• -बिक्रम सुब्बा
                 
    कुनै छलकपटको चिसो योजना थाल्न हो कि
    या कुनै झुप्रोको छातीमा सर्दी हाल्न हो ?
    शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि
    या कुनै गुराँसको कलकलाउँदो थुंगा अँठ्याउन हो ?
    आफ्ना केही सुकिला भारदार हिमाल लस्करै राखेर
    सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
    पहाडैपहाडको घुइँचो घारीमा
    सबैभन्दा माथि उछिट्टिएर फक्रेको
    हिमालको थुंगा उदांगै देखिन्छ
    जताबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ !

प्रायः कुनै आरोहण दलको
पाइतालाले शिरमा टेकेको देखिन्छ
कहिले कुनै अह्राइएका चित्रकारले
एक टुक्रा क्यानभासमा लेखेको देखिन्छ
बादलको थोत्रे बक्खु पनि फाटिसकेको
गौरवको बिचरो चुचुरो ह्वांगै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नांगैं देखिन्छ !

बुद्धको खप्परबाट सापटी लिएर दुइटा आँखा
स्तूपहरूमा टाँसेर गुम्बाहरू हेरिरहेछन्–
विदेशीको भरौटे भएका सपूतहरू
स्वदेशी डोकोमा विदेशी झन्डा बोकिरहे छन् नेपाली
चुचुराको सिउँदोमाथि फर्फराउन
ढुक्कै विदेशी झन्डा उक्लिरहेका छन् झोक्रिएर बसेको
गो हिमालय
विवश र उदांगै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ !

  • रूढ विम्ब भत्काउँदै

सगरमाथा परम्परागत रूपमा नेपाली भूगोलको भौतिक उचाइभन्दा बढी एक भावनात्मक उचाइ हो। तर, यो भावुकताको गहिराइ वा भावनात्मक उचाइ यथार्थभन्दा पर ढोंगग्रस्त शासकीय सोचको आविष्कार हो।

  • श्यामल

नेपाली प्रगतिशील गीत, संगीत र कवितामा सम्पूर्ण जीवनका महत्वपूर्ण ऊर्जासम्पन्न कालखण्ड पार गरेका विक्रम सुब्बाको चर्चित कवितासंग्रह ‘सगरमाथा नांगै देखिन्छ’ आजभन्दा चौंतीस वर्षअघि प्रकाशित भएको थियो, जसको भूमिका उद्भट नेपाली माक्र्सवादी समालोचक गोविन्द भट्टले लेखेका थिए। त्यति बेला विक्रमले आफ्ना कवितामा यथास्थितिविरुद्ध धावा बोल्ने आक्रामक शैली अंगीकार गरेका थिए। उनले लेखेका कविता मिथक वा प्रतीकले पुरिएर गन्जागोल पारिएका पूर्वज कविका कविताका पछिल्ला संस्करणजस्ता नभएर पृथक् शैली र स्पष्ट भावबोधका थिए। त्यसैले ‘सगरमाथा नांगै देखिन्छ’ विक्रमको चौथो दशकको सर्वाधिक लोकप्रिय थोरै कवितासंग्रहमध्ये एक बन्न पुगेको थियो। मलाई लाग्छ, ‘सगरमाथा नांगै देखिन्छ’ कवितासंग्रह र अन्य किताबमा समाविष्ट कवितामध्येमा पनि ‘सगरमाथा नांगैं देखिन्छ’ कविताले उनको कलाचेत, चिन्तन परम्परा र काव्यशैलीको प्रतिनिधित्व गर्न सक्छ।

‘सगरमाथा नांगै देखिन्छ’ धेरै अर्थमा उनको सबैभन्दा महत्वपूर्ण कविता बन्न पुगेको छ, जसले सगरमाथा नामको भावनात्मक उचाइमाथि प्र्रश्न उठाएको छ। त्यसको अर्को रूप र भिन्नै अर्थको अन्वेषण गरेको छ र जड परम्पराको भावनात्मक साङ्लोमा जकडिएको तर त्यसबाट मुक्त हुन चाहने पाठकका लागि यो एक उल्लेखनीय कविता हो।

लयसमृद्ध लिम्बू संस्कृतिको जाय भएकाले होला अथवा गीतसंगीत रचना र अध्ययनमा समेत लिप्त भएर होला, विक्रम लयसचेत कवि हुन्। एक आत्मकथ्यमा उनी भन्छन्, ‘नबुझी बाँच्ता मात्र जीवन आकर्षक हुन्छ, परिभाषाले बाँधेर कविता नबुन्नू, नत्र कविताबाट लय उप्कन्छ, लयबिना कवितै बेलायक (नालायक ? ) बन्छ।’ र, यस वक्तव्यले उनको काव्य मान्यताको पर्दा उघार्छ। अर्थात् विक्रम सुब्बाका कविता आन्तरिक लयमा मात्र होइन, बाह्य लयमा पनि सिर्जिएका हुन्छन्। ‘सगरमाथा नांगै देखिन्छ’ कविताको हरेक अनुच्छेदको अन्त्यमा र हरेक हरफको अन्त्यमा देखिने अनुप्रासले पनि उनलाई लयात्मक गद्यकविका रूपमा चिनाउँछन्। डा. जंगब चौहान ठिकै भन्छन्, ‘विक्रम सुब्बाका अनुभूति उद्गारमा रहस्यवादिता र प्रतीक विम्बको कुनै अमूर्त सञ्जाल छैन… कविताको लयगत संरचनामा पनि उनी निपुण छन्।’

सगरमाथा परम्परागत रूपमा नेपाली भूगोलको भौतिक उचाइभन्दा बढी एक भावनात्मक उचाइ हो। तर, यो भावुकताको गहिराइ वा भावनात्मक उचाइ यथार्थभन्दा पर ढोंगग्रस्त शासकीय सोचको आविष्कार हो। यहाँनिर सगरमाथा एक प्रतीक हो त्यस सोचको अथवा एक विम्ब हो आडम्बरको। शासकहरूको शक्ति संरचनामा अह्रौटे कलाकार प्रयोग गरेर यस्ता कलात्मक आडम्बरहरूको निर्माण गरिन्छ र शासनमा त्यसको अहम् भूमिका हुन्छ, जसलाई सचेत कलाकर्मीहरूले भत्काउँछन्। यस कवितामा सगरमाथालाई नांगै देख्नु आडम्बरको त्यही भत्काइ हो। जतिसुकै गौरव–मण्डन गरे पनि सगरमाथालाई कविले नांगैं देखेका छन् : प्रायः कुनै आरोहण दलको पाइतालाले शिरमा टेकेको, कहिले कुनै अह्राइएका चित्रकारले एक टुक्रा क्यानभासमा लेखेको, बादलको थोत्रे बक्खु पनि फाटिसकेको गौरवको बिचरो चुचुरो ह्वांगै देखिनु। यसअघि उदाहरणका लागि, घन्टाघरको बनिबनाउ विम्बलाई लाहुरेसँग दाँजेर भूपि शेरचनले भत्काइदिएका थिए।

सगरमाथाको यो विम्ब नक्कली उचाइको, असत्यको छद्म गौरवको विम्ब। त्यसैले कविले सगरमाथाको त्यो परम्परागत विम्बलाई भत्काइदिएका छन्। शासकीय मूर्खताको केही अन्य विम्ब (प्रायः कुनै आरोहण दलको पाइतालाले शिरमा टेकेको देखिनु, कहिले कुनै अह्राइएका चित्रकारले एक टुक्रा क्यानभासमा लेखेको देखिनु र वरिपरिका गुम्बाले बुद्धबाट आँखा सापटी लिएर हेर्नु) का माध्यमबाट त्यसको छद्मतालाई नंग्याएका छन्। एक साँचो कवि रूढ विम्बहरू भत्काउँछ र वस्तुगत सत्यलाई नयाँ ढंगले परिभाषित गर्छ। आफैंसँग प्रश्न गर्दै पाठकलाई आफूसँग हेल्नु र गूढ सत्यबोध गराउनु कवि विक्रम सुब्बाको काव्यकलाको निजीपन हो। र, त्यो निजीपन ‘सगरमाथा नांगै देखिन्छ’मा स्पष्ट देखिन्छ। अन्नपूर्ण

SHARE