असाेज २१, काठमाडाैं / तामाङ राष्ट्रको न्यायव्यवस्था सम्बन्धी विमर्श गर्दै एस.सी.अर.सी.ले १२ औं डिस्कोर्स सिरिज सम्पन्न गरेको छ । शनिबार राजधानीमा भएकाे कार्यक्रममा लेखक तथा अधिबक्ता फुर्पा तामाङले रसुवाको ठूलोभार्कू गाउँमा प्रचिलत ह्युलछोक (गाउँले सभा)लाई मुख्य आधार बनाउँदै विषयगत रूपमा अाफ्नाे प्रस्तुति राखेका थिए ।

तामाङका अनुसार इन्डिजिनिष्ट (आदिवासी) हरूका समुदाय सञ्चालनविधि आधुनिक राज्यको भन्दा छुट्टै रहेको छ । यो विधि पश्चिमाहरूले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्थापना गर्नुभन्दा हजारौं वर्ष पहिलेदेखि सञ्चालनमा आइसकेको थियो । जहाँ सरकारको रूपमा ह्युलछोक (गाउँले सभा) रहेको हुन्छ । त्यो सभाको अभ्यास इन्डिजिनिष्टहरूले आ-आफ्ना गाउँमा गरिरहेका छन् । ह्युलछोकको तोकिएअनुसार भेलाहरू बस्छन् । भेलाले मुख्यतः तीन प्रकारका कानूनहरू तोक्छन् । पहिलो ग्यालठिम (राज्यको कानून), दोस्रो ह्युलठिम (गाउँले कानून) र तेस्रो पेठिम (परम्परागत/प्रथाजनित कानून) हुन्छन् ।

इन्डिजिनिष्टहरू आफ्ना गाउँका लागि आफैँ कानून बनाउँछन् । त्यसक्रममा प्रत्येक घरमुली (वा प्रतिनिधि)को सक्रिय उपस्थिति रहेका हुन्छन् । कानून निर्माणको क्रममा धर्म (बोन र बौद्ध) साथै सामाजिक मूल्य, मान्यता, नैतिक शिक्षा र विश्वास परम्परालाई मुख्य आधार मानेका हुन्छन् । निर्मित कानूनको कार्यान्वयन तथा अनुगमनका लागि एक समिति गठन गर्दछन् । समितिको प्रमुखलाई मूलम्हि, (चोहो/मुखिया/वडाध्यक्ष) भन्दछन् । मूलम्हि नै न्यायाधीसको रूपमा रहेको हुन्छ । उनीसहितको ह्युलछोक अर्थात् गाउँलेसभालाई अदालत पनि भन्न सकिन्छ । न्यायसम्पदानको क्रममा मूलम्हिलाई चोक, डिट्टा र बुरौलीले सहयोग गर्दछन् । प्रत्येक घरधुरी ह्युलछोकको सदस्य रहन्छन् । गाउँमा सूचना जारी गर्न गराउनका लागि कुल्तेन (कटुवाल) पनि रहेका हुन्छन् ।

तामाङ गाउँको आश्यकता अनुसार ठिमहरू निमार्ण गर्दछन् । ती ठिमहरूमा अंश या सम्पत्तिसम्बन्धी व्यवस्था, स्त्री अंशधन (म्हशी वा म्हुनुर) सम्बन्धी प्रावधान, विवाह र सम्बन्धविच्छेद, धर्मपुत्र (ज जङ्बा) र घरज्वाइँ (म्हागोमा), अपुताली, भवितव्यमा ज्यान जान गएको, चोरी डकैती या अनैतिक सम्बन्ध, कुलो, पानी, साँध, सिमाना, बाली अर्मल, खर्क चरिचरन लगायतका विविध विषयहरू समाविष्ट हुन्छन् । आवश्यकता अनुसार प्रमाण बुझ्ने, जाँच गर्न तथा साक्षी बकाउन पनि सक्छन् । कसैले पनि दसी प्रमाण पेश गर्न नसकेमा किरिया हाल्न लगाउँछन् । प्रचलित व्यवस्थाको उल्लङ्घ गरेको खण्डमा दण्ड, सजाय तथा जरिवाना समेत तोकेका हुन्छन् ।

समाजमा हुँदै आएका वा हुनसक्ने आपराधिक घटना साथै सम्भावित द्वन्द्वको प्रभावकारी समाधान नै आजको आवश्यकता हो । इन्डिजिनिष्टहरूका सजाय व्यवस्था पनि पश्चिम तथा हिन्दूको भन्दा अलग्गै रहेको छ । जहाँ सजायको डर वा भय सिर्जना गरी अपराध कम गराउने भन्ने हुँदैन । हरेक अभियुक्त तथा अपराधीलाई सुधारको मौका दिन्छन् । उनलाई सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा रूपान्तरण गराउँदै सामान्य अवस्थामा ल्याउँछन् । इन्डिजिनिष्टहरूका व्यवस्थामा मृत्युदण्डको कल्पना पनि गर्न सकिन्न । मानव जीवनलाई अमूल्य मान्ने हुनाले त्यसलाई समाप्त पार्न कसैले पनि सक्तैन ।

हरेकका जीवनमा गल्ती हुन सक्छन् । कुन वा कस्तो गल्तीमा कस्तो वा कति दण्ड, जरिवाना वा सजाय गर्ने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था गरेका हुन्छन् । अपराधको गाम्भिर्यतालाई हेर्दै गाउँनिकालासम्म गर्न सक्छन् । भवितव्यमा परेर कसैका ज्यान गएको रहेछ भने ज्यान गुमाउनेका परिवारको सदस्यले सजाय दिलाउने वा माफी दिने मध्ये कुनै एकलाई छनौट गर्न सक्छन् । गाउँमा कैदी थुनेर राख्ने जेल पनि हुँदैनन् । यद्यपि सांस्कृतिक मूल्य, मान्यता; धार्मिक विश्वास तथा सामाजिक व्यवस्थाबाट सहज रूपमा सञ्चलित रहने हुनाले अपराधको मात्रा न्यून रहेका देखिन्छन् ।

तामाङले स्थानीय सरकारसँग समन्वय गर्दै परम्परागत कानूनलाई लागू गर्न सुझाव दिएका छन् । तामाङकाे अनुसार यस्ता कार्यले सम्बन्धित जाति वा समुदायले अपनत्व एवं गौरवता बोध गर्न सक्छन् । कुनै पनि जाति वा समुदायको परम्परागत कानूनी व्यवस्थाहरू मेलमिलापको दृष्टिकोणले असाध्यै उपयोगी हुन्छन् । आदिवासी जनजातिका पहिचानलाई कानूनी रूपमा नै संरक्षण गर्दै स्थापित गराउन पनि यिनीहरूका परम्परागत न्यायव्यवस्थालाई लागू गर्न गराउन सक्नु पर्दछ । त्यसैले इन्डिजिनिष्टहरूलाई नेपाल जस्तो राज्यद्वारा निर्मित कानूनभन्दा पनि उनीहरूकै कानूनी व्यवस्थाद्वारा सञ्चालन गर्नु उचित हुन्छ ।

डिस्कोर्स सिरिजको गान्बाको भूमिका भने डा. सुरेश तामाङले गरेका थिए । एस.सी.अर.सी. डिस्कोर्सले एक वर्ष पुरा गरेको छ ।

Comments

comments

SHARE