-राजु स्याङ्तान

याम्बुमा जान्छु त भन्यौं च्याङ्बा
के तिमी बाटो किन्न सक्छौ ?
माटो किन्न सक्छौ ?
त्यहाँ त माया किन्नु पर्छ
तिम्रो आफ्नै छाँया किन्नु पर्छ

यो चिसो सुर्जे
जसको राग लुटिएको छ
धेरै वर्ष अघि नै
उसैको धमिलो प्रकाश पनि किन्नुपर्छ
त्यो निलो आकाश
जसको अंशबण्डा गरिएको छ
धेरै वर्ष अघि
त्यो खण्डित आकाशको टुक्रा पनि किन्नुपर्छ

छ्योर्तेन र गुम्बाको लुङ्दारहरुमा
सेलो गाउन आउने
हावाको झोक्का पनि किन्नु पर्छ
के तिमी सबै सबै
किन्न सक्छौ ?

किन्न सक्दैनौ भने
सुर्ता नमान च्याङ्बा
तिमीलाई किन्नेछ याम्बुले

उस्ले किनेपछि
माग्ने छ तिम्रो मुटु
माग्ने छ तिम्रो आँखा
त्यसपछि तिम्रो जिब्रो
त्यति मात्रै कहाँ हो र
तिम्रो बख्खु, टोपी, डम्फू
अनि डम्फू माथीको चरि पनि

त्यसपछि तिमी बन्ने छौ
आधुनिक च्याङ्बा
तिम्रो नाम बन्नेछ च्याङ्
अनि बजाउने छ याम्बुले
पिपा बसेका तिम्रै
जिजुबाजेको छालाको आधुनिक डमरु
अनि तिमी
आफ्नै सपनाको मुर्दाघर बाहिर
हातमा आफ्नै अस्थिपञ्चरको टुङुना बजाएर
गाउँनु पर्नेछ गीत
‘सयौ थुङ्गा फूलका हामी
एउटै माला नेपाली’


याम्बुः काठमाडौं

Comments

comments

SHARE