-आङबाबु शेर्पा /न्युयोर्क अमेरीका

बौद्ध धर्मवलाम्बीका विभिन्न समुदायले महान चाडको रुपमा मनाउँदै आएको लोसारको आगमन भएको छ । विभिन्न समयमा फरक नामले लोसार मनाउँदै आएपनि खी ल्हाे लोसारको आगमान भने सन् २०१८, फेबु्रअरी महिनाको १६ तारिखबाट हुने भएको छ । यसै दिनदेखि २१४५औ खी ल्हो अर्थात कुकर वर्षमा प्रबेश हुनेछ । धार्मिक तथा ऐतिहासिक परम्पराअनुसार हरेक वर्ष धुमधामका साथ मनाउँदै आएको ल्होसार तिब्बती चन्द्रमासको पात्रो अनुसार मनाउदै आएको छ । यो पात्रोमा ३ सय ६० दिनभित्र पृथ्वीले सुर्यको एक फन्को पुरा गरि अर्को फन्काको नयाँ सुरुवातलाई ल्होसार अर्थात नया वर्ष फेरिएको मानिन्छ ।यही नयाँ साल फेरिएको खुसीयालीमा विजय उत्सब मनाउदै रमाइलो गरी लोसार मान्ने प्रचलन छ । बौद्धधर्मको तिब्बती ज्योतिष शास्त्रमा आधारित भएतापनि यो सम्बत् सम्पूर्ण मंगोल मुलका साझा पात्रो मानिन्छ । बुद्ध धर्मको कालचक्र, ज्योतिष शास्त्र,चीनको नक्ची ज्योतिस शास्त्र, भारतको कर्ची ज्योतिस शास्त्र अनुसार तयार परेको हुनाले यो पात्रो ज्यादै प्रभावकारी मानिन्छ । हाम्रो पुर्खौली बोन धर्म र अज्ञात धर्ममा आधारित परम्परागत पाँच शक्तिहरुमा १.लह(आत्मा) २.सोक(जीवन) ३.लु(शरीर) ४. ओङथङ(व्यक्तिगत शक्ति) र ५. लुङ्गता(बायु घोडा) विधि समेटेको पाइन्छ । यो पात्रोले प्रकृति पूजा सम्बन्धी सम्पूर्ण तिथि मिति र शुभ साइत समेत प्रस्ट निकाल्ने गरिएको छ ।

बौद्ध धर्मवलाम्बीका विभिन्न समुदायहरुले लोसार चाड मनाउने क्रममा ग्याल्पो,सोनाम र तोला गरि फरक फरक तिथिमा मनाउदै आइरहेको छ । फरक फरक नामले ल्होसार मनाए तापनि सबैको मूल उद्देश्य भनेको पुरानो बर्षलाई बिधाई गरि नयाँ बर्षलाई स्वागत गर्नु नै हो । शाब्दीक अर्थमा ग्याल्पो भनेको (राजा ) र लोसार भन्नाले नया वर्ष हो र तिब्बतको पहिलो राजा न्याठी चेङपोको गद्दी आरोहण गरेको तिथीलाई मुल आधार मानी गनणा गर्ने कार्यलाई निरन्तरता दिने क्रममा ग्यल्पो लोसार भनी नामाकरण गरिएको बुझिन्छ । त्यसै गरि सोनाम (कृषक ) ले मान्ने लोसार कृषकहरुको फुर्सदको समय अनुकुलतामा मनाउने चलन रहेको छ । त्यस्तै तोला (नोवागी) कुनै बालिको नोवागी खाने चलनलाई भनिन्छ । स्मरण रहोस नाम फरक भएपनि भुटानदेखि मंगोलिया सम्मा यो पात्रोको अनुसरण गरेको पाइन्छ । यसै पात्रोको आधारमा जन्म ,मृत्यु ,शुभ ,असुभ , खाम , लोर्ता,लगन देखि पूर्व जन्म र अर्को जन्ममा कहॉ केको कोखमा जन्मिने छ भनेर चिना हेरिने गरिन्छ ।

अहिलेसम्म विभिन्न समुदायले यी तीन किसिमको लोसार मनाउँदै आइरहेको हामी सबैले देखेका छौँ । जो जस्ले जसरी ल्होसार मनाएपनि फरक नाम र तिथिमा लोसार मनाउनु हुने समुदायलाई मेरो के अनुरोध छ भने तपाईहरु पहिचान र जातीय दम्बको कारण मात्र चाड मनाउदै आएको हो ? यदि बिना ज्योतिष पात्रो अनुसार यस्तो फरक फरक मनाउने कार्यले निरन्तर पाइरहेमा अबको भाबी पुस्तालाई निकै ठुलो अन्याय हुने ठम्याई मेराे रहेको छ । तसर्थ यदि शेर्पाले ग्याल्पो त्याग्ने, तामाङ र ह्योल्मोले सोनाम त्याग्ने र गुरुङले तोला त्याग्ने र पात्रोको आधारमा सबैले साझा लोसार (नया वर्ष ) नामाकरण गरी अनुसरण गर्दा उचित देखिनेछ ।

इतिहासकारहरुका अनुसार बौद्धधर्मवलाम्बीले मनाउदै आएको तीनवटै लोसारको उत्तिकै महत्व भएको तर वर्ष परिवर्तनसँगै मनाउने लोसार भने ग्याल्पो लोसार नै भएको भनाइ रहेको छ । बौद्ध अनुयायी मध्ये महायानी धर्मशास्त्रले दिएको तिथिमिति अनुसार पनि ग्याल्पो लोसार नै साल फेरिएको हो भन्ने पुष्टि गरेको छ । मुलुकको राजनितिक परिवर्तनसंगै अब देशमा धेरै जनसंख्या भएको बौद्धमार्गीको यो नयाँ वर्ष अब राष्ट्रिय पर्वको रूपमा ग्याल्पो लोसारलाई मनाउनु पर्ने देखिन्छ ।

 

यो साल फेरिने क्रममा पात्रो अनुसार २१ सय ४५ वर्ष पूरा भएको छ तर सोनाम ल्होसार मान्दै आएको तामाङ लगायत अन्य समुदायहरुले २८ सय ५४ वर्ष अघि झिंवा लोमा जतिखेर चीनको एक पहाडमा पहिलो पटक मञ्जु श्रीले ला (वर्ग) परम्पराको विषयमा धर्म देशना गरेको तिथिलाई सोनाम लोसारको संबत परिवर्तन हो भनी लोसार मान्दै आएको इतिहासकारहरुको भनाइहरु रहेको छ । तर इतिहास केलाएर हेर्ने हो भने यो सम्बत् ४७ सय १६ पुगेको दाबी गर्छन् भने केहीले यसलाई मञ्जुश्री जन्म भएको दिनको रुपमा मान्दै आएको भएपनि यो कुनै ज्योतिष शास्त्रमा प्रमाण भेटिएको पाइदैन ।

हाम्रो पुर्खाहरुले वोन धर्ममा आधारित हिउदमहिना धुप धुवर गरि प्रकृति पुजा गर्ने प्रथा थियो तर सातौ शताब्दीदेखि बुद्ध धर्म अंगिकार गरेकाले सन् ६१७ मा तत्कालिन तिब्बती राजा पुद्दे गुन्गेयले बुद्ध धर्ममा आधारित पात्रो विकास गर्ने क्रममा यस धुप पर्बलाई लोसार चाडमा संयोजन गर्नु भएको थियो र सन् १०२७ देखिमात्र तिथि मिति युक्त पात्रोको शुरुवात भएको हो भनि इतिहासमा उल्लेख गरेको पाइन्छ । स्मरण रहोस यो ग्यल्पो लोसार बुद्ध धर्ममा आधारमनी तयार परेको पात्रो भएकै कारण भुटान र मंगोलियाले यो पात्रो अनुसरण गर्दै आइरहेको छ । सन् १२०६ देखि १२९४ सम्मा मंगोलियाले आधा बिश्व कब्जा गरेको थियो तर यो पात्रो अनुसरण गर्ने बिषयमा कुनै फेरबदल गरेको थिएन ।

 

कसैले हाम्रो लोसार र चिनियाहरुको नया वर्ष एउटै हो भनेर भन्छन् तर चिनिया नया वर्षा बुद्ध धर्मसंग सम्बन्धित नभई स्प्रिंग फेस्टिवल मनाउने पर्वको बिकसित रुप मात्र हो जुनदिन उनीहरुले आफ्नो दिवंगत पुर्खाहरुलाई सम्झने गर्दछ ।
लोसार कुनै जाति विशेषको इच्छामा जतिखेर पायो त्यतिखेर नै नया साल फेरिएको भनेर मनाउनु उपयुक्त देखिदैन । तिथि अनुसार परिवर्तन हुने मितिले नया वर्ष जनाउने हुँदा ल्होसार कहिल्यै पनि जाति विशेष हुन नसक्ने दाबी इतिहासकारहरुको रहेको छ । हामी वीच धार्मिक तथा सास्कृतिक पहिचान जे छ त्यही अनुसार लोसार मान्नु सबैको लागि उपयुक्त हुनेछ । विश्वभर मानिदै आएको लोसारलाई परिवर्तन गर्नु र पहिचान भन्दै जातिगत रुचिको आधारमा मनाउदै जानु हामी बौद्ध धर्मावलम्बीहरुको लागी राम्राे होइन । तिथि नबुझि लोसार मान्ने होइन लोसार शब्दलाई समेत जानी जानी भत्काएर ल्होछार लेख्दै आएकाे देखिन्छ ।

लोसार मनाउने तरिका
लोसार आउन अगावैदेखिन घरमा अन्नको रस (डिछयाङ) पकाउनुको साथै लोसारको विशेष परिकार खाप्से बनाउने गरिन्छ । लोसार लाग्न तीन दिन अघि छेवा ङिसुगु २९ औ दिन घर सरसफाई गरि बेलुकी परिवारका सदस्यहरु बीच गुथुक खाने चलन छ । गुथुकमा नौ ९ प्रकारका गेडा गुडी ,सागसब्जी राखेर पकाउने गरिन्छ । यही गुथुकभित्र आपसमा रमाइलोको लागि विभिन्न कुराहरु राखिएको पिठोको डाल्लोभित्र नुन ,अंगर ,खुर्सानी, काठ र सेतो चामल जस्ता कुराहरु पोको परेर राख्ने गरिन्छ । यी कुराहरु गुथुकमा भेला भएकाहरुले आ-आफ्नै भागमा परेको डल्लो खोलेर रमाइलो गर्ने चलन पनि रहेको छ । ती डल्लोले आ-आफनै विशेषता दर्साए अनुसार खुर्सानी पर्ने रिसालु ,अंगर पर्ने मनकालो, नुन र चामल पर्ने मनकारी भन्ने चलन रहेको छ । गुथुक खाएको भोलिपल्ट औँसीको दिन लु फालेर बर्सभारिको दशा ग्रह शान्त गरिने भनाई अनुसार विहानीपाखा पुजा र धार्मिक गतिविधिहरु गर्ने चलन रहेको छ ।

औँशिको दिन सरसफाई गरि पूजाकोठा सजाउने र भोलिपल्ट छेचीको दिन बिहान सबेरै उठेर पँधेरोमा गई तीन वटा डुङगामा सफा घिउको टिका लगाएर पानी देवताबाट अमृतको रुपमा पानी मागेर ल्याउने चलन रहेको छ । त्यो दिन सवैभन्दा छिटो जसले पानी भरेर ल्याउछ उसले जलपरिको दर्शन पाउनको साथै अमृत जल पाइने विश्वास गरिनछ । त्यही पानी देवथानमा (छोयोसम) चडाउनुको साथै धुप र बत्ति बाल्नुको साथै छिमार र खाप्सा चढाउने गरिन्छ । त्यसपछि अभिभावकलाई चिया, खाप्सा र छिमार कुममा लगाएर आर्शीवाद लिने चलन रहेको छ । यसो गर्दा छिमार दिनेले टसीदेलेक फुन्छोगछोक र लिने तेन्दुदेवा तोबरस्योग भनेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । त्यसपछि चिया र अन्नको रस छयाङग्युरसंगै खाप्सा खाएर परिवारमा रमाइलो गरिन्छ ।

ल्होसारको पहिलो दिनलाई लमे लोसार अर्थात् गुरुजनहरुको लोसार पनि भन्ने चलन छ । यो दिन गुरुहरुबाट प्रसादको साथै आर्सीबाद थप्ने र दक्षिण दिने चलन पनि रहेको छ । त्यस्तै दोस्रो दिन नाङबी लोसार अर्थात परिवारको लोसार भन्ने गरिन्छ । यस दिन बाहिर ननिस्कि घरमा सबै परिबारको सदस्यहरु भेला भई चोखो मिठो खाई शुभ कामना आदान प्रदान गर्ने चलन रहेको छ । तेस्रो दिन छ्योक्योंग लोसार अर्थात् धर्मपाल अर्थात कुल देवताहरुको लोसारको रुपमा मानीने गरिन्छ । यो दिन गर्ने पुजालाई ल्हाप्सो गर्ने पुजाको रुपमा मानिन्छ । यस दिन गुम्बामा गएर वा सफा डाँडामा गएर ध्वजापताका लुङ्दा लगाउने र धर्मपाल अर्थात कुलदेवताहरुको पुजा गरि अनेक थरिको धुप हालेर धार्मिक पुजापाठ गर्ने गरिन्छ । त्यस्तै यस दिन गाउँका सबै मिलेर साङसेरकिम गरि रमाइलो गर्ने गरिन्छ । गाउँ-घरतिर हो भने लोसार लागेको पहिलो दिन देखि पुर्णिमा सम्म लगातार विभिन्न कार्यक्रम गरि मनाउने चलन रहेको छ ।

अन्तमा बौद्धधर्मको पवित्र ग्रन्थ र पात्रोको आधिकारिक तथ्यलाई आधारमानी फरक फरक लोसार मान्नेहरुले पनि एउटै तिथिको लोसार मान्ने सद्बुद्धि सवैलाई प्रदान गरुन भनेर भगवान बुद्धसंग प्रर्थना गर्न चाहान्छु । धन्यवाद

SHARE