-सन्दर्भ : टोपी दिवस

  • जगत तामाङ

    कान थापेर सुनिदेऊ दाजु रितीथिती विग्रेर गईसक्यो,
    मादलु र डम्फु दुवैमा माकुरोले जालोनै लाईसक्यो…

दुई दशक अघि गाउँमा ज्यो ज्यो फूलमान र ङिमा ज्योज्योहरुले साँस्कृतिक कार्यक्रमहरुमा खुबै गाउँदै हिडेका थिए, राजन राईको यो गीत । उतिबेला एक कक्षामा पनि भर्ना नभएको मलाई यो गीतको आसय केहि थाहा थिएन । अचेल तिनै गीतको सम्झना बेस्सरी आउँछ । ती गीतका हरफहरु केलाउदै तिनै गीतमा डुब्न पुग्दछु ।

यी गीतका हरफमा उनिएका शब्द र तिनका भावमा जुन प्रकृतिको चिन्ता व्यक्त गरिएको छ, त्यसले हामीमा उत्तिकै उर्जा पनि भरिदिन्छ । उत्तिबेलै ज्योज्योहरुले खबरदारी गरेका रहेछन्, पाश्चात्य संस्कृतिको चेपुवामा हाम्रो समाज पनि पर्दैछ भनेर । यो गीत आज झनै सान्दर्भिक लाग्छ, नयाँ प्रविधि र यो युगसामु हामी निसर्त लम्पसार भईदिदा देखिएको समाजको विकृत रुप र तिनकै मोहमा डुबुल्की मार्दा-मार्दै गुमाउदै गएको हाम्रो मौलिक जीवनको चिनारी के होला ? यहाँनेर आएर आज हामीले वहस गर्नैपर्ने हुन्छ ।

विहान सवा ५ बजे, मेरो आँखा म सुत्ने पलाङको देब्रेपट्टिको भित्तामा पुगेर टक्क अडियो जहाँ मैले हरेक बर्ष ल्होछारताका लाउने बज्र अंकीत् कुलागी (टोपी) थियो । जुरुक्क उठें, नित्यकर्म सकेर त्यही कुलागी ढल्काउदै अफिस आईपुगें । फेसबुक लगईन् गरें । अंग्रेजी सम्वत्लाई गर्वका साथ अनुशरण गर्ने, विदेशी सांस्कृतिक पर्वहरुमा जीवन फुलेको महसुस गर्नेको जमात बढ्दो छ अचेल । उनीहरु तर्क गर्छन् ‘यो ग्लोवलाईशनको जमाना हो, बेलाको बोली नबुझे पछि परिन्छ ।’ सुत्ने कोठाको भित्ताभरि पेङदोर्जे, ह्रिनजेन, जंगवीर र पारिजातका तस्बिरहरु हैनन्, म्याडोना, क्याट्रिना जस्ताको अर्धनग्न ठुला–ठुला पोष्टरमा आफूलाई गर्विलो महसुस गर्छन् ।

आज नयाँ अंग्रेजी संवतको पहिलो दिन, अर्थात जनवरी फस्ट !

विगत दुई वर्षयता केहि नेपाली युवा यो दिनलाई नेपाली मौलिकतामा ढाल्न कम्मर कसेर लागेका देखिन्छन् । यो पाली पनि यहि दिनलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउनुपर्ने तर्क अघि सार्दै देशभर आ–आफ्नै किसिम्ले कार्यक्रम गर्ने ध्याउन्नमै देखिन्थे । गत वर्ष भन्दा अझ यो पाली तिनीहरु ठुलै जमातमा खुबै तामझामका साथ दौरासुरुवाल र शिरमा ढाका टोपी ढल्काउदै औपचारिक कार्यक्रमहरुमा सहभागिता जनाउने र सामाजिक सञ्चालका भित्ताभरि ‘ह्याप्पी टोपी दिवस’ भन्दै तिनै पोशाकमा ठाँटिएका फोटाहरु पोष्ट गर्ने तयारीमा थिए ।

विहान सवा ५ बजे, मेरो आँखा म सुत्ने पलाङको देब्रेपट्टिको भित्तामा पुगेर टक्क अडियो जहाँ मैले हरेक बर्ष ल्होछारताका लाउने बज्र अंकीत् कुलागी (टोपी) थियो । जुरुक्क उठें, नित्यकर्म सकेर त्यही कुलागी ढल्काउदै अफिस आईपुगें । फेसबुक लगईन् गरें ।

‘ह्याप्पी न्यु इयर् !’

मेरा शुभचिन्तक, आफन्तजनका यिनै शब्दगुच्छहरूसंगै अडियो, भिडियो सामाग्रीहरुले सजिएका म्यासेज्हरु देखें । मेरा आँखालाई ती सन्देशहरुले पटक्कै खिच्न सकेकनन् । बरु गर्वका साथ ‘टोपी दिवसको शुभकामना’ भन्दै तिनै कुलागी ढल्काउदै खिचेका फोटाहरु पोष्ट गरें । अनि फेसवुकका भित्ताहरुमा आँखा डुलाउन थालें, कोही टोपीवालाहरुको टोपी सहितको फोटाहरु पोष्ट भएको कतै देखिएन ।

सबैले आत्मसम्मानपुर्वक शिर ठाडो पार्न र यो मुलुकलाई साँच्चिकै साझा फूलबारी बनाउन के अब ती थन्किएका कुलागीहरुलाई बाहिर निकाल्न पर्दैन ?
त्यही वखत् गायिका निर्माला घिसिङले हिजो सबैरै पोष्ट गरेको स्टाटस्मा पुगेर कम्युटरको माउस् एकाएक रोकिन पुग्यो । तिनमा लेखिएको थियो– ‘खै !! एस्पाली चुच्चे टोपी लाएर फेसबुकमा फोटो पोस्ट्याँउला भन्ने कत्रो ठुलो प्लान थियो । प्रतीक्षाको अन्तिम घडीमा सबै सपना चकनाचुर भयो, अनिकालको पैसो नि खेर गयो बाबै !!!!’

यो स्टाटस् पढि नसकिदै नोटिफिकेशनको घण्टी टिङ्ग बज्यो । हतारिदै खोलें, आफ्नै टोपीवाला फोटोसहितको स्टाटस्मा कमेन्ट आएको रहेछ, तिनै गायिका निर्मला घिसिङको । उल्लेख थियो– ‘ह्याप्पी टोपी दिवस्’ । पहिचानका गीत गाउने उनै गायिका घिसिङले तामाङ पहिचानको सम्मान गर्दै जनाएको प्रतिक्रियाप्रति मैले पुनःप्रतिक्रिया जनाईहालें–‘थुजेछे गायिका ज्यु ।’

त्यो स्टाटस् पोष्ट गरेको केहि मिनेटमा तामाङ सञ्चारकर्मी कृतिका घलान्, केहि घण्टापछि आदिबासी अभियन्ता एवं सञ्चारकर्मी तिर्थमान बल, हिरामान बल हुँदै आदिबासी मौलिक संस्कृतिका चिन्तक नानीमाया योञ्जनसम्मको फेसवुकवाल पनि कुलागी सहितको फोटाहरुले रंगिसकेछन् । सायद यहाँनेर उनिहरुले आफुलाई भेटटए, फुलेको महसुस गरे । तामाङ आदिबासीहरुमाझ आफुले मनाउने ल्होछार (नयाँ वर्ष) कहिले हो भन्नेमा स्पष्ट पार्न नसक्ने, विवादित कुराहरु अघि सार्दै विभाजन ल्याउनेहरुका लागि यो गतिलै झापड हुन सक्ला ।

हामीलाई राम्रोसँग थाहा छ– यो मुलुक बहुजातिय, बहुसाँस्कृतिक, बहुभाषिक, बहुधार्मिक देश हो । यद्यपी अझै परम्परागत सोचाई र तिनको सुसुप्त तर खतरनाक अभ्यासबाट हामी स्वतन्त्र भईसकेका छैनौं । हजारौं वीर–वीरङ्गनाहरुको बलिदानबाट प्राप्त संघीय गणतन्त्रात्मक मुलुकमा केहि जत्थाद्धारा स्वघोषित राष्ट्रिय पोशाक वा राष्ट्रिय टोपी दिवस्को औचित्य के ? के हामी सांस्कृतिक प्रतिगमनतिर लम्किरहेका छौं ? संघीय गणतान्त्रिक मुलुकमा यो कस्तो खाले चेतना हुर्काउन खोजिएको हो ?

मस्तिष्कमा अझै प्रश्नहरु ठडिएका छन्– कत्तिञ्जेल तामाङ आदिबासी जनजातीको सांस्कृतिक सभ्यताको प्रतीक बज्र अंकीत कुलागीलाई हीनताबोधको शिकार बनाइराख्ने र दराजमा थन्क्याइरहने ? सबैले आत्मसम्मानपुर्वक शिर ठाडो पार्न र यो मुलुकलाई साँच्चिकै साझा फूलबारी बनाउन के अब ती थन्किएका कुलागीहरुलाई बाहिर निकाल्न पर्दैन ?

आउनुस्, सगर्व सजाऔं शीरमा आफ्नै कुलागी !

अनिमात्रै केही होला की ? !!

SHARE