-पेमा लामा सङ्घर्ष
बनेपा । नेपाल प्रज्ञा प्रतिष्ठन काब्य विभाग संयोजक डा. अमर गिरीले जाति समुदायबीचको उकता खोजेर मात्रै सबल, बलियो अनि एकीकृत नेपाल बन्ने बताएका छन् । बुधवार काभ्रेको बनेपामा नेपाल प्रज्ञा प्रतिष्ठान र तेमाल फाउण्डेशनले आयोजना गरेको ‘काभ्रे साहित्य यात्रा २०७४’ को अवसरमा काब्य विमर्श कार्यक्रममा बोल्दै प्राज्ञ गिरीले नेपाली भाषा र अन्य भाषाको सहित्यलाई जोड्ने काम प्रतिष्ठानको गरेको बताए । उनले भने ‘कविताको विकास कविता महोत्सव गरे मात्रै हुँदैन, कविता विमर्श पनि गर्नुपर्छ । जसले त्यसभित्र भएका कुरालाई खारिएर सबल बनाउन सकिन्छ ।’

उनले तामाङ साहित्यकारहरुको योगदानबाट नेपाली कविताको थप फैलावट भएको बताउँदै काभ्रे तामाङ समुदायको बाहुल्य रहेको र तामाङहरुको ऐतिहासिक भूमि भएकाले काभ्रेमा काब्य विमर्श कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशि लिम्बुले काभ्रे साहित्य यात्रा काब्य विभागको पहिलो साहित्य यात्रा भएको बताए । उनले स्थानीय स्तरको सहयोगबाट नै प्रतिष्ठानको कार्य पूर्ण हुने बताए ।

बरिष्ठ साहित्यकार मोहन दुवालले शिक्षाको कारण पछि परेको उल्लेख गर्दै कवितामा कम कलम चलाएर चर्चा बटुल्दैमा चर्चित कवि नहुने तर्क राखे । कार्यक्रममा साहित्यकार खोजराज गोलेले नेपाली कवितामा तामाङ साहित्यकारको योगदान’ विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै गोलेले तामाङको छोरा वा छोरीले लेखेको कविता तामाङ कविता भनेर हेर्ने दृष्टिकोणलाई चिर्न नसकेसम्म तामाङ कविता राष्ट्रिय भाषा वा नेपाली भाषाको कविता भनेर स्वीकार्न नसक्ने बताए ।
सो क्रममा कार्यपत्र माथि टिप्पणी गर्दै कवि राजु स्याङतानले कवितामा मायापिरतिको कुरा मात्रै भन्दा पनि राजनीतिक विषयलाई उठान गर्नु अहिलेको आवश्यकता भएको बताए । ‘अहिले इतिहासलाई कोट्याएर मात्रै वा माया पिरतीको कुरालाई उठाएर मात्रै भावि दिन सुनौलो हुन सक्दैन, त्यसको लागि राजनीतिक अधिकारको समेत विषयलाई जोडदार उठाउन आवश्यक छ ।’ स्याङतानले भने ।

कार्यक्रममा राजु स्याङतान, विना थिङ, शितल लामा, रामगोपाल आसुतोष, मोक्तान थेवा, सुनिता खनाल, मोहन दुवाल, देबकी अविलासी, ब्रम्हप्रिया प्रमेस्वरुप लगायत ३० जनाले कविता बाचन गरेका थिए ।

तेमाल फाउण्डेशनका अध्यक्ष जगतमान तामाङको सभापतित्व गरेका कार्यक्रममा सचिव हिरामान बल तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । स्वागत मन्तब्य रेडियो नमोबुद्धका स्टेशन म्यानेजर भक्त स्याङतानले राखेका थिए । कार्यक्रम रेडियो नमोबुद्ध धुलिखेलको सहकार्यमा भएको थियो । फाउण्डेशनका उपाध्यक्ष सानुमान तामाङले अतिथिलार्इ खादा लगाएर स्वागत गरेका थिए ।

SHARE