नोभेम्बर १७, २०१७ डल्लास । टेक्सासमा तामाङ सोसाइटी अफ डल्लास गठन भएको छ । गत शुक्रबार टेक्सास राज्यको डल्लासमा सम्पन्न भेलाले  छिरिङ लामाकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितीको उपाध्यक्षमा रत्नमान तामाङ, महासचिवमा शंकर घिसिङ, सचिवमा इन्दु लामा, कोषाध्यक्षमा माया योन्जन र सहकोषाध्यक्षमा जितबहादुर तामाङ सर्वसम्मत चयन भएका छन् । कार्यसमितीका सदस्यहरु जेनी लामा, अमरमाया लामा, संग्राम सिंह तामाङ, सुर्य मोक्तान, सुर्य बहादुर तामाङ, धनकुमारी लामा, सोनाम डोल्मा तामाङ, शंकर तामाङ र सुदिप लामा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं नर्थ अमेरिका तामाङ सम्मेलनका कन्भेनर शान्त थोकर तामाङले न्युयोर्कमा आगामी जनवरी १३ र १४ मा आयोजना गर्न लागेकाे उत्तर अमेरिकी तामाङ सम्मेलनमा तामाङ सोसाइटी अफ डल्लासको अहम भूमिका रहनु पर्ने बताए । उत्तर अमेरिकी तामाङ सम्मेलन मार्फत उत्तर अमेरिकामा बसोबास गर्ने तामाङहरूलार्इ संगठित गर्दै तामाङ समुदायको सामाजिक, आर्थिक, राजनीतिक एवं शैक्षिक विकासको लागि विश्वव्यापी अभियान चलाउने कन्भेनर थोकरले बताए ।

 

सम्वोधनका क्रममा फिप्नाका अध्यक्ष लुईसाङ वाईबा तामाङले टेक्सास राज्यमा बसोबास गर्ने तामाङहरु संगठीत भएकोमा खुशी ब्यक्त गर्दै, अब आफ्नो पहिचान र अस्तित्वको लागि सक्रिय रहनुपर्ने बिचार व्यक्त गरे ।

उत्तर अमेरिकामा बसोवास गर्ने सम्पुर्ण तामाङहरुले उत्तर अमेरिकी सम्मेलनमा सक्रिय सहभागिता जनाएर तामाङहरुको एकता प्रदर्शन गर्नुपर्ने र तामाङहरुको बृहत्तर हितको लागि जागरुक हुनुपर्ने सदस्य सचिव लक्यान लामाले बताए ।

नवनिर्वाचित अध्यक्ष छिरिङ लामाले उपस्थित तामाङ लगायत सम्पूर्ण अन्य शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । साथै न्युयोर्कबाट कार्यक्रमलाई विशेष सम्बोधन गर्न पुगेका सबै अतिथिहरुप्रति आभार प्रकट गरे । उनले टेक्सास निवासी तामाङहरुलाई एकिकृत गरि रचनात्क कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता जनाए ।

SHARE