-कृष्णभूषण बल

सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो
उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो
फगत एउटा न्याउरो सहर मुर्दाहरूको घुइँचो बोकेर विक्षिप्त छ
फगत रित्ता पाइलाहरूको फोस्रो पदचापमा सडकहरू मौन छन्
इतिहास त्यहीँ रह्रयो

हामी त्यहीँ रह्रयौँ
खोलाहरू ब्युँझिएका छन् वा निदाएका छन्
थाहा पाउन हामीले अगुल्टो चोर्यौं
पहाड–बेँसी सुतेका छन् वा ब्युँझिएका छन्
थाहा पाउन हामीले सहरहरू चहार्यौं
जब राम्ररी थाहा पायौँ, हामी बगिसकेका थियौँ
जब राम्ररी थाहा पायौँ, हामी पहिरोमा परिसकेका थियौँ
इतिहास त्यहीँ रह्रयो
हामी धेरैपछि सर्यौं।

सुगौली सन्धिको डाम बोकेका हामी
भीमसेनको लासले घाट नपाएको देख्ने हामी
सतीले सरापेका हामी
एउटा चिसो आकाश ओढेर बालेको दियो कहिलेसम्म बल्न सक्छ
अरुणको गडतीरमा परेका रूखहरू के ठेगान कहिले लस्कन्छन्
भर्खर–भर्खर बिहानीको डाक लिएर बासेको भाले स्यालले भुत्ल्याइ सक्यो
भर्खर–भर्खर मिर्मिर लिएर डाँडामा देखिएको घाम, जसलाई घामले छोपिसक्यो
भूगोलले त यसै पनि ठगेकै छ
इतिहासलाई स्वयम् हामीले ठग्यौँ।

SHARE