-झुमा लिम्बु, विक्रम सुब्बा

पृष्ठभूमि: हरेक मानव सभ्यताले यो संसार लगायत ब्रह्माण्डको सृष्टी, मानव जीवनको विकासबारे आ-आफ्नै दृष्टिकोण बनाएका छन् । समाज स्थापना र सन्चालन गर्ने विधी-विधानहरू, नियम-संहिताहरूको विकास र कार्यान्वयन गरेका छन् । अक्षरको आविस्कार र लेख्य परम्परा नहुँदासम्मती नियम-संहितालाई मुखमुखै थुथुरी (Oral)गीत (याद गर्न सजिलो)मा ढालेर मुन्धुम-शास्त्रका रुपमा संगालेर-बचाएर ल्याए। ती मुन्धुमले एकातिर ब्रहमाण्ड, सन्सार, सृष्टी, मानव जीवन,  सभ्यता र यसको विकासको बखान गर्छन् भने अर्को तर्फ समाज संचालनका निम्ती संविधान, ऐन र नियमावली (कस्टोमरी ल) का रुपमा दैनिक जीवनलाई निर्देशित गर्नका निम्ती प्रशिक्षण या पाठ्य सामग्रीको या दस्तावेजको काम पनि गर्दै आएका छन्। तिनै अलिखित नियम-संहिताहरू आजका आधुनिक राज्य संचालनका संविधान, ऐन र कानुन निर्माणका स्रोत र आधारबनेका छन् ।

भारत जस्तो मुलुकमा संविधान, ऐन, कानुनका स्रोत चार वेद लगायत गीता, मनुस्मृती, रामायण आदि हुन् जुन (गेयात्मक) छन्दमा अद्यापी गाइन्छन् । त्यस्तै मुस्लीम समुदाको ‘कुरान’ वाचन गर्दा पनि लयात्कमता अपनाउँने गरिन्छ । जापानी तथा चिनिया समाजको निम्ती ‘सिन्तो’, ‘कन्फ्युसियस धर्म’, ‘बुद्ध धर्म’हरू र त्यहाँका अलिखित अनेक ‘कस्टोमरी ल’हरू कानुनका स्रोत बनेका छन्, भने पश्चिमा मुलुकहरूका निम्ती ‘बाइबल’ ऐन-कानुनको स्रोत रहेको पाइन्छ । यी धर्मशास्त्र वा मुन्धुमहरूका नीति वा विधी-विधान धेरै हदसम्म गेयात्मक वा लयात्मक किसिमले गाउँने गरिन्छ र यी सबै कुनैबेला अलिखित थुथुरी वेद-शास्त्रका रुपमा रहेका थिए । अक्षरको आविस्कार भएर लेख्य परम्परा विकास भएपछि तिनै थुथुरी मुन्धुम-शास्त्र-गानहरूलाई ‘अभिलेखिकरण’ गरिएका हुन् । बहुसांस्कृतिक मुलुक नेपालमा अनेक मुन्धुमहरू(एथ्नो-म्युजिक) जातिय संगीत परम्परामै जिवित छन् । यी जातीय गीत-संगीतहरू कुनै नृत्यमुखी (Dancing based) र कुनै गायनमुखी (Singing based) छन् । यहाँ लिम्बु समाजको ‘मुन्धुम संगीत’का बारेमा चर्चा गरिन्छ । 

लिम्बुसमाजमा प्रचलित गीत-संगीतमा सृष्टि मुन्धुम, सोघा ना:प्मा मुन्धुम, सि?मेरिङ मुन्धुम, हाक्पारा, ख्याली र पालाम आदि गायनहरू रहेको पाइन्छन् जो सबै जसोगायनमुखी (Singing based)छन् । लिम्बु गीत-संगीत बढी ‘गायनमुखी’ हुनुले यो समाज बढी‘लोक वार्ता’वाला र हल्काफुल्का ‘मनोरन्जन’नगर्ने समाज भएको संकेत गर्छ । लिम्बु समुदायमा गायनको माध्यमबाट जीवन-जगतका बारेका गंभीर ज्ञानगुन र संस्कृती-सांस्कारका कुराहरू पुस्ता-दर-पुस्ता हरेक नयाँ पुस्तालाई अनेक किसिमका मुन्धुमहरू मार्फत सुनाउँदै-बुझाउँदै प्रशिक्षित गर्दै र हस्तान्तरण समेत गर्दै मुन्धुमहरू जिवन्त राख्ने परम्परा अहिले पनि जिवित नै छ ।हरेक साँझ युमा, थेबा र जानिफकारहरूले तथा तङसिङतक्मा जस्ता नियमित अनुष्ठानहरू मार्फत अनेक मुन्धुमहरू कहिन्छन् । 

लिम्बु समाजको धान नाचका ‘पालाम’हरू पनि ‘वार्ता प्रधान’ रहेकाछन् भने ‘च्याब्रुङ नृत्य’ समेत ‘लोक वार्तामुखी’“ब्याले” हो जसमा च्याब्रुङको तालमा नच्दै (बिना बोली र गीत) ईसाराले र शारिरिक अंग तथा आँखाको चाल तथा हाउभाउ (Body language) मार्फत ‘वार्ता’ गरिन्छ,भन्नु पर्ने आफ्ना कुराहरू सिलसिलेवार किसिमले दर्शकले बुझ्ने गरिसंप्रेशण गरिन्छ । यो “च्याब्रुङ ब्याले” लिम्बु समाजको र प्रकारान्तरले नेपाली समाजकोएक विशिष्ट परम्परा र सम्पदा हो । मुन्धुमहरूलाई पछिल्लो समयमाखस भाषा तथा देवनागरी लिपिमा, लिम्बु भाषा तथा सिरिजंगा लिपिमा, अंग्रेजी भाषा र रोमन लिपिमा अभिलेखिकरण गर्न र नेपाल बाहेक बेलायत तथा हङकङ तिर समेत संकलन गर्न तथा पढ्न-पढाउँन थालिएकोछ । “मुन्धुम संगीत रैथाने सांस्कृतिक धरोहर मध्ये एक हो । सौभाग्यले यसका आधारभूत पक्षहरूमा काम गर्ने मौका मैले पाएँ । मुन्धुम संगीत श्रृष्टि, सभ्यता, समाज, जीवन, प्रेम, दया, माया, करुणाहरूको गाथा र अभिलेख दुबै हो ।“ (झुमा लिम्बु, असोज २०७१, खासाम एलबम)भनि गरिएको ‘मुन्धुम संगीत’को परिभाषामा टेकेर केही छानिएका मुन्धुमी गानहरूको चर्चा गरौँ:

सृष्टि मुन्धुम: हरेक मानिसको जिज्ञासा -ब्रह्माण्ड, धर्ती, आकाश, जल-जमीन, किटपतंग, बनस्पती, जन्तु-जनावर, मनुस्य चोला आदिको सृष्टी र विकास कसरी हुँदै आयो ? मनुस्य चोला कसरी सुरु भयो? आदि जीवन र सभ्यताका गंम्भीर दार्शिनिक पक्षहरू ‘सृष्टि मुन्धुम’मा गाइन्छ:

धर्ती पनि थिएन रे संसार पनि थिएन रे
तल हेरे सुन्य माथि हेरे सुनसान थियो रे
 
तागेरा माङले निङवाफु माङले
वुद्धिले सोच्यो मन लगाई गुन्यो
 
रित्तो आकासको धूरीमा फिलिङगो बनाए’रे
महासुन्य वीचमा उज्यालो बाले’रे
 
सृष्टीको पुरुषभन्दा पनि अझै जेठोले
पोरोक्मी माङलाई याम्भामी माङलाई
 
धर्ती बनाउ संसार बनाउ भनेर अराई
कामना गरेर स्वीकृती दियो
 
धर्ती बनेन संसार पनि बनेन
वुद्धि र विवेक केहीले काम गरेन
 
पोरोक्मी माङ र याम्भामी माङहरू
तागेरा माङ र निङवाफु माङकोमा
 
सेवा गर्दै गयो’रे सोधनी गर्‍यो’रे
बुडी बोजु हजुर पुजनीय आमा हजुर
 
हजुरले चिताएजस्तो काम हुन सकेन
मलाई वुद्धि दिनु मलाई राम्रो विचार दिनु
 
निङवाफु माङले पोरोक्मि माङलाई
वुद्धि दियो’रे विवेक-विचार दियो’रे
 
वुद्धि दिएजस्तै विवेक दिएजस्तै
पोरोक्मी माङले साम्माङ जेठोले
 
सृष्टी गर्नको लागि धर्तीको सृजनाको लागि
सबै सम्माङहरूलाई बोलाएर सल्लाह गरे
 
माकुरालेजस्तै जालो टाँग्न थाले
जालोमा अडिएर सृष्टिको मियो बस्यो
 
जमिन विछ्याए र जलथल विछ्याए
खोलानाला बनाए र आकाश टाँगे
 
धर्ती बन्यो’रे सिमसार पनि बन्यो’रे
रुख विरुवा पातपतिङगर रोपियो
 
पहराभित्ता बन्यो खोल्सा-गुफा बने’रे
बालुवा बन्यो गेगरहरू बने
 
चराचुरुङगी बने जीवजनावर बने
डाँडाकाँडा वनजंगल सबैलाई सुहायो
 
धर्ती सुहाउन संसार सुहाउँन
मानिस बनेछौँ हामी बोल्न थालेछौँ
 
शुद्ध वुद्धि विवेकहरू पाईयो
जीवनजन्तुमा हामी सर्वश्रेष्ठ भयौँ
 
सामसोघा मुन्धुम: अकाल (लडेर, बगेर, जलेर) मा मरेकोअतृप्त आत्मा ‘सोघा’ बनेर आफ्नो गाउँ-ठाउँमा अनेक रुप लिएर चौतारा-पँधेरा, धान नाच्ने खला, खेल्ने आँगनमा  आवत जावत गरिरहन्छ । जिउँदाले देख्दैनन् तर महसुस गर्छन् र‘सोघा’ले दु:ख दिएको ठान्छन् । “सोघा”लाई फकाई-फुल्याई, हकार-पकार या धम्क्याएर ‘सिदा’समेत दिएर ‘उसको बाटो’ लगाउँनर दु:ख कष्टबाट घर-गाउँलाई जोगाउँन ‘सोघानाप्मा मुन्धुम’ गाएरै अनुष्ठान गरिन्छ:
माङ पुकारा (थालनी १)
ए…..हामीले पुज्दै आएको परम्पुजनीय युमा रानी !
आजको दिन, उहिलेका आठ राजाका वंशका घरमा
मानमनितो गर्दै आएको भद्रभलाद्मीहरूको घरमा
समाजका अरु सबै छरछिमेक र सज्जनका घरमा 
उनकै रक्षामा म चारदिशा तैनाथ भई उभिँदा
यहाँ कसैको नजर नलागोस् है
आँखी-डाही पनि कसैको नपरोस् है (भनेर)
(सोघालाई उसकै बाटो लगाएर
यो घरका सबैको कल्याणमा मुन्धुम उठाउँछु है)
——-     ——–     ——-
गुरु पुकारा (थालनी २)
हे….नदेखिए पनि कतैबाट दुनिया चलाउँने शक्तीहरू हो !
सबै विद्या-ज्ञानमा पारंगत गुरु शक्तीहरू हो !
(यहाँहरूको अनुमतिले…) भन्दै आएको मुन्धुम भन्दै लान्छु
मुन्धुमको रीति नभुली, खसोखास मुन्धुम गाउँदै लान्छु
(सोघा ना:प्मा मुन्धुम, अब सुरुहुन्छ)
(ताहाँ पछिको मुन्धुम सबले सुन्नु है….)
मर्न गारोले जागृत आत्मालाई
भड्किएर तर्साई हिन्ने सोघालाई
सिद्धी प्राप्त येबाले पछ्याउँदै जाँदा
मिलिक्कै हराएको सोघा
कहिले दोभानतिर झिलिक्कै देखिन्थ्यो
फेरि कतै हराउँथ्यो सोघा
र अचानक पानी-मुहानमा देखिन्थ्यो
फेरि पानी भएर बगिहँड्थ्यो
दहमा टलटल माछा भई खेल्थ्यो
झुक्याईलो मायावी सोघा
कहिले दुम्शीको दुलोमा हराउँथ्यो
कहिले कताकता रोएको सुनिन्थ्यो
छलकारी सोघा छलेर फेरि चिल बन्थ्यो
फुर्तिलो चील-बेस्सारेभई
एकैछिन पछि कावा खाएको देखिन्थ्यो
सोघा कहिले मृग भएर उफ्रिन्थ्यो
कहिले ब्वाँसो भएर झम्टिन्थ्यो
कहिले चित्तल र लगुना भई दगुर्थ्यो
येवाले चारचौरास सोघाको पिछा छोडेन
छलकारी सोघा कहिले वनस्पती-विरुवा भई बस्थ्यो
येबाले पनि रुप बदल्दै सोघालाई पछ्याईरह्यो
खोजतलास गर्न येवा चील-बेस्सारे भई कावामा उड्यो
आकासबाट हेर्दा सोघालाई तल खेल्दै गरेको देख्यो
धनुकाँणको तेजमा झरेर सोघालाई पक्रियो
येवाले पछारी मार्न उचाल्दा
विन्तीभाउ गर्दै सोघा बोल्यो –
‘हे येवा! यो के गर्न थाल्यौ?
मलाई केको विपत्तीमा हाल्यौ?
हे येवा! तिमी त सबैमा बलसाली हौ
म बबुरोलाई मारेर के पो जित्छौ र?
बरु सिदा दिएर मलाई टाढा जान देउ
मेरो खान-पान र लत्ताकपडा छुटाई देउ
मलाई फलफूल र विउबिजन छुट्टाई देउ
गरगहना हिल्लीमोती (बहुमुल्य मोती) सबै अब छुट्टाई देउ
मैले पाल्ने वस्तुभाउ फरक पारेर लैजाउँला
मलाई मारे तिमीलाई पनि आपत पर्ला
यहाँबाट टाढा गएर कतै म घरबास गरौँला
म गएपछि बरु बाटो सदालाई छेकिदेउ
नमक्किने धागो र तगारोले बाटो थुन
तेसपछि म ८ वर्ष आउँदिन
धागो नछिने त ९ वर्ष आउँदिन
आएमा यसैरी फेरि ८ वर्ष धपाउँनु
यति मुन्धुम पुगे कहिले दु:ख दिन्न’
—      —-  —-                              
हे सोघा, हे अगती आत्मा !
तिमीले भनेजस्तै म येवाले खानपान दिएँ
अब तिमी मैले टाँगेको धागोरेखी बाहिर बस
लौ अब मानवबस्तीबाट सदाकोलागि विदा गरेँ
अब तिमी खोला बगर र ढुँगे ओडारतिरै बस
बाचाबन्धनको दश वर्ष तिमी आउँन पाउँने छैनौ
तिम्रो बाटोहरू थुनेँ आकाशमा बार लगाइदिएँ है
आकाश र धर्ती जोडेर मन्त्र फुकेको ढुँगा गाडेर
तिम्रो सबै गौँडा-बाटोहरू निमिट्यान्न थुनिदिएँ
अबदेखि मानव समाज सुख-चयनमा रहनेछन्
तिमी आफ्नो बाटो लाग, म घरबस्तितिर फर्केँ है!

मेरिङ थक्मापृय मानिस संगको विछोडमा, विवाह गरी माइती गाउँ छोडेर अपरिचित ठाउँमा पुग्दा विरक्त चले (Home sick भए) मेरिङ थक्मा (विरह) गाईन्छ । आफ्नो पृय मानिसको मृत्यू हुँदा गाईने एक किसिमको शोक गानलाई‘सि?मेरिङ’ भनिन्छ ।  जस्तैः प्यारो वच्चामर्दा सन्तापको उतार-चढावलाई रुँदै गेयात्कम रुपमा संप्रेशण गरेर माता-पितालेरिकन्सिलिएसन गर्छन् । पतिको मृत्यूमापनि यस किसिमको शोक गान गाउँदै अन्तमा रिकन्सिलिएसन गर्ने गरिन्छ ।

सि?मेरिङ गायन लिम्बुसमाजको एक विशिष्ट सांस्कृतिक परम्परा हो, जसले परिवारमा आईपर्ने मृत्यु जस्तो बज्रपातले पारेको मानसिक अघातलाई व्यवस्थापन(Psycho Therapy) गर्ने विधीकारुपमा काम गरेर निरन्तर मद्दत गरिरहेकोछ । कुनै शोकमा परेको परिवारलाई सहयोग (Support)गर्न दाजुभाईकार गाउँलेहरू मरण परेको घरमा २-३ दिन-रात जाग्राम बस्न जम्मा हुनेचलन नै छ । यो जाग्राम बस्ने साँस्कृतिक कार्यशोकमा परेकाहरूलाई हरक्षण सहयोग गर्नेमनो-सामाजिक सुरक्षाकवच (Socio-psychological safety net)नै हो । 

‘मेरिङ थक्मा’लाई लिम्बु समाजमा निहित “भेन्टआउट मेकानिज्म”हरू मध्ये एक हो भनि भन्न सकिन्छ । जसरी ‘तीज’ या ‘घोडेजात्रा’ या ‘होली’ आदिले मनभित्र गुम्सिएर बसेको सामाजिक कुण्ठापोख्ने ‘भेन्टआउट मेकानिज्म’को काम गर्छ भने जस्तै ‘सि?मेरिङ’ले पनि आफ्नो पृय मानिसको मृत्यूले पार्ने गहिरो मानसिक आघातलाई ‘भेन्टआउट’गरेर तनाव व्यवस्थापन गर्नका निम्ती एक मनो-सामाजिक संयन्त्र (Psycho-social vent out mechanism) का रुपमा समेत काम गर्दछ । हरेक समाजमा अनेक किसिमका आपत-विपत, विरह-अवशान र पीर-व्यथाहरू आईपर्दछन् भने तिनको उचित व्यवस्थापनको निम्ती तत्ततत्त समाजले मनो-सामजिक संयन्त्रहरू पनि विकास गरेका हुन्छन् । यहाँ नावालक पृय छोरी मर्दा पिताले गाएको ‘सि?मेरिङ’:

के भइगएको नि तिमी
हामीलाई नछोड 
एक चोटि त आँखा खोलेर हामीलाई हेर 
एक पटक त बाबा भनेर बोलिदेउन 
 
अब देखि कस्लाई मामै भन्ने नि मैले 
तिमीलाई भेट्न तिम्रा साथीसंगी सबै आए 
दाजु–भाई सबैलाई छाडेर जाने हौ त तिमी 
हिजै मात्र बाबा बाबा भन्दै थियौ 
एक चोटि फेरी बाबा भन्देउन 
साथी भाई सप्पैलाई छोडेर जन्छौ त?
मलाई पनि छोडेर जान्छौ त?
 
हातमा बाहीँ चुरा कमाईदिनु है भन्थ्यौ
सुँगुर पेवा पाल्छु है भन्थ्यौ 
सेक्मूरी फुल झैँ हुर्किदै थियौ 
फुल्दै नफुली कलिलै झर्‍यौ 
 
नलाउने लुगा लगायौ नि 
नलाउने फुल लगायौ  नि 
नजाने बाटो खेद्यौ नि 
नचल्ने याङलाई चलायौ नि 
 
मेरो छोरीलाई कता लगेको हो 
एकैछिन मुहार हेर्छु नि 
मलाई पनि लैजाउ न
फुल जस्ती छोरीलाई कहाँ लाने हो?
 
कहिले दुःख नपरोस 
चोत्लुङमै पुगेर बस है
कसरी हामी फर्किनु (छोरीलाई पुरेर)
छोरीलाई कसरी छाड्दिनु (एक्लै)
कुसाईते बाटो नलाग्नु है 
पुर्खाका काखमै पुग्नु है
अब त छुट्नु त रैछ नि।
 
हाक्पारा: मनुस्य चोला धर्तीमा विकास भएपछि हामीले सभ्यतालाई चलाउँदै आएका हौँ । यस जीवनलाई अझ सुब्येफाप्पे र सुमधुर बनाउँदै लैजाउँ भनि सकारात्मक र अमन चयन युक्त जीवनको कामना ‘हाक्पारा’भित्र मुन्धुमका रुपमा गाइन्छ । जसले हरेक पुस्ता-दर-पुस्तालाई जीवन र सभ्यताका दार्शनिक कुराका बारेमा नित्य प्रशिक्षित गरिरहन्छ । अर्थात, नै सँस्कार-सँस्कृती भनेको मानव समाजको आधारभूत तालिम संस्था(Fundamental training institution)हो । पशु-जगतमा यस्तो संगठन हुँदैन । लिम्बु समाजको ‘हाक्पारा’ले प्रशिक्षण दिएर बालबालिकाको दिमागलाई ‘रिफाइन’ गर्ने र सभ्य बनाउँने काम गरिरहन्छ, हृदय तथा मनमस्तिस्कमा आफ्नो छुट्टै मुल्य र मान्यता स्थापित गर्न सिकाईरहन्छ । ‘हाक्पारा’को एक नमुना:
हाम्रो ज्यान र संसारी जीवन 
झरेर जाने फुलजस्तो पो त
(झलक्कै आँखा यूँ जस्तो पो त)  ए… ओरिल्लो 
भद्र भलाद्मी सबैलाई सेवा ढोग छ। 
आमाहरुलाई पनि सेवाढोग छ।
जोवनका लाठे तन्नेरी हो।
ए…उभौली भुरा भै हुर्केका साथी हो। 
 
ए… श्रृष्टी पनि थिएन, धर्ती पनि थिएन 
धर्ति र आकाश जोडिएको पनि पछि हो।
छेत्छेती दैवले, तागेरा निङ्वाफुमाङ्ले 
ए…मानिसको श्रृष्टी गर्‍यो, जीवन दियो 
 
मानिसको चोला, मुनुख्खे जाती 
जन्तुमा जेठो, सबैमा बाठो 
जीउँनेलाई मुन्धुम बन्दैजाओस 
ए… मरेर जादा सुनाम्सो मुन्धुम भन्दैजाओस
 
योचुलीमा झर्ने हिउँ जस्तो पो त 
अमनचैन साथ चनाखो जीवन जिउँने हो।
 
सोचेकोजस्तै ठानेकोजस्तै भन्नुभो हजुर
आठराजा नौराजाका सन्तान हौँ हामी
हामीले नै बाँचेका कथा भन्नुभो हजुर
यहाँको कुरा साँचै चित्तमा बस्यो हजुर
 
सृष्टीको धर्ती र धर्तीमा चोला रहेसम्म
मुकुम्लुङजस्तै पवित्र जिउनु पर्छ
फुलजस्तै चोला छ हामीले पाएको
एक्कैछिन हामी फुलिदिउँ फुलैसरी
 
मनुस्यको चोला लिएर जन्मेको कसरी  
खोज्दै जाउँ सुन्दै जाउँ मानिस भयौँ कसरी
सृस्टी जसरी चल्यो मुन्धुम त्यसरी बन्यो
यहाँ सम्म आयौँ संगसंगै अघि जाउँ है
भाग्य र आसिक शिरैमा बसेको छ नि
भद्रभलाद्मी नजर-माया चारतिरै छ नि 
तै पनि जीवन अजम्बरी छैन रैछ
बाँचुन्जेल फक्ताङलुङ उज्यालो बाँच्नै पर्छ
ख्याली: लिम्बु समुदायका अपरिचित महिला पुरुष (विशेषः युवा युवती) भेट हुँदा कवितात्मक वार्तालाप गर्दै परिचय-चिनजान गर्ने, साइनो केलाउँने प्रचलन रहेकोछ जसलाई ‘ख्याली’ भनिन्छ। लिम्बु समाजको प्रथाजन्य कानुन (कस्टोमरी ल) को यो एक रुपहो । संस्कृतीले नै युवा युवतीहरूको हकमाख्यालीकै भाकामा साइनो केलाउँने, साइनो लागे सो मुताबिकढोगभेट गर्ने तर साइनो नलागे कुटुम्बका रुपमा धान नाच्ने प्रस्ताब गर्ने ‘विधी’ अपनाउँन सिकाउँछ । शायद “ख्याली” (लिम्बु समाजकोजस्तो) नेपालका अरु समाजमा छैन जुन नेपालको एक विशिष्ट साँस्कृतिक सम्पदा हो । साईनो नलाग्नेसंग अब ‘धान नाचौँ’ भनि प्रस्ताब गरिएको ‘ख्याली’ – 
(केटा)
जोवनै फुलेकी फुलरानी 
बेस्सरी राम्री हजुरनी 
धर्तीमा एकजोर थियौँ र पो 
कस्तोमा राम्रो भेट्यौँ र पो 
 
एकै छिन हाँसख्याल गरौ भन्छु 
मायालु बातहरु मारौ भन्छु
 
जोवनमा सधैँ साथ होला
रिसानी भए माफ होला हजुर्नी माफ होला!
 
(केटी)
आकाशमा जून छ झल्झली 
त्रिशाली  मेला जगजगी 
 
मनैको बह पो गाउने हो कि 
नौतुनै साइनो पो लाउने हो कि 
 
एकै छिन हाम्रो धान नाचि लैजाउँ
हाम्रै हो रिती यो साचि लैजाउँ
 
नौतले मन्दिरको गजुरलाई हो 
यो मेरो विन्ती हजुरलाई हो।

पालाम: आफु जन्मेको भुमीको जयगान तथा ईमान-ईज्जत-पहिचान थाम्ने कुरा लगायत यौवन र माया पिरती गाउँनु मानव जीवनका सास्वत पक्ष हुन् । यो सन्सारको जुनसुकै समाजको परम्परामा निहित छ । यी सास्वत कुराहरूको विशिष्ट गाथालाई लिम्बु संस्कृतीमा’पालाम’गाउँदै ‘या?ला:क्मा’ (धान नाच) नाचिन्च । ‘पालाम’ नै दिनदिनै, जुनसुकै उत्सव महोत्सवमा गाउँदै भावना साटासाट गर्ने वा एक्लै एकान्तमा बसेर विरही भावनाहरू पोख्ने ‘लोकवार्ता’को एक रुप हो । गीत यसको स्वरुप वा जीउ हो भने भित्री सारमा जीवन, यौवन, उत्साह, उमंग, सुखदुःख, हौसला-प्रेम, विरह, अवशान, प्रकृती-हिउँ-वतास, झरना-खोला, फुल-पत्कर-काँडा, गृहस्थी, साधु-सन्त, दिन-रात, वर्षा-हिउँदोयामहरूको जीवनसंगको अन्तरसंबन्ध तथा मरण र पुनर्जन्म समेतको कुराहरूलाई पालाममा गाउँदै भावना संप्रेशण गर्ने गरिन्छ । बिभिन्न स्थान विशेष(फेदाप्पे, चारखोले र मैवाखोले, आदि) र उमेर अनुसार’पालाम’ गायनको शैली, लय, शब्द छनौटमाथोर-बहुतभिन्नता रहे पनि यसभित्र निहित बोल मिल्दोजुल्दो नै हुन्छ । पालामका तीन नमुनाहरू –

७-१। पालाम (फेदाप्पे)
दसलिम्बु जागे पो जय होला 
मिलेर है लागे जै जै होला 
 
थाम्नु छ इमान याक्थुङ हो 
चालै र चलन हमी याक्थुङको 
 
मेख्ली र तागा हाङजाङे यो 
ख्याली नु हाक्पारे पैचानै हो 
 
कक्फेक्वा सिसेक्पा पर्वकै साथ 
मान्दै जाउँ चासोक गर्वकै साथ 
 
७-२। पालाम (चारखोले)
औलको चरि तेम्बोङना पो 
मन थामी छुट्नु पर्ने नै भो 
 
मंसिरे शित पर्दोरै’छ ।
छुट्टिदा आँशु झर्दोरै’छ।
 
वैशाखै ढुकुर रुन्छ नै 
बाँचे त भेट हुन्छनै 
 
सम्झना साँची लिजाउँला है 
विछोडको आँशु पिजाउँला है 
 
चुचुरा हिउँले धुन्छै हजुर 
माङ् कसम भेट त हुन्छै हजुर
 
माइवेनी मेला भेटुला’है 
खुशिको आँशु पिउँला’है
७-३। पालाम (तम्मरखोले)
मायालु सन्देश आएकै हो 
भेटघाटे खबर पाएकै हो 
 
मायाकै माला उनेपछि 
के राम्रो हामी भेटेपछि 
 
जीवनफूल हाम्रो सजाउँ क्यारे 
मायाँको चुली चढाउँ क्यारे 
 
पानी त कुलोमा बगाउँ भन्छु 
यतिकै बिन्ति पो चढाउँ भन्छु 
 
कुलो यतै बगे पछि 
मन माफिक कुरा भएपछि 
 
आकाशै घामजून बलेसम्म
धर्तीको श्रृष्टि चलेसम्म
 
कोपिला थुङ्गा फुलेजस्तै 
पिरतीको भाका खुले जस्तै
 
मायाँको साँघु थापी राखौँ
न्याउलीकै जोडी बाँचिराखौँ

ठहर-निर्क्यौल: उल्लेखित मुन्धुम गायनहरू लिम्बु गाउँ-समाजमा जिवित रहेका परम्परागत “लोकवार्ता” हुन् । माथिको पहिलो सृष्टि मुन्धुमले योदुनिया-जगत तथा बनस्पती र जिवित प्राणीका सृष्टीको ‘मुन्धुम’ गाएरै कहन्छ । सोघा ना;प्मा मुन्धुम गाएर अतृप्त आत्माको व्यवस्थापन गरिन्छ । ‘सि?मेरिङ’ले शोक संतप्त मानसिक अवस्थाको व्यवस्थापन गर्ने विधी हो । हाक्पारा‘मुन्धुम’मा मानव जीवनको गाथा गाउँछ । यसरी हेर्दा“खासाम”मा समेटिएका मुन्धुमी गानहरू सिरिफ मनोरन्जन दिने गीत मात्र नभएर लिम्बु समाजको विश्व दृष्टिकोण तथा समाज व्यवस्थापन र संचालनका नियम-विधान(कस्टोमरी ल) समेत सिकाउँने पद्धतीका अंशहुन् । ख्यालीको विषयवस्तुलेअपरिचित लिम्बु युवा युवतीहरू भेटघाट हुँदा बडो सिष्ट किसिमले (लोक)वार्तालाप गरेर धान नाच्न थाल्ने प्रस्ताव-विधीको झलक प्रस्तुत गर्दछ । पालाम लिम्बु समाजमा मात्र गाईने विशिष्ट परम्परा हो जसमा आफ्नो दौँतेरी युवा वा युवतीको हात समातेर (रत्तिभर भल्गर सोचाई बिना) आत्मीयता महसुस गर्दै नृत्य थलोमै आशु कविझैँ गीतको गेडा ठाउँको ठाउँ तत्काल रच्दै परिस्थिती अनुसार सवाल-जावफ (Situational creativity)गर्ने विशिष्टता यसमा निहित छ । 

अचम्म के छ भनेलिम्बु गीत-संगीतमा उत्ताउलो बोल्ने, रेला गर्ने, हँसी मजाक, छाडा, भल्गर, यौन-उश्रृङखलता, हेप्ने-होच्याउँने, तल्लो स्तरमा झरेर जिस्किने र अरुको बेइज्जत गर्ने, उल्याउँने किसिमको गायन परम्परा कहीँ-कतै पाईँदैन । यदि कसैले कुनै युवतीलाई हेपेर, उश्रृंखल वा भल्गर किसिमले जिस्क्याए उनका माईतीहरू मार्न-मर्न तैयार हुन्छन् तर ‘चेली’को बेईज्जतलाई आफ्नै बेइज्जत ठान्छन्, सहँदैनन् । यसबाट लिम्बु समाज आफ्नै किसिमको सुसंस्कृत र आफ्नो इज्जत-ईमानमा रहने समाज हो भन्ने बुझिन्छ । 

यिनै जीवनका अत्यन्तै गंभीर विषयवस्तुको गायन गर्ने जिवित परम्पराका तथ्यहरूका आधारमा लिम्बु समाजमा रहेको सांगीतिक सम्पदालाई “मुन्धुम संगीत” भनिएको छ र त्यसलाई प्रमाणित गर्ने विभिन्न गायनका बान्किहरू पेस गरिएकाछन् ।

थाँती-रहल कुरा: ‘मुन्धुम संगीत’लाई विस्तृत रुपमा केलाउँदै यसका सबै अवयवहरूको अध्ययन गरेर छुट्टै ‘मुन्धुम संगीत व्याकरण’ लेख्ने काम गर्नु पर्ने देखिन्छ । जस्तै: भारतीय संगीतमा सा रे ग म प ध नी सा लाई गायनको आधारभूत व्याकरण मानिएको छ भने पाश्चात्य संगीतको हकमा do re mi pha so la ti doलाई आधारभूत व्याकरण मानिएको छ । चिनीया संगीतमा शाङ, चे, गोङ, फान, लिऊ, वू, यी, शाङ लाई व्याकरण मानिएकोछ ।

अब प्रश्न आउँछ के भारतीय, चिनीया वा पाश्चात्य संगीत व्याकरण(हरू) अनुसार नै मुन्धुम संगीत  तथा ‘सेलो’ ‘घाटु’ ‘धीमे’ र ‘दुज्याङ’ लेख्न र गाउँन वा सिक्न-सिकाउँन सकिन्छ ? कि आफ्नो छुट्टै व्याकरण हुनु पर्दछ ? यो कुरा नेपालको ethnomusicology क्षेत्रका अध्येता तथा अनुसन्धाताले काम गर्ने क्षेत्र हो भनेर “मुन्धुम संगीत”मा काम गर्दा महसुस भएकोछ । नत्र भारतीय संगीतको व्याकरण अनुसार भजन गाउँने, आधुनिक गीत (हिन्दी फिल्मी) र सुगम संगीत गाउँने अनि आफ्नो पहिचानको कुरा गर्ने त मिल्दैन । कि त भन्नु पर्‍यो – नेपाल (संगीतको हिसाबले) बारतकै अंश हो । जसरी हरेक मन्दिरहरूका भजन गायकले, भारतको शास्त्रीय संगीत गाउँनेले र (बलीउडे) आधुनिक गित गाउँनेले त हरेक साँझ-बिहान ‘हामी भारतकै अंश हौँ’ भनि रहेछन् । तेसो त जोतिषी, कर्मकाण्डि बाजेहरुले नेपाललाई समबोधन गर्दा आज पर्यन्त ‘भारतवर्से नेपाल खण्डे’ (भारतकै नेपाल खण्ड) भनेर दिनै पुजा-आजा गरिरहेछन् ।

SHARE