आमा
शहरमा यता
बेदनाको महोत्सब छ !
हतार र लटारपटारको
चर्को-चर्को बजार छ !!
भिडभाड छ
अनि बेताम्य लय छ
एकोहोरो-एकोहोरो मान्छेको कोलाहाल छ !!

आमा
शहरमा यता
धुलो नै धुलोको
सिङ्गो सिङ्गो ब्रम्हाण्ड छ !
धुवा नै धुवाको
एक सिङ्गो आकाशगंगा छ !
घुम्ती-घुम्तीमा
फोहोरै फोहोरको छुट्टै जगत छ !
चोक चोकमा
पाइतालाहरुको एक सिङ्गो द्वन्द्व छ !
त्यसैले आमा
शहरमा हजुरको छोरा
बेदना मुक्तिको
एक झिल्को आशा जगाएर
हिँडदैछु गल्ली-गल्ली
स्कन्ध-स्कन्ध हरुलाई केलाएर!!!

आमा
हर गोदुली साझ
गाउँ सम्झिन्छु
घर सम्झिन्छु
अनि
हाम्रो झुप्रो घरको
टुँढिखेल जत्रो आगन सम्झन्छु
याम्बु जत्रै रुपाटार जङ्गल सम्झिन्छु !!
भुकम्पको तरङ्गले
कुप्रिएको गोठे सम्झन्छु !!
आप्पाले चराई बस्नुभाको
तारे र सिन्धुरे बहरहरु सम्झिन्छु !!
आमा
गाउँमा बस्दा जे जे सम्झिन्न थिए !!
ती सबै एक एक सम्झिन्छु !
गाउँमा हुदा जे जे देखिन्न थिए !!
ती सबै एक एक स्मृतिमा सजाउछु !!
आमा
तारेभिरको जङ्गल हुँदै
बहेर आको हाम्रो आगनको
एक झोक्का अक्सिजन सम्झिन्छु!!
फापरको ढिडो सम्झन्छु
मकै को छ्याम्बा सम्झन्छु
रायोको गण्डु सम्झन्छु
तोरिको सोङ्गान सम्झिन्छु !!
अनि
पसल डाँडाको स्कुल सम्झन्छु
पोखरी डाँडाको म्हाने सम्झन्छु !!

वसन्त वसन्त
फूलको कोपिलाहरुको
चमत्कार सम्झिन्छु!!!!
हजुरको गर्भको
एक सानो थोपा
आज मै हु भन्ने सम्झिन्छु !!

आमा
एक-एक स्मृतिको पानाभित्रको
मै हुँ भन्ने मान्छे
बिहानी शितको थोपासङ्गै
कतै बिलिन हुने
मुक्तिको सागुरो
ब्रम्हाण्ड मार्ग खोज्दैछु!!
त्यसैले आमा
ब्रम्हाण्डको हर सत्वहरुको
सूक्ष्म प्राण हरुमा
केवल तपाईलाई देखेको छु !!

-वीर बल तामाङ
२०७५ असोज १६ गते मङ्गलबार
तिलगंगा अस्पताल

Comments

comments

SHARE