गोले केआर चालिसेली
तामाङ सभ्यताले गीत, सङ्गीत, नृत्य र नाटक विधाको पनि विकास गरेको छ । बोन, तम्बा र लम (लामा)सम्म पुग्दा यसले यी विधाहरूमा सक्तो लगानी गरेको देखिन्छ । यी विधाहरूको शुरूवात कसरी भएको थियो ? अहिले कस्तो छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । यहाँ यिनै विधाका बारेमा क्रमशः छोटकरीमा उल्लेख गर्ने जमर्को गरेको छु ।

१) गीत
       तामाङ समुदाय गीति विधामा निकै अगाडि देखिन्छ । रामेछापको भ्वाँसामा भेटिएको एउटा गीति तुक्का छ- क्लुकक्लुक नगा ख्लुप्चिवा छङ ! चालिसे नम्सा ह्वैला (ह्वाईला) झङ !! त्यस्तैगरी दार्जिलिङको पावन रोड ठेगाना उल्लेख भएको जंगवीर बोम्जन र हर्कबहादुर पाख्रिनद्वारा रचित ‘तामाङ गीद'(इ.१९६३) मा कुकुर बाँध्ने साङ्लोले ! गाई त बाँध्ने दाम्लोले !! म छोरा यस्तै भएपनि; सात दिन सात रात थुनेको ! तामाङ गीतको माम्लोले(उदृत योन्जन-तामाङ अमृतको तामाङ पहिचान सन्दर्भहरू), २०६३ : १३२) !!” भनेको पाइन्छ । यी दुर्इ तुक्काहरूले तामाङ गीतको अवस्था कस्तो रहेछ भन्ने बुझ्न सजिलो बनाएको छ । अघिल्लो तुक्कामा चालिसे नामक गाउँ चाहिँ गीतको गुँड भनेको छ । दोस्रो तुक्कामा गीत गाएकै माम्लोका कारण गायकलाई सात दिन सात रात थुनेको भनेका छन् ।

       तामाङमा मेलापात, वनजङ्गल साथै जात्रामात्रामा गीत गाउने प्रचलन रहेको छ । यिनीहरूको व्यवहार हेर्दाखेरि गीत बिना बाँच्नै नसक्ने जस्ता पनि लाग्न वा देख्न सक्छ । गीतलाई आफ्नै भाषमा ह्वै (ह्वाई) भन्ने गरेका छन् । ह्वै धेरै प्रकारका हुन्छन् । गीत कथ्नुलाई ह्वै चोम्बा वा ह्वै राSबा पनि भन्छन् । चोम्बाको अर्थ कथ्नु र राSबाको अर्थ बुन्नु भन्ने हुन्छ । भेट हुने बित्तिकै ‘… कैसल दोन्गौ सलङलङ” भन्नु यो राष्ट्रको विशेष चिनारी नै बनेको छ । यही ह्वैलाई बोन (बोम्बोसमेत), तम्बा र लामामा अलग नामद्वारा चिनाउँछन् । उदाहरणको लागि बोनले गाउनेलाई शेरप, फरप, ठुङरप/केरप र स्हेङरप आदि भन्छन् । तम्बाले गाउनेमा तम्बा गीत भन्दछन् । तम्बासँग मिल्दोजुल्दो डम्फूरे हुन्छन् । तिनले गाउनेलाई डम्फूरे ह्वैको रूपमा चिन्छन् । लामाले गाउने मोलम र छ्योई ढोSबा हुन्छन् ।

      केटा केटीका बीचमा गाउने माया पिरतीको गीतलाई भने फापरे ह्वै पनि भन्छन् । यसैलाई फाSबा ह्वै पनि भनेका पाइन्छन् । कतिपयले यस्ता गीतलाई फाल्तु गीत पनि भनेका छन् । अहिले यस गीतलाई लिएर केही गायक गायिकाहरूबीच निकै विवाद बढेको देखिन्छ । कोहीले फापरे भनेका छन् । कोहीले फाSबा त कोहीले फापरे भन्न नमिल्ने तर्क गरेका छन् । फापरजस्तै भएर फापरे भनेको हो, तर फापरलाई एक पक्षले सकारात्मक र अर्कोले नकारात्मक अर्थमा लिने गरेका  छन् । यसैले विवाद चुलिँदो क्रममा रहेको छ । केहीले भने फाSबा (सवालको जवाफ तिर्ने) गीत भनेका छन् । यस्तैमा केही स्रष्टाले भने, आफूहरूले तामाङको पहिचानमूलक अधिकार प्राप्तिका आन्दोलनका क्रममा देखिएका कुरालाई गाउँदासमेत फापरे भनेको भन्दै निकै आक्रोश व्यक्त गर्दै तामाङको साहित्यिक तथा साङ्गीतिक कार्यक्रममा गीत नगाउने समेत जनाएका छन् । उनीहरूका दावी गर्छन्, फापरे भनेर हामीलाई हेपेका छन् ।

      तामाङ गीतमा अर्को एउटा पाटोको रूपमा सेलो रहेको छ । यसको उत्पत्ति सम्बन्धमा एकमत रहेको छैन । कतिपयले सेलोलाई भाका भनेका देखिन्छन् । कतिपयले यसलाई तामाङ विषयवस्तु र लय तर शब्द चाहिँ गैर तामाङ (खस, पर्वते) भनेका पाइन्छन् । यो विषय पनि विवाद मुक्त छैन । केही विश्लेषकहरू भन्छन्, ”सेलो भनेको तामाङ भाषामा हुँदैन । तर यहाँ तामाङ भाषामा गाएकालाई पनि सेलो भनेर गलत प्रचारप्रसार गर्दैछन् ।” यसको अतिरिक्त आधुनिक गीतको रूपमा थुप्रै गीतहरू आएका छन् । साहित्यमा गजलले स्थान बनाउँदैछ । गायनमा भने साँच्चैको गजल आएको देखिँदैन । पप र रक जस्ता संस्कृति तामाङमा केही हदसम्म भित्रिएको देखिन्छ । साहित्यकै कुरा गर्दाखेरि पनि तामाङ भाषामै लेखिएको हुनुपर्ने एक पक्षीय स्रष्टाहरूको जोडबल रहेको देखिन्छ । अर्को पक्षले भने तामाङ विषयवस्तुलाई अन्य कुनै पनि भाषामा रचना गरे पनि तामाङ साहित्यको एउटा अङ्ग मान्नुपर्ने मत जाहेर गरिरहेका छन् । अझै अर्को पक्षले भने तामाङ लिपि (सम्भोटा/तामयिग) लिपिमा हुनुपर्ने साथै देवनागरी लिपिको प्रयोगमाथि बन्देज नै लगाउनुपर्ने तर्क गरिरहेका छन् ।

      यति हुँदा-हुँदै पनि तामाङ हृवैको अवस्था बिग्रिएको छैन । बरु यो त झाङ्गिँदै र मौलाउँदैछ । अझै सशक्त हुँदैछ । यसले सृष्टिदेखि जीवन संस्कार, जीवन दर्शन, तामाङ सौन्दर्यशास्त्र, मान्यता र विश्वदृष्टिकोणलाई अझै उजिल्याउने काम गरिरहेको छ । त्यसैले भएका विवादलाई समाधान गर्दै अगाडि बढ्न सके सुनमा सुगन्ध भनेझैँ हुने पक्का छ । तामाङ गीतको उत्पत्ति कहिले कसरी साथै कुन शिलशिलामा भएको थियो भन्ने प्रश्नप्रमुख हुन सक्छ । अबभने त्यतातिर अति सङ्क्षिप्त चर्चाका लागि अनुमति चाहन्छु ।

     तामाङ ह्वैको ऐतिहासिक शुरूवाती समयलाई ठ्याक्कै मिति तोकेर भन्न गाह्रो छ । यद्यपि बोनको शुरूवात पनि गीतबाटै भएको भन्ने देखिन्छ । बोन शेरप अनुसार आदिमानव म्हिए रेञ्जेन र ल छङ्बोले जिब्रोङ चरीको शिकार गरेका थिए । त्यसैलाई कतिपयले मुष्टे पनि भन्छन् । बोन आफ्नै भाषामा भने जिब्रोङ साथै ब्रोङचेनकर्पो भन्छन् । उक्त चराको शिकार गरेपछि त्यसको स्यबुर्इ बुबुर्इ दिएका थिए । त्यसरी दिने क्रममा ”स्यनी लेन्बसे स्यनिन् लेन्को ! बुनी लेन्बसे बुनिन् लेन्को ! ठानी लेन्बसे ठानिन् लेन्को ! रुनी लेन्बसे रुनिन् लेन्को ! व्यप्नी लेन्बसे व्यप्निन् लेन्को ! कङ्नी लेन्बसे कङ्निन् लेन्को ! मिक्ला लेन्बसे मिक्लन् लेन्को … !!” भन्दै फलाकेका थिए । हो; यही फलकार्इ नै पहिलो गीत भन्न सकिन्छ । यसरी मान्ने हो भने तामाङ गीतको शुरूवात भएपछि बल्ल बोनको जन्म सफल भएको थियो । भाषाको विकासको लागि पूर्वाधार बनेको थियो । यसप्रकार भाषाको शुरूवात नै गीतिलयबाट भएको अनुमान लगाउन सक्छौं ।

      बोनलाई नै बोम्बो, बोन्बो, भोम्पो, पोम्पो, झाँक्री र धामी जस्ता शब्दहरूको प्रयोग गरेका देखिन्छन् । यो साह्रै सतही तथा अध्ययन बिनाको बुझाई  हो । सबै बोन बोम्बो हो तर सबै बोम्बो बोन होइनन् । बोम्बोको समानार्थी बोन्पो हो । भोम्पो पनि हो । पोम्पो र बोन वा बोम्बोमा केही फरक हुन्छ । धामी र झाँक्रीले बोम्बोलाई केही हदसम्म बोक्छ तर बोनलाई कदापि अभिव्यक्त गर्नै सक्तैन । त्यसैले बोनलाई लबोन (लप्ताबोन, लप्ताबा, लप्थाSबा), डेबोन (झारफुक गर्ने) र अम्ची गरी विभाजन गर्नुपर्ने हुन्छ । स्मरणीय कुरा- यी बोनले गाउने शेरप, सङरप, खे’दङ र मन्त्रहरू सबै एक प्रकारको गीत नै हुन् । यस्तै भन्दाखेरि कतिपयले आपत्ति जनाउन पनि सक्छन् । त्यो वहसको विषय बन्न पनि सक्छ । बोन, बोम्बो र अम्चीले ढ्यङ्ग्रो बजाएर वा नबजाएरै गाउँछन् ।

       तम्बा गीतभित्र पनि विभिन्न प्रकार हुन्छन् । तीनमा सङसेरकेमला ह्वाई, सछ्यानमछ्याला ह्वाई, ठुङरपला ह्वाई, डम्बा स्हेङबाला ह्वाई, मोइबला ह्वाई, ने’ला ह्वाई, गन्धी छ्याबला ह्वाई,  ह्रुर्इछेन च्योप्केला ह्वाई, ह्रुर्इला ह्वाई, साथै दङ्बोला ह्वाई साथै बुद्धचित्त/ठेङा ठुङ्बला ह्वाई लगायतका बारेमा सन्तवीर लामा (पाख्रीन)ले तम्बा कइतेन व्हाई रिमठिममा समावेश गरेका छन् । परशुराम तामाङले तामाङ जाति (सामाजिक संरचना, संस्कृति, भाषा र श्रुतिसाहित्यको परिप्रेक्ष्यमा) नामक पुस्तकमा ह्रामा ह्वाई, छेवार ह्वाई,  छयुला ह्वाई, साङ्ला ह्वाई, वर सिंगार्ने ह्वाई, तम्बाला ह्वाई, म्रपठ्वाङ्बा ह्वाई, लगन ह्वाई, र कल्पला ह्वाईको शब्दसहित उल्लेख गरेका छन् । लेखक तामाङले अर्को पुस्तक ताम्बा कार्इतेनमा भने तम्बाले भन्ने ह्रामा र ह्वैहरूका बारेमा अझै विस्तृत रूपमा उल्लेख गरेका छन् ।

      उक्त कृतिमा साङह्रप, बुम्बाला कअीरन, छ्यु सीलो, सेर्केमला ह्रामा, न्हेला बुम्बा थेन बर्जाला काअीरन, न्हाम्चा नोम्पा ह्रामा, शुभ साअीतला टीका, सगुन फुल्बा ह्रामा, म्राप ठोङ्पा ह्वाअी, रति फुल्बा ह्रामा, न्हाम्चा नोम्पा ह्रामा, चारदाम फुल्बा ह्रामा, जाम्बुलीङ केवा कअीरन, म्ही ल्हुअी केवा ह्रामा, लीङ् छ्या ह्राप, टा लो डेल्बा सुरचाम, क्याप्डो, म्हेतोग तेन, म्रासीङ बुल्वा छेवा, रुअीसाङला ठीमह्राप, रुअीसाङ बाब्सा थेन फोलाला दोङह्राप, खे ङा, ताम् प्रात्पा, सगुन छ्योत्पा ह्रामा, फोलारी फुव्ला काअीरन, लगनला कअीरन, सेम खीबा काअीरन, फेटा ब्लादोबा ह्वाअी साथै डम्फू थान्दोवा ह्वाअीलाई सांस्कृतिक पाठहरू उपशीषक अन्तर्गत राखेका छन् । घेवाको बेलामा मृतकको जीवनकथामा आधारित भएर गाउने गीतलाई भने कल्पला ह्वाई भन्दछन् । यो गीतलाई समेत समेटेर स्रष्टा ङ्हेमा थाङ्पालले केह्रप, ब्रेल्साङ कल्पला ह्वाई शीर्षकको कृति नै तयार गरेका छन् । यसको अतिरिक्त मानेदोरा, साइकोले, बोम्साङ, म्हेन्दोमाया र लङतप्पा जस्ता गीतहरू धादिङ तथा रसुवा जिल्लामा निकै प्रख्यात छन् । यी गीतले वास्तविक अर्थमा तामाङको मौलिक पहिचानलाई सजीव बनाइराखेको स्पष्ट छ ।

      तामाङ समाजमा माथि उल्लेखित गरिएभन्दा बाहेकका बालगीत, प्रेमगीत, विरह गीत, पौराणिक गीत, सहासिक गीत, जीवनगाथा, विकृति र विसङ्गती विरुद्धको गीत साथै मृत्युगीत हुने गर्दछन् । यी गीतहरूका बारेमा विस्तृत अध्ययन आवश्यक भएको छ । पछिल्लो पटक– लेखक/सङ्कल रामसिंह तामाङको समयमा उत्तरी धादिङको तामाङ संस्कृति (प्रदर्शनकारी तामाङ लोक कला तथा साहित्य), दोर्जे तामाङ (बोम्जन)को दुर्इ वटा कृतिहरू ङोन्गि ह्वाई र दाङ्बो ङारी ठिम प्राशाल्बा क्षेए पनि प्रकाशित छन् । यसका अतिरिक्त प्रशस्त तामाङ तथा सेलो गीतका एल्बम तथा कृति (पुस्तक)हरू प्रकाशित छन् । साहित्यकै विधामार्फत् तामाङ भाषामा गजलले पनि प्रवेश पाएको छ । यसक्रममा यकिना अगाधको छोन्बो नाम्सा, सिर्जना गोलेको दुर्इला ऐना, र्इश्वर थोकरको पिङगार्इ, गोले केआर चालिसेलीको वलीम्हेन्दो, रिना बम्जन (बुद्ध)को खसुन्हङ्ला लनि, राम बी. लामा ‘लर्ग्यूङ’को लर्ग्यूङ्ला छोनकादे साथै सजना गोलेला चोमोलुङ्मा दङ्बा गोङ्माकदे प्रकाशित छन् ।

२) सङ्गीत
          तामाङको आफ्नै सङ्गीत रहेको छ । सङ्गीतको विविध परिभाषा तथा प्रकार पाउन सक्छौं । तामाङ भनेर चिनाउन सक्ने सङ्गीत हुनु तामाङको लागि मात्रै नभएर देशकै लागि पनि गौरवको विषय हो । सङ्गीतमा ताल, सुर र लय जस्ता कुराहरू आउने गर्दछन् । नेपाली बृहत् शब्दकोशमा १. विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वर-तालयुक्त मधुर गायन । २. नृत्य, गीत र वाद्यवादनको मेला; गानाबजाना । ३. बाजागाजा र नाच वा हाउभाउसहित गीत गाउने कला; गायन-विद्या । ४. सामूहिक गान; सहसङ्गीत भनेर प्रष्ट्याएको छ । कलाकार तथा सङ्गीतकार साथै गायक जयनन्द लामाले त ‘नेपाली सङ्गीत वर्णमाला र तामाङ सङ्गीत अनुसन्धान’ नामक कृति नै प्रस्तुत गरेका छन् ।

      सामान्यतः शब्दसहितका वा शब्द बेगरै धूनको रूपमा प्रस्तुत गरिएको वाद्यवादनीय संयोजनलाई सङ्गीत भन्दा अमिल्दो हुँदैन होला । तामाङमा पनि सङ्गीत भन्नाले शब्दसहित वा रहित हुने गरेका पाइन्छन् । सङ्गीतसँग वाद्ययन्त्रका कुरा जोडिने गर्छन् । तामाङ वाद्ययन्त्रमा के के पर्दछन् भन्ने तर्फ हेर्ने हो भने- ङ्ह (ढ्याङ्ग्रो), डम्फू र टुङ्ना नै मुख्य हुन् । तिनका अतिरिक्त मादल, ढोलक र मुरली (बाँसुरी)  पनि हुन्छन् । लामाले प्रयोग गर्ने ढ्याङ्ग्रो, ग्यललिङ, ग्यबु (झ्याम्टा), शङ्ख, घण्टी, कङ्लिङ, डमरु आदिलाई पनि बाजाकै रूपमा लिन सकिन्छ । बोम्बोले प्रयोग गर्ने गङरा र घण्टीलाई पनि बाजाको रूपमा लिन सकिन्छ ।

     वाद्ययन्त्रलाई नेपालीमा बाजा वा बाजागाजा जस्ता शब्दको प्रयोग गरेका छन् । तामाङमा भने बाजालाई ह्रोल्मो भन्ने गर्दछन् । जयनन्द लामाका अनुसार तामाङमा १३ मात्राको एक साङ्गीतिक लय विधान रहेको छ । जुन संसारभरि अहिलेसम्म कहीँ कतै पनि भेटिएको छैन । तामाङ सङ्गीत गायनको हिसाबले (गीत भनेर) बाहिर ल्याउने क्रममा आधुनिक बाजाहरूको पनि प्रयोगसहित आउने गरेका छन् । यद्यपि बोनको बाजा र तिनको साङ्गीतिक पाटोलाई हेर्ने हो भने, स्हिवा र ठोवाको लयविधानमा फरक देखिन्छ । देउता वा शक्तिको प्रकृति अनुसार उसको गायन तथा वाद्यवादनमा फरक आउने गर्छ । लामामा पनि समय अनुसार फरक धून सुन्न सक्छौं ।

       सङ्गीतसम्बन्धी तामाङको आफ्नै विश्वदृष्टिकोण तथा विश्वास रहेको पाइन्छ । सोहीअनुसार साउनमा विशेषतः बोम्बोले बोम्बो गाउने तथा ढ्याङ्ग्रो बजाउने गर्दैनन् । लामाले फुक्ने शङ्ख तथा कङ्लिङको फुकाईले कुन अवस्था भन्नेतिर पनि इङ्कित गरेको हुन्छ । त्यसैले परिवेश, परिस्थिति अनुसारको धून वा लयविधानमा आधारित हुन जरुरी मान्छन् । जाडो याममा मुरली (बाँसुरी) समेत फुक्तैनन् । फुकेमा- जाडोबाट ज्यान बचाउनका लागि जमीनमुनि पसेका जीवजन्तुले सुन्छन् र समय भएछ भनी बाहिर निस्कन्छन् भन्ने जनविश्वास रहेको छ । यदि त्यसरी असमयमा मुरली फुकेमा प्राणीहरूको अकाल मृत्यु हुने हुनाले हत्याको दोष लाग्छ भन्छन् । मुरलीलाई तामाङ आवाजमा ‘मोराली/पुली’ भन्छन् ।

       तामाङले बाँसको मादल तथा ‘ठेमठेम’ पनि बजाउने गरेका पाइन्छन् । ‘ठेमठेम’ विशेषतः बाँदर तथा स्याल, बिरालो र मलसाप्रो आदि लखेट्नका लागि आवाज दिनेक्रममा प्रयोग गर्दछन् । यसलाई पनि तामाङको मौलिक बाजाको रूपमा लिन सकिन्छ किनकी गाउँघरतिर बारीको डीलामा यसैको तालमा दिन बिताउनुपर्ने हुन्छ । त्यतिखेर बालबालिकाहरूले तामाङ लवज र लयविधानतः जानीनजानी ठेमठेमको प्रयोग गर्छन् । चरा धपाउन/लखेट्न होस् वा बाँदर, दुम्सी र बनेँल भगाउन होस् । निरन्तर बजाउँदै त्यसैमा लीन भएका हुन्छन् । त्यसको अर्थ ठेमठेमले पनि सङ्गीतको काम दिएको हुन्छ । गीतसँगै सुसेल्नु पनि एक किसिमले सङ्गीतको निर्माण गर्नु नै हो । तामाङले ‘फ्युपु’ भन्ने गरेका सुसेलाईमा पनि धेरै प्रकार अर्थ हुन्छन् । त्यस्तैगरी चराहरूको आवाजको नक्कल गर्नु, पात (पाउलो) बजाउनु पनि तामाङको मौलिक पहिचानसँग जोडिएर आउने गरेको छ । यिनै ठेमठेम, सुसेलाई र पाउलो सङ्गीतको बारेमा पनि व्यवस्थित अध्ययनको पाटो उदाङ्गो रहेको छ ।

       आधुनिकतासँगै तामाङमा पनि मौलिक सङ्गीतको पाटोले केही क्षति व्यहोर्न बाध्य भएको देखिन्छ । आधुनिक वाद्ययन्त्र तथा नयाँ नयाँ विधाहरूको प्रवेशले झनै घाउमा खाटो लाग्न दिनुको सट्टा उत्काएर कोट्याउने काम गरेको छ । बाह्य हिप्पीदेखिका अनेक संस्कृतिले तामाङलाई पनि गाँजेको स्पष्ट छ । कतिपय देशहरूमा सामाजिक वहिष्करणमा पर्दै आएका तथा शोक र उटपट्याङ सङ्गीतलाई पनि बुझ्दै नबुझी प्रवेश गराउने काम भएको छ । एवंरीतले सङ्गीतमा प्रयुक्त वाद्ययन्त्र र तिनको आवाज (धून/स्वर) कस्तो हुनुपर्छ ? कतिसम्मको आवाज हुनुपर्छ ? कुन अवस्था वा कुन रोगीले कस्तो खाले सङ्गीत सुन्न हुन्छ वा हुन्न ? भन्ने बारे वैज्ञानिक अध्ययन अत्यन्तै जरुरी देखिन्छ ।

तामाङ वाद्ययन्त्रमा कुनको आवाजले के राम्रो र नराम्रो गर्छ भन्ने बारे वास्तै गरेका छैनन् । कुन बाजाले हाम्रो मन, मस्तिष्क साथै मुटु, कान र बाह्य वातावरणलार्इ कस्तो गर्छ ? कुन चाहिँ अनुपयुक्त छ ? अनुपयुक्तलाई कसरी उपयुक्त बनाउने वा छोड्ने भन्ने सम्बन्धमा पनि अध्ययन बिना अघि बढ्नाले खासै राम्रो हुने विश्वास गर्न सकिन्न । सङ्गीत थेरापीको पक्ष त झनै टाढा रहेको देखिन्छ ।

३) नृत्य
          तामाङ समाजमा गीतसङ्गीतसँगै नृत्य पनि रहेको छ । तामाङ नृत्यको कुरा गर्दा आधुनिक गीतमा आधारित नृत्य भन्ने मात्रै सोच्नु हुँदैन । नृत्य गर्नुलाई तामाङ भाषामा ‘स्यबा’ पनि भन्छन् । यसैलाई बोनले तेSमा र लामाले छ्यम पनि भन्ने गरेका छन् । तम्बाले पनि तम्बा स्यबा नै भन्ने गरेका छन् । यही शिलशिलामा ”बोम्बोला तेSमा ! लमला छ्यम् !!’ पनि भन्ने गर्दछन् । अहिले तामाङ नृत्य भन्ने बित्तिकै केही रङका बुट्टासहितको अनौठो फ्रकजस्तो लगाउने गर्दछन् । रमाइलो कुरा त उक्त ड्रेस तामाङका कोही कसैले लगाउँदैनन् यद्यपि यो तामाङ नाचको लागि नभई नहुने जस्तो भएको छ । यस सम्बन्धमा पनि तथ्य अध्ययनको जरुरी देखिन्छ ।

   आधुनिक गीतमा अनेकन नाचलाई तामाङ गीतसङ्गीत र नृत्यका स्रष्टा कलाकारहरूले प्रयोग गरेका देखिन्छन् । तामाङको बोन नृत्यलाई हेर्ने हो भने बोनले ल स्होबा बेला मात्रै पनि अनेकन तेSमाहरू हुन्छन् । तिनमा देउता, बोलाउने, जगाउने, थन्काउने क्रम अनुसार फरक हुन्छन् । बिमारीको उपचारको बेलाको नृत्युमा पनि अनुनयविनय गर्ने, फकाउने, फुल्याउने साथै मन्साउने हुन्छ । त्यस्तै नकारात्मक शक्ति रहेछ भने फकाई फुल्याई बोलाउँछन् र सक्तो धुल्याएर लखेट्छन् वा सातसमुद्रपारि सुख्खा बगरमा पुर्‍याउँछन् वा साततला धर्तीमुनि पुग्नेगरी भसाउँछन् । त्यतिखेर स्हिवाको मात्रै नभएर आवश्यकता अनुसार रौद्ध र ताण्डप नृत्य नै देखाउन पनि बोम्बो पछि पर्दैनन् ।

    लामाको नृत्य निकै सजिसजाउका साथ हुने गर्दछन् । पूजा, देउकुल साथै मृत्युसंस्कारहरूमा परिस्थिति अनुसारका अनेक नाच हुने गर्दछन् । ती नाचहरूलाई लमला छ्यम भन्ने गर्छन् । विशेषतः घेवाको बेला झ्युङ्बा लगायतका अनेकन नाच नाच्छन् । ती  नाचले मृतकको चित्तलाई आफूले चाहेको स्थानमा राख्ने, अन्य दुष्टशक्तिबाट बचाउने र त्यसक्रममा दुष्टशक्तिहरूलाई तर्साउन पनि छ्याम गर्दछन् । लामा नृत्यमा लामाका बाजागाजासहित सामूहिक नृत्य बढी हुने गर्दछन् । त्यसक्रममा अनेकन डे्रसको साथै भक्पाहरूको बेजोड प्रयोग गर्दछन् । कतिपय अवस्थामा नृत्य गरिरहेको लामा को हो भनेर चिन्न नसकिने हुन्छ । मुख छोपिएका वा रङ्ग्याएका पनि हुन्छन् ।

     तम्बा नाचको पनि आफ्नै महत्त्व रहेको छ । यो नाच बोन/बोम्बो र लामाको भन्दा नितान्त फरक हुन्छ । यसमा डम्फू र टुङ्नाको प्रयोग गर्छन् । यसमा स्हिवा र ठोवाभन्दा पनि मनोरञ्जनको पाटो बढी हुन्छ । डम्फूको तालमा गीत गाउँदै अति हल्का तरिकाले कम्बर मर्कार्इ मर्कार्इ नाच्छन् । यसमा साना नानीबाबुदेखि ८४ वर्ष वृद्धले पनि लामो समयसम्म निरन्तर नाचिरहन सक्छन् । यसको पनि आफ्नै विधि संस्कार साथै नियमहरू रहेका छन् । यस नाचको बारेमा धावावाङ्गेल मोक्तान र खोजराज गोलेले संयुक्त रूपमा सानो आलेख लेखेका छन् । यो नृत्यले तम्बालाई बोन र लामाभन्दा अलग संस्था हो भन्ने प्रमाणित गरेको पनि देख्न सकिन्छ । दक्षिण-उत्तरी भेगका तामाङमा भने म्हेन्दोमाया, मानेदोरा लगायतका गीतमा गरिने नृत्य निकै चर्चित रहेका छन् ।

४) नाटक
          तामाङमा नाटक पनि रहेको देखिन्छ । यसलाई   ‘चेमा’ भन्ने गरेको लेखक अजितमान तामाङको तर्क रहेको छ । तामाङले तामाङ चेमा शीर्षकमा एक कार्यपत्रसमेत लेखेका थिए । उक्त कार्यपत्र तामाङ साहित्य सम्मेलनको बेला प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा क) ग्यामी ग्याल्बो थेन गोर्खाअी ग्याल्बोकी चेमा (चीनिया र गोर्खाली राजाको नाटक), ख) डोवा, तेन्गीकी चेमा (बँदेल, मृगको नाटक), ग) कीर्बा या कीराल्बाकी चेमा (शिकारी र शिकारको नाटक), घ) थारसाथेनकी चेमा (यार्साबासीको नाटक), ङ) मेक्तुङ चेमा (मुरकाट्टाको नाटक), च) जोगीकक्ष्चेमा (फीरी लाउन आउने जोगकिो नाटक), छ) डाब्ला चेमा (खुकुरी तथा तरबार सम्बन्धी नाटक), ज) म्योबा म्हीकी चेमा (दिमाग बिग्रेको मानिसको नाटक), झ) मार्ची चेमा (अश्लिल नाटक), ञ) लाहुरेकी चेमा (पल्टने सिहाहीको नाटक), ट) लामाअी सोअीनामकी चेमा (लामा सोअीनाम गर्दाको नाटक), ठ) बोम्बोकी लासोलकी चेमा (बोन्बो देव आराधनाको नाटक), ड) ह्या गोदेबाकी चेमा (याक गोठालोको नाटक) साथै ढ) स्हीब्दा चेमा (याक गोठालोको नाटक) भनेर उल्लेख गरेका छन् ।

      साहित्यको विधागत रूपमा भन्ने हो भने नाटक विधा एकदमै कम मात्रामा रहेको छ । साहित्यकार विश्वनाथ योञ्जनले ल्होछारसम्बन्धी नाटक लेखेका र मञ्चन पनि भएको देखिन्छ । त्यस्तैगरी लेखक रवीन्द्र तामाङले पनि एकाङ्की नाटक गैर तामाङ भाषामा लेखेका र मञ्चन भएको देखिन्छ । सञ्चारकर्मी तथा लेखक प्रतीक ङेसुरले पनि ‘मुग्लानरी’ नामक नाटक लेखेका र मञ्चनसमेत भएको बताउँछन् । तामाङ बोन, लामा र तम्बाले आफ्नो प्रस्तुतिको क्रममा अभिनय पनि गर्दछन् । त्यसैलाई एक अर्थमा नाटक भन्न सकिन्छ ।

समाप्त

कुनै जिज्ञासा वा गुनासा भएमा
email : [email protected]
Mobile No. 9841370353

Comments

comments

SHARE