११ जनवरी, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)ले नुवाकोट जिल्लाको भूकम्प प्रभावित म्हानेगाङमा तामाङ सामुदायिक भवन निर्माण गर्नका लागि तीन लाख चालीस हजार पाँच सय अट्तीस रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरले चार दशकदेखि तामाङ समुदायको भाषा, धर्म, संस्कृति, इतिहास र पहिचानका विषयमा खोज, अध्ययन र अनुसन्धान गर्दै आउनुभएका प्रोफेसर क्याथरिन एस मार्चको अभियानलाई थप उर्जा दिनका लागि टिएसएले आर्थिक सहयोग गरेको बताए ।

अमेरिकको कोर्नेल विश्वविद्यालयकी प्राध्यापक क्याथरिनले तामाङ समुदायको बाक्लो बसोबास रहेको रसुवाको सीमानामा पर्ने नुवाकोट जिल्लाको म्हानेगाङमा तामाङ सामुदायिक भवन निर्माणका लागि आवश्यक रकम जुटाउन अभियान थालेकी थिइन । गाउँमा भूकम्प प्रतिरोधी सामुदायिक भवन निमार्णको कार्य भइरहेको प्रोफेसर मार्चले बताएकी छन् । स्थानीय संघ संस्थाको सहयोगमा गाउँलेकै सहभागितामा निर्माणको परियोजना अघि बढाइएको उनले बताइन ।नेपाली बुलेटिन

SHARE