-बाबुराम फ्युवा

ऐतिहासिक पृष्ठभुमि :
तामाङ समाज आफ्नो संस्कार तथा सामाजिक परम्पराहरुलाई तम्बा, लामा, बोम्बो, चोहो, गुर्वा, पोम्पो र लप्ताबाहरुका नेतृत्वमा चलाउने गर्दछ । नेपाल एकिरणपुर्व विभिन्न राज्यहरु थिए । जहा तामाङ राजाहरुले राज्य गरेका थिए । ती तामाङ राज्यहरुमाथि बाह्य जातिको गिद्देनजर पर्न थाल्यो । त्यसपछि सल्यानकोट, ज्यामरुङ र सेमजोङ जस्ता राज्यहरु तामाङ जातिले गुमाउन पुगे । तापनि गोलजोङ नाल्दुङ, तिमाल, बेतिनी र ककनीका तामाङ राजाहरुले पृथ्वीनारायण शाहको विरुद्ध लडेका थिए । त्यसपछि तामाङ जातिलाई शत्रुको दृष्टिकोणले हेर्न थाले । तिनीहरुले तामाङ जातिलाई सकेसम्म दुःख दिन थालेको पाइन्छन । शासकहरुले यस जातिलाई दबाउन थाले ।

वि. सं. १९३८/१९४२ तिर राज्यको दवाव विरुद्ध सैनिक विद्रोह पनि गरेका थिए । तल्कालीन दमन सहन नसकी धेरै तामाङहरु दार्जिलिङ र सिक्किम लगायतका स्थानतिर बसाई सरेका देखिन्छन । आफुहरुमाथि दमनकै कारण नेपाल र तिव्बतको युद्धमा तामाङ समुदायले नेपाली शासकहरुलाई असहयोग गरे । परिमाणतः तिव्बती सेना बेत्रावतीसम्म आइपुग्न सफल भएका थिए । त्यसैले बेत्रावती सम्झौता भयो । सम्झौतापछि भने म्याङयुलका केही तामाङ भु भाग तिव्बतलाई सुम्पिदै तामाङ समुदायलाई कमजोर बनाएका पाइन्छन ।

तामाङ राज्यहरु खोसेपछि सवै भन्दा अगाडिदेखि बस्दै आएका काठमाडौं उपत्यका, धादिङ सत्यदेवीको मनेच्यात जस्ता स्थानका तामाङ समुदायमाथि पनि कुटिल तरहले विस्थापित पार्ने क्रम चलाए । त्यसपछि तामाङलाई हली तथा नोकर बन्न बाध्य तुल्याए । त्यसरी बाहिराबाट आएका जातिले आफ्नो उठीबास लगाउन थालेपछि केही जुझारु युवाले भने समय समयमा स्थानीयस्तरमा सानातीना विरोधहरु गर्न थालेको थिए तर त्यस्ता विद्रोहिहरुलाई फकाएर वा धम्काएरै दबाउन थाले । विद्रोही स्वभावका युवाहरु आफ्नै बासस्थान छोडेर अन्यत्रै जान बाध्य भए । त्यसपछि आफ्नैमा रमाउने तामाङ जातिका मानिसहरु फिरन्ते अर्थात एकै पुस्तामा तीन ठाउमा घर बसाई सर्दै अर्काे ठाउ हुदै आएका बाहुनहरुका फन्दमा सजिलै पर्न थाले । नक्कली तमसुकको व्याज र स्याज रुपी पासोमा पर्न थाले । यस्ता भुमरीमा परेकाहरुले विस्तारै तथ्य कुरा बुझ्न थाले र तन्ततः त्यस्ता अत्याचारको विरुद्ध भित्रभित्रै सल्किरहेको आगो विद्रोहमा परिणत हुन थाल्यो ।

शाणा शासनको अन्त पश्चात बनेको नेपाली राजनैतिक वातवरणले नेपालको आदिवासीहरु मध्ये तामाङहरु बढि नै चेपुवामा पारेका देखिन्छन । त्यस्तै भरत शमशेर नेतृत्वमा गठित बीर गोरखा दलले काठमाडौं लगायत आसपासका जिल्लाहरुमा नाङगो खुकुरी नचाउदै लुटपाट मच्चाउन शुरु गरेको थियो । त्यसको प्रत्यक्ष असर तामाङ समुदायमा पर्न गयो किनभने काठमाडौंको वरिपरि तामाङको बसोबास थियो । त्यही बीर गोरखा दलको नाम नै खुकुरी दलबाट प्रख्यात भएको थियो । वि.सं. २००४ सालदेखि २०१७ पौष १ भित्र देखिएको नेपाली राजनीतिक तरलताको फाइदा उठाउदै गाउका साहु शोसकहरुले राम्रै चलखेल गरेका थिए ।

यस्तै उक परिघटनावीच हाको धादिङ जिल्ला सत्यदेवी गाउ विकास समितिको खनीयवासबाट क्रान्तिको जन्म भएको थियो । त्यस क्षेत्रमा रिजाल, आर्चाय र सिङखडाहरुका आगमन पुर्व घले राजाको राज्य थियो । प्रमाण रुवरुप ऐतिहासिक गोम्बोङगोङ र ङारचेत जोङ दरवारलाई लिन सकिन्छ । ती राज्यहरुका अस्तित्वलाई पृथ्वीनारायण शाह र उनका पुर्खाहरुले मेटाए पनि तामाङ समाज संचालन प्रकृया आफ्नै परम्परागत शैलीको थियो । पछि प्युठान हुदै नुवाकोट तुल्चेबाट रिजालहरु खनियाबासमा आए । रिजालहरुको अत्याचारले सीमा नाध्न थालेपछि खनियाबास क्रान्तिको जन्म भएको थियो ।

त्यस क्रान्तिलाई कम्युनिष्टहरु पश्चिम १ नं. को कृषि क्रान्ति भन्न रुचाउछन । नेपाली काङ्ग्रेसले भने खनियाबास आन्दोलन भनेको छ । धेरैले पश्चिम १ नं. नुवाकोट क्रान्ति पनि भन्ने गरेका छन किनभने त्यसबेला खनियाबास नुवाकोट र रसुवामा थियो । त्यसैलाई स्थानीय जनजिब्रोमा १७ साको आन्दोलन भन्ने गरेका पाइन्छन । अतः नाम जे जस्तो भए पनि अन्तमा यो क्रान्ति सामन्ती शोषण र दमन विरुद्धको युद्ध थियो । कुनै पनि विद्रोहको जन्म त्यतिकै हुदैन । त्यसमा ऐतिहासिक काल चक्रको ठुलो भुमिका रहन्छ । विद्रोह भनेको चिज एकै रात वा दिनमा हुदैन अनि शान्ति स्थापना पनि हुदैन । अतः १७ सालको आन्दोलन नामले प्रख्यात क्रान्तिको पछाडी पनि धेरै अदृश्य र अलिखित तर महत्वपुर्ण घटना क्रमले भुमिका खेलेका पाइन्छन ।
क्रान्तिको कारक तत्वहरु
 सल्लाको ठुटो काण्ड
२ दामन पाख्रीन र मीत दाइको हुक्काको नली 
३ सेके तामाङलाई चोरको आरोप 
४ रिजाल परिवारबाट काजीमानको बारीको मकै लुटपाट 
५ परबु काण्ड 
६ बाहुनको विवाहमा विभेद 
७ तमसुक च्यात्ने अभियान आदि ।
बाहिराबाट आएका रिजालहरुले कति सम्मका दमन गरेको रहेछन भन्ने प्रमाण माथिका बुदाहरुबाट पनि बुझ्न गाह्रो पर्दैन । तत्कालीन समाजको दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राख्ने घास दाउरामा समेत रिजालहरुले हैकम थियो । स्थानीय दार्खा र गोम्बोङका तामाङहरुले कुहिएर जाने सल्लाको ठुटो तास्न जादा समेत पिट्ने र मुद्दा लगाउने गरे । त्यसैले पनि तामाङ समुदायको मनमा विद्रोहीभावको जन्म गराएको देखिन्छ । सल्ला तामाङ जातिको जन्म देखि मृत्यु संस्कारको लागि आवश्यक विरुवा हो । सल्ला तत्कालीन अवस्थाको अध्यारोमा प्रयोग गरिने एउटा मात्रै बैकल्पिक साधन पनि थियो । त्यस्तो दैनदिन आवश्यक पर्ने सल्लाको ठुटो समेत प्रयोग गर्न नदिइ स्थानीय तामाङ समुदायलाई प्राकृतिक स्रोत र साधनमा बञ्चित गराएका पाइन्छन ।

मथिका उल्लेख भए अनुअनुरुप आदिवासी तामाङ समुदायलाई प्राकृतिक स्रोत साधनमा वञ्चित गराउने, उनीहरुका सामन छोएमा वा खेलेमा पिट्ने सम्मको विभेद, चोरको आरोप लगाएर पिट्ने मुद्दा लगाउने र मुद्दामा तोकिएको पैसा तिर्न नसके बलजफति तमसुक गर्ने जस्ता दमनबाट तामाङ आदिवासीसित आन्दोलनमा होमिनुको अर्काे विकल्प पनि थिएन ।

क्रान्तिको राजनैतिक पक्ष:
जब दामन पाख्रीन र सेके तामाङ गलायतलाई लुटपाट काण्डमा पक्राउ गरि थुन्यो, तव थुनिएकाहरुलाई छुटाउन भनि काजीमान र छेजु तामाङले विपि कोइराललाई भेट्न पुगे । त्यसबखत विपि ले नै काङ्ग्रेस बनेमा मात्रै जेलबाट छुटाउने भनेपछि तिनीहरुले काङग्रेसको सदस्यतासमेत लिएका थिए । जेलमा थुनिएको अवस्थामै उदयनाथ पण्डितले दामन पाख्रीनलाई काङ्ग्रेशबारे जानकारी दिइसकेको थियो । त्यसपछि विपि ले नै आफ्ना मन्त्रीमण्डलको गृह उपमन्त्री देवानसिङ राइलाई शान्ति सम्झैत ागर्न पठाएको थियो । यस शान्ति सम्झैतामा रिजालहरुलाई क्षतिपुर्ति बापत चितवनमा जग्गा प्रदान गर्ने र दामन पाख्रिन लगायतका बन्दिहरुलाई मुक्त गर्ने सम्झौता भएको थियो । सम्झैता भएपछि २०१७ साल पौष १ पछिको राजनैतिक परिवर्तनलाई दामन, काजीमान र सेके तामाङ लगायतलाई पुनः सोही काण्डमा राजनैतिक स्थान पाएको देखिन्छ ।

त्यस लुटपाटमा नेतृत्व गरेको आरोपमा काजीमान, सेके र दामन लगायतलाई ५५००००० को विगो भराउ मुद्दा लगाई काठमार्डौं लगियो । उनीहरुलाई छुटाउन गाउबाट करिब २०० जना महिला पुरुषहरु काठमाडौंमा जुलुस सहित आएका थिए । जेलमा बस्ने क्रममा दामन उदयनाथ पण्डितको संगतले काङ्ग्रेस निकट हुन पुगेको थियो । त्यसैले जुलुसको नेतृत्व काङ्ग्रेस समर्थक शैलाजा आर्चायले गरेकी थिइन । जुलुसमा राजा र पञ्चायत विरोधी नारा चर्किन थालेपछि सवैलाई नियन्त्रणमा लिएका थिए । छानविन पछि रुपसी, योजोम र छर्केुललाई तिन तिन महिना र लालमायालाई १८ महिना थुनामा राखिएको थियो । यस प्रकार नेपालको जातिय विभेद र शोषणको जीवित उदाहरण खनियाबास क्रान्ति पाइन्छ । यस बारेमा विस्तृत खोज अनुसन्धान गरि दस्ताबेज तयार गर्नुपर्ने देखिन्छ ।

विशुद्ध शोषक र शोषितबीचको क्रान्तिको माध्यान्तरपछि राजनैतिक रङ दिएको पाइन्छ । क्रान्तिको स्वरुप र रङ जे जस्तो भएपनि स्थानीय शोषित समुदायले मुक्तिका खातिर क्रान्ति गरेका पाइन्छ । क्रान्तिको नेतृत्व प्रदान गर्ने व्यक्तित्वहरु काङग्रेसको निकटता देखिनाले काङग्रेसलाई विपक्षहरुले लुटाहा पार्टी भन्ने र समर्थकहरुले शोषकको पञ्जाबाट मुक्त गराएको भन्नेर मान्दछन । देवसिंह राईको उपस्थितिमा सम्झौता भएपनि केही मानिसहरु सम्झौतादेखि असन्तुष्ट भएका थिए । असन्तुष्ट भएपछि छेजु तामाङ र तुलबहादुर तामाङको नेतृत्वमा मार्पाकतिर पुनः लुटपाट मचाउन थालियो । तत्कालिन पञ्चायती सरकारले पक्राउ गरि विद्रोहीहरुको हत्या गरेका थिए । यसरी पश्चिम १ नं. को क्रान्तिको सिलसिलामा छेजु तामाङ र तुलबहादुर तामाङले शाहादात प्राप्त गर्न पुगे तर अझैसम्म पनि अन्यायको विपक्षमा उभिएका विद्रोहीहरुलाई कसैले चिन्न सकेका छैनन । यस्ता व्यक्तित्वहरुको बारेमा खोज अनुसन्धान हुनुपर्ने देखिन्छ ।

१ शोषक र शोषित बीचको चरम अबस्थाले नै क्रान्तिको सृर्जना गर्दछ । 
२ क्रान्तिको ऐतिहासिकतालाई राज्य र सम्बन्धीत संघ संस्थाहरुले महत्व दिनुपर्ने देखिन्छ । 
३ त्यस्तो विषम परिस्थितिबाट गुज्रेको बाहुन र तामाङको क्रान्तिपछि पनि मिलेर बसेको अबस्थालाई उदाहरणको रुपमा लिन सकिन्छ । 
४ क्रान्तिपछि त्यस क्षेत्रमा काङग्रेसको सदस्यता विस्तार भएको पाइन्छ । 
५ त्यस बेला पनि लालमाया र अन्य महिलाहरुले काठमाडौंसम्म आइ आन्दोलनको नेतृत्व लिएका पाइन्छ । 
६ ढोके कामी जस्ता दलित समुदायको सक्रिय सहभागिता भएको पाईन्छ ।

(दार्खा निवासी लेखक त्रिविबाट समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह पास गरि विभिन्न संस्थाहरुमा आवद्ध रहि तामाङ जातिको बारेमा विगत दशकदेखि खोज अनुसन्धानमा लागिरहनु भएको छ ।)

Comments

comments

SHARE