-राजु स्याङ्तान

रानीदहमा तैरिरहेको १
रेन्जेन दोर्जेको टाउको बोकेर
२ सय ५६ वर्षपछि आज म
याम्बुको सडकमा उभिएकोछु
ए पृथ्बीनारायण !
कहाँ लुकेर दिँदैछौ उपदेश ?
सडकमा आउ
अन्तिम छिनोफानो गरौं

म मासिन्या मतवाली
गौ हत्याको आरोपमा
बेकसुर टुँडिखेलमा काटिएको
मेरो बाजेको टाउको बोकेर
तिम्रो शालिक अघि ठिङग उभिएकोछु
ए जंगबहादुर !
कहाँ लुकेर जारी गर्दैछौ
उही पुरानो मुलुकी ऐन
मैदानमा आउ
अन्तिम फैसला गरौं

भिमफेदीको उकालोमा गाडी बोक्दाबोक्दै
रगत छादेर मरेको
मेरो पुर्खाको खप्पर बोकेर
तिम्रो चिहान अघि उभिएकोछु
ए जुद्ध शमशेर !२
कहाँ लुकेर दिदैछौ आदेश ?
म तिम्रो दरबार बनाउने
ज्यामी मात्रै होइन
तिम्रो चिताको दाउरा बोक्ने
मलामी पनि हुँ
मैदानमा आउ
अन्तिम युद्ध लडौं

मैले त केवल
पुर्खाको रगतले भिजेको माटोमा
मेरो नाम मात्र लेखौं भनेको
तिमीलाई खेद्ने भनेको छैन
तिम्रो आगनमा तुलसीको मठ हुँदा
मेरो आगनमा दज्र्यू गाडौं भनेको
तिम्रो घर भत्काउँ भनेको छैन
तर तिमीले सुनेनौं

अब छाड्दिन यो माटो
लेख्छु आफ्नो नाम आफैले
आउ मैदानमा आउ
पुर्खाको अस्थिपञ्जर काँधमा बोकेर
डिङग उभिएको छु
यो मुल सडकमा


रानीदहः १ 
पृथ्वीनारायण शाहका सेना प्रमुख जयकृष्ण कुँवरले बि.स. १८१९ असोज २ गते काभ्रे तिमालका तामाङ राजा रेन्जेन दोर्जेलाई वार्ता गर्न भनि सुनकोशी किनारमा बोलायो । निशस्त्र पुगेका रेन्जेन दोर्जेको टाउको काटेर सुनकोशीमा फ्याँकिदियो । तामाङ अध्यताहरुकाअनुसार घटना थाहा पाएर रानी घटनास्थल पुग्दा राजाको टाउको नदीमा फनफनी घुमिरहेको देखिन् । त्यसपछि रानी त्यही नदिमा हाम फालेर आत्महत्या गरिन् । त्यो ठाउँलाई आज पनि रानीदह भनेर चिनिने बताइन्छ ।

जुद्ध समसेर २
जुद्ध समसेरको पालामा मकवानपुरको भिमफेदीबाट उर्दीको भरमा तामाङहरुले भोकभोकै मोटर बोकेर ल्याए । नेवार लगायत अन्य जातिलाई ३० पैसा दिए पनि तामाङहरुलाई पेटभरि खान पनि दिइएन । भनिन्छ, कति तामाङहरु गाडी बोक्दाबोक्दै रगत छादेर मरे ।

Comments

comments

SHARE