-मुक्तान थेबा

लु हो……..च्याङ्बा !
यो
किन बोकिरहन्छौ च्याङ्बा
तिम्रै आयु मागिरहेको पुरातन झोला
र, बनिरहेछौ झोले ?
त्यही झोलाले किच्चिँदा
तिम्रो कति म्हेमेहरुले
आधाबाटोमा आफ्नै सपनाहरुको मलामीबन्नुपर्‍यो
हिसाब छ च्याङ्ब तिमीसित?
त्यही हत्यारा झोलाको सामु आत्मसमर्पण गर्दा

डिकेन्द्रले अस्तिमात्र
झोलाहरुको दरबार अघिको पटाङ्गीमा आत्महत्यागरेको बिर्स्यौ?
पक्कै बिर्सेंको छैनौ तिम्ले
र यो पनि नबिर्स च्याङ्बा
अब त्यो झोलाले
तिम्रो पनि आत्महत्याको मिती तोक्नेछ
र, तिम्लाई झोला भिराउनेहरुले नै
तिम्रो कायर आत्महत्याको भत्सर्ना गर्नेछन्
अनि……… अनि………
झोलाभरी खँदिएको तिम्रो अधुरो सपनाहरु
तिमीसङ्गै झुन्डिनेछन् नास्पातीको मूल हाँगोमा- तुर्लुङ्ग!!
ढाकाटोपी र दौरासुरवालमा छाँटिएर
भँगेरोको जत्रो त्यो टाउको
ब्यर्थै, किन नचाउछौ च्यङ्बा फनफनी?
भो ननचाउ च्याङ्बा त्यसरी
त्यो दौरासुरवाल र ढाकाटोपी

खै कहाँनेर सुहायो र
तिम्रो गहुँगोरो बाटोलो अनुहारसित?
भित्तामा झुण्डिरहेको
तिम्रो आप्पाको गोलाकार टोपी र डम्फु
तिम्रो आत्मसमर्पण देखेर
आत्मग्लानिले जलिरहेकोछ
देख्यौ कि देखेनौ तिम्रो त्यो चिम्से आँखाले??
तिम्रो पुर्खाको रगत र आँखाको निलो पोतिएको
त्यो त्रिकोणी झण्डा हल्लाउँदै
ढुक्कुरको जत्रो त्यो छाती
बेकार किन फुलाउँदैछौ च्याङ्बा?
त्यो झण्डाको त्रिकोणी चुसो र
तिम्रो थेप्चे नाकको वास्तुकर्म
खै कहाँनेर मिल्यो र ?
त्यो जातिय चन्द्र-सुर्यले डाम्दा डढेको
तिम्रो ढाक्रे आख्खे र आपाका निधारका डोबहरु
छामेको छौ त कहिल्यै?
फरक यत्ति हो च्याङ्बा
तिम्रो आख्खेले काँधमा चारपाङ्ग्रे भारी हाल्थे
तिमी ज्यानमारा झोला भिर्दैछौ
तर यी दुबैको उद्धेश्य एउटै छ च्याङ्बा
तिम्रो बचेखुचेको अलिकती ईतिहास पनि मेट्ने
र तिम्रो जीवनको भेटी खाने
तिमीनै भन च्याङ्बा
अब पनि
त्यही ढाकाटोपी र दौरासुरवाल माथि
ज्यानमारा झोला भिर्दै
र दुई हातले
उही चन्द्र-सुर्य फिर्लिङ्-फिर्लिङ हल्लाउँदैमा
तिम्रो मुक्तिको हिमाल हाँस्लान् त च्याङ्बा?
अँह मैले त फिटिक्कै पत्याइनँ च्याङ्बा
आउ……. च्याङ्बा…. आउ…..
त्यही झोलामा दौरासुरवाल, ढाकाटोपी र चन्द्र-सुर्य पोको पारेर आउ
आख्खेको धुर्सासङ्गै जलाउँला त्यसलाई
र त्यही आगोमा झोसेको मशाल बोकेर
निस्कौँला
एउटा फरक यात्रामा ।।

२०६८-१२-१० (याम्बु)
शब्दार्थ: तामाङ-नेपाली
धुर्सा: चिहान
आख्खे: पुर्खा/ जुजु-बाजे

SHARE