“कतिपय मानिसले दशैँलाई नेपालको महान् राष्ट्रिय पर्व हो भनेर यसलाई अतिशय महत्त्व दिने र नेपालका सबै जातजातिको, नेपालका सबै धर्म मान्ने मानिसको, नेपालभित्र रहेका सबै संस्कृतिको साझा संस्कृति हो भन्ने आसय झल्कने गरी प्रचार–प्रसार गर्दै आएका छन् । यो शासक वर्गीय धारणाकै पुनः प्रस्तुति मात्र हो ।”

-निनु चापागार्इं

दशैँ मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद् र इतिहासकारहरूका भिन्नभिन्न दृष्टिकोणहरू छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रूपमा रहेको पर्व हो भन्ने गरेका छन् ।

यो मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाड हो । असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकुलतामा यो चाड मनाइन्छ । किसानले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोद–प्रमोद गर्ने चलन चलेको हुनुपर्छ र त्यसले नै पछि दशैँको रूप लिएको हुनुपर्छ ।

नेपालका विविध जातजातिका किसानको चाडका रूपमा प्रचलित दशैँलाई हिन्दू धर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृति बनाएर सामन्ती संस्कार एवम् चाडको रूप दिएको हुनुपर्छ ।

कृषिप्रधान क्षेत्रका जनताले विश्रामको आवश्यकता अनुभव गरेर यसको चलन चलाएका हुन् भन्ने तर्क धार्मिक र सामन्ती तर्कभन्दा धेरै गहन र दरिलो तर्क हो । यो नितान्त वर्ष दिनको कामकाज र खेतीपाती सकेर थकाइ मार्ने किसानको आवश्यकताबाट विकसित चाड हो ।

शासक वर्गले यस चाडलाई पछि रूपान्तरित गरेर आफ्नो स्वार्थअनुकूल धार्मिक रूप दिने प्रयत्न गरेपछि मात्र सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दशैँको उत्पत्ति भएको हो भन्ने दृष्टिकोण विकसित गरिएको हो । यसमा शासक वर्गको वर्गीय स्वार्थ र चालबाजी नै प्रतिबिम्बित भएको छ । त्यसलाई हटाएर हेर्दा यो विशुद्ध लोकसंस्कृतिसित सम्बन्धित चाड हो ।

दशैँका नौ दिनमा वा दुर्गाका पूजा सामग्रीका रूपमा धानका बोट, उखु, अदुवा र जमरा आदि प्रयोगमा आउँछ । दशैँमा घटस्थापनाका दिन जौ र मकैका बीउ छर्ने, नौ दिनसम्म एक वर्षदेखि क्रमशः नौ वर्षसम्मका केटीहरूको पूजा गर्ने, दश दिनको दिन उमारिएका जमरा लगाउने र मान्यजनबाट आशीर्वादस्वरूप दहीमा मुछेर चामलको टीका लगाउने र दही, केरा र चिउरा मुछेर खाने जुन परम्परा दशैँमा चलिआएको छ, त्यसले सम्बन्धित उत्सव वा चाडका रूपमै स्थापित गर्छ । पछि, शासक वर्गले यसमा काटमार गर्ने चलन थपेको हुनुपर्छ ।

यसरी विविध जातजातिका किसानको चाडका रूपमा प्रचलित लोक परम्परालाई हिन्दू धर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृति बनाएर सामन्ती संस्कार एवम् चाडको रूप दिएको हुनुपर्छ ।

कसको हो दशैँ ?
संस्कृतिका क्षेत्रमा क्रियाशील कतिपय मानिसले दशैँलाई नेपालको महान् राष्ट्रिय पर्व हो भनेर यसलाई अतिशय महत्त्व दिने र नेपालका सबै जातजातिको, नेपालका सबै धर्म मान्ने मानिसको, नेपालभित्र रहेका सबै संस्कृतिको साझा संस्कृति हो भन्ने आसय झल्कने गरी प्रचार–प्रसार गर्दै आएका छन् । यो शासक वर्गीय धारणाकै पुनः प्रस्तुति मात्र हो ।

नेपालका शासक वर्गले अरू संस्कृतिका अनुयायीहरूमाथि लामो समय पहिलेदेखि थोपरेका कारणले अहिले नेपालका अधिकांश मानिसले यसलाई मनाउने गरेका छन् । यही कारण यसलाई राष्ट्रिय पर्व भन्न सकिन्छ भन्ने होइन ।

हिजोआज हिन्दू धर्मावलम्बीहरूको चाड हो भनी कतिपय जनजातिले यसका विरुद्ध आवाज उठाएको र बहिष्कार अभियान सञ्चालन गरिरहेको सन्दर्भमा यसलाई राष्ट्रिय पर्व, नेपालका सबै जातजातिको साझा पर्व भनेर अतिरञ्जित गर्नुको कुनै औचित्य देखिँदैन ।

हिजो राज्यले नै हिन्दू राष्ट्रका नाममा हिन्दू धर्मलाई स्वीकार नगर्ने जाति, जनजातिमाथि जबरजस्ती यो चाड मनाउन बाध्य पारेको स्थिति थियो र अहिले पनि यो चाड मनाउन कर्मचारीलाई लामो बिदा दिने, विद्यालय लामो समयसम्म बन्द गर्ने र आज अरू खस जातिइतरका चाड र पर्वलाई अति कम महत्त्व दिएर तिनलाई विभेद गर्दै आएको अवस्था र परिप्रेक्ष्यमा दसैँलाई राष्ट्रिय पर्व मान्न सकिन्न । यो नेपालको महत्त्वपूर्ण चाडमध्येको एउटा चाड भने अवश्य नै हो ।

आदिवासी जनजाति र दशैँ बहिष्कार
आदिवासी जनजातिको दशैँ बहिष्कारको आन्दोलनलाई शासक वर्गको बल मिच्याइँ विरुद्ध जनजातिहरूमा उत्पन्न प्रतिरोधको परिणाम हो, जुन अस्वाभाविक होइन।दसैँ बहिष्कार आन्दोलनलाई नेपालमा विद्यमान अरू धर्मलाई बेवास्ता गरी हिन्दू धर्मलाई राष्ट्रधर्मका रूपमा मान्यता दिने, त्यसलाई गैरहिन्दू धर्मावलम्बीमाथि समेत थोपर्ने, हिन्दूहरूले मान्ने गरेका दसैँजस्ता चाडवाड मान्न अरू धर्मावलम्बीलाई कर लगाउने, तर हिन्दूइतरका अरू धार्मिक समुदायका चाडवाडलाई भने पूर्णतया उपेक्षा गर्ने शासक वर्ग र सरकारको पक्षपातपूर्ण रवैयाका कारणले यसलाई गैरहिन्दूमा आएको स्वाभाविक प्रतिक्रिया मान्न सकिन्छ ।

सुरुमा स्वाभाविक प्रतिक्रियाका रूपमा प्रकट भए तापनि अहिले यसलाई अहम्को विषय बनाउन थालिएको छ र कतिपय अवस्थामा जातीय विद्वेष फैलाउने उद्देश्यबाट समेत यस्तो अभियान सञ्चालित देखिन्छ । यो त्यति उचित होइन । कुनै संस्कृति मान्ने वा नमान्ने भन्ने सवाल व्यक्तिको निजी मामिला हो । यसलाई करकाप र अनिवार्य विषय बनाउनु उचित हुँदैन ।

राज्यले थोपरेको समस्याका लागि साधारण मानिससँग समेत शत्रुता मोल्ने अतिवादी प्रवृत्ति पनि राम्रो होइन । शासक वर्गले जबरजस्ती आफ्नो संस्कृति अरूमाथि थोपर्ने प्रवृत्ति छाड्नुपर्छ र अरूले पनि मन परेको संस्कृति अवलम्बन गर्न पाउने अधिकारबाट कसैलाई जबरजस्ती वञ्चित गर्ने प्रयास गर्नुहुन्न ।

कुनै संस्कृति मान्ने वा नमान्ने भन्ने सवाल व्यक्तिको निजी मामिला हो । यसलाई करकाप र अनिवार्य विषय बनाउनु उचित हुँदैन । त्यस्तै राज्यले थोपरेको समस्याका लागि साधारण मानिससँग समेत शत्रुता मोल्ने अतिवादी प्रवृत्ति पनि राम्रो होइन । शासक वर्गले जबरजस्ती आफ्नो संस्कृति अरूमाथि थोपर्ने प्रवृत्ति छाड्नुपर्छ ।

धर्मनिरपेक्ष राज्यमा दशैँ राष्ट्रिय चाड
दशैँलाई राष्ट्रिय चाड भन्नु एकदमै अनुपयुक्त काम हो । धर्मनिरपेक्षतालाई शासकहरूले जति गम्भीरतासाथ लिनुपथ्र्यो त्यति लिन सकेको देखिँदैन । उनीहरू अहिले पनि परम्परागत सोचबाट मुक्त हुन सकेका छैनन् । धर्मनिरपेक्षताकोे सिद्धान्तविपरीत दशैँ जस्ता चाडवाड राज्यस्तरबाट मनाउने परिपाटी कायमै छ । अहिले पनि राज्य धर्मसित गाँसिएकै छ । राष्ट्रपति भएपछि रामवरण यादवले गरेको पशुपतिनाथको दर्शन भेट यसको ताजा उदाहरण हो ।

हिजो हिन्दू धर्मलाई राज्यको धर्म मानिएको स्थिति र आज धर्मनिरपेक्ष मानिएको स्थितिमा सबै कुरो पहिलेकै जसरी चल्ने हो भने धर्मनिरपेक्ष देश भनेर घोषणा गर्नुको के औचित्य छ ? यस्ता मानिस धर्मनिरपेक्षता भनेको राज्यले धर्म मान्ने विषयलाई व्यक्तिको निजी सरोकारको विषय मान्नु हो भन्ने मात्र ठान्ने गर्छन् ।

कुरो त्यत्तिमात्र होइन । धर्मलाई सामाजिक सम्बन्धबाट अलग्याउनु र धर्मको आधारमा कसैलाई विशेषाधिकार नदिनु पनि धर्मनिरपेक्षता हो भन्ने उनीहरूले बुझेकै छैनन् । राज्यले विश्वासलाई होइन, बुद्धि, विवेक र तर्कलाई प्रश्रय र प्रोत्साहन दिएर धार्मिक चेतनालाई अप्रासङ्गिक बनाउनु धर्मनिरपेक्षताको सार हो । तर, शासकहरू यस प्रक्रियाबाट धेरै पर देखिन्छन् । धर्मनिरपेक्षताको घोषणापछि पनि दसैँलाई बुझ्ने सवालमा उनीहरूमा खासै परिवर्तन आएको छैन ।

हिजोझैँ अहिले पनि विद्यार्थीलाई पन्ध्र दिनको बिदा दिनु, फूलपातीदेखि पूर्णिमासम्म सरकारी बिदा दिनु, कर्मचारीलाई दशैँ खर्च दिनु भनेको धर्मनिरपेक्ष घोषणा गरेर घुमाउरो तरिकाले पुरानै परम्परालाई पुष्टि गर्नु हो । अर्को अर्थमा धर्मनिरपेक्षताको खिल्ली उडाउनु हो ।

दशैँ हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड हो । यही कारण यसका अघि ‘हिन्दूहरूको महान् चाड, ‘नेपालको राष्ट्रिय चाड’ जस्ता विभिन्न खालका विशेषण लगाउने गरिएको छ । त्यसमध्ये एउटा रमाइलो विशेषण पनि छ, नेपालका राजाहरूलाई बडेमानको देखाउन गुथाइने गरेको बडा महाराजाधिराजको नक्कल गरेर निर्माण गरिएको पगरी ‘बडा दशैँ’ ।

हिजो शासक वर्गले बोल्ने भाषा भएकाले नेपालीलाई राष्ट्र भाषा भनियो । शासक वर्गले लगाउने लुगा दौरासुरुवाललाई राष्ट्रिय पोसाक भनियो । शासक वर्गले मान्ने हिन्दू धर्मलाई राष्ट्रको धर्मका रूपमा सबैमाथि थोपरियो । दशैँका सम्बन्धमा पनि यस्तै भएको छ । शासक वर्गले मनाउने चाड राष्ट्रिय चाड, अझ बडा दशैँ ।

वास्तवमा दशैँ हिन्दूहरूको सर्वाधिक महत्त्वपूर्ण चाड मात्र नभएर नेपालको शासक वर्गको सामन्तवादी संस्कृतिको सर्वाधिक महत्त्वपूर्ण आधार पनि हो ।वास्तवमा दशैँ हिन्दूहरूको सर्वाधिक महत्त्वपूर्ण चाड मात्र नभएर नेपालको शासक वर्गको सामन्तवादी संस्कृतिको सर्वाधिक महत्त्वपूर्ण आधार पनि हो ।

भौतिकवादी दृष्टिकोणबाट दसैँ भौतिकवादको आधारभूत कुरा भौतिक तत्वलाई प्राथमिक र आत्मिक तत्वलाई द्वितीयक मान्नु हो । भौतिक जगत्माथि दृढ विश्वास राख्नु हो । यसले भौतिक जगत्लाई शाश्वत मान्छ, ईश्वर वा अदृश्य शक्तिबाट बनेको मान्दैन, त्यस्तो शक्तिमाथि विश्वास पनि गर्दैन । कुनै पनि कुरालाई गतिशीलतामा र निरन्तरको विकासमा हेर्छ । यसअनुसार दशैँलाई हेर्नु नै भौतिकवादी दृष्टिकोण हो ।

तात्कालिक आवश्यकताले गर्दा चाडवाड प्रचलनमा आउने गर्छ । तर, ती आवश्यकता सधैँ उस्तै रहँदैनन् र एउटा कालखण्डमा यसरी चलनमा आएका चाडवाडहरूले अर्को कालखण्डमा आफ्नो औचित्य गुमाउँदै जान्छन् । दसैँलाई पनि हामीले त्यसरी नै लिने हो ।

परिवारको मुली, गाउँको मुली वा राज्यको मुलीको हातबाट टीका लगाउने र उसले टीका लगाउन आउनेलाई टीका लगाएर केही पैसा आदि दिने चलन आफूभन्दा बुडापाकाको वा अग्रजको सम्मान गर्नु नभएर ती मुलीसामु अरू सबैको स्थान गौण महत्त्वको छ, सबैले यस्ता मुलीहरूसामु नतमस्तक हुनैपर्छ वा झुक्नैपर्छ भन्ने जनाउनु हो । मुलीहरूको अधीनस्थतालाई स्वीकार गराउनुमै यसको मूल अर्थ लुकेको छ । यो मानवीय अस्मिता, गरिमा, गौरव र महत्त्वलाई पूर्णतया उपेक्षा गर्नु नै हो । यस अतिरिक्त जुवा, तास, लङ्गुरबुर्जा, मादक पदार्थको अतिशय प्रयोग र झैझगडा, फजुल खर्च यसका नराम्रा पक्ष हुन् । वर्षभरि भोकभोकै बस्नुपर्ने स्थिति र दसैँको बेलामा कोचीकोची खान खोज्ने मानसिकता यो पनि यसको राम्रो पक्ष होइन ।

दशैँको एउटै मात्र सकारात्मक पक्ष छ र त्यो हो, सामाजिक एवम् पारिवारिक सम्बन्धलाई सुदृढ बनाउनु । नजिक वा टाढा रहेका मानिससँगको भेटघाट र सम्बन्धको प्रगाढता यसको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । चाडवाडले यसमा संलग्न सबैमा समान विचार र भावनाबाट सूत्रबद्ध बनाउने र सहअनुभूतिबाट एक दोस्रोलाई जोड्ने काम गर्छन् । यतिमात्र नभएर अघिल्लो पुस्ताका भावनात्मक अनुभव र धारणाबाट नयाँ सन्ततिलाई समृद्ध बनाउने काम पनि गर्छन् । यो नै दशैँको सकारात्मक पक्ष हो । पछिसम्म रहने दिगो पक्ष यही नै हो ।

यसको धार्मिक पक्ष हटाएर परिवारजन, साथीभाइ, नाता–कुटुम्बबीचको भेटघाट, आमोद–प्रमोदको चाडका रूपमा अघि बढाउन सकिन्छ । हिजोआज दशैँलाई आम विपन्न नेपाली जनता दशाका रूपमा लिन बाध्य छन् । दशाका रूपमा चाडवाड मनाउनुको कुनै अर्थ छैन । अति साधारण खर्चले पनि दशैँ मनाउन सकिने चलन चलाउनु आवश्यक छ । विशेष रूपमै खानपान गर्नुपर्ने, रिन काडेर नै भए पनि राम्रा र नयाँ लुगा लगाउनै पर्ने जस्ता पक्षलाई हटाउनुपर्छ । दसौँ दिनसम्म यसलाई लम्ब्याउनुको पनि खास अर्थ छैन । लामो सरकारी बिदा दिने परिपाटी बन्द गर्नुपर्छ ।

सांस्कृतिक रूपान्तरणको वकालत गरेजस्तो गर्ने एउटा प्रवृत्तिले दशैँलाई यो धार्मिक पर्व होइन, सांस्कृतिक पर्व मात्र हो भनेर सभा–गोष्ठीहरूमा तर्क गर्ने गरेको मैले पाएको छु । यस्ता मानिस दसैँ मान्दा आफूलाई अति रमाइलो लागेको भनेर औधि हौसिएको पनि मैले देखेको छु ।

के साँच्चै दशैँ धार्मिक परम्परासित गाँसिएको छैन ? के यही अवसरमा सबैभन्दा बढी शक्तिपीठहरूमा काटमार हुन्न ? बलि चढाइन्न रु जमरा राखिन्न ? नवदुर्गाको पूजा–आराधना गरिन्न ? चण्डीलगायत दुर्गा कवचको पाठ गरिन्न ? अनि के दुर्गाको प्रसादका रूपमै टीका लगाइने होइन ? यस्ता फजुलका तर्क कथित बौद्धिक र भौतिकवादी हुँ भन्ने व्यक्तिले गर्नु हास्यास्पद लाग्छ ।
हिन्दू संस्कृतिका अनुयायीले मनाउने गरेका अधिकांश अझ भनौँ सबै चाडपर्व धर्मसँग अभिन्न रूपले गाँसिएका छन् । ती धर्मसित गाँसिएका छैनन् भनेर तर्क गर्नु विडम्बना मात्र हो ।

आमजनता र भौतिकवादी दृष्टिकोण भएको व्यक्तिले एकै तरिकाले दशैँ मनाउन सक्दैनन् । आमजनता धार्मिक आस्थाबाट मुक्त भइसकेको हुन्न भने भौतिकवादी व्यक्ति भौतिकवादमा विश्वास राख्ने सचेत व्यक्तित्व हो । पहिलालाई वैचारिक आदान–प्रदान र छलफलका माध्यमबाट धार्मिक कट्टरताबाट सुधारतिर प्रवृत्त गराउँदै भौतिकवादमा उचाल्नु पर्ने हुन्छ भने पछिल्लाले आध्यात्मिकताका, पारलौकिकताका, धर्मका सबै साङ्लालाई तोड्न सक्नुपर्छ । उसले दशैँका सन्दर्भमा धर्मसित गाँसिने सबै किसिमका चलनबाट आफूलाई पृथक राख्न सक्नुपर्ने हुन्छ ।

दशैँको एकमात्र सकारात्मक पक्ष सामाजिक सम्बन्धलाई दरिलो बनाउनु उसको उद्देश्य हुनुपर्छ । उसका निम्ति दुर्गाको प्रसादका रूपमा घटस्थापनादेखि पूजा गरिएको र उमारिएको जमरा र प्रसाद नलगाउने, दानदक्षिणामा सहभागी नहुने र सकिन्छ भने अन्य किसिमको टीकाटालो आदिबाट बच्ने, तर अन्य गतिविधिमा समाज र परिवारलाई सम्भव भएसम्म सरसहयोग गर्ने काममा सीमित रहनु उपयुक्त हुन्छ । पितृसत्तात्मक पारिवारिक सम्बन्धलाई भन्दा आन्दोलनकारी शक्ति र जनसमुदायसितको सम्बन्धलाई सुदृढ बनाउने प्रयास उसको पहिलो कर्तव्य हुनुपर्छ ।

नेपालका अधिकांश ठाउँमा दशैँको अवसरमा नाटक खेल्ने, बौद्धिक विकास एवम् जनजागरणमा सहयोग पुर्याउने र समुदायलाई मद्दत गर्नेखालका विभिन्न गतिविधि र रचनात्मक कामहरू प्रगतिशील संस्कृतिकर्मीहरूले गर्दै आएका छन् । यस्ता कामलाई निरन्तरता दिनुपर्छ र वैचारिक आन्दोलनलाई सुदृढ बनाउने काम गर्न पर्छ ।
(‘राज्य मासिक’ (असोज-कार्तिक २०६८) बाट साभार)

Comments

comments

SHARE