-मोहन गोले तामाङ
भर्खरै प्रदेश र प्रतिनिधि सभाको निर्बाचन सम्पन्न भयो । यतिबेला देशैभरबाट मत परिणामहरु धमाधम आइरहेका छन् । नेपालको संविधान बमोजिम साँच्चै ब्यहारिक रुपमा समानुपातिक प्रतिनिधित्वको अक्षरस कार्यान्वयन गरिएको थियो भने यतिबेला प्रतिनिधिसभामा हामीले १७ जना तामाङका सन्तानलाई देख्न पाउने थियौ । त्यसैगरी प्रदेश सभामा ३३ जना तामाङका छोराछोरीलाई प्रदेश सांसदको रुपमा पाउने थियौ । तर त्यो संख्या नपाउने भयौ । यसले दोस्रो जनआन्दोलनबाट प्राप्त उत्पीडित समुदायको समावेशी÷समानुपातिक प्रतिनिधित्व हुन पाउने अधिकार खोसिएको छ । किनकि प्रतिनिधिसभामा पहिलो हुने निर्बाचित हुने निर्बाचन प्रणाली (प्रत्यक्ष) बाट तीन जना मात्रै तामाङ निर्बाचित हुँदैछन् । अब समानुपातिकबाट पनि तीन जना भन्दा बढी पुग्ने देखिदैन । जुन हाम्रो जातीय जनसंख्या ६ प्रतिशतको तुलनामा ज्यादै कमी हो । यस्तै प्रदेश सभामा पनि तामाङको प्रतिनिधित्वको हविगत यही बनाउने सत्तासीन दलको योजना देखिन्छ । यो लेख तयार पार्दै गर्दासम्म प्रदेश सभामा अहिलेसम्म ९ जनाले मात्र विजय हासिल गरेका छन् । अब सम्भवत प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ तामाङको बिजययात्रा रोकिएको जस्तो छ । प्रदेशमा समानुपातिकबाट समेत ५, ७ जना भन्दा बढी तानिने छैनन् । यो प्रतिनिधित्व न तामाङको जनसंख्यासँग मेल खान्छ न तामाङमाथि राज्यले गरेको विभेद, उत्पीडनसँग नै मिल्न जान्छ ।

यसको सम्भावित तस्वीर हामीले निर्बाचन अगावै देखिसकेका थियौ र सम्बन्धित दलहरुलाई यस सम्बन्धमा हामीले गम्भीर ढंगबाट ध्यानाकर्षण गरायौ । नेपाल तामाङ घेदुङले सामाजिक संगठनको तर्फबाट यसलाई सुधार गर्न दलहरुलाई चेतावनी सहित ज्ञापन पत्र बुझायौ । तामाङ समुदायको राजनीतिक संगठन ताम्सालिङ संयुक्त संघर्ष समितिलाई पनि दबाबको लागि आग्रह ग¥यौ । प्रेस विज्ञप्ती जारी ग¥यौ । तरपनि ठूला राजनीतिक दल र उनीहरुको चुनावी गठबन्धनबाट यसतर्फ कुनै सुनुवाई भएन । पूर्ण रुपमा बेवास्ता गरियो । यसपछि हामी यही कुरालाई लिएर तामाङ जनतामा जाने निर्णय ग¥यौ । यसको लागि घेदुङको केन्द्रीय नेतृत्व प्रत्येक तामाङ गाउँमा पुग्न एक त समय थिएन, अर्कोतर्फ सम्भव पनि भएन । हामीले सार्वजनिक रुपमा आम तामाङ मतदाता समक्ष तामाङ उमेदवारलाई मतदान गर्नको लागि अपील प्रकाशन ग¥यौ र जिल्ला जिल्लामा बाँड्यौ । यसको अर्थ जति जना तामाङ नेताले टिकट पाउनुभएको छ, ती उमेदवारहरु सबैलाई जिताउनु पर्छ भन्ने थियो । सामाजिक सञ्जाल (फेसबुक) मार्फत तामाङ जिताऔ अभियान चलायौ । प्रवासमा रहेका शाखा संगठनहरुलाई आ–आफ्नो घरमा बस्नुहुने इष्टमित्र, आफन्त, नातेदारलाई फोन, एसएमएस र ग्रुप च्याटको माध्यमबाट तामाङ उमेदवारलाई मतदानको लागि आग्रह गर्न अनुरोध ग¥यौ ।

अझ म आफैले केही उमेदवार र जिल्ला घेदुङका अध्यक्ष ज्यूहरुलाई कतै भेटेर त कतै फोन नै गरेर तामाङ वस्तीहरुमा घेदुङको तर्फबाट छुट्टै अभियान लिएर भोट माग्न जान्छु भनेर अनुरोध पनि गरेँ । यसको फेरि राजनीतिक रंग नराम्रो जाला कि भनेर आफ्नो टिममा साथीहरुसँग सहमति पनि लिए र तयार भएँ । मेरो ब्यक्तिगत जीवनको लागि यो गाह्रो कुरा थियो होला तर समुदायको लागि मैले हिम्मत गरेको थिएँ तर दुःख लाग्दो कुरो निर्बाचनको बेला केही गैह्र तामाङ उमेदवारहरुले बरु मलाई सहयोगको लागि आग्रह गर्नुभयो तर ताम्सालिङ क्षेत्रका तामाङ साथीहरुले त्यो ब्यवस्था मिलाउन सक्नु भएन । ताम्सालिङको जिल्लामा घेदुङको संगठन कमजोर भएको हुँदा हामी एक्लाएक्लै चुनावको बेला हिड्नु पनि असुरक्षित ठानेर जान सकेनौ । बरु मुद्दा प्रचार गर्ने उद्देश्यले ताम्सालिङ बाहिरको जिल्लाहरु सर्लाही, मोरङ, झापा, सुनसरी लगायतका आधा दर्जन जिल्लाहरुमा पुग्यौ र आफ्नो कुरा राख्यौ, जहाँ तामाङ उमेदवार थिएनन् । जे होस् हामीले संगठनको कर्तब्य र दायित्वभित्र रहेर जे जति गर्नु मिल्थ्यो÷सक्थ्यो, त्यति ग¥यौ भन्ने लाग्छ । जत्रो चरी उत्रै फत्र्याक्क भने जस्तो हामी छटपटियौ तर हाम्रो छटपटाईले परिणाम हात लाग्न सकेन । यसअघिको स्थानीय निर्बाचनमा पनि यस्तै भएको थियो जुन फेरि दोहोरियो । कतिञ्जेल दोहोरिन्छ, थाहा छैन ।

आज दुःख लागेको छ– घेदुङका सल्लाहकार तथा कानुन राज्य मन्त्री दिलमान पाख्रिन धादिङ जिल्लामा झिनो मतान्तरले प्रतिनिधिसभामा पराजित हुनुभएको छ । प्रदेश सभाका उमेदवारहरु मकवानपुरबाट राजाराम स्याङ्तान, सिन्धुपाल्चोकबाट दावा तामाङ, काभ्रेबाट सिबि लामा, सिन्धुलीबाट छत्रबहादुर बोम्जन पराजित हुनुभयो । त्यस्तै तामाङको घनावस्ती रहेको जिल्ला रामेछापमा कान्छाराम तामाङ प्रतिनिधिसभामा पराजित हुनुभएको छ । तामाङको वस्तीबाट पौडेल, कार्की, ढुंगेल, ढकालहरुले जितेका छन् । पाख्रिनलाई हराएर लोहनीलाई जितायौ, स्याङ्तानलाई हराएर बानियाँ र ढकालहरुलाई जितायौ । पाख्रिनले जितेको भए फोनमा हामी हाम्रो भाषाबाट आफ्नो समस्या खुलस्त राख्न सक्थ्यौ होला । स्याङ्तानले जितेको भए तीन नम्बर प्रदेशको प्रादेशिक भाषा तामाङ भाषा राख्न र ताम्सालिङ प्रदेश नामाकरणको लागि एउटा मत बलियो हुन्थ्यो होला । त्यो हामीले गुमायौ । जहाँ हामीले सामाजिक संस्थाको तर्फबाट थोरै पहल गरेको भए उहाँहरु जित्न सक्नु हुन्थ्यो कि भन्ने मेरो कुरा हो । गणितको खेल थियो, उहाँहरु त्यो खेलको खेलाडी भएको कारण पराजित हुनुभयो तर एउटा तामाङ हारेर थाप्लोमा हात राख्दै गर्दा अर्को तामाङ नाचिरहेको दृष्य फेसबुकमा जो बिचित्र देखियो । म यहाँनेर अचम्मित भएको छु । जुन आफ्नै मृत्यु भोजमा नाचेको जस्तो अशोभनिय र टिठलाग्दो थियो । यस्तो दृष्यमा तामाङ चेतना नाचेको देखेर मलाई साह्रै लज्जा बोध भयो । थाहा छैन, हामी कतिञ्जेल आफू हारेर अरु जितेकोमा नाचिरहन्छौ ।

यसरी दिलैदेखि लागिरहँदा मलाई केहीले आरोप पनि लगाए– तपाई अलि बढी नै जातिवादी हुनुभयो । धेरैले सोधे– यस्तो बिना किन मरिहत्ते गरेको ? अरु मगर, नेवार, राई, थारु, गुरुङ, लिम्बु लगायतका जातीय संगठनहरु पनि छन्, उनीहरुलाई वास्ता छैन, घेदुङलाई नै किन यति धेरै चासो भन्ने पनि कतिपयले मलाई प्रश्न उठाए । के स्वार्थ छ ? कि उमेदवारले पैसा दिएको छ ? सम्म भन्न बाँकी राखेनन् । तर यसमा मेरो कुनै ब्यक्तिगत स्वार्थ थिएन । मलाई एउटै चिन्ता थियो– हामी जनसंख्यामा आदिवासीमध्ये तेस्रो ठूलो जनघनत्व भएको, काठमाडौ खाल्डो नजिकै मुख्य थलो रहेको जाति भएर पनि आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक हिसावले जनजाति मध्येमै सबैभन्दा पछाडि परेको र सबैभन्दा बढी विभेद, उत्पीडन भोगेका जाति हौ । जसलाई राज्यसत्ताले इतिहासमा सधैं ठग्दै आयो र त्यसको निरन्तता अझै छ । यो हेपाइको प्रक्रिया अब अति भयो भन्ने मलाई लाग्यो, अब तामाङले सहनु हुँदैन भन्ने मेरो धारणा थियो ।

त्यो निरन्तरताको क्रमभंग हुनुपर्छ भन्ने एउटा सानो अभियन्ता थिएँ म । राज्यले तामाङलाई पढ्न नदिएर अनपढको बिल्ला भिराएकोमा मेरो आपत्ती थियो । आज कुनै बेला द्वन्द्वग्रस्त मुलुक भनेर चिनिने भियतनाम जहाँको मानिसहरु कुकुरको मासु खान्छन्, उनीहरु एन्ड्रोइड मोबाइल र ल्यापटपको चिप बिक्री गर्न थालिसके तर तामाङलाई सिनो खाने भोटेले केही गर्न सक्दैन भनेर कतै ठाउँ नदिनु यो राज्यको गल्ती हो भन्थे म । दुई जना तामाङको टाउकोलाई सत्ताको राज्यमन्त्रीमा सो पिसको रुपमा देखाएर लाखौ तामाङ युवालाई खाडी पु¥याएको पीडा बुझेको थिएँ मैले । एउटा तामाङले अपराध गर्दा सबै तामाङलाई अपराधी बनाउने लोकसेवा आयोगको वस्तुगत प्रश्नोत्तर बनाउने यो राज्यसत्ताको ब्यवहारलाई नजिकबाट चिनेको थिएँ । घेदुङ तामाङलाई ल्होछारको बेला टुँडिखेलमा नचाउने संस्था मात्रै होइन, पहिचान र अधिकारको लागि सामुदायिक लडाइँ लड्ने संगठन हो भन्ने मैले बुझेको थिएँ । त्यसैले म बन पस्नु भन्दा बौलाउनु निको भने जस्तो गरी यो हदसम्म लागे । जुन कसैको लागि बढी भयो होला तर मेरो लागि कम थियो ।

तामाङहरु नागरिक हुन नसक्नुको कारण बिस्तारै हामीमाथि लगाइएका यस्ता मिथ्या कुराहरु, जवर्जस्त थोपरिएका आरोपहरुलाई प्रभुत्वशाली बर्गले यो राज्यको भाष्य बनायो र पछिल्ला शासकहरु सबैले त्यसैलाई पछ्याए जो आजपर्यन्त हाम्रो कानमा गुन्जिरहेको छ । उनीहरुको नजरले हामीलाई मुर्ख, गवार, केही गर्न नसक्ने असक्षमको रुपमा हे¥यो । बिस्तारै त्यो नजर राज्यको नजर बन्यो । सत्तासँग असत्यलाई पनि सत्य बनाउने अद्भुत शक्ति हँुदोरहेछ । हामीमाथि सत्ताले लगाएको आरोप असत्य थियो तर सत्ताको बलमा यसलाई सत्य बनाइएको मैले बुझेको थिएँ । यसर्थ, म र मेरो टिम तामाङ समुदायलाई दास मानसिकताबाट माथि उठाएर मुक्तिको लागि एउटा बिद्रोह रच्न लागि प¥यो । यस्तै यस्तै भाष्यलाई सत्य बनाउँदै आएको ठूला राजनीतिक दलहरुले यति ठूलो समुदायबाट तामाङलाई टिकट वितरणमा नै निषेध ग¥यो । पहिलो ढोका नै बन्द गरिसकेपछि कसरी दोस्रो ढोकाबाट उ छिर्न सक्छ ? मुस्किलले काङ्ग्रेसले दुईजना, एमालेले एकजना र माओवादी केन्द्रले दुईजनालाई मात्र प्रतिनिधिसभाको लागि गेटपास दिएर अन्याय गरेको कारण म टिकट पाएको जति सबै तामाङ उमेदवारहरुलाई जिताउनु पर्छ भनेर यसरी लागेको थिएँ । तर सम्भव भएन ।

अन्तमा मेरो दलिल, बुझाई या अनुरोध के हो भने, सत्तामा पुग्ने माध्यम विश्वविद्यालयको सर्टिफिकेट होइन । तामाङ नपढेको कारण पछि परेको भन्ने केही तामाङ पनि भेटिन्छन् तर जसले यस्तो कुरा गर्छन्, हामीले बुझ्नुपर्छ– उनीहरुको दिमाग नश्लीय सत्ताको प्रायोजित प्रचारको शिकार भएको छ । मैले गतबर्ष ल्होछार समारोहमा प्रधानमन्त्री सामू तामाङले राजनीतिक जुवा खेल्नुपर्ने भनिरहँदा कतिपय तामाङ साथीहरुले प्रधानमन्त्री जस्तो मान्छेलाई बोलाएर त्यस्तो भन्नु हुँदैन थियो भनेर सुझाए । तर मैले मुलुकको कार्यकारी प्रमूखलाई मेरो समुदायको मुद्दा उठाएर ठिक गरे भन्ने लाग्छ । किनकि कुनैपनि बर्ग, समुदायको सत्तारोहण बिद्रोह, आन्दोलन र संघर्षले मात्रै गराउँछ । जसरी २००७ सालको राणाविरोधी जनक्रान्तिले काङ्ग्रेस उदायो, झापा बिद्रोहले एमाले र १० बर्षे जनयुद्धले माओवादीलाई सत्तामा पु¥यायो । जनजाति भित्र हेर्ने हो भने पनि जनयुद्धमा रुकुम, रोल्पाली मगर समुदायको सहभागिताले सभामुख, उपराष्ट्रपति सम्म बनायो । अझै ५, १० बर्ष यही क्रान्तिको नामबाट मगरलाई सत्ताको महत्वपूर्ण स्थानमा देख्न सकिनेछ । टिकापुर बिद्रोहले थारुको छुट्टै प्रतिनिधित्व र आयोगको सुनिश्चितता गरायो । पूर्वका बलबहादुर राई कार्यबाहक प्रधानमन्त्री सम्म भए तर काठमाडौ छेवैका भिमबहादुर तामाङ अर्काको घरमा मर्नु प¥यो । त्यसैले मेरो निष्कर्ष हो– एउटा क्रान्ति सम्पन्न नगरेसम्म तामाङलाई सत्तामा देख्न पाइने छैन । कोही देखिएला तर क्रान्तिको प्रक्रिया पुरा नगरी दया, माया र आशिर्वादबाट पुगेको तामाङ चुनावमा खटिएका बम प्रहरी जस्तै हुन् । जो प्रयोगको म्याद सकिनासाथ घोक्रेठ्याकमा पर्छन् ।

यतिमात्र होइन, तामाङको अहिलेकै दौडलाई हेर्दा अबको केही बर्षमा समेत तामाङ राजनीतिक शक्तिको रुपमा उदाउने तयारी छैन । यतिबेला राणाकालतिर सामन्तवादी कालखण्डमा खोलिएका काङ्ग्रेस, कम्युनिष्ट जस्ता राजनीतिक दलले चालु पुँजिवादी आन्दोलनलाई निष्कर्षमा पु¥याउन सक्दैन भन्ने मत बलियो बन्दै गएको छ । किनकि झापा आन्दोलनको बेला आफूलाई कम्युनिष्ट भन्ने दल अहिले कम्युनिष्टको नाममा चिनाउन चाहँदैन, कम्युनिष्ट भन्नुपर्दा उसको जिब्रो लर्बरिन्छ । अखवारमा ओलीजीको अन्तवार्ता हेरे हुन्छ । जनयुद्ध लडेको पार्टी माओवादीका कतिपय नेताहरु पार्टी बिसर्जनको प्वाल खोज्दैछन् । थोत्रो कम्युनिष्ट पार्टी बोकेर हिडेका छौ भन्ने राम कार्की जीको भनाईले प्रष्ट पार्छ । उनीहरु बाम चरित्रको तर लोकतान्त्रिक बैकल्पिक शक्ति निर्माण गरेर पुँजिवादी क्रान्ति सम्पन्न गर्ने योजना बुनिरहेका छन् ।

कम्युनिष्ट पार्टीलाई बिसर्जन गर्न नसकेका पुराना पार्टी बाहेक त्यस्तो शक्ति बनाउनेको लाईनमा हेर्दा पनि अहिले उही जात र बर्ग अगाडि देखिन्छ । जस्तोः बिबेकशील साझा पार्टीका रविन्द्र मिश्र, नयाँ शक्तिका बाबुराम भट्टराई भोलीका उदाउँदो राजनीतिक शक्तिको अभ्यासमा छन् । अर्कोतिर शाास्त्रीय ढंगको कम्युनिष्ट कसैले खोजेको हो भने मोहन बैद्य नेतृत्वको अर्को अड्डा पनि अझै बन्द भइसकेको छैन । त्यसभन्दा क्रान्तिकारी कम्युनिष्ट पार्टी खोजेको हो भने बिप्लवले नेतृत्व गरेको अर्को पार्टी तयारी अवस्थामा छ । कहाँ जालास मछली मेरै ढडिया भन्ने उखान जस्तो उनीहरुले साइज साइजको पार्टी नेपालको आदिवासी जनजाति, तामाङ समुदायको लागि खोलेर रेडी हालतमा राखेका छन् । हामी ठूलो बजारमा पुगेको ग्राहक जस्तो कुन पसलमा सामान किन्ने अलमलमा परेका छौ । आफै पसल खोलौ, हुती छैन । हाम्रो चेतनाले ती ठाउँहरुभन्दा अरुतिर उम्किने, भाग्ने ठाउँ देख्दैन । यस्ता बग्रेल्ती खुलेका हाट बजारका पसल जस्ता पार्टीबाट आफ्नो समुदायलाई जोगाउन मधेशीले आफ्नो भिन्न राजनीतिक शक्ति निर्माण गरिसक्यो । दुई नम्बर प्रदेशलाई आधार क्षेत्र बनाएर उनीहरु पहाड चढ्ने कोशिसमा छन् । यसको लागि आफ्नो जीवनको पचासौ बर्ष काङ्ग्रेसमा बिताएका महन्थ ठाकुरहरुले त्याग गरे । तर हामी चौवन्नी सदस्य लिएको ६ महिना भएको छैन, भुई न भाँडाका हुन्छौ । यसकारण हामी राजनीतिक शक्तिको रुपमा उदाउन सकेनौ ।

तसर्थ, अब हामीले ढिलो नगरी सामाजिक क्रान्तिको जगमा टेकेर राजनीतिक क्रान्तिमा फड्को मार्नुपर्छ । यसले मात्रै तामाङको सत्ता ताम्सालिङ निर्माणको लागि मार्ग प्रशस्त गर्नेछ र मौजुदा दलमा रहनेहरुको पनि शीर ठडिनेछ । धन्यवाद ।।

SHARE