Namsadhim.com

किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना भएको छ । लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन् । उनीहरूले लिम्बू लेख्न अगावै ६ पुस्तासम्म राय लेखेको पाइएको छ । यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ ।

यो भन्दा अगाडि केही पुस्तासम्म नामकोपछि हाङसमेत जोडेको पाइएको छ । हाङ शब्दको प्रयोग गर्नुभन्दा पहिले नाम मात्र उल्लेख गरिन्थ्यो । जस्तैः यलम्बर, गस्ती, स्थुङ्को आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । तात्कालीन समयमा जात वा थर लेख्ने वा भन्ने प्रचलन थिएन । राय थरसमेत उपाधिको रूपमा प्रयोग गरिएको थियो । यसको अर्थ राजा भन्ने हुन्थ्यो । राय पदवी धारण गर्ने पहिलो व्यक्ति विजयपुरका राजा पुङलाइङ हुन् । यिनी कोचवंशी थिए भन्ने विद्वान्हरूको भनाइ छ । इतिहासकार इमानसिं चेम्जोङले भने साक्वादेन थरका लिम्बू भनी लेखेका छन् । उनी आजको तुम्बाहाम्फे, निङ्लेकु, पङ्यागु, सिंगकलगायतका लिम्बूहरूको पुर्खा हुन् । दोस्रो राय पदवी धारण गर्ने व्यक्ति मुरेहाङ हुन् । उनी खेवाहाङहरूको पुर्खा मानिन्छन् । खेवाहाङहरूले पनि ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ ।

पश्चिम नेपालमा राय पद धारण गर्ने जुम्लाका राजा पुष्प मल्ल हुन् । उनले सन् १३३७ मा राय पदवी धारणा गरेका थिए । विजयपुर राज्यमा सेनहरूको राज्य भएताका अरुणपूर्वका सबै किरातहरूले राय लेख्ने प्रचलन थियो । यो राय उपाधि किरातहरूलाई दिइएको थियो । यो उपाधि किरात लिम्बूहरूले ६ पुस्तासम्म लगातार प्रयोग गरे । काठमाडौं उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा होस् वा काँगडा सतलज उपत्यकादेखि पाटक पताञ्जली एवम् गन्धवी राज्यमा राज्य चलाउँदा होस् उनीहरूले कहिल्यै नामको पछि जात वा थर लेखेनन् । किरातहरू जातिवादी थिएनन् । उनीहरूमा जातीय अहंकार पनि थिएन । हिन्दू अतिवादी राजा पृथ्वीनारयण शाहको हमलाबाट वल्लो तथा माझ किरात हड्पेपछि पल्लो किरातमा आँखा लगाए । पल्लो किरात लिम्बूवानसँग कयौंपटक युद्धमा नराम्ररी हार खान पुगेपछि गोर्खा राज्य विस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले सम्झौता गरे । त्यसपछि पृथ्वीनारायण शाहका अमाल प्रशासकहरूले जात वा थरको खोजी गर्न थाले । यसबाट राई–लिम्बूहरूमा पहिचानको खोजी भयो । यही क्रममा केहीले आफू राय लिम्बू भएको बताए । त्यही राय शब्द विशेष गरेर रणबहादुर शाहदेखि यता जारी भएका लालमोहरहरूमा राई भनी प्रयोग गरिएको छ ।

कतिपयले अघि आफ्ना पूर्वजको सम्झना गर्दै याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताए । कतिले खाम्सोसोहाङ खम्बुकहाङको सन्तान भएको बताए । यहीँबाट खस पर्वतेहरूले उनीहरूलाइ लिम्बू र खम्बू भन्न थाले । यही भनाइलाई हड्सन पाण्डुलिपिमा लिम्बूहरू आफूलाई याक्थुङवा भन्न रुचाउँछन् तर खस पर्वतेहरूले उनीहरूलाई लिम्बू भन्न थाले भनी लेखेका छन् । त्यसैगरी जे. आर. सुब्बाले धेरै इतिहासकारहरूले लिम्बू शब्द सन् १७७४ पछिको गोरखाली भनाइ हो भनी आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यसरी नै काजिमान कन्दङ्वाले सन् १९९० मा सेनहरूको राज्यकालभरि किरातहरूलाई राय भनियो र पछि गोरखालीसँग सम्झौता भएपछि लिम्बू भन्न थालियो भनेका छन् ।

नेपाल खाल्डोबाट किरातहरू विस्थापित भइ याक्थुङहाङ लिलिमहाङ र खाम्सोसोहाङ अलग भएपछि यिनैका सन्तान आजका लिम्बू र राई भएका हुन् । यिनीहरू वास्तवमा एकै सन्तान थिए । राजधानी सार्ने कुरामा मत विभाजन भइ दुई जातिमा विभक्त भएका हुन् । तात्कालीन समयमा राई र लिम्बू नभनिए तापनि कालान्तरमा आएर तिनै समूह राई र लिम्बू जातिको रूपमा चिनिए । दूधकोसीको सिमाना पृथ्वीनारायण शाहले अरुण पश्चिमका सबै भूभाग जिती अरुणपूर्व छिर्न नसकेपछि अरुण सिमानाको रूपमा विकास भएको हो किनकि अरुण पारिका धेरै ठाउँहरूमा लिम्बू सेनाहरूले लडेको प्रमाणहरू फेला परेका छन् । लिम्बूवानको गठन हुँदा छथरबाट दूधकोसीसम्म खेवाहाङहरूले शासन गरेको कुरा डा.हर्क गुरुङ ‘मैले देखेको नेपाल’ नामक यात्रा संस्मरणमा उल्लेख गरेका छन् । खेवाहाङहरूले खोटाङमा चाम्लिङ चिम्लिङ गढ निर्माण गरेको कुरा इमानसिं चेम्जोङले आफ्नो पुस्तकमा लेखेका छन् ।

लिम्बू जातीय समुदायमा तीन समुदायको सम्मिश्रण छ । ती तीन समूहमा तिब्बती, चिनीया र किरात पर्दछन् । ती तीन समुदाय राई, लिम्बू, गुरुङ, मगर, तामाङ प्रायः सबै जातिमा सम्मिश्रित रूपमा पाइन्छ । अझ नेवार समुदायमा ब्राह्मण क्षेत्रीहरूको समेत मिश्रण छ । जस्तै–उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामक छुट्टै थरको विकास भएको पाइन्छ । यता तात्कालीन समयमा बस्ती पातलो हुँदा भैयाद (भाइसरह) बनाएर भए पनि राख्ने चलन चलाएका थिए । यसर्थ कुनै पनि जाति शुद्ध रहेको छैन ।

त्यसरी नै राई जातिमा पनि किरातहरू मात्र रहेका छैनन् । राई जातिमा चीनको खाम प्रान्तबाट आएका समुदाय अरुणको गडतिर हुँदै खम्बुवानमा बसोबास गर्न आइपुगेको पाइएको छ । खाम्सोसोहाङका सन्तान भने बनेपाबाट पूर्व प्रस्थान गरेको पाइएको छ । राई जातिमा तिब्बती र चिनियाहरूको पनि सम्मिश्रण रहेको पाइन्छ । यता याक्थुङहाङ लिलिमहाङ शब्दबाटै पूर्वमा ‘याक्थुङ लाजे’ र पछि राज्यको पुनर्संरचना गर्दा ‘लिम्बुवान’ राज्यको नामाकरण गरिएको हो । त्यसैले लिलिमहाङका सन्तान नै आजका लिम्बू जाति हुन् । याक्थुङहाङ लिलिमहाङ उपत्यकाका अन्तिम किरात राजा योक्नेहाङका छोरा भएको र योक्नेहाङ उपत्यकाका अन्तिम किरात राजा भएकाले पनि किरात र लिम्बूबीच वंशानुगत सम्बन्ध रहेको पाइन्छ । लिम्बू जाति किरात होइन भन्ने भनाइ सत्य छैन । आठ किरात र लिम्बू विद्रोहपछि लिम्बूवान भएको तथ्यले लिम्बू जाति किरात होइनन् भन्नेहरुलाई दिगभ्रमित तुल्याएको हुनसक्छ तर बिर्सनै नहुने कुरा आठ किरात–चिनीया सरदारका सन्तानबीचको विद्रोहपछिका आठ किरातहरु पनि केही लिम्बू भएका छन् । अर्को लिम्बू र लिम्बूवान शब्द किरात राजा याक्थुङहाङ लिलिमहाङ कै नामसँग सम्बन्धित छ । लिम्बू र लिम्बूवान शब्द अरुबाट आयतित होइन ।

करिब दुईसय वर्ष अगाडि इतिहासकार कर्नेल कर्क पेट्रीकले ‘द अकाउण्ट अफ द किङ्डम अफ नेपाल’ नामको आफनो पुस्तकमा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख गरेका छन् । नेपाली शब्दकोशले लिम्बू जातिलाई लिम्बुवानमा बस्ने एक किरात जाति र ‘लिम्बुवान’ दीर्घकालदेखि लिम्बू जातिको स्थाई बसोबास भएको कोशी, मेची अञ्चलको पहाडी क्षेत्र । यस्तो परिभाषा गरेको छ ।

तर अर्का इतिहासकार एच. हड्सनले सन् १८७४ मै आफ्नो पाण्डुलिपि पुस्तकमा लिम्बू र लिम्बुवान शब्दको प्रयोग गरेका थिए । त्यो पुस्तकमा लिम्बूहरूले आफूहरुलाई ‘याक्थुङबा’ भन्ने तर खस पर्वतेहरुले ‘लिम्बू’ भन्ने गरेको उल्लेख गरेका छन् । केही इतिहासकारले लिम्बू जातिलाई धनुर्धारी भन्ने गरेका छन् । ई.पु. ६०० तिर आसामतिरबाट आएका सानमकवानवंशी तीन पुरोहित सहित सात धनुर्धारीहरु प्रवेश गरेर आठ सामन्त किरात हाङ राजाको राज्य (खम्बुवान ?) फेदाप कब्जामा लिइ लिम्बुवान राज्य स्थापना गरेको दावी गरेका छन् । चिनिया भाषासंग सम्बन्धित लिम्बू शब्दको अर्थ धनुर्धारी हुन्छ । धनुकाँडको मद्धतले फेदाप राज्यमा विद्रोह गरी राज्य स्थापना गरेकाले राज्यको नाम लिम्बुवान र लिम्बू जातिको जन्म हुनगयो ।

अर्काथरी इतिहासकारका अनुसार ई.सं ४ मा योक्नेहाङ नामका किरात राजाले नेपाल खाल्डोमा शासन गरिरहेको बेला लिच्छवि वंशका भूमि वर्माले आक्रमण गरी उनलाई पराजित गरे । उनै योक्नेहाङले साँगापूर्व बनेपामा राजधानी सारे । योक्नेहाङपछि लिलिमहाङले राज्यसत्ता सम्हाले । लिच्छवीको बारम्बारको आक्रमणपछि सहोदर भाइ खाम्सोसोहाङलाई राजधानी सार्ने प्रस्ताव राख्दा उनले प्रस्ताव अस्वीकार गरे । त्यसपछि दाजु लिलिमहाङले खाम्सोसोहाङलाई त्यही छोडी कूल ५२ हजार कविलाइ सेना लिइ सुनकोसीको तिरैतिर अरुणपूर्व हाङसेम्मालुङ्, हाङसामोरोङ, झलारा, बेलहारा हुँदै तावालुङ, सुसुवादेन ताक्लृुङमा पुगे । यो स्थान सामरिक महत्वको भएकोले यहीँ राजधानी बनाए । लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो । लिलिमहाङ्ले स्थापना गरेको यही राज्य लिम्बुवान भयो र उनका अनुयायीहरु लिम्बू हुन पुगे । स्व. इमानसिं चेम्जोङले पनि आठ किरात राजा र १० चिनिया सरदारको विद्रोह मार्फत् लिम्बू जातिको उदय र लिम्बुवान राज्यको गठन भएको उल्लेख गरेका छन् ।

सातौं शताब्दीमा राजा मावोरोङले दूधकोसी र मेचीबीचको भूभागमा लिम्बुवान राज्य स्थापना गरे । सन् १३७४ मा राजा साइलाइङको समयमा लिम्बुवान राज्यको सिमाना उत्तर तिब्बत, दक्षिण भारतको जलालगढ (जसको अवशेष अझै छ ) १८ औं शताब्दीमा लिम्बुवान पूर्वमा टिष्टा (पश्चिम सिक्किम) उत्तर तिब्बत, दक्षिण भारतको बिहार र पश्चिम अरुण नदीसम्म फैलिएको थियो ।

सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले पटक–पटक हमला गर्दा पनि नजितेपछि उनले लिम्बुवानका केही थुमे राजालाई षडयन्त्रमूलक ढंगले आफनो पक्षमा पारे । पृथ्वीनारायण शाहको षडयन्त्र विरुद्ध विजयपुरका राजा बुद्धिकर्ण रायले भने विद्रोह गरे । त्यसको केही समयपछि उनको षडयन्त्रमूलक ढंगले गोरखाली सेनाले हत्या ग¥यो । राजा पृथ्वीनारायण शाहले वि.सं १८३१ साउन २२ गते एकतर्फी इस्तिहार लालमोहर जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे । यो घोषणा पछि ३२ हजार लिम्बूहरु लिम्बुवानको स्थापनाको लागि विदेशिए । इ.सं. १८१६ को सुगौली सन्धिपछि लिम्बुवानको पूर्वी सीमाना टिष्टा (पश्चिम सिक्किम) र दक्षिणको अधिकांश भूभाग गुम्यो । लिम्बुवान तीन फ्याक भइ नेपाल, सिक्किम र दार्जिलिङ (भारत) मा विभाजन भयो ।

नोगेन । चुरेरो ।। सेवारो

-भवानी बराल

SHARE