तामाङ समुदायकाे पक्षमा काम गर्ने संघ-संस्थाहरू देश तथा बिदेशसम्म पनि रहेका छन् । तिनै संघ-संस्थाहरूले तामाङ समुदायकाे भाषा, संस्कार संस्कृति, भेषा भूषा, कला, धर्मलार्इ संरक्षण तथा सम्बर्द्धनका लागि काम गरिरहेका छन् । भर्खरै तामाङ समुदायकै पक्षमा काम गर्ने उद्देश्यका साथ अमेरिकाकाे न्युयाेर्कमा तामाङ समाज अमेरिका गठन भएकाे छ ।
समाजले अाउँने दिनहरूमा गर्ने कार्य याेजनाहरूकाे विषयमा समाजका अध्यक्ष सानुमाया तामाङसंग नाम्सादिम डट कमका सम्पादक हिरामान बल तामाङले गरेकाे कुराकानी:

तामाङसंग गरेकाे कुराकानी यस प्रकार रहेकाे छ । 

  • नाम्सादिम डट कम मा तपाईलाई स्वागत छ  ।
    लास्सो ! थुजेछे !

  • तामाङ समाज अमेरिका भर्खरै गठन गर्नु भएको छ, यसले के के गर्छ  ?
    तामाङ समाज अमेरिका नयाँ सोच र छुट्टै कार्य शैली र सक्रियतालाई नेपाली डायस्पोरामा प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ भन्ने भावना र उद्देश्य सहित गठन भएको हो । हामी तामाङहरुको मौलिकतालार्इ प्रवर्द्धन र विकास गर्दै वृहत्तर हितको निम्ति अल्पकालिन र दिर्घकालिन कार्यक्रम सहित तामाङ समाज अमेरिका अगाडि बढ्ने छ । विशेष गरेर तामाङहरुको सशक्तिकरणका लागि हामी लागी पर्ने छौं । यसको अतिरिक्त नेपाली डायस्पोराको अस्तित्व र पहिचानलाई कर्मथलोमा स्थापित गर्न डायस्पोराको गतिविधिमा परिर्वतन ल्याउन नेतृत्वदायी भूमिकामा तामाङ समाज अमेरिका रहने छ । नेपाली डायस्पोरालाई नयाँ शिराबाट क्रियाशील गराउन तामाङ समाज अमेरिकाले आफ्नो जिम्मेवारी निभाउने छ । त्यसैले Redefining Community Activism in Nepali Diaspora भन्ने मार्ग-निर्देशक सिद्दान्तलाई आत्मसाथ गर्दै तामाङ समाज अमेरिका गठन गरिएकाे हाे ।

  • आधारहरु के के हुन् ?
    आत्मविश्वास र प्रतिवद्दत्ता नै हाम्रो आधार हुन् ।

  • तामाङ समुदायको लागि अमेरिकामा काम गर्ने अर्को संस्था हुदाँ-हुँदै तपाईहरुले किन अर्को संस्था खोल्नु भयो ?
    समय गतिशील छ र यो गतिशील समयलाई हामी तामाङ समाज अमेरिका मार्फत प्रगतिशीलता दिन चाहन्छौँ । हाम्रा गतिबिधिहरुले हाम्रो समुदाय र सिंगो समाजलाई भलाई गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । सङ्कीर्णता र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर समाज सेवा अथवा सामाजिक कार्य सम्भव हुँदैन । त्यसैले यथास्थितिवाद र जडशुत्रवादी सोचले हामी तामाङहरुलाई अगाडी बढ्नु भन्दा पनि झन पछाडि धकेल्ने परिस्थतिहरु देखिएकाले हामीले तामाङ समाज अमेरिका गठन गर्नु पर्ने अनिवार्यता देख्यौं र गठन गर्यौं ।

    तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ ।
  • उद्देश्य उस्ता उस्तै भए पछि दुवै संस्थालाई एक बनाएर अगाडि बढाउन सकिन्न र ?
    पहिलो कुरा तामाङ समाज अमेरिकाको उद्देश्यसँग ठ्याक्कै मिल्ने अमेरिकामा अरु कुनै संस्था नै छैन । सबै आ-आफ्नो उद्देश्य सहित क्रियाशील छन् । जहाँसम्म तामाङ समुदायको अन्य संस्थाहरुको कुरा छ, तिनीहरुसंग हामी हातेमालो गरेर अगाडि बढ्ने छौँ । तर, संकीर्ण र व्यक्तिगत स्वार्थमा रमाएकाहरुसंग हाम्रो सहकार्य हुन सक्दैन । निस्वार्थ र विशुद्ध रुपमा समाज सेवा गर्नेहरुसंग सहकार्य होस् या एकता गर्न हामी सधै तयार छौँ ।

  • त्यसाे भए तपाईले नेतृत्व गर्नु भएको संस्था र उत्तर अमेरिका तामाङ समाजको उद्देश्यमा के फरक छ ?
    शान्त थोकर तामाङको नेतृत्वमा २०१७ मा उत्तर अमेरिका तामाङ सम्मेलन मार्फत उत्तर अमेरिका तामाङ समाज गठन गरिएको थियो । स्थापनाकालमा त्यो समाज तामाङहरुको वृहत्तर हितलाई मध्येनजर गरेर निर्माण गरिएको थियो तर नेतृत्व परिवर्तन हुने वित्तिकै नेतृत्वकर्ताले व्यक्तिगत र पारिवारिक स्वार्थको प्रयोजनको लागि संस्थालाई नै रुपान्तरण गरेपछि अहिले त्यो संस्था निस्क्रिय र लोप हुने अवस्थामा पुगेको छ । संयुक्त राज्य अमेरिकाभरिका तामाङहरुलाई प्रतिनिधित्व गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिका अहिले क्रियाशीलका अगाडि बढार्इरहेका छाैं ।

  •  तामाङ समुदायको लागि काम गर्नु हुन्छ भनेर कसरी विश्वास दिलाउन सक्नु हुन्छ ?
    हामी कुनै भावनामा बहकिएर समुदायको लागि काम गर्छौं भनेर भनिरहेका छैनौ । हामीसंग कार्ययोजनाहरु छन् । अल्पकालीन र दिर्घकालिन कार्यक्रमहरु छन् । संस्थालाई अगाडी बढाउन मार्ग निर्देशक सिद्दान्त र मान्यताहरु छन् । अनि तामाङ समाज अमेरिकामा संग्लग्न व्यक्तित्वहरुको पृष्ठभूमि हेर्नु भयो भने तपाईलाई विश्वास लाग्ने छ हामी काम गर्छौ कि गर्दैनौं भन्ने ? तामाङ समाज अमेरिका स्थापना भएको छोटो अवधिमा पनि हामीले धेरै महत्वपूर्ण कामहरु गरेका छौं । यो छोटो अवधिको क्रियाशीलता र प्रतिवद्दतालाई तपाईंहरूले मुल्यांकन गर्न सक्नु हुनेछ ।

  • पहिलो चरणमा के के गर्ने योजना बनाउनु भएको छ ?
    हाम्रो भर्खरै प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । नव-निर्वाचित कार्यकारिणी बोर्ड हाम्रो वार्षिक क्यालेन्डर बनाउन व्यस्त छौं । केहि समयपछि हामी हाम्रो वार्षिक कार्यक्रमहरु प्रकाशन गर्ने छौं ।

  • योजनाहरु पूरा गर्नको लागि आर्थिक व्यवस्थापन कसरी गर्नु हुन्छ ?
    सदस्यता शुल्क, शुभचिन्तकहरुबाट आएको लेवी र चन्दा सहयोग नै हाम्रो आर्थिक श्रोतको प्रमुख आधार हुनेछ । भविष्यमा न्युयोर्क सिटीसंग सहकार्य गरेर स्थानीय तहमा आर्थिक श्रोत जुटाउने योजना पनि रहेको छ । अमेरिकामा रहेकाे विदेशी र नेपाली विभिन्न संघसंस्थाहरू पनि हाम्राे संस्थाकाे अार्थिक स्राेतकाे रूपमा लिन सकिन्छ ।

  • तपाईहरु अमेरिका जस्तो देशमा आ-आफ्नो ड्युटीमा व्यस्त हुनु हुन्छ ? संस्थाको कामको लागि कसरी समय ब्यबस्थापन गर्नु हुन्छ ?
    हेर्नुस् व्यस्तता सबैतिर छ । भनिन्छ नि खाने मुखलाई जुंगाले छेक्दैन । समाजको लागि केहि गरौँ भन्ने सचेत साथीहरु मिलेर आफ्नो विदाको दिनलाई सामाजिक कार्यमा हामीले लगानी गरेका छौँ । कहिले काहीँ ड्युटी सकेपछि अबेर रातीसम्म पनि साथीहरु सक्रिय हुन तयार हुनु हुन्छ । समयलाई त आफैले ब्यबस्थापन गर्नु पर्ने रहेछ । त्यसैले मान्छेले चाहियाे भने सबै काम याेजनाहरू पूरा गर्न सकिन्छ ।

  •  ल्होछार मनाउनु र नाच्नु गाउनु मै त सिमित हुन्न नि तपाईको संस्था ?
    मैले पहिले पनि भनेको छु र फेरि दोहोराउन चाहन्छु । तामाङ समाज अमेरिकाको मार्ग-निर्देशकक सिद्दान्त नै Redefining Community Activism in Nepali Diaspora हो । यहि मार्ग-निर्देशन अनुसार हामी अगाडी बढ्ने छौँ । ल्होछार पनि मान्ने छौँ तर अरु धेरै रचनात्मक कार्यहरुको सुची जसले हाम्रो समुदाय र समाजमा सकारात्मक परिवर्तन ल्याउँछ त्यो पनि हामीसंग छन् । बोल्नुभन्दा म काममा बढी विश्वास गर्छु । एक वर्षपछि कति काम गर्न सक्याे सकेन तपार्इ अाफैले समिक्षा गर्न सकिन्छ।

  • समय दिनु भयो तपाईलाइ धन्यवाद ।
    तपाई लगायत नाम्सादिम परिवारलाई हाम्रो तर्फबाट पनि धन्यवाद छ । हाम्रो संस्थाको बारेमा बोल्न मौका दिनु भएकोमा । लास्सो ! थुजेछे !!

Comments

comments

SHARE