-नाम्सादिम संवाददाता

काठमाडौं । प्रेस काउन्सिल नेपालले समाचारको स्रोत नमाग्न नेपाल प्रहरीलाई चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई काउन्सिलको कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न प्रेस काउन्सिले चेतावनी दिएको हो ।

अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनीहरुलाई पत्र नकाट्न एसएसपी धानुकलाई सचेत गराइएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । ‘यस्तो काम अबदेखि नगर्न भनिएको छ,’ श्रेष्ठले भने । श्रेष्ठका अनुसार पत्रकारमाथि त्यस्तो कुनै जानकारी लिनु परेमा प्रेस काउन्सिलमार्फत गर्न भनिएको छ ।

तत्कालिन डिआइजी तथा लतिलपुर १ का सांसद नवराज सिलवालको विषयमा छापिएको समाचारबारे प्रहरीले पत्र काटेपछि प्रेस काउन्सिलले सोमबार काठमाडौंमा प्रहरी प्रमुख धानुकलाई बोलाएर यसबारे छलफल गरेको हो ।

सोमबार बिहान एसएसपी धानुकसहितका प्रहरी अधिकृतलाई बोलाएर प्रेस काउन्सिलले छलफल गरेको हो । छलफलमा एसएसपी धानुकका साथमा अनुसन्धान अधिकृत डीएसपी बेलबहादुर पाण्डेसमेत उपस्थित थिए । विभिन्न अनलाइन पत्रिकाका सम्पादकहरुलाई समाचारको स्रोत माग्दै लेखिएको पत्रमा डीएसपी पाण्डेको हस्ताक्षर थियो ।

प्रहरी अधिकारीहरुसँगको छलफलमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सूचना विभागका महानिर्देशक वीरबहादुर राई, नेपाल बार एशोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्य लगायतको उपस्थिति थियो ।

पूर्वडीआइजी नवराज सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गरेको बताएको हुनाले ती अनलाइनसँग स्रोत मागिएको छलफलका क्रममा प्रहरी अधिकारीहरुले जवाफ दिए ।

गोप्यरुपमा रहनुपर्ने कार्यसम्पादन मूल्यांकनको सक्कलप्रति नै आफूहरुसँग छ भनेर अनलाइनहरुले लेखेपछि उनीहरुमाथि अनुसन्धान गर्नुपरेको प्रहरी अधिकारीले छलफलमा बताएका थिए । तर प्रहरीले समाचार नै नलेखेको अनलाइन र पत्रिकालाई समेत पत्र काटेको छ । प्रहरी अधिकारीले दिएको जवाफमा प्रेस काउन्सिलका पदाधिकारी एवं नेपाल बारका प्रतिनिधिले कुनै पनि हालतमा पत्रकारसँग समाचारको स्रोत मागेर पत्र काट्न वा उनीहरुलाई हाजिर हुन बोलाउन नमिल्ने सुझाव दिएका छन् ।

‘प्रहरीले यसरी समाचारको स्रोत मागेर पत्र लेख्नु संविधानको धारा १९ विपरीत हुन्छ,’ छलफलपछि कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, ‘प्रहरीको यस्तो कार्य संविधान र प्रेस कानूनको समेत विपरीत हुने भएकाले हामीले प्रहरीलाई यस्तो कार्य नगर्न भन्यौं ।’

अबदेखि अनलाइन पत्रकारहरुलाई त्यसरी पत्र नकाट्ने र आवश्यक परेमा प्रेस काउन्सिलमार्फत् सम्पर्क गर्ने विषयमा प्रहरी अधिकारीहरु सहमत भएको श्रेष्ठले जानकारी दिए ।

SHARE