै पनि लेखेका छैनौं । यहाँ भने दशैँ र म्हेनङको फरक खुट्याउँदैछु । दशैँ र म्हेनङमा बलिप्रथा देखिएको हुनाले तिनमा के समानता र फरक रहेछन् भनेर खोजेको मात्रै हुँ ।

दशैँमा हिन्दूहरूले पितृका नाममा श्राद्ध गर्दछन् । त्यसलाई नराम्रो मान्न र भन्न सकिने कुनै आधार छैन । म्हेनङमा खेप्पास्हुङ हुन्छ । त्यो भनेको गुरुचनको पूजा हो । त्यसक्रममा आफ्ना पुर्खौली वंशावली पाठ गर्छन् । झट्ट हेर्दा समान जस्तै लाग्न सक्छन् । तथापि हिन्दू मत भनेको पितृहरू स्वर्गमा तरुन् भन्ने हो । तरिसकेका रहेछन् भने लामो समयसम्म स्वर्गमै बस्न सक्ने होउन् भन्ने हो तर तामाङ बोनको मतले भने गुरुचनलाई उसको अंश वापतको कुखुरा भाले र सयपत्री फूल चढाउने/बुझाउने हो । त्यसक्रममा आफ्ना पुर्खाहरूसँग संरक्षकको रूपमा रहिरहनका लागि अनुनयविनय गर्ने हो । बोन मान्यता अनुसार पितृहरू स्वर्गमा बस्ने र लामो सयमसम्म त्यही राख्ने भन्दापनि आफ्नै गाउँघरको अग्लो डाँडोमा वा ठूला ढुङ्गा वा ठूला रूखका फेदमा स्थापित गराउने हो । त्यो पनि तिनीहरूले जीवन रहँदा प्राप्त गरेका ज्ञानको सकारात्मक पक्षलाई मात्र । घरको धूरीमा देउताको साथमा राख्ने हो । यसप्रकार दशैँ र म्हेनङमा हुने पितृपूजामा आकाश जमीनको फरक देखिन्छ ।

म्हेनङको बेला कुखुरा र बोका काट्छन् । राँगा पनि काट्छन् । राँग काट्दाखेरि घरैपिच्छे भन्दापनि टोल वा गाउँले मिलेर आवश्यक मासु पूर्ति हुने सङ्ख्यामा मात्रै काट्छन् । यो पक्ष दशैँमा पाइँदैन । उदाहरणको लागि तलेजुलाई ५४ वटा बोका र ५४ वटा राँग काट्छन् । तामाङमा त्यसरी यति ओटा काट्ने भन्ने हुँदैन । राँगा बलि दिइँदैन । त्यसैले गाउँलेको लागि आवश्यक मासुको हिसाब गरेर मात्रै काट्छन् । तामाङले राँगा पर्साएर मात्रै काट्छन् । त्यसको अर्थ आमाको गर्भमा चित्तलाई पुर्‍याउने हो । गाउँमा कत्तिको सुख सुविधा आउनेछ भनेर हेर्ने हो । खेप्पास्हुङको बेला कुखुरा पर्सेको आधारमा देउता र कुल खुशी भएको तथा घरमा अब कस्तो शुभाशुभ रहनेछ भनेर हेर्ने पनि हो । यस्तो परम्परा दशैँमा कतै पाइँदैन । अचम्मको कुरा त हिन्दूहरू राँगा बलि दिन्छन् अनि उनीहरू नै राँगाको मासु खान हिचकिचाउँछन् । लाज मान्छन् । तामाङमा यस्तो देखिँदैन ।

हिन्दूहरूको पूजा विधि आफ्नै रहेको छ । तामाङहरू म्हेनङमा चिउरा चपाउँछन् । चिउरालाई ‘फल्गी/फलिङ/फलाङ्गी’ जस्ता नामद्वारा चिन्छन् । तामाङ मान्यतानुसार ताइचिन धानको चिउरा राम्रो हुन्छ । त्यो पनि नयाँ धानको अझै उत्तम मानिन्छन् । त्यो पनि ओखल वा ढिकीमा कुटेको हुनुपर्छ । मिलमा कुटेको फल्गी प्रयो गर्दैनन् । गीत गाउँछन्, ‘फल्गीमी छेक्सी होर्इ प्लेक्सी ।’ यसको अर्थ चिउरा भनेको कुटेर बन्छ । होर्इ वा प्रिय हुनाका लागि चेप्टी अर्थात् नेप्टी हुनुपर्दछ । भन्न खोजेको के हो भने, मनपर्दो हुनाका लागि केटीको नाक चुच्ची होइन नेप्टी हुनुपर्छ । यसले पूरै तामाङको सौन्दर्यशास्त्रको प्रतिनिधित्व गरिरहेको पाइन्छ । हिन्दू वा आर्यभन्दा धेरै फरक भन्ने स्पष्ट पार्दछ । त्यस्तैगरी अर्को तुक्काले भन्छ, ‘छमेमी लौलौ फल्गीरी ! सुका गी अरे खल्तीरी !!’ यसको अर्थ भनेको, तरुनीहरू चिउरा भनेपछि भुतुक्कै हुन्छन् । तर किनेर दिने र आफू हिरो हुने चाहना भएर के गर्ने – खोजीमा पैसो छैन । यसले तामाङहरूको भौगोलिकता, आर्थिक अवस्था साथै चिउराप्रतिको मान्यता स्पष्ट गरेको पाइन्छ ।

खाद्यसंस्कृतिकै कुरा गर्दा, ‘म्हेनङ हजी छिपिङपिछ ! देलेम बढारी जी लिङलिङ !!’ भन्छन् । यहाँ ड्रागोन फ्लाइ (घामकिरी)को कुरा आएको छ । दशैँमा मासुसँगै जाँडरक्सी अनि काँसको डबकाको कुरा उठाएको छ । यो पर्यावरण, जाँडरक्सी र काँसको डबकाको कुराले तामाङ सभ्यतालाई साह्रै स्पष्ट पारेको छ । हिन्दूहरू जाँडरक्सी प्रयोग गर्दैनन् तर तामाङमा जाँडरक्सीलाई पवित्र मान्छन् । बौद्धको पञ्चमकारमा एक मद पनि हो । तामाङमा ‘स्यला ख्वङ’ बनाउँछन् । राँगाको मासुलाई सिन्कामा उनेर माला जस्तो बनाउँछन् । त्यसको आफ्नै महत्त्व रहेको छ । शाकाहारीका लागि त्यसको महत्त्व हुने भएन तर कतिजना शाकाहारी छौं ? म आफ्नै कुरा गर्ने हो भने मासु त के चाउचाउ र बिस्कुट समेत खादिनँ । कुनै समयमा दूध नखाने र फल समेत टिप्न नसक्ने अवस्थामा पुगेको मान्छे । ५७ सालदेखि घाँस सेउलाको रूपमा भन्दा बाहेक फूल चाहियो भनेर कहिल्यै टिपेको छुइँन । यो आफ्नै मपाइँत्व भन्दा पनि शाकाहारीत्वको प्रसङ्गमा जोडेको हुँ । म्हेनङमा गाउँ नगएको धेरै भैसक्यो । नजानुको कारण जाँडरक्सी र मासु हुन्छन्; जुन चिज मेरो शरीरले पटक्कै सहँदैन । यही कुरा थाहा नभएकाले यथार्थ बुझ्ने चेष्टा नै नराखी केही साथीहरूले गाली गर्नु भएकोले मात्र यसरी लेखेको हुँ ।

म्हेनङमा टीका लगाउने र नलगाउने तामाङ छन् । लगाउनेमा पनि कोहीले रातो र कोहीले सेतो लगाउँछन् । हिन्दूहरू दैत्यको बध गरेर रगतको टीका लगाएको भन्दै रातो लगाउँछन् । म्हेनङमा कसैको हत्या गरेर लगाएको रगत होइन । त्यसैले रातो टीका लगाउनुको औचित्य देखिँदैन । कुलको पूजा गरेको, झ्योहोझ्योमोलाई पुजेको हुनाले सेतो टीका लगाउँदा नराम्रै भयो भन्नु उचित नहोला । यसप्रकार दशैँ र म्हेनङको टीका नै फरक देखिन्छ । बोनहरू कुललाई पूजा गर्दछन् । लामाहरू खेपासुम भन्छन् र छ्योइकू, ल्हुङ्कू र टुल्कूको बौद्ध विधि अनुसार अनुष्ठान गर्दछन् । हिन्दूको वेद तथा पूजापाठका क्रममा संस्कृत भाषाको प्रयोग गर्छन् । लामाले सम्भोटा लिपिमा लेखिएको तिब्बती भाषाको प्रयोग गर्छन् । बोम्बोले आम तामाङ भाषामा शास्त्रीय तामाङ भाषाको प्रयोग गर्दछन् । शास्त्रीय तामाङ भाषा र तिब्बती भाषामा धेरै समानता पाइन्छन् । हिन्दूले राक्षस मारेर विजयी भएको उपलक्ष्य भनेर टीका राख्छन्; त्यो पनि पूर्णेसम्म तर तामाङले त झ्योहोझ्योमो र कुलको प्रतापले अन्नबाली राम्रो भएको हुँदा धन्यवाद स्वरूप खुशीसँग टीका लगाउँछन् । बौद्ध मान्यताको सार भनेको कलिङ्गको युद्धपछि सम्राट अशोकले युद्ध जितेको अवसरमा नभई युद्ध गलत हो भन्ने तथ्य बुझेर बौद्धमा प्रवेश गरेको खुशीयालीमा चाहिँ सेतो टीका लगाउने हो । यतिसारो स्पष्ट हुँदा-हुँदै पनि हिन्दूकरण गरेको वा म्हेनङ भनेकै दशैँ हो । घुमाएर नाक समातेको जस्तो आरोप लगाउनमै आफ्नौ पौरख देख्नेलाई के नै भन्न सकिएला र ?

हिन्दूका छोरीचेली दशैँमा टीका र जमरा थाप्न आउँछन् । तामाङका पनि आउँछन् । हिन्दूका छोरीले केरा लगायतका कोशेली ल्याउँछन् । तामाङका चेलीले भने रक्सी, चिउरा, राँगाको मासुको ‘स्यख्वङ’ ल्याउँछन् । ‘म्हेनङला बो’ भन्दै आमा, दिदी, बहिनी, भाउजू र बुहारी साथै साथीलाई फल्गी र स्यख्वङ ल्याउँछन् । आपसमा कोशेली साटासाट गर्छन् । लेङ भन्दै म्हेनङमा मितिनी कहाँ पनि पुग्छन् । कतिपय चेलीले म्हेनङमा नसकेको वा सबैलाई पुर्‍याउन सकिनन भने माघेसङ्क्रान्तिसम्ममा पुर्‍याउँछन् । माघेसङ्क्रान्तिमा पनि नसकेकमा बैशाखसम्ममा पुर्‍याउँछन् । जेठ लागेपछि भने अर्को म्हेनङको तयारी गर्छन् । यस्तो संस्कृति हिन्दूमा छैन । त्यसैले किन फरक छैन र म्हेनङ र दशैँमा ? तामाङमा मामा र फुपूका छोराछोरीबीचमा विवाह गर्ने प्रचलन रहेको छ । म्हेनङमा मामाघर जान्छन् । फुपूकी छोरी पनि मामाको घरमा पुग्छन् । उमेर पुगेपछि तिनीहरूबीच माया प्रेमको कुरा उठ्छ । म्हेनङमै छलफल गर्छन् । मङ्सीरमा बुहारी भित्र्याउँछन् । मङ्सीरमा विवाह गरे पानी लाग्दैन भन्छन् । यो मौलिक ज्ञान र संस्कृति के हिन्दूबाट सिकेका हुन् र तामाङले ?

म्हेनङमा खेप्पास्हुङ गर्दा सयपत्री फूल घरमा भित्र्याउँछन् । त्यसअघि नयाँ सयपत्री चलाउँदैनन् । शीरमा सिउरिन्नन् । फापरसिङ/फापरसिङ्मा भनिने प्रजातिको वनस्पतिको प्रयोग गर्छन् । त्यसैलाई हिन्दूले भिमसेनपाती भन्छन् । तामाङले त्यस वनस्पतिको प्रयोग म्हेनङमा मात्रै सीमित पारेको छैन । बरु जाँडका लागि चाहिने मर्चा समेतमा त्यसको प्रयोग गर्छन् । त्यसैले फापरसिङ्मालाई औषधीको रूपमा चिन्छन् । मानिसले जाँडको लागि ढिँडो बनाइएपछि ‘मन्गीलमो’ (औषधीकी देवी)ले मर्चा बनाउन सिकाएकी थिइन् । मर्चालाई उनीहरू भ्रमा भन्छन् । यो नितान्त तामाङ ज्ञानको कुरा हो । दशैँमा केराको पातको प्रयोग गर्दछन् । त्यसको सङ्कलन र प्रयोग विधि तामाङले जानेको छ । केराको प्रयोग गर्छन् । पूरै पाक्नुभन्दा अघिको केरा चिन्छन् । काट्छन् र खरानी र नूनसमेतको प्रयोग गर्दै विशेष जातको सेउला वा मकैका खोस्टोमा पोका पारेर पकाउँछन् । यस्ता ज्ञानलाई नै आदिवासी ज्ञान भन्ने हो ।

म्हेनङमा ‘धर्बुङ’ (माटोको घैला)मा रक्सी र कुखुरा वा राँगाको मासु उपयुक्त मान्छन् । धर्बुङ नफुटोस् भनेर बाहिरबाट पाटले सुन्दर जालो जस्तो बुन्छन् । बिर्कोको रूपमा पातको प्रयोग गर्छन् । फर्कने बेलामा रक्सीको घैलामा एक माना जति रक्सी चाहिँ बाँकी नै राख्छन् । त्यसरी नराखेमा तामाङ अशुभ हुन्छ भन्छन् । हिन्दूमा यस्तो केही पनि हुँदैन । कोशेली सोलीमा हालेर लानुपर्ने हुन्छ । सोलीको माथि ‘घ/घलेक’ (बर्को)ले छोप्छन् । त्यसरी छोपेको घको चार टुप्पोहरू सोलीबाहिर लत्रनु पर्छ । ती टुप्पोहरूलाई नाम्लोको डोरी (ह्रेल)ले भेट्टाउनु पर्छ । त्यसो नगरी नाम्लोको ह्रेलभन्दा बाहिर लतारेमा वा माथि सोलीको मुखबाटै भित्र छिराएमा/दबाएमा गाली गर्छन् । मिलेन भन्छन् । तामाङ भएन भन्छन् । अनि यस्तो ज्ञान र संस्कारले तामाङलाई अरू भन्दा फरक भनेर चिनाउने हैन र ?

दशैँमा हिन्दूले नवदूर्गाको पूजा गर्दछन् । राक्षसहरू मारेका कथा हाल्छन् । तामाङले म्हेनङ बोम्बो र लामा विधि अनुसार मनाउँछन् । म्हेनङमा कुलको पूजा, छ्योरे अर्थात् दशैँ दिशाका देउता, लक्मीको पूजा गर्दछन् । झ्योहोझ्योमोको पूजा गर्दछन् । खुशीयालीमा सेतो टीका लगाउँछन् । जमराको अनिवार्यता देखिएको छैन । प्रयोग गर्दा नराम्रै भन्न सकिन्न । हिन्दूले बलि दिएर देवीको शक्ति बढाउँछन् र अन्त्यमा राक्षसको हत्या गर्छन् । तामाङले अन्नबाली सफल पारेकोमा धन्यवाद सहित पुज्य शक्तिहरूलाई सगुन चढाउँछन् । पिङ खेल्छन् । रमाउँछन् । तामाङ कहानी र मिथ सुन्ने सुनाउने गर्छन् । आफ्नो जीवन कहानी सुनाउँछन् । आफ्नै विश्वदृष्टिकोणलाई युवापुस्तालाई हस्तान्तरण गर्छन् । आफ्ना वंशावली पनि सन्ततिलाई बाँड्छन् । हो; हिजो शाहवंशको उदयपछि हाम्रो म्हेनङमाथि पनि मगरको डस्याक्के र लिगलिगकोटमा राजा छान्ने संस्कृतिमाथि जस्तै गरेर ओभरल्याप गरेका भन्ने स्पष्ट घाम जत्तिकै छर्लङ्ग भैसकेको छ । तथापि अनेक बहानामा हल्ला र झगडा गरेर बसेमा हाम्रा सन्ततिले हामीलाई माफ गर्लान् त ???
धन्यवाद !!

Comments

comments

SHARE