-इन्द्रेणी थारू
थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् ।

मान्छे कहिल्यै आत्तिन र मात्तिन हुँदैन, यस्तो एउटा भनाई छ । त्यसैले लक्ष्मण थारूको चुनावी परिणामले मलाई निरास बनाए पनि आत्तिएको छैन, न रेशम चौधरीको जीतले मात्तिन सकेको छु । चुनाव हो, हार या त फेरि जीत त हुनु नै छ । लक्ष्मण थारूले पनि रेशम चौधरीजस्तै चुनाव जितेको भए नेपाली मिडिया बृतमा कल्पनै गर्न नसकिने चर्चा हुने थियो । यद्यपि रेशम चौधरीको एक्लैको जीतले पनि कम तहल्का मच्चाएको छैन ।

लक्ष्मण र रेशमले चुनावमा आफ्नो उम्मेदवारी दिनु नै ठूलो जीत हो । थरुहट प्राप्त गर्ने सपना बोकेका लक्ष्मणलाई जेलभित्र कोचेर राखे पनि उनी हार स्वीकार गरेर मौन बस्ने योद्धा कहाँ हुन् र ? बरु जेल भित्रैबाट थारूविरोधीहरुलाई हुँकार दिए । भलै त्यसका लागि उनलाई तिनीहरुले साथ दिएनन्, जसका लागि उनी जेल जीवन बिताउन बाध्य पारिएका छन् ।

लक्ष्मण थारू हार्नु केवल एक व्यक्ति हार्नु होइन, समुदाय हार्नु हो । रेशम थारू जित्नु केवल एक व्यक्ति जित्नु होइन, समुदाय जित्नु हो । किनभने लक्ष्मण र रेशम अब केवल व्यक्ति रहेनन्, ती दुवै समुदाय हुन् । दुवैले विभेद् सहँदै आएका थारू जातीको अधिकार प्राप्तीका लागि दह्रो वकालत गर्छन् । थारूहरुलाई हत्यारा, अपराधी, आतंककारी भनि लगाइएका मिथ्या आरोप शिरोधारण गरिरहेका छन् । टीकापुर घटनापश्चात सम्पूर्ण थारूहरुमा लगाइएका झुठा आरोपको प्रतिनिधि पात्र लक्ष्मण र रेशम बनेका छन् ।

टीकापुर घटनापश्चात निर्वासित जीवन बिताइरहेका रेशम चौधरीको जीतले सिंगो थारू समुदायमा उल्लास ल्याएको छ । निर्वासनमा रहँदासमेत उनले आफ्नो समुदायका लागि कुनै न कुनै माध्यमबाट केही न केही गरिरहे । भारतमा रहँदा त्यहाँका थारूहरुलाई एकजुट गर्ने र विभिन्न कार्यक्रममा सहभागी हुन्थे । सबैभन्दा ठूलो उपलब्धी त उनी लेखक बने चिरफार पुस्तक लेखेर । अदालतले पनि अपराधी घोषणा गर्न नसकेका तर जेल जीवन बिताइरहेका निर्दोष लक्ष्मण थारू र निर्दोष रेशम थारूले यी बिचमा भोग्न परेका पीडा त ती दुईलाई नै थाहा होला । बिना अपराध जेल जीवन बिताइरहेका २५ जना थारू र निर्वासनमा सयौँको संख्यामा रहेका निर्दोष थारूहरुप्रति कमसे कम रेशम चौधरीलाई भारी मतान्तरले जिताएर टीकापुरका जनताले न्याय गरेका छन् ।

टीकापुरका मतदाताले थारूको छोरालाई जिताउँदा थारू जातीय सेन्टिमेन्टले जितेको भनि सामाजिक सञ्जालमा रुवाबासी चलेको छ । थारूहरुले आफ्नो नेता थारूलाई नै चुन्न नपाउने ? के सधैँ पहाडबाट आयातित उच्च अभिजातीयहरुको कमैया नै बन्न पर्ने थारूहरु ? हिजोको स्थानीय चुनावमा टीकापुरमा मेयर र उपमेयर दुवै कथाकथित उच्च जातिका अछामीले त्यो पनि छुट्टा छुट्टै पार्टीबाट जित्दा किन त्यहाँ जातीय क्षेत्रीय सेन्टिमेन्टको गन्ध आउँदैन । कि जातीयता शब्द केवल थारू मधेसीका लागि मात्रै प्रयोग गर्न भनि बनाइएको शब्द हो ?

मेरो एउटा चाहना थियो, खासमा धेरै थारूहरुको चाहना हो यो, थारू नेताहरु एक भएर थारूहरुको बलियो पार्टी बनाउने । त्यो सम्भव छ । जब ६ वटा मधेसी दलहरु मिलेर एउटा बलियो राजपा बन्न सक्छ, चुनावी गठबन्धनका लागि एमाले र माओवादी एक हुन सक्छन् भने थारूहरु एक हुन किन सम्भव नहुने । लक्ष्मण, रेशम, भानुराम, रुक्मिणी, गंगा, गोपाल दहित, डिल्ली चौधरी, गौरीशंकर, शान्ताहरु एक होउन् त, थरुहट प्राप्त गर्नबाट कुनै शेर बहादुर, लेखराज या भिमबहादुरले रोक्नसक्ने कल्पना समेत गर्न सक्दैनन् । थरुहटका नेताहरुले साँच्चै नै मधेसी दलहरुबाट राजनीतिक पाठ सिक्नपर्छ । उसो त मधेसी दलहरुका पनि सबै संस्कार सिक्न लायक त होइनन् । भोट माग्नका लागि मधेस आन्दोलनका शहिदहरुको फोटोको व्यापक प्रयोग गरे तर चुनाव जीतेपश्चात विजय ¥यालीमा भने नाचगान रमाइलोमै सिमित भए ।

थारूहरुको भात मिल्छ, बात मिल्दैन भन्थे, हो रहेछ । सबै बात नमिले पनि कमसे कम आफ्नो समुदायलाई फाइदा पु¥याउने सम्मको बात पनि मिलाउन किन नसकेका थारू नेताहरुले । चुनाव नजिकिदै गर्दा थारू नेताहरुमा म्याराथनको दौड चलिरहेको थियो, रुख हुने, सूर्य हुने । रुख या सूर्य हुने थारू नेताहरुले आफ्नै थारूहरुको एकताका लागि पहल गरेको भए समाजलाई फाइदा हुने त थियो नै, तिनको आफ्नो प्रतिष्ठा पनि बढ्ने थियो ।

प्रतिनिधि र प्रदेश सभाको चुनावमा जित्न त थुप्रै थारू नेताले जितेका छन् । तर सबै थारूहरुको ध्यान रेशम चौधरीमा केन्द्रीत रह्यो । किनभने थारू जनतालाई थाहा छ कांग्रेसको गुनगान गाउने या एमालेको गुनगान गाउने थारूले जिते पनि आफ्नै पार्टीको गुनगान गाउनबाहेक गर्न सक्ने अरु केही होइनन् । होइन भने रेशम चौधरीले भरी मतान्तरले चुनाव जितिसक्दा पनि निर्वाचन आयोगले प्रमाणपत्र सहजै दिन आनाकानी गरिरहेका बेला, रेशम चौधरीको जीतको विजय जुलुसमा टीकापुरमा अवरोध गरिरहेका बेला किन कोही रुख छाप, सूर्य छापका थारू नेताहरु मौन बसेका ? फेसबुकका पोष्टहरुमा ढाकीसक्यो, प्रधानमन्त्री शेरबहादुर देउवालाई वारिसनामामार्फत प्रमाणपत्र दिन मिल्ने, रेशम थारूलाई किन नमिल्ने ? आखिर दुवैजना प्रतिनिधिसभातर्फका विजेता हुन् । कि शेरबहादुर थारू होइनन् त्यसैले र रेशम देउवा होइनन् त्यसैले यो विभेद ? थारूमाथि विभेद जतिसुकै भए पनि चुपचाप बस्नु भन्ने पार्टीको निर्देशन छ ?

नेपालको चुनावी क्षेत्रमा रेशम थारूले सुनौलो इतिहास बनाए । आज थारूहरुको आशाका केन्द्र नै बनेका छन् उनी । उनी एक्लैले सीमांकन, समानुपातिक प्रतिनिधित्व, संविधान संशोधनका लागि गर्ने पहलहरु हेर्न भोलिको दिन कुर्नैपर्छ । तर यी सबै मुद्दाहरु सम्बोधन हुनका लागि थारूहरु एकजुट भएर आन्दोलन गर्नैपर्ने देखिन्छ । थारूको आन्दोलन कसैले उठान गर्नेछन् भने ती लक्ष्मण र रेशमले नै हुन् । लक्ष्मण र रेशमलाई थारू आन्दोलनको स्रोत त्यसै भनिएको होइन ।

SHARE