-नाम्सादिम

अक्सफाम एक सय किलोमिटरको दौड शुक्रबार बिहानदेखि शुरु भएकाे छ । नेपाली टोलीको नेतृत्वकर्ता पूर्ण तामाङले भने, ‘जित्नैको लागि दौड्ने हो। हाम्रो पहिलो लक्ष्य यहि हो। यसैले जित हाम्राे नै हुन्छ ।’

जितका लागि नेपाली टोली मानसिक र शारीरिक दुवै हिसावले तयार भएको बताउँदै शतप्रतिसत विश्वस्त रहेको तामाङले दावी गरे। ‘यसो गर्दा रेकर्ड ब्रेक भए सुखद क्षण हुनेछ’ तामाङले भने, ‘तर किर्तिमान भङ्ग गर्ने तर्फ हामीले सोचेका छैनौ।’

डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाली टिममा तामाङका अलावा समीर तामाङ, तीर्थ तामाङ, बेद सुनुवार छन्। यसैगरी जगेडाका रुपमा उत्तम खत्री रहेका छन। गत बर्ष समीर शान्ति सेनामा गएकाले भीम गुरुङ टिममा सम्मिलित थिए।

यो टिमले गत बर्ष पनि ११ घन्टा १ मिनेटमा निर्धारित दुरी पार गर्न सफलभएका थिए । यो प्रतियोगितामा हालसम्म १० घण्टा ५८ मिनेटको कीर्तिमान रहेको छ। निकै लोकप्रियता प्रसिद्धि पाएको अक्सफाम ट्रैल रेसका ‘हट फेबरेट’ को रुपमा टिम नेपाल रहेको छ। चार जनाको एक टिम रहने उक्त दौडमा ३७०० टिमले १३०० स्पर्धाको लागि आबेदन दिएका छन्।

यो दौड साईकुङबाट शुरु भएर चुनमुनको डाँडाँ छिचोल्दै निउ टेरिटोरी, काउलुन हुँदै युनलोङको पो लेङ कुक जक्किक्लबमा समाप्त हुने अायाेजकले जानकारी दिएकाे छ ।

नेपालको हाई अल्टिच्युडमा तालिम गरेकाले हङकङमा खासै समस्या नआउने तामाङले बताए । १ सय किमी तर्फका स्पेसलिष्ट तीर्थ भन्छन् ‘जित्न त सजिलै जितिन्छ। तर रेकर्ड ब्रेक चाहिँ सोचेका छैनौ। दौडको परिस्थिति अनुसार रणनीति अपनाउनेछौं।’

टिम नेपालका धावकहरुका क्रेडेन्सियल्स

तीर्थ तामाङ

राष्ट्रियतर्फ–पाथीभरा, काठमाडौ , एभरेस्ट, अन्नपूर्ण म्याराथनमा पदक बिजेता। अन्तर्राष्ट्रितर्फ– अक्सफाम हङकङ, भाइबराम हङकङ १०० किमी युटिएमआर फ्रान्स, दालिसिटी चीन, स्काईरनिङ ईटलीमा बिजेता ।

समीर तामाङ

राष्ट्रियतर्फ–पाथिभरा, एभरेस्ट, अन्नपूर्ण म्याराथनमा पदक बिजेता। अन्तर्राष्ट्रियतर्फ– अक्सफाम हङकङ, टिडिएस फ्रान्स १ सय २० किमी, स्काई रनिङ एसियन च्याम्पियन, स्काईरनिङ अष्ट्रेलियामा बिजेता हुन।

पूर्ण तामाङ

राष्ट्रियतर्फ–पाथिभरा, काठमाडौ, एभरेस्ट, अन्नपूर्णमा पदक बिजेता। अन्तर्राष्ट्रियतर्फ– अक्सफाम हङकङ, नर्थफेस १०० किमी बिजेता हुन ।

बेद सुनुवार

राष्ट्रियतर्फ– पाथीभरा, एभरेस्ट, अन्नपूर्णमा पदक बिजेता। अन्तर्राष्ट्रियतर्फ– अक्सफाम हङकङ, नर्थफेस ५०किमी, दालिसिटी चीन ५० किमी बिजेता हुन ।

उत्तम खत्री

अक्सफाम हङकङको २००६, २०१३ र २०१४ को बिजेता हुन ।

SHARE