काभ्रे, २२ पाैष । ३ नम्बर प्रदेशको राजधानी काभ्रेलाई घोषणा गर्न माग गर्दै शनिवार बनेपामा दवावमुलक रयाली निकालिएको छ । जिल्लाका सबैदलहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको दौरानमा आफ्ना घोषणापत्रमार्फत काभ्रेलाई प्रदेश नम्बर तीनको राजधानी बनाउन पहलगर्ने प्रतिवद्धता जनाएका थिए ।

सरकारले हतार हतार प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको सन्दर्भमा बैज्ञानिक,व्यवहारिक र भौतिक संरचनाको दृष्टिले काभ्रे प्रदेशको राजधानी उपयुक्त हुने दावी गर्दै दवाव अभियान थालेको प्रदेशसभा सदस्य चन्द्र लामाले जानकारी दिनुभयो ।

यसअघि क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेको संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुखलगायतको टोलीले अनुगमन गरी बनेपानजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरि पठाएको थियो ।

प्रदेशको राजधानी काभ्रेमा नै किन ?
३ नम्बर प्रदेशमा रहेका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका जिल्लाको सिमाना काभ्रेसँग जोडिएको छ । दोलखा, रसुवा, धादिङ, चितवन र नुवाकोट पनि दुरीका हिसाबले नजिक छन् । काभ्रेमा पर्याप्त आधार र पुर्वाधारहरु छन् ।

चीन जोड्ने अरनिको राजमार्ग र भारत जोड्ने वीपी राजमार्गको मिलनबिन्दु काभ्रे हो । भक्तपुरदेखि धुलिखेलसम्मको सडकलाई ६ लेनमा विस्तार गर्ने प्रकृया अघि बढिसकेकोले राजधानी काठमाडौंसम्मको दुरी २५ मिनेट मात्रै हुनेछ । विशेष आर्थिक क्षेत्र (सेज) काभ्रेको पाँचखालमा स्थापना गर्न सरकारले अन्तिम तयारी थालेको छ ।

देशभरमा उत्कृष्ट पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोटमा पर्याप्त पर्यटकीय पुर्वाधार तयार छन् । प्राकृतिक छटाले भरिपुर्ण महाभारत श्रीखंला डाँडापारी भेग,तामाङ सभ्यताले भरिएको तेमालमा पर्यटकिय पदयात्रा तथा होमस्टे सेवा छन् । वुद्धको पुर्व जन्मथलो नमोवुद्ध, एतिहासिक कामीडाँडाको लोेभलाग्दो चियावगान जस्ता ठाउँले पनि पर्यटकको ध्यान जाने गरेको छ । सुचना प्रविधी पार्क, बहुप्राविधिक महाविद्यालय लगायतका संरचना छन् ।

धुलिखेलमा शिक्षा क्षेत्रको लागि चर्चित काठमाडौं विश्वविद्यालय र दक्षिण एशियामा नै ख्याती कमाएको धुलिखेल सामुदायिक अस्पताल सहितका ४ अस्पताल जिल्लामा छन् । मध्यपुर्वि क्षेत्रमै यातायात सेवाको लागि चर्चित काभ्रे प्रदेश ३ का सबै जिल्लाको मध्यभागमा पर्छ । कृषि तथा पशुपालनमा पनि काभ्रे अग्रणी जिल्ला हो । दुध उत्पादनको हिसाबले पहिलो र तरकारी उत्पादनको हिसाबले दोस्रो जिल्ला काभ्रे हो । पर्याप्त आधार र पुर्वाधार भएको काभ्रे जिल्लालाई प्रदेश नं ३ को राजधानी बनाउदा सम्पूर्ण जिल्लावासीले गौरव गर्नेछन् , अन्य १२ जिल्लाले पनि सहजता पाउनेछन् । नमाेबुद्द 

SHARE